Monday, March 11, 2019

५० करोडदेखि ३ खर्बसम्मका ४३ परियोजना तयार

सोमवार, फाल्गुन २७, २०७५
चैत १५ र १६ गते हुने दोस्रो लगानी सम्मेलनका लागि ५० करोडदेखि ३ खर्ब रुपैयाँसम्मका ४३ परियोजनाको सोकेस तयार भएको छ । यसमा अझै एक दर्जन परियोजना थप्ने सरकारको तयारी छ । 
अर्थमन्त्रीको संयोजकत्वमा रहेको लगानी सम्मेलन २०१९ को निर्देशक समितिले निजी क्षेत्रका १० परियोजनासहित ४३ परियोजनाको सोकेसलाई स्वीकृति दिएको हो । पछिल्लो समयमा केही संख्यामा निजी क्षेत्रका र सार्वजनिक परियोजनाहरू थपिन लागेका हुन् । एक साताभित्र बस्ने निर्देशक समितिले यसबारे अन्तिम टुंगो लगाउने लगानी बोर्डले जनाएको छ ।
४३ आयोजनामध्ये ६ निजीसहित १२ आयोजना जलविद्युत् संग सम्बन्धित, ७ हवाई तथा सडक यातायात, ५ सहरी पूर्वाधार, ३ निजीसहित ७ पर्यटन पूर्वाधार, ३ शिक्षा तथा स्वास्थ्य, २ निजीसहित ५ औद्योगिक पूर्वाधार र ५ कृषि पूर्वाधार परियोजना तय गरिएको छ । यीमध्ये केही आयोजना पूर्वसम्भाव्यता अध्ययन भइसकेका आयोजना हुन् भने केही आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । 
बोर्डका अनुसार पश्चिम सेती, एसआर– ६, तमोर, सुनकोसी– २, सुनकोसी– ३ र फुकोट कर्णाली तथा निजीतर्फ त्रिशुली गल्छी, मेगावाटको मध्यकालीगण्डकी, माथिल्लो चमेलिया, इङ्वा खोला, तल्लो बरुण र म्याग्दीखोला जलविद्युत् आयोजना सम्मेलनमा प्रस्तुत गर्न लागेको छ । त्यसैगरी हवाई तथा सडक यातायाततर्फ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं रिङरोड, रामग्राम–तिलौराकोट, सुदूरपश्चिम सार्वजनिक यातायात, काठमाडौं मेट्रो रेल, पूर्व–पश्चिम विधुतीय रेल र काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेल तथा सहरी पूर्वाधारतर्फ हेटौंडा स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापन बुटवल, फोहोरमैला व्यवस्थापन जनकपुर, रत्ननगर फोहोरमैला व्यवस्थापन र अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुर छन् ।
पर्यटन पूर्वाधारतर्फ जानकी हेरिटेज होटल, धुलिखेल ड्रिमल्यान्ड, तालतलैया पर्यटकीय क्षेत्र विकास, इटहरी, फिल्म सिटी,दोलखा तथा निजीतर्फबाट स्वर्गद्वारी केबलकार एण्ड टुरिजम, जालपादेवी केबलकार एण्ड टुरिजम र सिक्लेस अन्नपूर्ण केबलकार एण्ड टुरिजम पनि सम्मेलनमा प्रस्तुत गर्न लागिएको छ । शिक्षा तथा स्वास्थ्यतर्फ गण्डकी प्राविधिक विश्वविद्यालय, धुलिखेल मेडिसिटी, लुम्बिनी मर्टरनिटी सेन्टर प्रोजेक्ट तथा औद्योगिक पूर्वाधारतर्फ सेज सिमरा, बाँकेको नौबस्ता औद्योगिक क्षेत्र र बुटबलको मोतिपुर औद्योगिक क्षेत्रका साथै निजी क्षेत्रका गरुड सिमेन्ट र आइएमइ सिमेन्ट छन् । 
कृषि पूर्वाधारतर्फ प्रदेश–२ तर्फ पर्सागढी, प्रदेश–३ तर्फ चितवन र बनेपा, कर्णाली प्रदेश अन्र्तगत बीरेन्द्रनगर र सुदुरपश्चिमतर्फ गोदावरी शीत भण्डार, गोदाम तथा प्रशोधन केन्द्रका साथै रासायनिक मल कारखाना पनि सम्मेलनका लागि लगानी बोर्डले सोकेसको रूपमा प्रस्तुत गर्न लागेको छ ।

No comments: