Tuesday, September 8, 2015

राष्ट्रिय गौरवका आयोजनाका लागि बल्ल कार्यविधि

भीम गौतम/राजधानीकाठमाडौं, २१ भदौ
सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूका लागि बल्ल कार्यविधि बनाउन सुरु गरेको छ । तिन वर्षअघि १७ आयोजना र त्यसपछि ४ गरी २१ आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको सरकारले बल्ल कार्यविधि बनाउन सुरु गरेको हो ।
हालसम्म राष्ट्रिय गौरवका आयोजनाहरू घोषणाका लागि स्पष्ट मापदण्ड, आधार, कार्यान्वयन कार्यविधि छैन । सोही कारण ती आयोजनालाई अन्य सामान्य आयोजनासरह मात्रै हेर्ने गरिएको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा १७ र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको समयमा ४ आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएको थियो ।
राष्ट्रिय गौरवका आयोजनाहरू घोषणा गरे पनि कार्यान्वयनमा विशेष मापदण्ड नबनाइएको तथा विनामापदण्ड र वस्तुगत आधारमा घोषणा गरेपछि प्रगति कम पाइएपछि राष्ट्रिय योजना आयोगले स्पष्ट कार्यविधि बनाउन सुरु गरेको जनाएको छ ।
आयोगका सदस्य डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा अर्का सदस्य बिमला राई पौडेल तथा आयोगका सहसचिवहरू पुष्पलाल शाक्य, लालशंकर घिमिरे, विष्णु नेपाल र गोपी मैनाली सदस्य रहेको कार्यदलले एक महिनाभित्र कार्यविधि बनाइसक्ने लक्ष्य राखेको छ । ‘कस्ता आयोजनाहरू राष्ट्रिय गौरवका आयोजना बन्ने, त्यसको छनोट आधार के हो भन्ने स्पष्ट कार्यविधि हालसम्म छैन,’ योजना आयोगका सहसचिव गोपी मैनालीले भने, ‘कार्यदलले सोमबारदेखि काम सुरु गरेको छ, एक महिनाभित्र स्पष्ट कार्यविधि बनाइसक्छौं ।’
अधिकांश राष्ट्रिय गौरवका आयोजनाहरू घोषणा गरिए पनि यसबारे स्पष्ट आधार नदेखिएपछि र भविष्यमा समेत कस्ता आयोजनालाई गौरवका आयोजना घोषणा गर्ने भन्ने अन्योलता देखिएपछि आयोगको हालैको बैठकबाट कार्यदल गठन गरिएको हो । कार्यविधिमा गौरवका आयोजनाको छनोट, मापदण्डका साथै अन्य सामान्य आयोजनाभन्दा कार्यान्वयनका लागि विशेष व्यवस्था र प्रावधान राखिनेछ । अहिले अधिकांश यस्ता आयोजनाले धेरै समस्या र चुनौती झेलिरहेका छन् भने प्रगति पनि सन्तोषजनक छैन । आयोगका अनुसार जलविद्युत् आयोजनातर्फ ७ सय ५० मेगावाट क्षमताको पश्चित सेती र १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना तथा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएको छ ।
त्यसैगरी, गौतम बुद्ध र पोखरा क्षेत्रीय तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, लुम्बिनी र पशुपति विकास क्षेत्र, मेलम्ची खानेपानी आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएको छ । यस्तै, काठमाडौं–निजगढ दु्रत मार्ग, उत्तर–दक्षिण लोकमार्ग, कोसी, कालीगण्डकी र कर्णाली मार्ग तथा पुष्पलाल लोकमार्गका साथै सिक्टा, भेरी बबई ड्राइभर्सन, बबई र रानी जमरा गुलरिया सिँचाइ आयोजनालाई पनि सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको छ ।
राष्ट्रिय गौरवका आयोजनाबारे स्पष्ट कार्यविधि बनाएपछि भविष्यमा समेत सजिलो हुने तथा यस्ता आयोजनालाई केही विशेष अधिकारसमेत दिएमा देशकै महŒव राख्ने आयोजनाहरू सहज रूपमा कार्यान्वयन हुने अपेक्षा आयोगको छ । कार्यविधि बनेपछि सरकार नेतृत्व गर्ने तथा पहुँचवालाबाट आफूखुसी गौरवका आयोजना घोषणा गर्न सक्ने सम्भावनाको अन्त्य भई विशेष महŒवका आयोजना मात्र घोषणा हुनेछन् ।
http://erajdhani.com/article/0607213001441679661

No comments: