Wednesday, June 29, 2016

भारत ३ सय मेगावाट दिन तयार

मूल्य तय गर्न बाँकी

भीम गौतम/राजधानीकाठमाडौं, १४ असार
भारत नेपाललाई ८० मेगावाटसहित ३ सय मेगावाट विद्युत् दिन तयार भएको छ । नेपाल र भारतबीच भएको बहुचर्चित ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयन लागि मंगलबारको सचिवस्तरीय बैठकमा ३ सय मेगावाट विद्युत् दिन तयार भएको हो ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार विगत पाँच महिनाअघि देखि आयात भइरहेको ८० मेगावाट थप एक वर्षका लागि र बाँकी १ सय २० मेगावाट आगामि डिसेम्बरदेखि दिन तयार भएको हो । उनका अनुसार पहिलाभन्दा प्रति युनिट मूल्यवृद्धि गर्नुपर्ने प्रस्ताव भारतीय पक्षले राखेकामा यसबारे भने टुंगो लागिसकेको छैन । यसको तयपछि प्राधिकरण र भारतीय पक्षबीच वार्ता गरेर टुंग्याउने सहमति भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आगामी डिसेम्बरदेखि मुहजफपुर–ढल्केबर पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आयात भइरहेको ८० मेगावाटबाहेक थप १ सय २० मेगावाट तथा दुहबी–कटैया–कुसाहा र रक्सौल–परवानीपुरमार्फत ५०÷५० मेगावाट विद्युत् थप गर्न नेपालले प्रस्ताव गरेको थियो । दुवै लाइनमार्फत हाल विद्युत् आयात भइरहेको थप सर्किट बनाएर १ सय मेगावाट विद्युत् आयात गरिने र यसबाट आगामी हिउँदमा हुने लोडसेडिङमा कमी आउने लक्ष्य प्राधिकरणको छ ।
पीटीए कार्यान्वयनका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक मंगलबार र सह–सचिवस्तरीय संयुक्त कार्य समूहको बैठक सोमबार बस्न लागेको छ । नेपालबाट सचिवस्तरीय बैठकको नेतृत्व ऊर्जा सचिव सुमनप्रसाद शर्मा र सह–सचिवस्तरीय बैठकको नेतृत्व दिनेश घिमिरेले गरेका थिए । नेपाल र भारतबीच ४ कात्तिक २०७१ मा पीटीए भएपछि पहिलो बैठक मंसिर २०७१ तथा दोस्रो बैठक गत माघमा नेपालमा बसेको थियो ।
यो तेस्रो बैठक हो । बैठकमा नेपाल–भारत प्रसारण लाइन गुरुयोजनालाई अघि बढाउने बताउँदै यसको जिम्मा दुवै देशको प्राविधिक समूहलाई दिइएको छ । बैठकमा दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रूपमा न्यु बुटबल–गोरखपुर बनाउनेबारे पनि छलफल भएको थियो ।
हाल विद्युत् प्राधिकरणले पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात गरिरहेको छ । गत ८ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा रिमोर्टमार्फत स्विच थिचेर ८० मेगावाट विद्युत् आयातको शुभारम्भ गरेका थिए ।
पाँच महिनाका लागि मात्र सम्झौता भएकामा यो द्विपक्षीय बैठकमा थप एक वर्षका लागि विद्युत् आयातको प्रस्ताव गरेकामा भारतीय पक्षले सहमति जनाएको थियो । ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाटसम्म विद्युत् आयात गरिरहेको नेपालले भारतसँग आगामी सन् २०१६ को अक्टोबरसम्म २ सय मेगावाट र २०१७ को डिसेम्बरबाट ६ सय मेगावाट पु¥याइने सम्झौता गरिसकेको छ । हाल भारतबाट ८० मेगावाटसहित ३ सय मेगावाट विद्युत् आयात हुँदै आएको छ ।
http://rajdhani.com.np/article/0183926001467171048

Tuesday, June 28, 2016

भूकम्पपीडितलाई एक कि तीन किस्ता दुवै अतिवाद

भीम गौतम / राजधानी
काठमाडौं, १३ असार
प्रमुख प्रतिपक्षी दल कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट २ लाख अनुदान दिनुपर्ने भन्दै निरन्तर संसद् अवरुद्ध गरिरहेको छ । विगतमा कांग्रेस सरकार भएकै बेलामा बनेको कार्यविधि र दातृ निकायसँग गरेको सर्तनामाका आधारमा एकमुष्ट रकम दिन नमिल्ने सत्तापक्षीय दलका नेता र प्रधानमन्त्रीले बताइरहेका छन् । पुनर्निर्माण प्राधिकरणका अधिकारी पनि एकमुष्ट अनुदान दिन नमिल्ने बताउँछन् । तर, भूकम्पपीडितको अवस्था दयनीय छ ।
बर्खा कसरी काट्ने भन्ने चिन्ताले पिरोलिइरहेका छन् । लाजमर्दो कुरा भूकम्प गएको १४ महिनापछि पहिलो किस्ताको रकम पाउने भूकम्पपीडितको संख्या ६ हजार मात्र पुगेको छ । विस्तृत घरधुरी सर्वेक्षण सकिएका ५ लाख ३३ हजार घरधुरीमध्ये अनुदान सम्झौता गर्ने त २ लाख पुग्न लागे होलान् तर घर बनाउनका लागि जम्मा ६ हजारको हाराहारीमा रहनु सबैभन्दा लाजमर्दो कुरा हो । भूकम्प गएको १४ महिनासम्ममा सरकारी अनुदानबाट एउटा पनि घर बन्न सकेको छैन ।
२ लाख अनुदानको आस देखाएर भूकम्पपीडितलाई कठ्यांग्रिँदो जाडो र बर्खाको सामना गर्नुपर्ने अवस्थामा पु¥याउनुमा एउटा पार्टी र व्यक्तिलाई दोष देखाउनु गलत हुनेछ । मुलुकका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेको अतिवाद र गलत हर्कतको सिकार भूकम्पपछिको पुनर्निर्माण बन्दै आएको छ । भूकम्प गएलगत्तै तत्कालीन कांग्रेस नेतृत्वको सरकारले अध्यादेशमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन ग¥यो । अहिलेको सरकारको नेतृत्व गर्ने पार्टी पनि त्यो सरकारमा थियो । दुवै पार्टी संलग्न सरकारले छोटो समयमै विपत्पछिको क्षति आँकलन (पीडीएन) प्रतिवेदन बनाउनु र राहत तथा उद्धारका कार्य गर्नु सकारात्मक थियो । अध्यादेशअनुसार तत्कालीन सरकारले कांग्रेसनिकट डा. गोविन्द पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाएपछि त्यो अध्यादेश असफल बनाउन एमाले पनि कस्सिएरै लाग्यो । त्यसले नयाँ संविधान कार्यान्वयनका लागि एकसाथ हिँड्नुपर्ने कांग्रेस–एमाले सम्बन्ध तिक्ततापूर्ण बनायो । दुवै दलले इगोको राजनीति गरे । त्यसपछि पुनर्निर्माण विधेयक असफल बनाउन कांग्रेसले पनि लामै कसरत ग¥यो । ढिलो गरी बल्ल विधेयक पारित भएर पुनर्निर्माण प्राधिकरण त बन्यो, त्यो प्राधिकरणले पहिलाको अध्यादेशअनुसार बनेको प्राधिकरणका धेरै कामलाई बेवास्ता गरिदियो । पुनर्निर्माण तथा पुनःस्थापना नीतिको मस्यौदा बनिसकेको थियो तर त्यसलाई बेवास्ता गरेर लामो समय लगाइदियो । अहिले पुनर्निर्माण अघि बढाउन आवश्यक अधिकांश नीति, नियम, कानुन बनिसकेका छन् तर कार्यान्वयन अझै सुस्त गतिमा छ । थोरैले मात्र अनुदानको पहिलो किस्ता पाएका छन् ।
भूकम्पपछिको उद्धार र राहतसँगै अघि बढेको पुनर्निर्माण अभियानमा अध्यादेश असफलपछि ब्रेक लाग्यो । फेरि पुनर्निर्माण गठन भएर तीव्र गतिमा अघि बढ्न लागेका बेला कांग्रेसले एकमुष्ट २ लाख दिनुपर्ने अडान लिएर संसद् अवरुद्ध गरिरहेको छ । तीन किस्तामा दिने भनेर पहिला कार्यविधि बनाएको कांग्रेस नेतृत्व अहिले एकमुष्ट दिनुपर्ने अडानमा छ । तत्काल किस्ता किस्तामा दिने भनिए पनि लामो समय भएकाले उनीहरूलाई एकैपटक दिनुपर्ने कांग्रेसको तर्क छ ।
पहिले राहतको नाममा दिएको १०÷१५ हजार रकम तथा पहिलो किस्ताको रकम लगेर छोरीको विवाहदेखि भोज र रामरमाइलोमा खर्च गरिरहेको तथ्य सार्वजनिक भइरहेका बेला एकमुष्ट रकम दिँदा पैसा पनि सकिने घर पनि नहुने अवस्था आउन सक्छ । बर्खामा घर नबन्ने अनि दिएको अनुदानले भूकम्पपीडितले कतै दसंै तिहार मनाएर सक्ने पो हुन् कि भन्ने आशंका पनि देखिएको छ ।
नगद अनुदानको सट्टा सरकारले भूकम्पपीडितले बनाउन चाहेको घर डिजाइनलाई अन्तिम रूप दिएर त्यसमा लाग्ने लागतका आधारमा अनुदानबाट नपुग्ने रकम सामूहिक जमानी र व्यक्तिगत रूपमा जम्मा गर्ने वातावरण बनाउनु उपयुक्त देखिन्छ । अनुदानको रकमबाट आवश्यक सामग्री सरकारले व्यवस्थापन गर्न सक्ने अवस्था सिर्जना गरिए अनुदान रकम घर निर्माणमै उपयोग हुने सम्भावना धेरै रहन्छ ।
सरकार कुनै पनि हालतमा कांग्रेसको मागलाई सम्बोधन गर्ने पक्षमा छैन । बरु अहिले भएको २ लाखलाई केही रकम बढाउने अनि मात्र एकमुष्ट रकम दिनुपरे पनि दिने पक्षमा छ । अर्थात् जुँगाको लडाइँ चलिरहेको छ । विगतमा पनि कांग्रेसले सरकारको नेतृत्व गर्दा संसद्का विभिन्न समितिमा एमाले सांसद्हरूले अनुदान रकम ५ लाख पु¥याउनुपर्ने माग गरेका थिए तर कांग्रेसले दिन मानेन । आफ्नो सरकार आएपछि उनीहरू चुप लागे । अहिले कांग्रेस प्रतिपक्षमा छ र ऊ आफ्नै विगतमा आफूले बनाएको कार्यविधिविपरीत २ लाख एकमुष्ट दिनुपर्ने मुडे बल गरिरहेको छ ।
अध्यादेश असफल बनाउन एमालेले लगाएको मुडे बलदेखि २ लाख दिलाउन लगाएको मुडे बललाई विश्लेषण गर्ने हो भने एक वा तीन किस्ताका नाममा विभक्त भएर कांग्रेस–एमालेले भूकम्पपीडितका नाममा अतिवाद देखाइरहेका छन् । दुवै वास्तविक भूकम्पपीडितबारे गम्भीर छैनन् । न सरकारले छिटो भूकम्पपीडितलाई अनुदान दिएर उनीहरूलाई खुसी तुल्याउन सकेको छ, न कांग्रेसले संसद् अवरुद्ध गरेर भूकम्पपीडितको सहानुभूति लिन सकेको छ । कम्तीमा पनि कांग्रेसले संसद्मा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिएर उनले भनेकामा चित्त नबुझेमा त्यसपछिको कदम अघि बढाउँदा यसले कांग्रेसलाई नै फाइदा पु¥याउँथ्यो । कांग्रेस कुनै हालतमा संसद् चल्न नदिने, सत्ता पक्ष कांग्रेसको मागलाई कुनै पनि हालतमा सम्बोधन नगर्ने । अहिले एकअर्कामा जुहारी चलिरहेको छ, दुवै जुहारीमा पार्टीगत स्वार्थ लुकेका छन्, भूकम्पपीडितको माग, न्याय र आवाज लुकेको छैन ।भूकम्पपीडितको पीडा देखाउने मात्रै हो यसभित्र विभिन्न राजनीतिक दाउपेच छन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीको भनाइमा अहिलेको विवाद जुँगाको लडाइँ हो । उनका विचारमा समस्या एकातिर छ तर कांग्रेस अर्कोतिर गइरहेको छ, सस्तो लोकप्रियतालाई दलहरूले मुख्य कुरा ठानेका छन् न कि भूकम्पपीडितको न्यायलाई । अध्यादेश पास गर्ने बेला लखेट्ने एमालेसँग कांग्रेसले बदला लिन खोजेको देखिन्छ ।
महँगी र ढिलाइलाई आधार बनाएर २ लाख अनुदानमा थप गरेर दुवैको चित्त बुझ्ने गरी अघि बढ्नुलाई क्षत्री विकल्प देख्छन् । प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत एवं योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल भने २ लाख एकैचोटि दिएर छिटो घर बनाउनेलाई थप ५० हजार तथा ढिलो बनाउनेलाई थप २५ हजार दिने व्यवस्था गरे उपयुक्त हुने तर्क गर्छन् । अनुदान लगेर घर नबनाउनेलाई वृद्धभत्ता रोक्का, घरजग्गा पास गर्दा त्यहाँबाट असुलीका साथै अन्य सबै सरकारी सेवामा रोक लगाएर उपर गर्न सक्ने व्यवस्था गर्नुपर्ने तर्क उनको छ । नगदको सट्टा आवश्यक सामग्रीका लागि कुपनको छुट्टै व्यवस्था गर्ने अर्को विकल्प हुन सक्ने उनको सुझाव छ ।
जसले जे तर्क र वादविवाद गरे पनि एक किस्ता कि तीन किस्ताको विवाद छोडेर कांग्रेस–एमाले तुरुन्तै भूकम्पपीडितको घर बनाउने गरी समस्या समाधानमा केन्द्रित हुनुको विकल्प छैन । सरकारले सत्ता र प्रतिपक्षीले मुडेबलको घमण्डले भूकम्पपीडितलाई अन्यायमा पर्न दिनुहुन्न । 
http://rajdhani.com.np/article/0476580001467076581

अरुण तेस्रोमा सरकारकै बाधा : संसद्

राजधानी समाचारदाताकाठमाडौं, १३ असार
निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना समयमै निर्माण कार्य सुरु गर्न सरकारी बाधा अड्चन रहेको संसदीय समितिले निष्कर्ष निकालेको छ । संसद्को कृषि तथा जलस्रोत समितिले सांसद अमृतकुमार बोहोराको संयोजकत्वमा गठन गरेको अरुण तेस्रो आयोजनासम्बन्धी उपसमितिको स्थलगत अध्ययन प्रतिवेदनले सरकारी बाधा अड्चनले निर्माण कार्य सुरु हुन नसकेको निष्कर्ष निकालेको हो । सोमबार सांसद बोहोराले जलस्रोत समिति सभापति गगन थापालाई बुझाएको प्रतिवेदनमा लगानी बोर्ड र विकासकर्ता भारतीय एसजेभीएनबीच भएको आयोजना विकास सम्झौता (पीडीए)अनुसार समयमै जग्गा उपलब्ध गराउन नसकेको उल्लेख छ । प्रतिवेदनमा विकासकर्ता एसजेभीएनले पनि परियोजना विकासमा देखाउनुपर्ने उत्साह र क्रियाशीलता नदेखाएको उल्लेछ ।

प्रतिवेदनमा सम्झौता अनुसारका अधिकांश काम सरकारले गर्न नसकेको उल्लेख छ । सम्झौतामा उल्लेख भएअनुसार, समयमै पहुँचमार्ग र अन्य कामका लागि जग्गा लिजमा र जग्गा अधिग्रहण गरेर उपलब्ध गराउन नसकेको, विस्फोटक पदार्थबारे स्पष्ट निर्णय नभएको र परियोजनालाई आवश्यक विद्युत्को व्यवस्थापन हालसम्म नगरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले वातावरण प्रभाव मूल्यांकन र जंगलको रुख कटानीका लागि लामो प्रक्रिया लाग्ने, जग्गाको हदबन्दी, रुखको संख्या, जंगलको जग्गाको शोधभर्ना आदिमा नीतिगत अस्पष्टता रहेको, जग्गा उपलब्ध नहुँदा समयमै काम नभई लगानी बढ्न जाने सम्भावना देखिएको लगायतका चुनौती परियोजनामा रहेको औंल्याएको छ । त्यसैगरी, विकासकर्ताका तर्फबाट संखुवासभाको डाँडागाउँमा राखिएको सूचना केन्द्र ज्यादै सानो र नाम मात्रको रहेको तथा विकासकर्ताको तर्फबाट स्थानीय जनतासँग सम्बन्ध स्थापित नभएको एवं सूचनामा जनताको सहज पहुँच नभएको प्रतिवेदनमा उल्लेख छ ।
१४ नोभेम्बर २०१४ मा भएको सम्झौतामा निर्माणपूर्वका लागि ६ महिनाभित्र सरकारी जग्गा लिजमा उपलब्ध गराउने र बाँकी जग्गा २१ महिनाभित्र उपलब्ध गराउने उल्लेख भए पनि ६ महिना बितिसकेको र बाँकी २१ महिनाको अवधिसमेत सकिन लागेको भन्दै प्रतिवेदनमा सरकारका तर्फबाट भएको ढिलाईकै कारण डिफल्टर हुने हो कि ? भन्ने शंका गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख छ । ‘सरकारका तर्फबाट गर्नुपर्ने कामहरू भएको देखिँदैन, यसो भयो भने सम्पूर्ण नोक्सानी सरकारको मात्र हुने र यो दुर्भाग्यपूर्ण हुनेछ,’ प्रतिवेदनमा भनिएको छ । प्रभावित क्षेत्रका बासिन्दामा जग्गाको क्षतिपूर्ति, पुनर्वास तथा पुनस्र्थापना, स्थानीयवासीले पाउने रोजगारी र सेयरका साथै पाउने लाभ र बाँडफाँटबारे स्पष्ट जानकारी नभएको, बुझाइमा फरकपन रहेको, प्रतिवेदनमा आयोजनाका लागि आवश्यक विस्फोटक पदार्थबारे नेपाली सेनासँग लिने विषयमा स्पष्ट निर्णय हुन नसकेको, ६ महिनाभित्र पहुँचमार्गका लागि जग्गा उपलब्ध गराउने सम्झौता भए पनि हालसम्म नभएको, आयोजना विकासका लागि आवश्यक ८ देखि १० मेगावाट विद्युत् आवश्यक रहेकामा यसबारे समेत निर्णय नभइसकेको उल्लेख छ ।
सो प्रतिवेदनले आयोजना प्रयोजनका लागि आवशयक निजी तथा वन क्षेत्रमा रहेको जग्गा सरकारले छिटो छरितो उपलब्ध गराउनुपर्ने, जग्गाको हदबन्दीको प्रक्रिया छिटो सम्पन्न गर्नुपर्ने, प्रवेश मार्ग निर्माणमा ठेकेदार कम्पनीलाई काम प्रारम्भ गर्न अविलम्ब प्रवेशाज्ञा दिनुपर्ने, अनुगमनलाई तीव्रता दिनुपर्नेे, विकासकर्ता कम्पनीले गर्नुपर्ने पूर्वतयारीहरू अघि नबढाएकाले त्यसतर्फ ध्यान दिनुपर्ने लगायतका निष्कर्ष निकालेको छ ।
प्रतिवर्ष ३ हजार ६ सय ८४ दशमलव ६१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अरुण तेस्रोको लागत १ खर्ब ४ अर्ब रुपैयाँको अनुमान गरिएको छ । २१ दशमलव ९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट विद्युत् निःशुल्क पाउने सम्झौता भएको सो आयोजनाबाट २५ वर्षभित्र ३ खर्ब ४८ अर्ब आर्थिक लाभ नेपाललाई हुने लगानी बोर्डले जनाएको छ ।
जलविद्युत् विकास नीतिअनुसार, यस अवधिभित्र संखुवासभाले ४० अर्ब ६६ करोड तथा पूर्वाञ्चल क्षेत्रले १२ अर्ब ३४ करोड रुपैयाँ रोयल्टीको रूपमा पाउनेछ । प्रभावित बासिन्दाले १ अर्ब ६० करोड रुपैयाँबराबरको सेयर पाउने सो आयोजनामा ३ हजार स्थानीय जनशक्तिले रोजगारी पाउनेछन् ।
http://rajdhani.com.np/article/0197965001467081792

Monday, June 27, 2016

सिंहदरबारभित्रैको निर्माणमा अनियमितता

भीम गौतम / राजधानी
काठमाडौं, १२ असार
देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै निर्माणमा अनियमितता हुने गरेको पाइएको छ । संसद्को सार्वजनिक लेखा समितिको प्रतिवेदनले सिंहदरबारभित्रकै निर्माणमा गैरजिम्मेवारीपना र अनियमितता हुने गरेको औंल्याएको हो ।
सांसद विकास लम्सालको संयोजकत्वमा गठन भएको उपसमितिले सिंहदरबारभित्रको सडक, भवन, नाली निर्माण तथा मर्मतलगायतका कार्यमा गैरजिम्मेवारीपना र अनियमितता भएको ठहरसहितको प्रतिवेदन बनाएको छ । गैरजिम्मेवारीपना भएको उल्लेख गरिएको प्रतिवेदनमा कहाँ–कहाँ र कसरी अनियमितता भयो भन्ने स्पष्टसँग उल्लेख नगरिए पनि स्थलगत निरीक्षणका क्रममा सम्झौताअनुसारको काम पूरा नगरिएको, मापदण्डविपरीत कार्य गरेको, सरकारी निकायबीच समन्वय नभएको, काम अलपत्र छोडेकोलगायत अनियमितता उल्लेख छ । यो प्रतिवेदनसँगै सिंहदरबारभित्रकै निर्माणमा त उचित रूपमा काम हुँदैन भने दूरदराजको अवस्था के होला भन्ने गम्भीर प्रश्न उठाएको छ ।
उपसमिति संयोजक लम्सालले आइतबार लेखा समितिका सभापति जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनमा कृषि, भौतिक पूर्वाधार तथा यातायात, संसद्–सचिवालय भवन–२ हुँदै शिक्षा मन्त्रालयसम्म विभिन्न ठाउँहरूमा ड्रेन कभर नराख्दा जोखिम बढेको उल्लेख छ ।
‘सिंहदरबारभित्रै पनि गर्नै पर्ने अत्यावश्यक काम नगरेको देखियो भने अर्कोतिर कुनै मान्छे त्यस्ता खाल्डोमा परे ज्यानसमेत जान सक्ने खतरा छ,’ प्रतिवेदनमा भनिएको छ ।
त्यसैगरी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले मापदण्डविपरीत सडक र पेटी क्रस गरी मन्त्रालयतर्फ गाडी जाने बाटो बनाएको पाइएको छ । सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले सम्बन्धित मन्त्रालयलाई जानकारी गराई काम सच्याएको नदेखिएको उल्लेख गर्दै तत्काल सुधार्न तथा दक्षिण गेटदेखि शिक्षा मन्त्रालयसम्मको सानो क्षेत्रमा पनि एकद्वार प्रणालीबाट काम गर्न÷गराउन नसक्नु र आ–आफ्नो ढंगले काम गर्नु÷गराउनु राम्रो नभएकाले सुधार गर्न सुझाव दिइएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को नायँ कार्यालय भवनबाहेक अन्य मन्त्रालयमा तथा परिसरभित्रका फुटपाथ अपांगमैत्री नभएको उल्लेख गर्दै प्रतिवेदनमा नयाँ संरचना बनाउँदा यसलाई ख्याल गर्न सुझाव दिइएको छ । दक्षिण गेटदेखि व्यवस्थापिका–संसद् सचिवालय नम्बर २ र नेपाल टेलिभिजनको मूलगेटमा समेत काम नगरी अलपत्र रूपमा छोडिएको प्रतिवेदनले औंल्याएको छ । साथै, मोडमा (टर्निङ प्वाइन्ट)मा भौतिक मन्त्रालय, सडक विभाग र पुनर्निर्माण समितिले समन्वय नगरी काम गर्न नसकेकाले यी कार्यहरू तत्काल सच्चाउन निर्देशन दिएको छ । अर्थ मन्त्रालयले प्रस्तावित ६१ करोड बजेट नदिँदा सिंहदरबारभित्र छिर्ने सवारी साधनहरूको सुरक्षा अवस्था जाँच्न भेइकल स्क्यानरको काम सुरु हुन नसकेको उल्लेख छ । सिंहदरबारभित्रको सुरक्षालाई दृष्टिगत गरी चारवटै गेटमा स्क्यानर राख्न सरकारलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न मन्त्रालय र निकायका अगाडि टेलिफोनका खम्बा र तार अस्तव्यस्त रहँदा सिंहदरबारको सौन्दर्य र शोभा घटाएको उल्लेख गर्दै उपसमितिले अन्डरग्राउन्ड टेलिफोन र केवल सेवाको नयाँ प्रविधि अवलम्बन गर्न सुझाएको छ । साथै, मन्त्रालयहरूबाहेक सिंहदरबार परिसरभित्र रहेका अन्य कार्यालयहरू बाहिर सार्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ । प्रतिवेदनले प्रधानमन्त्री तथा व्यवस्थापिका संसद्को ऐतिहासिक महŒवलाई झल्काउने गरी पुरानै डिजाइनमा अत्याधुनिक र सुविधायुक्त अलगअलग भवन बनाउन तथा न्यायपालिका तथा अन्य साना भवनहरू बिस्तारै हटाउँदै जाने गरी काम गर्न सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख छ ।
प्रतिवेदनमा सिंहदरबारभित्र पुतली बगैंचामा रहेको १ सय ५१ रोपनी जग्गामा संसद् भवन बनाउन र बजेट उपलब्ध गराउन सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख छ । हाल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा सरकारले वार्षिक ९ करोड ६० लाख रुपैयाँ भाडा तिरेर संसद् सञ्चालन गरिरहेको छ । त्यसैगरी, १८आंै सार्क सम्मेलनको बेला सिंहदरबार परिसरभित्र भवन, ढल, फुटपाथ र पेटीको काममा अनियमितता नभएको देखिए पनि निर्माण तथा मर्मत कार्य गराउँदा विभिन्न निकायबीच समन्वय नभएको तथा ढल र पेटीको काम व्यवस्थित र पूर्ण नभएको पाइएकाले तत्काल सुधार गर्न निर्देशन दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
सिंहदरबारभित्रकै निर्माण तथा मर्मतमा अनियमितता भएको र यसका कारण सरकारलाई २ करोड ५० लाखको क्षति भएको उल्लेख गर्दै सांसद हरिचरण शाहले लेखा समितिमा निवेदन दिएपछि उपसमिति गठन गरिएको थियो ।
सिंहदरबारभित्रै ज्यान जाने खतरा
 मापदण्डविपरीत सडक र पेटी क्रस
 काम पूरा नगरी अलपत्र
 टेलिफोनका खम्बा र तार अस्तव्यस्त
 मन्त्रालबाहेक अरू कार्यालय सार्नुपर्ने
 पुतली बगैंचामा संसद् भवन
बनाउन सुझाव
http://rajdhani.com.np/article/0332812001466989015

Sunday, June 26, 2016

भारतसँग थप २२० मेगावाट विद्युत् खरिद प्रस्ताव

भीम गौतम / राजधानी
काठमाडौं, ११ असार
सरकारले भारतसँग थप २ सय २० मेगावाट विद्युत् आयातका लागि प्रस्ताव गर्ने भएको छ । सोमबार र मंगलबार हुन लागेको नेपाल र भारतबीच भएको बहुचर्चित ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि सचिवस्तरीय र सह–सचिवस्तरीय द्विपक्षीय बैठकमा सरकारले सो प्रस्ताव गर्न लागेको हो ।
नेपाल विद्युत् प्राधिकरणकाअनुसार आगामी डिसेम्बरदेखिमुजफ्फरपुर–ढल्केबर पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आयात भइरहेको ८० मेगावाटबाहेक थप १ सय २० मेगावाट तथा दुहबी–कटैया–कुसाहा र रक्सौल–परवानीपुरमार्फत ५०÷५० मेगावाट विद्युत् थप गर्न नेपालले प्रस्ताव गर्न लागेको छ । दुवै लाइनमार्फत हाल विद्युत् आयात भइरहेको थप सर्किट बनाएर एक सय मेगावाट विद्युत् आयात गरिने र यसबाट आगामी हिउँदमा हुने लोडसेडिङमा कमी आउने लक्ष्य प्राधिकरणको छ ।
पीटीए कार्यान्वयनका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक मंगलबार र सह–सचिवस्तरीय संयुक्त कार्य समूहको बैठक सोमबार बस्न लागेको छ । नेपालबाट सचिवस्तरीय
बैठकको नेतृत्व ऊर्जा सचिव सुमनप्रसाद शर्मा र सह–सचिवस्तरीय बैठकको नेतृत्व घिमिरेले गर्न लागेका छन् । नेपाल र भारतबीच ४ कात्तिक २०७१ मा पीटीए भएपछि पहिलो बैठक मंसिर २०७१ तथा दोस्रो बैठक गत माघमा नेपालमा बसेको थियो । यो तेस्रो बैठक हो ।
ऊर्जासचिव शर्माले पीटीए कार्यान्वयन बैठकको मुख्य एजेन्डा भएको बताए । ‘विशेषतः पीटीए कार्यान्वयन नै हो, यसको अलावा दुहबी र रक्सौलमार्फत थप विद्युत् आयात, दोस्रो अन्तरदेशीय प्रसारण लाइनलगायतबारे छलफल हुन लागेको छ ।’ दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रूपमा न्यू बुटबल–गोरखपुरलाई नेपालले प्रस्ताव गरेको छ । त्यसैगरी, पीटीए कार्यान्वयनका लागि दुई देशभित्र परिमार्जन गर्नुपर्ने कानुनी, प्राविधिकलगायतका पक्षबारे समेत छलफल गर्ने कार्यक्रम रहेको छ ।
हाल विद्युत् प्राधिकरणले पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात गरिरहेको छ । गत ८ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा रिमोर्टमार्फत स्विच थिचेर ८० मेगावाट विद्युत् आयातको शुभारम्भ गरेका थिए । ५ महिनाका लागि मात्र सम्झौता भएकामा यो द्विपक्षीय बैठकमा थप एक वर्षका लागि विद्युत् आयातको प्रस्ताव नेपालले राख्न लागेको छ ।
विद्युत् प्राधिकरणले साउनदेखि एक वर्षका लागि अहिले खरिद गरिँदै आएको भारतको नेसनल थर्मल पावर कम्पनी (एनटीपीसी) को प्लान्टबाट व्यापारी कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत नै खरिद गर्न प्रस्ताव गरिएको जनाएको छ ।
प्राधिकरणका अनुसार, विद्युत् प्राधिकरणले आगामी जुलाई, अगस्ट र सेप्टेम्बरमा एनभीभीएनमार्फत ५०÷५० मेगावाट तथा नोभेम्बरदेखि जूनसम्म ७४ मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव गरेको छ । अक्टोबरमा नेपाली चाड दसैंका कारण उद्योग व्यवसाय बन्द हुने कारण सो महिनामा पनि आयात नगर्ने गरी प्रस्ताव गरेको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाटसम्म विद्युत् आयात गरिरहेको नेपालले भारतसँग आगामी सन् २०१६ को अक्टोबरसम्म २ सय मेगावाट र २०१७ को डिसेम्बरबाट ६ सय मेगावाट पु¥याइने सम्झौता गरिसकेको छ । हाल भारतबाट ८० मेगावाटसहित ३ सय मेगावाट विद्युत् आयात हुँदै आएको छ ।
नेपाल–भारत सचिवस्तरीय बैठक
पीटीए कार्यान्वयन
८० मेगावाट आयात निरन्तरता
दोस्रो अन्तरदेशीय प्रसारण लाइन
http://rajdhani.com.np/article/0942480001466901482

Saturday, June 25, 2016

घट्टेर्नी बज्यैको मुस्कान

भीम गौतम

घट्टको घ्वार्र–घ्वार्र आवाज अनि पीठोको धूलो । धेरै पीठो पिस्न गएर यससँग जुध्नु नपरोस् भनेर सकेसम्म घट्ट जानै खोज्दैनन् । तर, विकट जाजरकोटको भेरीमालिका नगरपालिका–१ रिम्नाकी ६३ वर्षीया भोजी रानाको यो ३४ वर्षदेखिको दैनिकी हो । घट्टेर्नी बज्यैको नामले परिचित भोजीका लागि घ्वार्र घ्वार्र र पीठोको धूलोसँग जुध्नु सामान्य बनिसकेको छ । ‘हरेक दिन बिहानै घट्टमा आइपुग्छु ।’ घट्टेर्नी बज्यैले भनिन्, ‘३४ वर्षदेखि यही काम गर्दै आएकी छु, घट्टको घ्वार्र सुन्ने र पीठोको धूलोसँग जुध्नु त सामान्य भइसकेको छ ।’ उनी बर्खा लागेपछि आकाशमा हेर्दै ठूलो बाढी आएर घट्ट बगाउला भन्ने चिन्ता पनि हरेक बर्खाको समयमा निरन्तरताजस्तै भइसकेको छ ।

भोजीका श्रीमान्, चार छोरा, नातिनातिना गरी ११ जनाको परिवार छ । एक पाथी घट्टमा पिस्दा आउने एक माना ज्याला परिवार पाल्न उनको प्रमुख स्रोतमध्ये एक बनेको छ । उमेरले वृद्धा उनी काम गर्न सक्दिनन् । अरू ज्यालादारी र खेतीपातीमा सक्रिय हुने हुनाले उनी बिहानै घट्ट आइपुग्छिन्, तर दिनभर घट्टमै बिताउँछिन् । ‘बिहानै घट्ट आउँछु, बिहानको खाना पनि घट्टमै ल्याइदिन्छन्, दिनभर घट्टमै बित्छ ।’ उनले भनिन्, ‘आउने ग्राहकसँग गफ गर्दै पिठो पिस्तै रमाउनुको विकल्पै छैन ।’ घट्टमा पुग्नेहरू उनको मुस्कानसँग प्रफुल्लित हुन्छन् । हिउँदमा मात्र चल्ने १९ अस्थायी सामूहिक घट्टमध्ये एककी धनी उनी हरेक ग्राहकसँग मीठो बोल्छिन् । ‘घट्टेर्नी बज्यैमा पीठो पिस्न आउँदा रमाइलो लाग्छ, मीठो कुरा गर्नुहुन्छ ।’ रुकुम जंगल गाउँबाट पीठो पिँध्न आएकी कमला परियारले भनिन् ।

भौगोलिक रूपमा विकट र खेतीपातीसमेत कम भएकी रिम्नाकी यी बज्यैलाई यही घट्टले बचाएको र यसको औधि माया लाग्ने उनी बताउँछिन् । ‘बर्खा लागेपछि बगाउला भन्ने चिन्ता ठूलो छ, पहिला पनि तीन÷चार पटक बगाइसक्यो, तर घट्टमा बस्दाबस्दै हामीलाई पाल्ने नै यही हो जस्तो लाग्छ ।’ उनले भनिन्, ‘११ जनालाई पुरै खान नपुगे पनि यही घट्टले बाँच्न धेरै भरथेग गरेको छ ।’
उनीजस्तै अन्यको भनाइ पनि यस्तै रहेको छ । नयाँ घट्ट बनाउन कम्तीमा १५ हजार लाग्ने र बाढी आउनुअघि नै घट्टलाई पाखामा सार्न पाए धेरै जोगिने अनुभव उनीहरूसँग छ । बाढीका कारण पटकपटक घट्ट बगाएको उनीहरू बारम्बार सम्झन्छन् ।

बर्खाभरि घट्टका छाना, डाँडा, थामा, बला, थुन्से, डोरा, फुनेलगायतका सामग्री पाखामा राख्ने १९ घट्टधनीहरूले बाढी घटेपछि दसैं र तिहार लगत्तैदेखि फेरि घट्ट बनाएर मंसिरदेखि जेठसम्म घट्ट सञ्चालन गर्छन् । जाजरकोटको रिम्ना र आसपासका साथै रुकुमको पुर्तीमारा, बराइली, घेम्दालगायतका गाविसबाट पीठो पिस्न सामूहिक घट्टमा आउने गरेका छन् । बर्खाभरि घट्ट नहुने हुनाले यहाँका अधिकांशले हिउँद अघिलाई पुग्ने गरी पीठो पिस्छन् । हिउँदभरि घट्टभित्र जीवन बिताउने बज्यै वृद्धा उमेरमा पनि कुनै बेखुसी छैनन् ।
http://rajdhani.com.np/article/0267091001466829962

पुनर्निर्माण प्राधिकरणमा ७७ हजार गुनासा

भीम गौतम / राजधानी
काठमाडौं, ९ असार
 सरकारले अघि बढाएको पुनर्निर्माणप्रति असन्तुष्टि जनाउँदै भूकम्पपीडितहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा गुनासो नै गुनासो पोखेका छन् । प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणबारे गुनासो पोख्नका लागि संयन्त्र स्थापना गरेपछि पुनर्निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पीडितले गुनासो पोखेका हुन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहायक प्रवक्ता सीता परियारका अनुसार हालसम्म पुनर्निर्माणबारे ७६ हजार ८ सय २४ भूकम्पपीडितले गुनासो दर्ता गराइसकेका छन् । यति धेरै संख्यामा पुनर्निर्माणप्रति गुनासो आए पनि हालसम्म एउटा गुनासाको पनि सम्बोधन भने भएको छैन । मन्त्रालयका अनुसार सबैभन्दा बढी गुनासो दर्ता दोलखामा १५ हजार ५ सय २७ ओटा तथा सबैभन्दा कम रसुवामा १ सय ९६ ओटा परेको छ ।
यसैगरी सिन्धुलीमा १३ हजार, रामेछापमा १२ हजार ५ सय ३८, गोरखामा ११ हजार ७ सय २६, नुवाकोटमा ८ हजार ५ सय ५६, ओखलढुंगामा ५ हजार २ सय ४६, सिन्धुपाल्चोकमा ४ हजार ७ सय २७, धादिङमा २ हजार ५ सय ६५, काभ्रेमा २ हजार ५ सय २५ र मकवानपुरमा २ सय १८ गुनासा दर्ता भएका छन् ।
पुनर्निर्माण प्राधिकरणका अनुसार, भूकम्पबाट अति प्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार ४ सय ५४ जना भूकम्पपीडित अनुदान पाउन योग्य रहेकामा १ लाख ४७ हजार १ सय ८८ सँग अनुदान सम्झौता भएको छ भने हालसम्म पहिलो किस्ताको रकम पाउनेमा ५ हजार ८ सय ४१ भूकम्पपीडित छन् ।
तथ्यांकले अनुदान सम्झौताभन्दा आधा र पहिलो किस्ताको रकम पाएकामध्ये १५औं गुणा बढीले गुनासा दर्ता गरेका छन् । गुनासो दर्ता भए पनि सम्बोधन भने हालसम्म गर्न नसकिएको पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता रामप्रसाद थपलियाले बताए । ‘गुनासो सम्बोधन कार्यविधि निर्माणमा ढिलाइ भएका कारण सम्बोधन गर्न सकेका छैनौं,’ उनले भने, ‘कार्यविधि प्राधिकरणको कार्यकारी समितिबाट पारित भइसकेको छ तर निर्देशक समितिले पारित गर्न बाँकी छ, पारित भएपछि सम्बोधन हुन्छ ।’ उनका अनुसार भूकम्पपीडितको नाम छुटेको, अंशबन्डा भए पनि कानुनी रूपमा नछुट्टिएको, एउटै घरमा बसेकाले पनि दोहोरो अनुदान लिएको, नक्कली भूकम्पपीडित रहेको र अनुदान नपाएकोलगायतका गुनासा आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको निर्देशक समितिबाट पारित भएपछि गुनासो सम्बोधन कार्यविधि कार्यान्वयनमा आएर उनीहरूका गुनासा सम्बोधन गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पुनर्निर्माणको अभियान अघि बढाउनेबित्तिकै गुनासो दर्ता गर्ने र त्यसलाई सम्बोधन गर्नुपर्ने भए पनि ढिलो गरी बल्ल कार्यान्वयनमा ल्याएको छ ।
दू्रतगतिले पुनर्निर्माणका लागि भूकम्पपीडितसँग अनुदान गर्ने क्रम तीव्र भएको बताउँदै प्राधिकरणले रामेछाप र ओखलढुंगाको अनुदान सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ । रामेछापमा ४३ हजार ६ सय ९ घरधनीले पाउनुपर्नेमा ३९ हजार ४ सयले पाइसकेका छन् भने ओखलढुंगामा १९ हजार ८ सय १९ घरधनीले अनुदान पाउने सूचीमा रहेकामा १६ हजार ६ सयसँग अनुदान सम्झौता भइसकेको छ । भूकम्पबाट १४ जिल्ला विशेष प्रभावित रहेकामा ११ जिल्लाको डिजिटल सर्भे मात्र सकिएको छ भने काठमाडांै उपत्यकाको बाँकी छ ।
जिल्ला गुनासो संख्या
दोलखा १५५२७
सिन्धुली १३०००
रामेछाप १२५३८
गोरखा ११७२६
नुवाकोट ८५५६
ओखलढुंगा ५२४६
सिन्धुपाल्चोक ४७२७
धादिङ २५६५
काभ्रे २५२५
मकवानपुर २१८
रसुवा १९६
स्रोत ः स्थानीय विकास मन्त्रालय
http://rajdhani.com.np/article/0474620001466729224

Thursday, June 23, 2016

एडीबीद्वारा दूधकोसी बनाउन ६० अर्बको प्रस्ताव

  • ७५ घरधुरी मात्र विस्थापित
  • ३० महिनाभित्र अध्ययन पूरा गरिने
  • ४२ महिनाभित्र निर्माण सुरु गर्ने लक्ष्य
भीम गौतम / राजधानी
काठमाडौं, ८ असार
आकर्षक आयोजनाका रूपमा लिइएको ३ सय मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणका लागि दातृ निकाय एसियाली विकास बैंक (एडीबी) ले ६० अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको छ । आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातवारण कार्य र टेन्डरका काजपत्र बनाउन अनुदान सहयोग गरेको एडीबीले नै लगानीको प्रस्ताव गरेको हो । एडीबीले आयोजनाको अध्ययन अघि बढाउन चालू आर्थिक वर्षमा ३५ करोड रुपैयाँ अनुदान दिएको छ ।
नेपाल विद्युत् प्राधिकरण र एडीबीका अधिकारीबीच भएको पटकपटकको बैठकमा एडीबीले प्रस्ताव गरेको हो । प्राधिकरणका अनुसार ७० अर्ब लागत अनुमान गरिएको दूधकोसीको लागि ६० अर्बसम्म लगानी गर्न इच्छा देखाउँदै प्रस्ताव गरेपछि यसबारे छलफल अघि बढे पनि टुंगो भने लागिसकेको छैन ।
जापान सहयोग नियोग (जाइका) ले पहिचान गरेका उत्कृष्ट १० जलाशययुक्त आयोजनामध्येको एक दूधकोसी आयोजनालाई आकर्षक आयोजनाका रूपमा लिइन्छ । जलाशययुक्त आयोजना बनाउनका लागि सबैभन्दा ठूलो समस्या जग्गा अधिग्रहण तथा मुआब्जा वितरण मानिए पनि सो आयोजनामा ७५ घरधुरी र ५ सय ५० जनसंख्या मात्र विस्थापित हुने अध्ययनको क्रममा देखिएको आयोजना प्रमुख मोहन गौतमले जानकारी दिए । पूर्वाञ्चल क्षेत्रको जलविद्युत् प्रणाली सन्तुलन कायम राख्न सकिने र लोडसेन्टर नजिक रहेको सो आयोजनामा सडकमार्गको पहुँचसमेत पुगिसकेको छ ।
१ सय ८० मिटर अग्लो बाँध तथा १० किलोमिटर लम्बाइ र ६८ दशमलव ७ करोड घनमिटर भण्डार क्षमता भएको आयोजनाबाट वार्षिक १८ सय ६ गिगावाट आवर अथवा १ अर्ब ८० करोड ६ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ ।
ओखलढुंगा र खोटाङ जिल्लाको बीचमा पर्ने सो आयोजनाको अध्ययन अघि बढाउनका लागि हालै जापानको न्युजेकसँग आबद्ध इटलीको इएलसी इलेक्ट्रोकन्सल्ट एसपीएलाई ३० महिनाभित्र अध्ययन पूरा गर्ने गरी परामर्शदाताका रूपमा नियुक्त गरी आयोजनाले सम्झौतासमेत गरिसकेको छ । ‘परामर्श सेवाका लागि नियुक्त परामर्शदातालाई मूल्य अभिवृद्धि करबाहेक करिब ७३ करोड १८ करोड ६६ लाख ६४ हजार रुपैयाँमा परामर्श सेवा करार सम्झौता भएको छ, अबको ३० महिनाभित्र अध्ययन सक्नुपर्ने व्यवस्था गरिएको छ ।’ आयोजना प्रमुख गौतमले भने, ‘आगामी साउनदेखि परामर्शदाताले सम्भाव्यता अध्ययन र विस्तृत डिजाइनको कार्य सुरु गर्छ ।’ परामर्शताले अध्ययनका क्रममा ८ सय मिटर परीक्षण सुरुङ र १५ सय मिटर लम्बाइको कोर ड्रिलिङसमेत गर्न लागेको छ ।

आयोजनामा १३ दशमलव २६ किलोमिटर मुख्य सुरुङ, १ सय ६३ मिटर पेटस्टक र ३ सय ७० मिटर टेलरे सुरुङ बनाउनुपर्ने आयोजनाका लागि भूमिगत विद्युत् गृहको प्रस्ताव गरिएको छ । आगामी साढे दुई वर्षभित्र अध्ययन पूरा गरेर एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गरेर ६ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।
हालसम्म विद्युत् कुल क्षमता ७ सय ५६ मेगावाट मात्र रहेकामा ९२ मेगावाट मात्र जलाशययुक्त आयोजना रहेकाले हिउँदमा बढी अभाव देखिएकाले विद्युत् प्राधिकरणले सस्तो र आकर्षक दूधकोशीलाई विशेष महŒव दिएको छ । सन् १९९५ मा जाइकाले कोसी बेसिनको गुरुयोजना तयार गर्ने क्रममा पहिचान भएको आयोजनाको सन् १९९८ मा विद्युत् प्राधिकरणले सम्भाव्यता अध्ययन गरेको थियो । 
http://rajdhani.com.np/article/0883180001466650407

Tuesday, June 21, 2016

मेलम्चीलाई सडकमा पाइप बिछ्याउने बाटो खुल्यो

१ सय ३ किमि खन्न पाउने

राजधानी समाचारदाता
काठमाडौं, ६ असार
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन गर्न काठमाडौंभित्रका सडकै पिच्छे पाइप बिछ्याउन अनुमति लिनुपर्ने झन्झटिलो व्यवस्थाको अन्त्य भएको छ ।सडक विभागबाट अनुमति लिन एक वर्षसम्म लागेर पाइप बिछ्याउन ढिलाइ भइरहेका बेला विभाग र मेलम्ची खानेपानीको आयोजना कार्यान्वयन निर्देशनालयबीच सम्झौता भएपछि झन्झटिलो व्यवस्थाको अन्त्य भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्की र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव डा. सञ्जय शर्माको उपस्थितिमा सडक विभागका महानिर्देशक माधवकुमार कार्की र कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीबीच हस्ताक्षर भएपछि आयोजनाले सहज रूपमा उपत्यकाभित्र १ सय ३ किलोमिटर सडकमा पाइप बिछ्याउन सहज भएको छ । ‘सडक विभागअन्तर्गत पर्ने उपत्यकाका १ सय ३ किलोमिटर सडक खन्न छुट्टै अनुमति लिनुनपर्ने भएको छ,’ निर्देशानालयका प्रवक्ता लीलाप्रसाद ढकालले भने ।
मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त हुने पानी काठमाडांै उपत्यकामा वितरण गर्न र फोहोर पानी व्यवस्थापन गर्न सरकार र एसियाली विकास बैंक बीचको ऋण सम्झौताअनुसार पाइपलाइन बिछ्याइसकेपछि सडक पुनस्र्थापनाका लागि पनि सम्झौता भएको छ । सम्झौतामा आयोजनाअन्तर्गत सडकहरूमा पाइपलाइन बिच्छ्याउने क्रममा पाइप टे«न्च खनिएका सडकमध्ये सडक विभागअन्तर्गतका सडकहरूको पुनःस्थापना आगामी दुई वर्षमा सम्पन्न गर्ने गरी बजेट सुनिश्चत गरिएको छ । निर्देशानालयका अनुसार, चालू वर्षमा सडक पुनस्र्थापनाका लागि २५ करोड बजेट रहेकामा आगामी वर्षका लागि ६० करोड रुपैयाँ छुट्ट्याइएको छ । सम्झौताअनुसार निर्देशनालयले पाइपलाइन बिच्छ्याउने कार्यतालिका सडक विभागलाई पूर्ववत
उपलब्ध गराउनेछ ।
यसका लागि सडक विभागअन्तर्गत पर्ने बाँसबारी–नारायणगोपाल चोक–पानीपोखरी हुँदै लैनचौर, चाबहिल चोक–गौशाला–नयाँ वानेश्वर–तिनकुने हुँदै माइतीघर तथा थापाथली–जावलाखेल हुँदै एकान्तकुना पुग्ने लगायतका सडक खन्न छुट्टै अनुमति लिइरहनुनपर्ने भएको छ । सडक विभागले पाइप बिच्छ्याइएका सडकको पुनस्र्थापना प्रक्रिया तत्काल सुरु गर्नेछ । पुनस्र्थापन गर्दा सम्बन्धित सडकको विद्यमान मापदण्ड÷गुणस्तर कायम गरिनेछ । सम्झौता अनुसार निर्देशनालयले वितरण प्रणालीको कार्यतालिकाबमोजिम सडक विभागअन्तर्गतका सडकहरूमा पाइपलाइन बिच्छ्याइसकेपछि पाइप ट्रेन्च खनिएको भागमा सब–बेसद्वारा सडक सतहसम्म पुनःस्थापना गरिनेछ र त्यसपछि कालोपत्रेको काम सडक विभागले गर्नेछ ।
अर्थ मन्त्रालयलाई जानकारी गराई गरिएको सम्झौता कार्यान्वयन र सहजीकरण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण तथा यातायात महाशाखाका सहसचिवको संयोजकत्वमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक सहितको एक समन्वय समितिको व्यवस्था गरिएको छ ।

पाइपलाइन बिच्छ्याउने कार्य तीव्र गतिमा अगाडि बढाउन दुई निकायबीचको सहमतिले उत्साहित बनाएको बताउँदै निर्देशनालयका आयोजना निर्देशक खत्रीले यसबाट योजना समयमै सम्पन्न गर्न बल पुग्ने बताए । ‘सरकारी निकायहरूकै बीचमा समन्वय छैन भन्ने आलोचना आइरहेका बेला हामीले सडक विभागसँग सहकार्य गरेर सकभर उपत्यकावासीलाई कम मर्का पर्ने गरी पाइपलाइन राख्ने काम अघि बढाउनेछौं, जुन कार्य अरू निकायहरूका लागि पनि अनुकरणीय हुनसक्छ,’ उनले भने । उपत्यकाभित्र ६ सय ७० किलोमिटर पाइपलाइन बिछ्याउने लक्ष्य राखिएकामा हालसम्म ३ सय ५२ किलोमिटर निर्माण सम्पन्न भइसकेको र अन्य निर्माण गरिरहेको अवस्था छ ।
http://rajdhani.com.np/article/0653170001466479577

Monday, June 20, 2016

चुहिएरै सकिन्छ दैनिक साढे ६ करोड लिटर पानी

मेलम्चीमा चुहावट १५ प्रतिशतमा झार्ने लक्ष्य

भीम गौतम / राजधानी
काठमाडौं, ५ असार
काठमाडौं उपत्यकामा मात्र दैनिक साढे ६ करोड लिटर पानी चुहिएरै खेर जाने गरेको छ ।सरकारले उपत्यकावासीलाई पर्याप्त खानेपानी व्यवस्थापन गर्न नसक्दा र निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको निर्माणमा ढिलाइ भइरहेका बेला पुरानो प्रविधि र वितरण व्यवस्थाका कारण साढे ६ करोड लिटर पानी चुहावट हुने गरेको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार खानेपानी वितरणमा ४० प्रतिशत चुहावट छ । हाल काठमाडौं उपत्यकामा दैनिक वितरण हुने १० करोड लिटर पानी ४० प्रतिशत चुहावटबाहेकको हो । चुहावटसहित दैनिक १६ करोड लिटर पानी वितरण हुने भए पनि साढे ६ करोड प्राविधिक र अप्राविधिक (चोरी) चुहावट भइरहेको बेला यसलाई लक्ष्य गरी मेलम्ची खानेपानीले भने चुहावटलाई १५ प्रतिशतमा झार्नैपर्ने गरी सम्झौता गरेको छ ।
‘काठमाडौं खानेपानीमा ४० प्रतिशत चुहावट छ, यो प्राविधिक र अप्राविधिक (चोरी) दुवै चुहावट हो,’ केयूकेएलका प्रवक्ता मिलन शाक्यले भने, ‘केयूकेएलले १० करोड लिटर पानी वितरण गरेर वार्षिक ८० करोड महसुल उठाउँछ ।’
हाल २ लाख धारामार्फत खानेपानी वितरण गरिएको केयूकेएलले चुहावट नभएको भए ३ लाख २० हजार धारामा खानेपानी वितरण गर्न पुग्थ्यो भने १ अर्ब ५० करोड रूपैयाँ बराबरको राजस्व उठ्न सक्थ्यो । प्रवक्ता शाक्यका अनुसार राणा प्रधानमन्त्री वीर शमशेरको पालादेखिका १ सय १५ वर्षसम्म पुराना खानेपानी वितरण यथावत् रहेको र परम्परागत प्रविधि रहेकाले चुहावट बढी भएको हो ।
मेलम्ची खानेपानीले भने पुरानो प्रणालीलाई विस्थापन गरेर एक सय वर्षभन्दा बढी आयु हुने नयाँ प्रणाली जडान गर्न लागेको छ ।
प्राविधिक र अप्राविधिक (चोरी) दुवै चुहावट शून्यमा झार्न नसके पनि केयूकेएल चुहावटका कारण थलिएको घटनाबाट पाठ सिकेर मेलम्ची खानेपानी आयोजनाले भने चुहावटलाई १५ प्रतिशतभन्दा तल झार्ने गरी ठेकेदार कम्पनीहरूसँग सम्झौता गरेको छ । उपत्यकाभित्र ६ सय ७० किलोमिटर पाइप लाइन बिछ्याउने लक्ष्य राखेकोमा हालसम्म ३ सय ५२ किलोमिटर निर्माण सम्पन्न भइसकेको र अन्य निर्माण गरिरहेको छ । ‘ठेकेदार कम्पनीहरूसँगै पाइप लाइन बिछ्याउने सम्झौता गर्दा १५ प्रतिशतभन्दा कम हुनुपर्ने गरी सम्झौता गरेका छौं,’ आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले भने, ‘चुहावटलाई शून्य प्रतिशतमा ल्याउन सकिँदैन, तर केयूकेएलमा भएको चुहावटलाई विश्लेषण गरेर सम्झौतामै यसलाई उल्लेख गरेका हौंै ।’
उनका अनुसार १५ प्रतिशतभन्दा बढी चुहावट देखिए सम्बन्धित ठेकेदार कम्पनीलाई जरिवाना तिराउन १५ प्रतिशत रकम ग्यारेन्टीका लागि राखिएको छ । जुन खानेपानी वितरण भएपछि परीक्षण गरेर सम्झौताअनुसार भए मात्र ठेकेदार कम्पनीले फिर्ता पाउनेछन् । कार्यान्वयन निर्देशनालयका अनुसार पाइप बिछ्याउन जीआईटीएफ शर्मा, सुमेग लामा र हुन्जाउ कालिकाको संयुक्त (जेभी) कम्पनीलाई ठेक्का दिइएको छ भने ती कम्पनीबाट ग्यारेन्टीका लागि ३० करोड रकम राखिएको छ । पहिलो चरणमा १७ करोड तथा दोस्रो चरणमा ३४ करोड लिटर खानेपानी मेलम्चीमार्फत काठमाडौं उपत्यकामा ल्याउने लक्ष्य राखिएको छ । मेलम्ची तथा परम्परागत र ट्युबेलमार्फत उपत्यकाका २७ लाख घरधुरीलाई २७ करोड खानेपानी वितरण गर्ने लक्ष्य राखेको मेलम्ची खानेपानीले चुहावट घटाउन नसके वितरणमा समस्या आउने देखिएको छ ।

तर, प्रवक्ता ढकाल पाइपहरूको ज्वाइनमा इलेक्ट्रो फ्युजनको उपयोग गरिएको, उच्च गुणस्तरको डीआई पाइप प्रयोग गरिएको, दुई तलामाथिसम्म प्रेसरको आधारमा पानी जाने व्यवस्था गरिएकाले लिंकेज हुने सम्भावना कम रहेको, पहिला खानेपानीमा डेट इन्ड प्रविधि रहेकोमा लुक डिजाइनलगायतका आधुनिक प्रविधिहरूको उपयोग चुहावट घटाउनलाई फोकस गरिएको बताए । राम्रा ठेकेदार कम्पनीहरू रहेकाले चुहावटलाई विशेष महŒव दिएर निर्माण गरिरहेको निर्देशनालयका अधिकारीहरू बताउँछन् । २५ वर्षअघि चर्चामा रहेर १६ वर्षअघि निर्माण सुरु गरेको मेलम्ची खानेपानी आयोजनाले आगामी २०७४ सालभित्र उपत्यकावासीलाई खानेपानी वितरण गरिसक्ने लक्ष्य राखेको छ । गत वैशाखमै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको मेलम्ची खानेपानी आयोजना भूकम्प र नाकाबन्दीका कारण झन्डै डेढ वर्ष ढिला हुने देखिएको आयोजनाले जनाएको छ ।
‘भूकम्प र नाकाबन्दीका कारण २०७३ भित्र वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकोमा अबको १५ महिनामा सक्ने लक्ष्य राखिएको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले जानकारी दिए ।
http://rajdhani.com.np/article/0494701001466383075

Sunday, June 19, 2016

मन्त्रीको दबाबमा हटाइए निर्देशक

भीम गौतम / राजधानी
काठमाडौं, ४ असार
उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीको दबाबमा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक राजीव शर्मालाई योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयबाट हटाएर इन्जिनियरिङमा सरुवा गरिएको छ ।
सेतो हात्तीका रूपमा लिइने डिजेल प्लान्ट स्थापना तथा चार जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) अघि बढाउन अवरोध गरेको अभियोगमा मन्त्रीले नै हटाउन दबाब दिएपछि उनलाई इन्जिनियरिङ निर्देश नालयमा सरुवा गरिएको हो ।
अधिकांश मन्त्री, कार्यकारी निर्देशकको ध्यान जाने र आर्थिक बार्गेनिङका लागि मुख्य मानिएको पीपीए गर्ने, योजना बनाउने तथा अनुमगन गर्ने भूमिका रहेको प्राधिकरणको सो निर्देशनालय आकर्षक मानिन्छ । ‘शर्मालाई हटाउनुपर्ने अरू कारण केही छैन, केही जलविद्युत् आयोजनाको पीपीए र म्याद थप्नका लागि चर्को दबाब भए पनि उनले अस्वीकार गरेकाले मात्र त्यो निर्देशनालयबाट हटाएर अर्कोमा सरुवा गरिएको हो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘मन्त्रीको दबाबमा कार्यकारी निर्देशकले नै सरुवा गरेका हुन्, अनावश्यक दबाब नमान्नेहरूलाई प्राधिकरणभित्र सधैं यस्तै हुन्छ ।’
पछिल्लो समयमा ऊर्जा मन्त्रालयले तिला–१ र तिला–२ जलविद्युत् आयोजनाको पीपीएको प्रक्रियाबारे असहमति जनाएपछि उनलाई हटाउन चर्को दबाब परेको थियो । भारत निर्यात् गर्ने गरी एसीसी पावरले अनुमतिपत्र लिएको ४ सय ४० मेगावाटको तिला–१ र ४ सय २० मेगावाटको तिला–२ आयोजनाको पीपीए दर कायम गर्नका लागि मन्त्रालयले सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा समिति नै गठन गरेको थियो ।
एससीले नेपालमै विद्युत् बेच्न सक्ने भन्दै मन्त्रालयमा निवेदन दिएपछि समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । तर, पीपीएका लागि आवश्यक राजस्व तिरेर विद्युत् प्राधिकरणमा निवेदन दिनुपर्ने र त्यसलाई क्युमा राखेर आवश्यक प्रक्रिया अघि बढाउने भए पनि मन्त्रालयले सिधै पीपीएका लागि समिति गठन गरेको थियो । गठित समितिले प्राधिकरणसँग ग्रिड इम्प्याक्ट स्टडी (जीआईएस) बारे जानकारी मागेपछि त्यो निर्णय गलत रहेको प्राधिकरणको उपकार्यकारी निर्देशकसमेत रहेका शर्माले बताएपछि अवरोधक बनेको भन्दै उनलाई हटाउन दबाब परेको प्राधिकरणका ती अधिकारीले जानकारी दिए ।
मन्त्रीकै दबाबमा प्राधिकरणका कार्यकारी निर्देशकले तत्कालीन लोडसेडिङ अन्त्यका लागि डिजेल प्लान्ट खरिद गर्ने गरी उपकार्यकारी निर्देशक शेरसिंह भाट संयोजकत्वमा रहेको समितिका सदस्यसमेत रहेका शर्माले यसप्रति विमति जनाएका थिए । छोटो समयमा विभिन्न स्रोतबाट प्राप्त हुने ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्न आवश्यक रहेको भन्दै सात दिनभित्र प्रतिवेदन दिने गरी समिति गठन गरेकामा उनले असहमति जनाएपछि त्यसले निर्णयसमेत गर्न सकेन । यस कारण पनि शर्माप्रति मन्त्रालय असन्तुष्ट रहँदै आएको थियो ।
त्यसैगरी विगतमा पनि तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले धेरै प्रयास गरेर पनि असफल भएको ५२ मेगावाटको लिखु र ५० मेगावाटको बलेफी जलविद्युत् आयोजनाको पीपीए ब्युँत्याउन गरिएको प्रयासमा समेत उनी बाधक बनेका थिए । प्राधिकरणले खारेज गर्नुपर्ने भए पनि त्यसलाई ब्युँत्याउन प्रयास हुँदै आएको छ । लिखुको पीपीए म्याद २ जेठमा सकिएको छ भने बलेफीको पीपीए खारेज गर्न प्राधिकरणले ९० दिनको सूचनासमेत जारी गरिसकेको छ ।
विगतमा ज्ञवालीको दबाबमा गठन भएको समितिले मन्त्रीबाट हटेको कारण म्याद थप्न नसकेपछि फेरि ऊर्जामन्त्री रायमाझीको दबाबमा विद्युत् प्राधिकरण बोर्ड बैठकले समिति गठन गरेको स्रोतले जनाएको छ । ज्ञवाली मन्त्री हुँदा उनकै दबाबमा पीपीए म्याद थप्न प्राधिकरण सञ्चालक सदस्य लक्ष्मण अग्रवालको संयोजकमा अर्का सञ्चालक सदस्य सुरज लामिछाने र तत्कालीन विद्युत् व्यापार विभागका प्रमुख अनिलराज राजभण्डारी सदस्य रहेको समिति गठन गरिएको थियो । लामिछाने हटेपछि सो ठाउँमा अर्का तत्कालीन सञ्चालक समिति सदस्य सन्तोषनारायण श्रेष्ठलाई सदस्य थपिएको थियो ।
समितिमा राजभण्डारीले म्याद थप्न असहमति राखेपछि जाने बेलामा ऊर्जा संकटकालको कारण देखाउँदै म्याद थप्नुपर्नेसहितको समितिले प्रतिवेदन दिएको थियो । त्यसपछि विद्युत् व्यापार विभागका निर्देशक बनेका प्रबल अधिकारीसमेत सहमत नभएपछि प्रक्रिया अघि बढेन ।
डिजेल प्लान्टमा असहयोग
लतिला १ र २ पीपीएमा असहमति
लबलेफी र लिखुको म्याद थप्न अस्वीकार 
http://rajdhani.com.np/article/0492239001466301302

Saturday, June 18, 2016

साढे उन्नाइस हजार घर बनाउन गैससलाई स्वीकृति



राजधानी समाचारदाता
काठमाडौं, २ असार ।
    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म १९ हजार ४ सय ५२ वटा निजी घर पुनर्निर्माणका लागि विभिन्न गैरसरकारी संस्थाहरु (गैसस) लाइ स्वीकृति दिएको छ ।
    प्राधिकरण कार्यकारी समितिले विभिन्न सात गैससलाई निजी घर बनाउनका लागि गैससलाई ले पेश गरेको परियोजना प्रस्तावहरुलाई स्वीकृत दिएको हो । प्राधिकरणले नेपाल रेडक्रस सोसाइटीलाई ६ हजार,  कारितास नेपाललाई ४४ सय ४०, लुथरन नेपाल फाउण्डेसनलाई २१ सय २४ र सेभ द चिल्डेनलाई १६ सय,  हेलवेटास नेपाललाई १ हजार, लुमन्तिलाई ८ सय ५० र टियर फण्डले ६ सय निजी घर बनाउन प्रस्ताव गरेका थिए । निजी घर निर्माणका साथै अन्य कार्यक्रम सञ्चालन गर्न १७ वटा संस्थाले २२ अर्व ३६ करोड ५९ लाख ७ हजार २ सय ४४ रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेको प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले जानकारी दिए । ती गैससले गोरखा, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर, दोलखा, धादिड., काठमाडौं लगायतका जिल्लामा कार्यक्रम सञ्चालन गर्नेछन् । गैससले स्वनिर्माण अवधारणालाइृ अलम्बन गरी घरधनीहरुले घर निर्माण गर्ने गरी दुइृ लाख अनुदान उपलब्ध गराउनुपर्ने पनि प्राधिकरणले जनाएको छ । पुनर्वास तथा बस्ती स्थानान्तरण, अति विपन्न परिवार, विपन्न दलित,  नाबालक सन्तान मात्र भएका विधवा र एकल महिला, ७५ वर्ष नाघेका जेष्ठ नागरिक मात्र सदस्य भएको परिवार, अपांगता भएका एकल व्यक्तिको लागि व्यक्तिगतको आवासको परिवारलाई दुई लाख ५० हजार सम्मको आवास अनुदान उपलब्ध गराउन सक्ने व्यवस्था प्राधिकरणले गरेको छ ।

१५ महिनाभित्र काठमाडौंका घरघरमा खानेपानी पाइप

राजधानी समाचारदाता
काठमाडौं, २ असार
आगामी १५ महिनाभित्र काठमाडौं उपत्यकावासीको घरघरमा खानेपानीको पाइप जडान हुने भएको छ । बहुदल आएपछिको सरकारका पहिलो प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले मेलम्ची खानेपानीले काठमाडौंका सडक पखाल्ने उद्घोष गरेपछि चर्चा परिचर्चामा रहेको मेलम्ची खानेपानी आयोजनामार्फत आउने पानीको पाइप जडान बल्ल अबको १५ महिनामा पूरा हुने भएको हो ।
‘अबको १५ महिनाभित्र काठमाडौं उपत्यकाको घरघरमा पानीको पाइप जडान भइसक्छ ।’ आयोजना कार्यान्वयन निर्देशानालयका निर्देशक तिरेशप्रसाद खत्रीले भने, ‘उपत्यकामा पाइपको सञ्जाल जोड्नका लागि भटाभट काम भइरहेको छ ।
१ सय १५ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री स्वर्गीय वीर शमशेरले जडान गरेको खानेपानीको पाइपलाई विस्थापन गरेर १ सय वर्षभन्दा बढी आयु हुने नयाँ प्रणाली जडान गर्न लागेको निर्देशानालयले जनाएको छ ।
‘दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण हुँदै छ ।’ खत्रीले भने, ‘१ सय १५ वर्षअघि राणा प्रधानमन्त्री वीर शमशेरले बनाएको प्रणालीबाट आधुनिक प्रविधिको उपयोग गरेर कम्तीमा १ सय वर्ष पुग्ने पाइप प्रणालीको निर्माण गर्दै छौं ।’
मेलम्चीबाट सुरुङमार्फत सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी आएपछि त्यहाँबाट महाकालचौरसम्म ९ दशमलव ६ किलोमिटर थोक वितरण प्रणाली रहेकामा ९ दशमलव ५ किलोमिटर पाइप बिछ्याइएको छ ।
१४ सय मिलिव्यासको पाइपमार्फत आउने पानी आयोजनाले ६ सय ७० किलोमिटर पाइप बिछ्याएर उपत्यकाको घरघरमा पु¥याउने लक्ष्य राखिएकामा हालसम्म ३ सय ५२ किलोमिटर निर्माण सम्पन्न भइसकेको र अन्य निर्माण भइरहेको निर्देशनालयका उपनिर्देशक अनिलभद्र खनालले जानकारी दिए । उनका अनुसार, घरघरमा पाइप पु¥याउनका लागि ५१ किलोमिटर थोक वितरण प्रणाली जडान गर्नुपर्ने लक्ष्य राखेकामा हालसम्म ३२ किलोमिटर सम्पन्न भइसकेको र बाँकी निर्माण भइरहेको छ ।
काठमाडौं उपत्यकाभित्र २७ लाख जनसंख्या रहेको र प्रत्येकलाई दैनिक १ सय लिटर खानेपानी पुग्ने गरी आयोजना वितरण प्रणाली अघि बढाइएको छ । ‘मेलम्ची खानेपानी आयोजनामार्फत १७ करोड लिटर र विद्यमान प्रणालीमार्फत १० करोड वितरण गर्ने गरी आयोजना अघि बढेको छ,’ निर्देशानालयका प्रवक्ता लीलाप्रसाद ढकालले भने ।
हाल सुन्दरीजल क्षेत्रमा ८ करोड ५० लाख लिटर पानी अट्ने प्रशोधन केन्द्र बनाइरहेको आयोजनाले सोही क्षमताको अर्को निर्माण सुरु गर्न लागेको छ भने ३४ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । यांग्री र लार्के नदीबाट थप १७÷१७ करोड लिटर पानी आएपछि सो पानीका लागि आयोजनाले छुट्टै प्रशोधन केन्द्र बनाउन लागेको हो ।
खानेपानी वितरणका लागि निर्देशानालयले आरुबारी, महांकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार र बालाजुमा ५० हजार घनमिटर पानी सञ्चय गर्न सक्ने गरी पोखरी निर्माण गरिरहेको छ । मुख्य लाइनमार्फत ती पानी पोखरीहरूमा पु¥याउने व्यवस्था गरिएको छ ।
निर्देशानालयले दोस्रो चरणमा वितरण सञ्जाल भक्तपुर र कीर्तिपुरमा समेत जोड्ने लक्ष्य राखेको छ । सो क्षेत्रका लागि कटुञ्जे, ठिमी र कीर्तिपुरमा थप ३ पानीपोखरी निर्माण गर्ने लक्ष्य राखेको छ । आयोजनाले खानेपानी वितरणलाई सहज बनाउन उपत्यकाभित्र २० ट्युबेलको निर्माण कार्यसमेत अघि बढाएको छ ।
१६ वर्षअघि निर्माण सुरु गरेर पहुँचमार्ग निर्माणका साथै अन्य प्रारम्भिक कार्य गर्नका लागि आठ वर्ष बिताएको मेलम्ची खानेपानी आयोजना २०६४ सालदेखि निर्माण सुरु भएको थियो । गत वैशाखमै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको मेलम्ची खानेपानी आयोजना भूकम्प र नाकाबन्दीका कारण झन्डै डेढ वर्ष ढिला हुने देखिएको छ ।
‘भूकम्प र नाकाबन्दीका कारण २०७४ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकामा ढिला भयो, अबको १५ महिनामा सक्ने लक्ष्य राखिएको छ,’ मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले भने, ‘मेलम्चीदेखि सुन्दरीजलसम्मको २७ किलोमिटर सुरुङमध्ये १७ किलोमिटर सम्पन्न भइसकेको छ, अहिले दैनिक ३० मिटरको दरमा सुरुङ निर्माण भइरहेको छ, अबको १५ महिनामा सकिन्छ ।’
पछिल्लो समयमा सुरुङ निर्माणका क्रममा कलिला ढुंगा (सफ्ट रक) भेटिएपछि निर्माण कार्यमा सुस्तता आएको स्रोतले बतायो ।
‘पछिल्लो समयमा धेरै कम मात्र सुरुङ खन्ने कार्य भएको छ, एक हप्तामा ५० मिटर पनि पुगेको छैन, त्यसकारण १५ महिनामा पूरा गर्न असम्भव छ,’ एक अधिकारीले भने । मेलम्ची विकास समितिले भने २०७४ असोजभित्र सम्पन्न गर्ने योजना सार्वजनिक गरिसकेको छ ।
http://rajdhani.com.np/article/0754643001466136078

Thursday, June 16, 2016

सि“चाइले फे¥यो रुकुमेलीको जीवन

भीम गौतम / राजधानी
काठमाडौं, १ असार
विकट घेद्मा गाविस–८ रुकुमकी करिमा खड्कालाई दुई वर्षअघिसम्म पानीको अभावले खेतमा कसरी खेती गर्ने भन्ने चिन्ता थियो । खेतीमुनि रहेको भेरी नदी र नजिकै रहेको बागेजेउला खोला भए पनि सिँचाइको अभाव उनका लागि सबैभन्दा ठूलो समस्या बनेको थियो ।
एक वर्ष अघि मात्र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), यूकेएड, युरोपियन युनियनलगायतको सहयोगमा जिल्ला विकास समिति रुकुमले जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गत बागेदेउला सिँचाइ आयोजना बनाएपछि उनको समस्या हटेको छ ।
पछिल्लो समयमा जलवायु परिवर्तनका कारणले सानातिना खोलानाला सुक्न थालेपछि र आवश्यक समयमा वर्षासमेत कम हुन थालेपछि यहाँका बासिन्दाका लागि पानी समस्या सबैभन्दा ठूलो बन्दै गएको छ । यसलाई मध्यनजर राखेर यहाँ सहयोग कार्यक्रम सञ्चालित छ । ‘पहिला सिँचाइ नभएर ठूलो समस्या थियो, सिँचाइ आएपछि खेतमा धान खेती हुन थालेको छ ।’ खड्काले भनिन्, ‘सिँचाइले अब चालम धेरै किन्नुपर्ने अवस्था छैन ।’
खड्का मात्र होइन, बागेदेउला सिँचाइ बनाएपछि घेदमा गाविस–८ र १ वडाका ४८ घरधुरीलाई सिँचाइ सुविधा पुगेको छ । पहिला मकै र कोदो मात्र खाएर जीवनयापन गर्ने यहाँका बासिन्दाको खेत सिञ्चित भएपछि धानसहित तरकारी खेतीसमेत गर्न थालेका छन् ।

बागेदेउलामा बनेको कुलोबाट पानी पाएपछि यहाँका किसान असाध्यै खुसी छन् । ‘नजिकै खोलो भएर के गर्नु सिँचाइ नभएर ठूलो समस्या थियो ।’ ‘अँजुलीमा हालेर पानी ल्याउन नमिल्ने तर अहिले कुलो बनेर मज्जाले खेती गर्न पाएपछि साह्रै खुसी छौं,’ बागेदेउलाका बासिन्दाले भने ।
पहिला एक वर्षमा दुई बाली मात्र हुने ठाउँमा अहिले तीन बाली हुन थालेको छ भने उत्पादन पनि तेब्बर बढ्न थालेको छ । पहिला सानो कुलो बनाएर पानी ल्याउँदा नपुगेर गाउँलेबीच बारम्बार झैझगडा हुने भए पनि त्यसमा पनि कमी आएको छ । ‘पहिला त पानीकै निहुँमा झगडा भइरहने अवस्था थियो, प्रहरीसमेत बोलाउनुपरेको थियो ।’
सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष कुमे पुनमगरले भने, ‘अहिले त बर्खामा तीन बाली हुन थालेको छ, उत्पादन पनि तेब्बर बढेको छ ।’ उनका अनुसार यहाँ रहेका ४८ घरधुरीमध्ये १२÷१३ घरधुरीलाई खान पुग्ने भए पनि अहिले भने अधिकांश किसान आत्मनिर्भर हुन थालेका छन् ।
विगतमा यहाँ उत्पादन कमजोर हुँदा छिमेकी गाउँमा गएर १० पाथी कोदोको ब्याज ५ पाथी तिर्ने गरी ल्याउनुपर्ने अवस्था थियो । साहुलाई तिर्नुपर्ने ब्याजबाट हैरान भएका उनीहरूले यसबाट सिँचाइ आएपछि मुक्त भएका छन् । ‘कोदो मकैमा साहुबाट १० पाथी ल्याएर १ वर्षपछि १५ पाथी तिर्नुपर्ने अवस्थाबाट मुक्ति मिलेको छ,’ अध्यक्ष पुनले भने ।
अहिले गाउँमै आलु, काउली, काँक्रो, कोपी, गोलभेंडालगायतका तरकारीसमेत खेती हुन थालेको छ । ‘खानेपानीको मुहान सुकेर त धेरै समस्या भएको छ, तर सिँचाइ भने पाएका छांै,’ स्थानीय संगीता सनाराले भनिन्, ‘सिँचाइ पाउँदा कम्तीमा कसैसँग अन्न पाथी ऋण लिने अवस्थाको अन्त्य भएको छ ।’
घेम्दा मात्र होइन, जलवायु परिवर्तन सहयोग कार्यक्रमले रुकुमको मर्मत र नयाँ सिँचाइमार्फत दुई हेक्टर जमीनमा सिँचाइ गरिएको छ । जसबाट ३३ सय किसान प्रत्यक्ष लाभान्वित भएका यूएनडीपीले जनाएको छ ।
http://rajdhani.com.np/article/0206671001466046847

Wednesday, June 15, 2016

भूकम्पपीडित र बूढीगण्डकी प्रभावित २७ गाविसका पीडा


न पुनःस्थापना न त अनुदान नै

भीम गौतम / राजधानी
काठमाडौं, ३२ जेठ
बहुचर्चित १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट पीडित सर्वसाधारण बिचल्लीमा पर्ने अवस्था आएको छ । सरकारले स्पष्ट निर्णय नलिएपछि भूकम्पपीडितसमेत रहेका र बूढीगण्डकी जलविद्युत् आयोजनाबाट डुबानमा परेका गोर्खाका १४ गाविस र धादिङका १३ गाविसका बासिन्दा बिचल्लीमा परेका हुन् ।
सरकारले बूढीगण्डकीपीडितलाई मुआब्जा निर्धारण गरेर वितरण गरी पुनःस्थापनामा ढिलाइ गरेपछि भूकम्पबाट दयनीय अवस्थामा बसिरहेका उनीहरूलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत अनुदान नदिने बताएपछि थप पीडामा परेका हुन् । जिल्ला प्रशासन कार्यालय गोर्खा र धादिङले हालसम्म जग्गाको मुआब्जासमेत निर्धारण गर्न सकेको छैन । मुआब्जा निर्धारण गरेर वितरण गरी उचित स्थानमा कहिले पुनःस्थापना भइसक्ने भन्ने टुंगो छैन । यसबाट गोर्खाको घ्याल्चोक, दरबुङ, फुजेल, नामजुङ, बोर्लाङ, असराङ, बुङकोट, धावा, तान्द्राङ, आलुपोखरी, आरु चनौटे, आरु आखाङ र थुमी गाविसका बासिन्दा पीडामा परेका छन् ।
यस्तै, धादिङको सलाङ, मैदी, खरी, चैनपुर, ज्यामङ्ड, मारपाक, सल्यानकोट, त्रिपुरा, आगिन चोक, सल्यानटार, मूलपानी, बूढाथुम र बसेरी गाविसका ३५ सय ६० घरधुरीमा डुबानपीडित भूकम्प अनुदानबाट वञ्चित हुने भएका छन् । ‘बूढीगण्डकीको डुबान क्षेत्रमा पर्ने हामी भूकम्पबाट पीडित पनि हौं, तर न सरकारले चाँडै पुनःस्थापना गर्ने अवस्था छ, न भूकम्पपीडितलाई दिने राहत नै,’ बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका अध्यक्ष हरिराम ढकालले राजधानीसँग भने, ‘कि सरकारले विशेष सम्बोधन गरेर भूकम्पबाट बिचल्लीमा रहेका परिवारलाई विशेष अस्थायी आवासको व्यवस्था गर्नुप¥यो कि अनुदानको रकम दिएर अस्थायी आवासका लागि वातावरण बनाउनुप¥यो ।’ बूढीगण्डकी विकास समितिले मुआब्जा वितरणलगायतमा सक्रियता देखाइरहेको बेला आगामी वर्षको बजेटमा सरकारले बूढीगण्डकी मुआब्जा वितरणका लागि छुट्टै अधिकार सम्पन्न समिति गठन गर्ने उल्लेख गरेपछि अन्योल बढेको छ ।
हालसम्म समिति गठनसमेत भएको छैन । ढकालका अनुसार सरकारले स्पष्ट निर्णय नगर्दा आगामी वर्षामा समेत भूकम्पपीडितहरू दयनीय अवस्थामा बाँच्नुपर्ने अवस्था सिर्जना भएको छ । ‘सरकारले तत्काल बूढीगण्डकीपीडितलाई अस्थायी बसोबासको व्यवस्था गरेन भने भूकम्पपीडितहरू आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भएको छ,’ ढकालले भने, ‘असारको पहिलो सातासम्म कुर्छौं, केही सम्बोधन भएन भने पीडितहरूले सामूहिक रूपमा दबाब दिनुको विकल्प छैन ।’
सरोकार समितिका अनुसार असार पहिलो साताभित्र भूकम्पपीडितलाई अस्थायी आवासका लागि सम्बोधन नगरे बूढीगण्डकी सिउरिनीटारको अफिसमा तालाबन्दी गर्नेदेखि चक्काजामको आन्दोलन गरिनेछ ।
पुनर्निर्माण प्राधिकरणले डुबानमा पर्नेबाहेकका क्षेत्रमा भूकम्प अनुदानको सम्झौता सुरु गरे पनि डुबान क्षेत्रका बासिन्दासँग प्रक्रिया अघि बढाएको छैन । यसपछि यहाँका स्थानीयवासी सरकारदेखि आक्रोशित भएका छन् । सरकारले पक्की भवन बनाउनसमेत रोक लगाएको यस क्षेत्रमा गत चैतदेखि जग्गा बेचबिखनसमेत रोकेको छ । बूढीगण्डकी विकास समितिले वैशाखभित्रै जग्गाको मुआब्जा निर्धारण गरेर जेठ र असारभित्र वितरण गरिसक्ने लक्ष्य राखे पनि हालसम्म निर्धारण गर्न सकेको छैन । मुआब्जा तत्काल वितरण गरेर पुनःस्थापना हुन समय लाग्ने भएकोले सरकारले भूकम्पपीडितसमेत रहेका यस क्षेत्रका प्रभावितलाई अस्थायी आवासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । ‘बूढीगण्डकी प्रभावित क्षेत्रमा पक्की घर बनाउन र जग्गा बिक्री गर्न रोक लगाइएको छ,’ ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले भने, ‘डुबान क्षेत्रमा पर्नेहरूलाई भूकम्पपीडितको पाउने अनुदानबारे विस्तृत छलफल भइसकेको छैन ।’

बूढीगण्डकी विकास समितिले भने जनशक्ति अभावले मुआब्जा निर्धारणका लागि समय लागेको बताएको छ । ‘गोर्खा र धादिङका मालपोत र नापीमा जनशक्तिको अभाव छ, यसबारे भूमि सुधार मन्त्रालयसँग छलफल गर्दै छांै,’ बूढीगण्डकी विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले राजधानीसँग भने, ‘फिल्डमा पुगेर प्रत्येक जग्गाको मुआब्जा निर्धारण गर्न ढिलाइ हुने नै भयो, हामी छिट्टै गर्ने प्रयासमा छौं ।’ गत चैतमा बूढीगण्डकीबारे छलफल गर्न कुरिनटार पुगेका उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले मुआब्जा वितरणका लागि कुनै समस्या नहुने र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने बताएका थिए । तर, निर्धारित समयमा मुआब्जा निर्धारण नहुँदा चालू वर्षमा झन्डै २ अर्ब ९० करोड खर्च नहुने भएको छ । हालसम्म निर्धारण नभएको र भए पनि सबै प्रक्रिया पूरा गर्न चालू वर्षभित्र वितरणको सम्भावना नरहेको विकास समितिले जनाएको छ ।
स्थानीयवासीले भने अस्थायी बसोबासको व्यवस्था नगरे आन्दोलनमा उत्रने चेतावनी दिइसकेका छन् । यसबारे निर्देशक बस्नेतले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग छलफलसमेत गरिसकेका छन् । ज्ञवालीले बूढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दालाई अस्थायी आवासका लागि अनुदान दिन मन्त्रिपरिषद्को निर्णय आवश्यक रहेकाले यसबारे पहल गर्ने बताएका छन् । भूकम्पलगत्तै तत्कालीन अवस्थामा ऊर्जा मन्त्रालयले तत्काल अस्थायी आवास बनाएर पुनःस्थापनासहित जग्गा अधिग्रहण र मुआब्जा वितरण गर्न सके सहज रूपमा आयोजना अघि बढ्न सक्ने भन्दै गृहकार्य सुरु गरेको थियो । तर, यसबारे मन्त्रालयका अधिकारी गम्भीर नहुँदा बीचमै तुहिएको थियो ।
अहिले पनि प्रभावित बासिन्दाले अस्थायी आवासको माग गरिरहेका छन्, तर सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्न सकेको छैन । जलाशययुक्त आयोजनाका लागि सबैभन्दा ठूलो चुनौती र महŒवपूर्ण जग्गा अधिग्रहण र मुआब्जा वितरण मानिन्छ । अस्थायी आवासको व्यवस्था गर्न सकेको भए सबैभन्दा ठूलो समस्या समाधान गर्न सहज हुने तर्क ऊर्जा मन्त्रालयका अधिकारीहरूले गर्दै आए पनि यसबारे ठोस काम भने भएको छैन ।
http://rajdhani.com.np/article/0508285001465950053

Monday, June 13, 2016

पहिलो किस्ता पाउने २ हजार मात्र

भीम गौतम / राजधानी
काठमाडौं, ३० जेठ
सरकारले पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर निजी घर निर्माणलाई तीव्रता दिएको बताइरहेका बेला अहिलेसम्म २ हजार भूकम्पपीडितले मात्र अनुदान पाएका छन् । गत ३० फागुनमा दोलखाको सिँगटीबाट निजी घरका लागि अनुदान सम्झौता सुरु गरे पनि ३० जेठसम्म २ हजार ४ जना भूकम्पपीडितले पहिलो किस्ताको अनुदान पाएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । तीव्र गतिमा निजी घर पुनर्निर्माण अघि बढाउने घोषणा गरिरहेका बेला तीन महिनाको अवधिमा यति थोरै पीडितसँग मात्र पहिलो किस्तामा दिइने ५० हजार अनुदानको सम्झौता भएको हो ।
मन्त्रालयका सह–सचिव एवं प्रवक्ता रश्मीराज पाण्डेका अनुसार, ७२ हजार १ सय ४५ जनासँग अनुदान सम्झौता भएकामा तीन जिल्लाका २ हजार ४ जनाले मात्र अनुदानको रकम पाएका छन् । दोलखा, गोरखा र सिन्धुपाल्चोकबाहेकका ८ जिल्लाका कुनै पनि भूकम्पपीडितले पहिलो किस्ताको रकम पाएका छैनन् । सर्वेक्षण सकिएकामध्ये अझै ४ लाख भूकम्पपीडितसँग अनुदान सम्झौता हुनै बाँकी छ । हालसम्म ११ जिल्लाका ५६ गाविसबाहेकका लाभग्राही संख्या ४ लाख ७३ हजार १२ घरधुरी पहिचान भई सोको नामावली प्रकाशन गरिसकेको मन्त्रालयले जनाएको छ ।
स्थानीय विकास मन्त्रालयका अनुसार, दोलखाका १२ सय ३७, गोरखाका ७ सय ६५ र सिन्धुपाल्चोक जिल्लाका दुई जनाले मात्र पहिलो किस्ताको भुक्तानी पाएका छन् । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने ७४ हजार ४ सय ८१ जनाले अनुदान सम्झौता गरिसकेको जानकारी दिएको छ । दुई सरकारी निकायको तथ्यांकमै फरक देखिएको छ ।
स्थानीय विकास मन्त्रालयका अनुसार, दोलखाका १३ हजार २ सय ५८ मध्ये १३ हजार २ सय ५८, धादिङका ४८ हजार ७ सय ७३ मध्ये २ हजार ९८, नुवाकोटका ६५ हजार ७ सय ७२ मध्ये ७ सय, गोरखाका ५८ हजार ५ सय ३ मध्ये ४८ सय ५ र सिन्धुपाल्चोकका ७८ हजार ४ सय ८४ मध्ये ३ हजारले मात्र अनुदान सम्झौता गरेका छन् । त्यसैगरी, मकवानपुरका १३ हजार ८ सय ४८ मध्ये १०, काभ्रेका ५० हजार ७ सय ३४ मध्ये ९ सय १५, रामेछापका ४३ हजार ६ सय ७ मध्ये ३१ हजार ८ सय ४, सिन्धुलीका ३४ हजार २ सय ५३ मध्ये ११ सय, ओखलढुंगाका १९ हजार ८ सय १८ मध्ये १४ हजार २ सय २ र रसुवाका ७ हजार ४ सय ७१ मध्ये २ सय ८ जनासँग मात्र अनुदान सम्झौता भएको छ ।
पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार, रामेछापका ४३ र ओखलढुंगाका ४६ गाविसमा अनुदान सम्झौता सम्पन्न भइसकेको छ । सरकारले पछिल्लो समयमा २ लाख अनुदानबाहेक सामूहिक जमानीमा दिइने ३ लाख रकम र पहिलो किस्ताको रकम एकसाथ दिने बताए पनि यसबारे प्रक्रिया अघि बढ्न सकेको छैन । 
http://rajdhani.com.np/article/0533691001465783399

Sunday, June 12, 2016

भारतबाट फेरि ८० मेगावाट विद्युत् खरिद गर्न प्रस्ताव

भीम गौतम/राजधानीकाठमाडौं, २९ जेठ
नेपाल विद्युत् प्राधिकरणले आगामी साउनदेखि भारतबाट ८० मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव गरेको छ । गत फागुनदेखि पाँच महिनाका लागि ८० मेगावाट थप विद्युत् आयात गर्दै आएको नेपालले आगामी साउन अर्थात् जुलाईदेखि फेरि ल्याउन प्रस्ताव गरेको हो । गत ८ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा रिमोर्टमार्फत स्विच थिचेर ८० मेगावाट विद्युत् आयातको शुभारम्भ गरेका थिए ।
विद्युत् प्राधिकरणले साउनदेखि एक वर्षका लागि अहिले खरिद गरिँदै आएको भारतको नेसनल थर्मल पावर कम्पनी (एनटीपीसी) को प्लान्टबाट व्यापारी कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत नै खरिद गर्न प्रस्ताव गरिएको विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक राजीव शर्माले जानकारी दिए ।
‘अहिले भारतबाट अन्तरदेशीय प्रसारण लाइनमार्फत ल्याएको विद्युत् जुनसम्मका लागि हो, ‘उनले भने, ‘आगामी जुलाईदेखि एक वर्षका लागि विद्युत् खरिद गर्न एनभीभीएनमा प्रस्ताव गरेका छौं ।’ विद्युत् प्राधिकरणले एनभीभीएनसँग ७४ मेगावाट विद्युत् खरिदको सम्झौता गरेको छ । प्राधिकरणका अनुसार सम्झौतामा १२ प्रतिशतसम्म तलमाथि गर्न पाइने भएकाले ८० मेगावाटसम्म विद्युत् आयात हुने गरेको छ ।
विद्युत् प्राधिकरणले आगामी जुलाई, अगस्ट र सेप्टेम्बरमा एनभीभएनमार्फत ५०÷५० मेगावाट तथा नोभेम्बरदेखि जुनसम्म ७४ मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव गरेको छ । अक्टोबरमा नेपाली चाड दसैंको कारण उद्योग व्यवसाय बन्द हुने कारण सो महिनामा पनि आयात नगर्ने गरी प्रस्ताव गरेको छ ।
ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाटसम्म विद्युत् आयात गरिरहेको नेपालले भारतसँग आगामी सन् २०१६ को अक्टोबरसम्म २ सय मेगावाट र २०१७ को डिसेम्बरबाट ६ सय मेगावाट पु¥याइने सम्झौता गरिसकेको छ । हाल ८० मेगावाटसहित ३ सय मेगावाट विद्युत् आयात हुँदै आएको छ ।
हाल भारतबाट आयातीत विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँमा आयात गर्न लागेको हो । एनभीभीएनले प्राधिकरणलाई प्रतियुनिट ३ दशमलव ५ अर्थात् ५ दशमलव ५० भारतीय रुपैयाँ दिएकामा प्रसारण लाइनबापत्को ह्विलिङ चार्जसहित ७ रुपैयाँ पर्छ ।

पीटीए कार्यान्वयन बैठक असारमा

आगामी १३ र १४ असारमा नेपाल र भारतबीच बहुचर्चित ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनको भारतमा द्विपक्षीय बैठक बस्ने भएको छ । पीटीए कार्यान्वयनका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समिति (पीटीए) र सह–सचिवस्तरीय संयुक्त कार्य समूह (जीडब्लूजी) को बैठक बस्ने भएको हो । ‘पीटीए कार्यान्वयनका लागि गठित सचिवस्तरीय र सह–सचिवस्तरीय द्विपक्षीय बैठक आगामी २७ र २८ जुनमा नयाँ दिल्लीमा हुँदै छ ।
नेपालबाट सचिवस्तरीय बैठकको नेतृत्व ऊर्जा सचिव सुमनप्रसाद शर्मा र सह–सचिवस्तरीय बैठकको नेतृत्व घिमिरेले गर्न लागेका छन् । बैठकमा पीटीए कार्यान्वयन, दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण, भारतबाट थप विद्युत् आयातलगायतबारे छलफल गर्ने कार्यक्रम छ । नेपाल र भारतबीच ४ कात्तिक २०७१ मा पीटीए भएको थियो । पीटीए भएपछि पहिलो मंसिर २०७१ तथा गत माघमा दोस्रो बैठक नेपालमा बसेको थियो ।
http://rajdhani.com.np/article/0106803001465696894

Saturday, June 11, 2016

ऊर्जा मन्त्रालयले सम्झौता उल्लंघन गरेको आरोप

राजधानी समाचारदाताकाठमाडाै, २७ जेठ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले ऊर्जा मन्त्रालयले आफू नियुक्त हुँदा गरिएको सम्झौता उल्लंघन गरेर कार्य सम्पादन मूल्यांकन गरेको आरोप लगाएका छन् । ऊर्जा मन्त्रालयद्वारा गठित मूल्यांकन समितिले कार्य सम्पादन मूल्यांकनमा असफल देखाएपछि त्यसको पुनरावलोकन गराउन मन्त्रालयलाई पत्र पठाउँदै काफ्लेले मूल्यांकन वस्तुनिष्ठ÷व्यावहारिक नभई पूर्वाग्रही भएको उल्लेख गरेका छन् । कार्यकारी निर्देशक सफल हुनका लागि कार्य सम्पादन मूल्यांकनमा ५० प्रतिशत ल्याउनुपर्नेमा काफ्लेलाई समितिले ४४ दशमलव ३५ प्रतिशत मात्र नम्बर दिएको छ । उनले पत्रमा स्वतन्त्र रूपमा कार्यकारी निर्देशकलाई काम गर्ने अवसर दिनुपर्नेमा नदिएको, ऊर्जा मन्त्रालयले आफूलाई मन्त्रालयमा हाजिर गराउनेजस्ता कार्य गरेर वातावरण बिथोली मन्त्रालय र आफूबीच भएको कार्य सम्पादनसम्बन्धी सम्झौतालाई तोडेको जस्ता आरोप लगाएका छन् ।
पुनरावलोकनका लागि पठाएको पत्रमा सम्झौताविपरीत मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै हाजिर गराउने निर्णयसँगै सम्झौता उल्लंघन गरेको आरोप लगाइएको छ । त्यस्तै, १५ असोजदेखि ९ पुस २०७२ सम्म मन्त्रालयले कार्यकारी निर्देशककै स्वीकार नगरेको, सञ्चालक समितिको बैठकसमेत बस्ने वातावरण नभएको अवस्थालाई बेवास्ता गरेको तथा कार्य सम्पादक मूल्यांकन सम्झौताको पालना नगरी १२ कात्तिक २०७२ सम्मको कार्य सम्पादन मूल्यांक परस्पर विवादित, एकपक्षीय र अविश्वसनीय हुँदा मूल्यांकन खारेजभागी भएको पत्रमा उल्लेख छ । विभिन्न आयोजनाको अनुगमन, विद्युत् चुहावट नियन्त्रण, आयोजनाको अध्ययन तथा निर्माण समाप्ति, संस्थागत सुदृढीकरण आदि विषयको प्रगति हासिल गर्ने सन्र्दभमा भूकम्पको बाबजुद सन्तोषजनक प्रगति हासिल भएकामा तोकिए बमोजिमको प्रगति नभएको भनी न्यून तथा शून्य अंक प्रदान गरिएको समितिको मूल्यांकन प्रतिवेदन करारीय मान्यता, अभ्यास र मूल्यांकन मापदण्डविपरीत रहेको उनले उल्लेख गरेका छन् । उनले भूकम्प लगायतको अवस्थालाई दृष्टिगत नगरी गरिएको मूल्यांकन अव्यावहारिक, अन्यायपूर्ण र पूर्वाग्रही भएको उल्लेख गरेका छन् ।
कार्य सम्पादनप्रति १५ बुँदे सहमति सहितको पत्र लेखेका काफ्लेले आफूले भूकम्पले उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुत गरिएको कार्यको निष्पक्ष र स्वतन्त्र कार्य सम्पादन मूल्यांकन भएमा आफूले ८१ दशमलव ५५ प्रतिशत प्राप्त हुने दाबी गरेका छन् । पहिलो तीन महिनाको प्रतिवेदन आफूले समयमै बुझाए पनि त्यसको विस्तृत गृहकार्य र प्रतिकृया सहितको सुझाव समयमै उपलब्ध नगराई तोकिएको अवधिभित्र जानकारी दिनुपर्नेमा नदिएको तथा प्रकृया पूरा नगरी दूषित मनसायले ७ महिनापछि पुनः सेवाबाट हटाउने उद्देश्यका साथ गरिएको न्यून मूल्यांकन प्रतिवेदन सहितको पत्र बदरभागी भएको उल्लेख छ । पत्रमा आफ्नोसमेत सहमतिमा सम्झौताको दफा ९ मा भएको व्यवस्थाअनुसार मन्त्रीपरिषद्बाट स्वतन्त्र समूह गठन गरी कार्य सम्पादन मूल्यांकन पुनरावलोकन गर्न माग गरिएको छ । उनले विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णयबाट अधिकांश काम अघि बढ्ने उल्लेख गर्दै बैठक नभएको विषयलाई कुनै ख्याल नगरिएको जिकिरसमेत पत्रमा गरेका छन् । मन्त्रालय र प्राधिकरण बीचको विभिन्न कारण देखाएर १० भदौ २०७२ देखि २० माघ २०७२ सम्म प्राधिकरण बोर्ड बैठक बस्न सकेको थिएन ।
कार्यकारी निर्देशक काफ्लेको ३ र ६ महिनाको एकैचोटि कार्य सम्पादन मूल्यांकन गरिएकामा ४७ प्रतिशत मात्र अंक पाएपछि उनले यसविरुद्ध पुनरावलोकनका लागि ऊर्जा मन्त्रालयमा निवेदन दिएका थिए । निवेदनका आधारमा ऊर्जा मन्त्रालयले पूर्वसचिव बालानन्द पौडेलको संयोजकत्वमा समिति गठन गरेकामा मूल्यांकन समितिको प्रतिवेदनलाई उपर्युक्त ठह¥याएको थियो । यसविरुद्ध उनले मन्त्रिपरिषद्मा पुनरावलोकनका लागि निवेदन दिएका थिए । तत्कालीन ऊर्जामन्त्री ज्ञवालीलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले हटाएपछि निमित्त ऊर्जामन्त्रीको जिम्मेवारी पाएका तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमले अधिकार क्षेत्र नाघेर काफ्लेलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए भने उनको बर्खास्तीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।
सम्झौताअनुसार उनले पुनः पुनरावलोकनका लागि मन्त्रिपरिषद्मा निवेदन दिएकामा मन्त्रिपरिषद्ले गठन गर्ने समितिको प्रतिवेदनका आधारमा मात्र बर्खास्ती गर्न मिल्ने भन्दै सो प्रस्ताव दर्ता गर्नै अस्वीकार गरेको थियो । रायमाझी असोजमा ऊर्जामन्त्री बने पनि पुसमा मात्र प्राधिकरण छिरेका थिए भने ऊर्जा र प्राधिकरणबीच बढेको द्वन्द्वका कारण कार्यकारी निर्देशक काफ्लेद्वारा हस्ताक्षरित पत्र चार महिनासम्म मन्त्रालयले अस्वीकार गरेको थियो ।
काफ्लेले पत्र पठाएलगत्तै ऊर्जा मन्त्रालयले सरकारका पूर्वसचिव पूर्ण कडरियाको संयोजकत्वमा दीनबन्धु पोखरेल र तारानाथ सापकोटा सदस्य रहेको पुनरावलोकन समिति गठन गरेको छ । पाँच दिनभित्र पुनरावलोकन गर्ने गरी समिति गठन गरिएको ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले बताए । कार्यकारी निर्देशक स्रोतले भने जलविद्युत् क्षेत्रसँग असम्बन्धित व्यक्ति राखेर समिति गठन गरिएको तथा आफ्नो सहमतिमा समिति गठन गर्नुको सट्टा एकलौटी गरिएको बताएको छ ।
कडरिया नेतृत्वको समितिले दिएको प्रतिवेदन पनि चित्त नुबझेमा उनले फेरि पुनरावलोकनका लागि मन्त्रीपरिषद्बाट अर्को समिति गठनका लागि माग गर्न सक्नेछन् । मन्त्रीपरिषद्ले गठन गरेको समितिले पनि असफल देखाएमा उनलाई परिषद्ले बर्खास्तसमेत गर्न सक्नेछ ।
http://rajdhani.com.np/article/0622929001465525871

Thursday, June 9, 2016

यसरी तुहिन्छन् लोकप्रिय जलविद्युत् कार्यक्रम

भीम गौतम / राजधानी
काठमाडौं, २६ जेठ
सरकारले सबैभन्दा बढी महŒव जलविद्युत्लाई दिएको बताइरहेका बेला उत्पादन बढाउनका लागि भन्दै ल्याइएका लोकप्रिय कार्यक्रम कसरी ढिलाइ हुन्छन् भन्ने उदाहरण ‘जनताको विद्युत् जनताकै लगानी’ कार्यक्रम हेरे पुग्छ ।
आर्थिक वर्ष २०७१÷०७२ को नीति तथा कार्यक्रममा अति महŒव दिँदै ल्याएको यो कार्यक्रम हालसम्म अघि बढेकै छैन । तर, तत्कालीन अवस्थामा यो कार्यक्रमको यति प्रचार गरियो कि जनताले पनि अब केही हुन्छ भन्ने ठानेका थिए । सोही वर्ष २५ मेगावाट, त्यसपछिको वर्ष १ सय २५ मेगावाट र तेस्रो वर्ष १ सय ५० गरी ३ सय मेगावाट जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने लक्ष्य लिइएको थियो । तर, अझै कुनै जलविद्युत् आयोजना सुरु भएको छैन । सुरु भएको वर्ष ताप्लेजुङको १३ दशमलव ५ मेगावाट मैवाखोला र रोल्पाको १२ दशमलव २ मेगावाटको माडी खोला जलविद्युत् आयोजना अघि बढाउने लक्ष्यसहित दुवैलाई ५÷५ करोड बजेट छुट्याएको थियो । तर, एक रुपैयाँ पनि खर्च भएन । चालु वर्षमा १०÷१० करोड रुपैयाँ छुट्याइए पनि खर्च हुन सक्ने अवस्था छैन । मादी खोला जलविद्युत् आयोजना भने नेपाली सेनामार्फत निर्माण गर्ने गरी चालू वर्षको बजेट तथा कार्यक्रममा राखिएको छ । यो आयोजना अघि बढाउन पनि स्वीकृतिका लागि अर्थ मन्त्रालय फाइल पुगेको छ तर अझै स्वीकृति पाइसकेको छैन ।
ऊर्जा मन्त्रालयका अनुसार ‘जनताको विद्युत्, जनताकै लगानी’ कार्यक्रम अघि बढाउन सरकारले बनाउन लागेको कम्पनी अघि बढाउन बल्ल अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । अघिल्लो वर्ष नै यो कार्यक्रम कम्पनीमार्फत अघि बढाउने भन्दै प्रबन्धपत्र र नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको थियो । तर, एक वर्षपछि मात्र ऊर्जा मन्त्रालयले अघि बढाउन स्वीकृति पाएको छ ।
‘बल्ल अर्थ मन्त्रालयबाट स्वीकृति पाएका छौं, अब कम्पनी दर्ता प्रक्रिया अघि बढ्छ,’ ऊर्जा मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले भने, ‘कम्पनी दर्ता नभएका कारण अघिल्लो वर्ष छुट्याएको रकम पनि खर्च भएन, यसपालि छुट्याएको पनि हुने सम्भावना कम छ ।’ उनका अनुसार अर्थ मन्त्रालयको स्वीकृतिपछि अब कम्पनी खोल्नका लागि मन्त्रिपरिषद्मा लैजान भने बाटो खुलेको छ ।
सार्वजनिक, स्थानीय निकाय, सहकारी र स्थानीय जनताको साझेदारीमा निर्माण अघि बढाउने लक्ष्य राखिएको कार्यक्रमअन्तर्गत स्वपँुजी (इक्वेटी) मा स्थानीय जनताको प्रत्यक्ष सहभागिता गराउने लक्ष्य राखिएको थियो ।
कम्पनीको अवधारणामा आयोजना बनाउन लिने ७० प्रतिशत ऋणमध्ये ५० प्रतिशत सरकारले बजेटमार्फत तथा बाँकी ५० प्रतिशत बैंक, जलविद्युत् लगानी कम्पनी तथा अन्त्य वित्तीय संस्थाबाट लिने व्यवस्था गरिएको छ । स्थानीयस्तरमा छरिएर रहेको पुँजी विद्युत् क्षेत्रमा एकीकृत गराइ विद्युत् विकासमा स्वदेशी पुँजी परिचालन गर्ने उद्देश्यसहित अघि बढाउन खोजिएको कम्पनीमा ५० भन्दा बढी प्रतिशत स्थानीय समुदाय र संस्थाले सेयर हाल्न पाउने व्यवस्था गरिन लागिएको छ ।
३० प्रतिशत स्वपुँजीमध्ये ऊर्जा, अर्थ तथा कानुन, न्याय, संविधानसभा तथा संसदीय मन्त्रालयले ५÷५ प्रतिशत तथा विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणले १०÷१० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ भने जलविद्युत् विकास तथा लगानी कम्पनी र सम्बन्धित आयोजना निर्माण हुने जिल्ला विकास समितिले ५÷५ प्रतिशत सेयर हाल्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी सम्बन्धित जिल्लाका स्थानीय जनताले २० र अन्य जनताले १० प्रतिशत तथा नगरपालिका, गाविसलगायतका स्थानीय निकायलाई १० प्रतिशतका साथै स्थानीय सहकारी, सामुदायिक संस्था, नेपाल उद्योग वाणिज्य महासंघलगायतले १५ प्रतिशतसम्म सेयर हाल्न पाउने व्यवस्था गरिएको छ । कम्पनी सञ्चालक समितिमा ऊर्जा मन्त्रालयका सह–सचिव, विद्युत् विकास विभागका महानिर्देशक, विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक, जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सम्बन्धित जिल्लाका स्थानीय विकास अधिकारी, वर्गीकृत सेयर धनीमध्ये स्थानीय निकाय, स्थानीय सामुदायिक संस्था र सर्वसाधारणका एक–एकजना सदस्य रहने व्यवस्था गरिएको छ ।
सञ्चालक समितिको अध्यक्ष भने ऊर्जा मन्त्रालयका सह–सचिव हुनेछन् । स्थानीय समुदायको समेत प्रत्यक्ष सहभागितामा अघि बढाउन भन्दै महŒवाकांक्षी योजना ल्याएको दुई वर्ष पुग्न लाग्दासमेत कार्यक्रम अघि बढ्न नसकेपछि सरकारी निकायबीचकै समन्वय अभाव र प्रक्रियागत झन्झटका कारण लोकप्रिय कार्यक्रम ल्याए पनि कछुवा गतिमा मात्र कार्यान्वयन हुने गरेको ऊर्जा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
‘कार्यक्रम सुरु गरिएको दुई वर्षमा बल्ल प्रबन्धपत्र र नियमावली अर्थ मन्त्रालयबाट स्वीकृति भएको छ, अब कहिले कम्पनी दर्ता हुने, कहिले सञ्चालक समिति गठन भएर कार्यान्वयनमा जाने अन्योल छ,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘कम्पनी दर्ता भएर कार्यान्वयनमा कहिले जान्छ, अझै अन्योल छ ।’
http://rajdhani.com.np/article/0726234001465443006

Wednesday, June 8, 2016

८ हजार निजी घर बनाउन त्रिपक्षीय सम्झौता

राजधानी समाचारदाता
काठमाडौं, २५ जेठ
भूकम्पबाट क्षतिग्रस्त ८ हजार १ सय निजी घर पुनर्निर्माणका लागि सरकार र पाँचवटा गैरसरकारी संस्था (गैसस) बीच त्रिपक्षीय सम्झौता भएको छ । भूकम्पप्रभावित जिल्लामा पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र सम्बन्धित पाँच गैससबीच त्रिपक्षीय सम्झौता भएको हो ।
गोरखा, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, सिन्धुली, ओखलढुंगा, मकवानपुर, तनहुँ, लमजुङलगायतका जिल्लाका भूकम्पपीडितको निजी घर बनाउनका लागि त्रिवर्षीय सम्झौता भएको प्राधिकरणले जनाएको छ । त्रिपक्षीय सम्झौतामा प्राधिकरणका उपसचिव डा. भीष्मकुमार भुसाल, सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका उप–प्रमुख परीक्षित कडरिया र पाँचवटा गैरसरकारी संस्थाका प्रतिनिधिबीच सोमबार सम्झौता भएको हो । सम्झौताअनुुसार नेपाल रेडक्रस सोसाइटीले ६ हजार वटा, हेल्वेटास नेपालले १ हजार, समारिटन्स पर्सले ५ सय, ह्याविट्याट फर हुम्यानिटीले ३ सय ५० वटा र ईडब्लुडीई डीकेएचले २ सय ५० वटा निजी घर पुनर्निर्माण गर्ने गरी सम्झौता भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

सम्झौतापछि आवास निर्माणका लागि घरधनीहरूको नामावलीसहितको सूची र क्षेत्र तोकी प्राधिकरणले उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ । सम्झौताअनुसार प्रत्येक निजी घर निर्माणका लागि स्वयं घरधनीले घर बनाउने गरी विभिन्न संघसंस्थाले बैंक खातामार्फत प्राधिकरणद्वारा जारी गरिएको अनुदान वितरण कार्यविधि, २०७२ बमोजिम निर्माण कार्य अघि बढाउनेछन् । यसैबीच, विभिन्न गैरसरकारी संस्थाले विद्यालय पुनर्निर्मिाणका लागि त्रिपक्षीय सम्झौता गर्ने क्रम जारी रहेको प्राधिकरणले जनएको छ ।

नाम घर संख्या

नेपाल रेडक्रस सोसाइटी ६०००
हेल्वेटास नेपाल १०००
समारिटन्स पर्स ५००
ह्याविट्याट फर हुम्यानिटी ३५०
ईडब्लुडीई डीकेएच २५०
स्रोतः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
http://rajdhani.com.np/article/0127633001465358827

Tuesday, June 7, 2016

निजी क्षेत्रबाट ६४ मेगावाट सोलार खरिद गर्दै सरकार

क्षेत्र तोकेरै टेन्डर आह्वानको अन्तिम गृहकार्य

भीम गौतम / राजधानी
काठमाडौं, २४ जेठ
सरकारले सौर्य ऊर्जा (सोलार) मार्फत डेढ वर्षभित्र निजी क्षेत्रबाट ६४ मेगावाट विद्युत् खरिद गर्ने गरी प्रक्रिया अघि बढाएको छ । तत्काल ठूला जलविद्युत् आयोजना निर्माण सम्पन्न नहुने कारण लोडसेडिङ न्यूनीकरणका लागि सरकारले वैकल्पिक ऊर्जामा जोड दिएपछि नेपाल विद्युत् प्राधिकरणले खुला प्रतिस्पर्धामार्फत निजी क्षेत्रमार्फत सोलारबाट विद्युत् खरिद प्रक्रिया अघि बढाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत २९ कात्तिकमा राष्ट्रका नाममा सम्बोधन गर्दै सोलरमार्फत एक वर्षमा २ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने घोषणा गरेका थिए । राष्ट्रिय ग्रिडमा जोडेर खरिद गर्ने प्रयोजनका लागि खुला प्रतिस्पर्धामार्फत आह्वान गरेर केन्द्रीय ग्रिडमा जोड्ने गरी टेन्डर प्रक्रिया अघि बढाउन लागेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए । विभिन्न १४ क्षेत्र नै तोकेर उत्पादन गरी त्यहाँमार्फत राष्ट्रिय ग्रिडमा जोड्न लागेको सोलारका लागि भोलि (बुधबार) प्राधिकरणले निजी कम्पनीमार्फत टेन्डर आह्वान गर्न लागेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सोलार निर्माणका लागि प्राधिकरणले ६० दिनभित्र टेन्डर हालिसक्नुपर्ने गरी सार्वजनिक रूपमा आह्वान गर्न लागेको छ । यसअघि प्राधिकरणले सोलारबाट उत्पादित विद्युत् प्रतियुनिट ९ दशमलव ६१ पैसामा खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरिसकेको छ । प्राधिकरण विद्युत् व्यापार केन्द्रका प्रमुख प्रबल अधिकारीले क्षेत्र नै तोकेर सम्बन्धित क्षेत्रका प्रसारण लाइनमा जोड्ने गरी टेन्डर आह्वान गर्न लागिएको जानकारी दिए । ‘डेढ वर्षभित्र ६४ मेगावाट विद्युत् खरिद गर्ने लक्ष्यसहित क्षेत्र नै तोकेर टेन्डर आह्वान गर्न लागेका हौं,’ उनले भने । प्राधिकरणका अनुसार ११ केभी प्रसारण लाइनमा जोड्ने गरी परवानीपुरमा ८ मेगावाट, हेटांैडामा ४ मेगावाट, बानेश्वर र लमहीमा ३÷३ मेगावाट, दमकमा २ दशमलव ५ मेगावाट तथा अनारमणिमा २ मेगावाट विद्युत् सोलारमार्फत उत्पादन गरी खरिद गर्ने लक्ष्य छ । त्यसैगरी, ११ केभीमै जोड्ने गरी दुहबी र वीरगन्जमा १ दशमलव ५ मेगावाटका साथै ढल्केबर, सिमरा, लहान, बर्दघाटमा १÷१ मेगावाट र कावासोतीमा ५ सय किलोवाट विद्युत् खरिद गर्ने लक्ष्य प्राधिकरणको छ । त्यसैगरी, ३३ केभी प्रसारण लाइनमा जोड्ने गरी बुटवलमा ८ दशमलव ५ मेगावाट, दुहबीमा ८ मेगावाट, चन्द्रनिगाहपुर र लहानमा ४÷४ मेगावाट, ढल्केबरमा ३ मेगावाट, अनारमणिमा २ मेगावाट, वीरगन्ज र चनौटामा १ दशमलव ५÷१ दशमलव ५ मेगावाट तथा कावासोतीमा १ मेगावाट विद्युत् सोलार खरिद गर्ने लक्ष्य राखेको छ । विद्युत् प्राधिकरणले प्रस्तावित गरेको क्षेत्रमा निजी जग्गा खरिद गरी वा सरकारी जग्गा लिजमा लिएर सोलारमार्फत विद्युत् उत्पादन गर्न सक्नेछन् ।

स्वयं विद्युत् प्राधिकरणले समेत २५ मेगावाटको सोलार निर्माण प्रक्रिया अघि बढाएको छ । तीन वर्षअघिदेखि प्रक्रिया सुरु भए पनि अझै निर्माण सुरु भएको छैन । प्राविधिकका अनुसार १ मेगावाट सोलारका लागि दुई हेक्टरभन्दा बढी जमिन आवश्यक पर्छ । सोलारका लागि धेरै जग्गा आवश्यक हुने कारण निजी क्षेत्रले यसअघि सोलारमार्फत विद्युत् उत्पादनतर्फ खासै चासो दिएका छैनन् ।
http://rajdhani.com.np/article/0770929001465258774

Monday, June 6, 2016

बूढीगण्डकी अध्यक्षलाई राजीनामा दिन दबाब

अध्यक्ष देवकोटाद्वारा अस्वीकार

भीम गौतम / राजधानी
काठमाडौं, २३ जेठ
उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटालाई राजीनामा दिन दबाब दिएका छन् ।बहुचर्चित १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढाउन सरकारले असहयोग गरेको भन्दै आफ्नो भनाइ सार्वजनिक गरेपछि गत मंगलबार बोलाएर मौखिक स्पष्टीकरण सोधेका ऊर्जामन्त्री रायमाझीले शुक्रबार फेरि राजीनामा दिन दबाब दिएका हुन् ।
‘मैले बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन सरकारले असहयोग गरेपछि सार्वजनिक रूपमा यसबारे बताएको थिएँ,’ अध्यक्ष देवकोटाले राजधानीसँग भने, ‘मंगलबार उहाँले स्पष्टीकरण सोध्नुभएको थियो र राजीनामा दिन भन्नुभएको थियो, मैले शुक्रबार राजीनामा दिन्नँ भनेर जानकारी गराएँ ।’ देवकोटाका अनुसार पछिल्लो भेटमा मन्त्री रायमाझीले तपाईंले राजीनामा दिए जाती हुने बताएका थिए ।
स्रोत समितिको बैठकमा बूढीगण्डकी आयोजना अघि बढाउन सरकारले असहयोग गरेको भन्दै आयोजना युद्धस्तरमा अघि बढाउन राजनीतिक प्रतिबद्धता हुनुपर्ने, स्पष्ट मोडालिटी तय गर्नुपर्ने, बनाउन यथोचित बजेट व्यवस्था गर्नुपर्ने र भूकम्पबाट घरवारविहीन भएका प्रभावित क्षेत्रका बासिन्दालाई अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताएका थिए । उनले काम अघि बढ्न नसकेको भन्दै विकास समिति विघटन गरेर आफूलाई बिदाइ दिन पनि बैठकमा माग गरेका थिए ।

मैले बिगुल फुकेर सबैमा जानकारी गराई टु“डीखेलमा सबैको अगाडि गोली हानेर मारियोस् भनें । मलाई कसरी मार्ने होलान्, कहिले मार्ने होलान् भन्ने जिज्ञासा बोकेर बसिरहेको छु ।
प्रधानमन्त्रीदेखि ऊर्जामन्त्रीसम्मले बूढीगण्डकी जलविद्युत् आयोजना छिट्टै सुरु गर्ने र उच्च प्राथमिकतामा राखेको बताइरहेका बेला सार्वजनिक रूपमै डा. देवकोटाले सरकारले अघि बढाउन असहयोग गरेको बताएपछि ऊर्जामन्त्री रायमाझीले बोलाएरै उनलाई राजीनामा दिन दबाब दिएका थिए ।
सार्वजनिक कार्यक्रममा गएर यस्ता भनाइ राखेपछि ऊर्जा मन्त्रालयले डा. देवकोटालाई हटाउने तयारी अघि बढाएकोमा उनले राजीनामा दिन अस्वीकार गरेपछि के गर्ने भन्ने अन्योल बढेको छ । ‘सार्वजनिक कार्यक्रम र कतिपय अवस्थामा प्रभावित क्षेत्रमै गएर आयोजना अघि बढाउन सहजीकरण भूमिका खेल्ने अध्यक्ष देवकोटाले सरकारबाट नियुक्त पाएर सरकारकै विरोध गरेकाले हटाउने तयारी मात्र अघि बढाएका हौं,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘अब उहाँहरूको नियुक्त गरेको समय सकिन ६ महिना पनि बाँकी छैन, के गर्ने अन्योल छ ।’
उनीमाथि बेला बेलामा प्रभावित क्षेत्रमा गएर सरकारले उचित मुआब्जा नदिए आफूले अध्यक्षबाट राजीनामा दिएर स्थानीयवासीसँग आन्दोलनमा सहभागी बन्नेजस्तो अभिव्यक्ति दिएको आरोप पनि लागेको छ ।
देवकोटाले भने आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत ऊर्जा मन्त्रालयले आफूलाई हटाउन प्रक्रिया अघि बढाएको र स्पष्टीकरण सोधिएको कडा टिप्पणी लेखेका छन् ।
‘मन्त्रालयले तपाईंलाई मार्ने सोच बनाएका छौं, सबैले देख्ने गरी झुन्ड्याएर मारौं कि प्रेमपूर्वक काखमा राखेर घाँटी च्यापीच्यापी कोठाभित्र मारांै भनेर मेरो अन्तिम इच्छा सोधेको थियो,’ उनले फेसबुकमा सन्दर्भ बूढीगण्डकीको अध्यक्ष भन्दै लेखेका छन्, ‘मैले बिगुल फुकेर सबैमा जानकारी गराई टुँडिखेलमा सबैको अगाडि गोली हानेर मारियोस् भनें । मलाई कसरी मार्ने होलान्, कहिले मार्ने होलान् भन्ने जिज्ञासा बोकेर बसिरहेको छु ।’
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले डा. देवकोटालाई अध्यक्षमा नियुक्त गरेको थियो । अब उनलाई हटाउन ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपर्छ । मन्त्रालयले विकास समितिमार्फत जग्गा अधिग्रहणको कार्य सम्पन्न गरेर त्यसपछि कम्पनी मोडेलमा आयोजना अघि बढाउनेबारे छलफल अघि बढाएको छ तर निर्णय गरिसकेको छैन । झन्डै ५८ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएपछि हालसम्म मुआब्जाको रकम निर्धारण भएको छैन । तत्काल जग्गा अधिग्रकणका लागि ४३ अर्ब रुपैयाँ आवश्यक परे पनि सरकारले ५ अर्ब ३३ करोड छुट्याएको छ भने इन्धनमा ५ प्रतिशत घर लगाएर त्यो बूढीगण्डकी आयोजनामा उपयोग गर्ने सरकारले घोषणा गरेको छ । झन्डै २ खर्ब ५९ अर्ब बराबर खर्च हुने आयोजनामा वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने टुंगोसमेत लागिसकेको छैन ।
यस्तो अवस्थामा फेरि विकास समिति अध्यक्ष हटाउनेलगायतका गृहकार्य सुरु भएपछि यही विवादको कारण आयोजनामा समस्या पर्ने देखिएको छ ।
आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको लामो समय बिते पनि आयोजनाको काम भने अघि बढ्न सकेको छैन, तर लक्ष्य भने आगामी असारभित्र जग्गा अधिग्रहण सकेर मुआब्जा वितरण गर्ने छ । सन् २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अझै सुरु नभएकाले समयमै बन्न सक्ने सम्भावना नरहेको ऊर्जा मन्त्रालयका अधिकारीहरू नै बताउँछन् ।
आयोजनाका अनुसार ८ हजार १ सय १७ घरधुरीका ४५ हजार विस्थापित हुनेछन् भने सरकारी र निजी गरी १ लाख १८ हजार हेक्टर जमिन डुबानमा पर्नेछ । परियोजनाबाट गोर्खा र धादिङका २७ गाविस डुबानमा परी २३ विद्यालय, ६४ वटा स्वास्थ्य चौकी, प्रहरी, हुलाक र सामुदायिक भवन, ५९ मठ मन्दिर, ६ सडक पुल, ३० झोलुंगे पुल र ४४ घाट डुबानमा पर्नेछन् ।
http://rajdhani.com.np/article/0840307001465176369

उपत्यकामा साढे २४ हजार धारा जडान

राजधानी समाचारदाताकाठमाडाै, २३ जेठ
मेलम्ची खानेपानी आयोजनामार्फत उपत्यकामा वितरण हुने ८३ हजार ५ सय धारा हुनुपर्नेमा साढे २४ हजार मात्र जडान भएका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका नवनियुक्त सचिव डा. सञ्जय शर्मालाई काठमाडौं उपत्यकाका खानेपानी र सरसफाइ आयोजनाबारे बिफ्रिङ गर्ने क्रममा तीनवटा विभिन्न प्याकेजमा यति मात्र धारा जडान भएको जानकारी दिइएको हो ।
सुन्दरीजलबाट मुख्य वितरण प्रणालीका लागि बिच्छ्ययउनुपर्ने ९ दशमलव ६ किमि लामो पाइपमध्ये ९ दशमलव ५ किमि बिच्छ्याइसकेको जानकारी दिँदै कार्यक्रममा मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना कार्यान्वयन निर्देशनालयका परियोजना निर्देशक तिरेशप्रसाद खत्रीले वितरण सञ्जाल सुधार कार्यक्रमअन्तर्गत विभिन्न चार प्याकेजमा काम भइरहेको बताएका थिए ।
कार्यक्रममा वितरण सञ्जाल विस्तारका लागि ६ सय ७० किमि पाइप विच्छ्याउने कार्यक्रम रहेकामा हालसम्म ३ सय ५२ दशमलव ४३ किमि क्षेत्रको काम सम्पन्न भएको तथा आयोजनाअन्तर्गत उपत्यकाका विभिन्न भागमा प्रस्तावित पानी पोखरीहरूको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिइएको थियो । कुल नौमध्ये ६ वटा पोखरीको निर्माण कार्य अघि बढिरहेको जानकारी दिइएको थियो ।
आयोजनाअन्तर्गत निर्माण हुने पोखरीमा आरुबारी (८,५०० घनमि), महांकालचौर (८,००० घनमि), बाँसबारी (९,५०० घनमि), पानीपोखरी (७,५०० घनमि), खुमलटार (९,५०० घनमि) र बालाजु (७,००० घनमि) रहेका छन् । कुल ५० हजार घनमि क्षमताका यी ६ पानीपोखरीमध्ये पानीपोखरी र खुमलटारका पोखरीको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । सबै पोखरीका लागि ठेक्का सम्झौता सम्पन्न भइसकेको र कार्यप्रगति ३८ प्रतिशतमा पुगेको जानकारी आयोजना कार्यान्वयन निर्देशनालयले गराएको छ ।
त्यसैगरी, आयोजना कार्यान्वयन निर्देशनालयले अघि बढाएको अर्को काम फोहोर पानी प्रशोधन केन्द्रको निर्माण हो । यस क्रममा गुह्येश्वरी, सल्लाघारी, कोड्कु र धोबीघाटमा प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । वातावरणमैत्री हुने गरी निर्माण गरिएका यी प्रशोधन केन्द्रमा फोहर पानीलाई गन्ध नआओस् भनी ढाक्ने गरी डिजाइन गरिएको छ । गुह्येश्वरीमा हाल विद्यमान प्रशोधन केन्द्रमा अर्को पनि प्रशोधन केन्द्र थप्ने तथा अहिले सञ्चालनमा आएकोलाई आधुनिक बनाउने योजना अघि सारिएको छ । यस क्रममा गुह्येश्वरी र धोवीघाटका प्रशोधन केन्द्रबाट बिजुली निकाल्ने गरी डिजाइनिङ गरिएको आयोजनाले जनाएको छ ।
कार्यक्रममा निर्देशनालयका तर्फबाट समयमै सडक खन्ने स्वीकृति प्राप्त नभएको, भूकम्प र पेट्रोलियम पदार्थको अभाव भएको, नदीको बहाव क्षेत्र किटान नभएको, प्रशोधन केन्द्रमा चौबीसै घन्टा बिजुली उपलब्ध नभएको जस्ता चुनौतीबारेमा छलफल भएको थियो । मन्त्रालयका सचिव डा. सञ्जय शर्माले उपत्यकामा खानेपानी र सरसफाइ सेवा विस्तारका लागि विभिन्न सरकारी निकायका बीचमा गहिरो समन्वयको आवश्यकतामाथि जोड दिएका थिए ।
http://rajdhani.com.np/article/0366168001465181456

Sunday, June 5, 2016

आकाश हेर्दै सामूहिक बगरे पानीघट्ट

भीम गौतम / राजधानी
रिम्ना (जाजरकोट), २२ जेठ
जाजरकोट जिल्ला भेरीमालिका नगरपालिका–१ रिम्नाका ६७ वर्षीय दूतबहादुर राना आजभोलि घट्टबाट बाहिर निस्कने बित्तिक्कै आकाश हेरिहाल्छन् । अधिकांश समय घट्टभित्रै बिताउने रानाका लागि आकाशको गड्ङगुडुङको सम्बन्ध बाढीसँग मात्र छैन, जीविकोपार्जनस“ग पनि सम्बन्धित छ ।
भेरी नदीको बगरमा घट्ट सञ्चालन गर्दै आएका रानासहित १९ जना घटेरा, घटेर्नीहरूका लागि वर्षा लाग्न सुरु हुँदै गर्दा आकाशलाई बारम्बार हेरिरहनु बाध्यता नै बनेको छ । ‘वर्षा लाग्न लाग्यो, अब पानी पर्ला र घट्ट बगाउँला भनेर दिनदिनै आकाश हेरिरहेका छौं,’ दूतबहादुरले राजधानीसँग भने, ‘बाढी आउन लागेको थाहा पाएपछि छानोसहित घट्टै बोकेर पाखोमा पुगिहाल्नुपर्छ ।’ उनीहरू सबैका लागि सबैभन्दा ठूलो चिन्ताको विषय नै घट्ट बगाउँला भन्ने छ । वर्षाको बाढी सुकेपछि भेरी नदीकै बगरमा दूतबहादुरलगायत खिमबहादुर राना, बिर्खसिंह परियार, गगन राना, छोपे राना, चूडामणि राना, हृयद राना, देवबहादुर परियार, सुमन पुन, भद्रबहादुर राना, उदे राना, वीरबहादुर राना, टीकाराम राना, कालीबहादुर रानालगायतले १९ सामूहिक अस्थायी घट्ट चलाएका छन् ।
बगरको बीचमा धेरैले नपत्याउने गरी सञ्चालन गरिएका घट्टहरूको पीडा पनि कम्ती दर्दनाक छैन । भौगोलिक रूपमा विकट र खेतीपातीसमेत कम भएका रिम्नाका अधिकांशलाई यिनै घट्टले बचाएका छन् । ‘घट्टमा नबसे बाँच्न गाह्रो छ, वर्षा लाग्यो कि बगाउँला भन्ने चिन्ता मात्र छ,’ घटेर्नी भोजी रानाले भनिन्, ‘घट्ट बगाइहाल्यो भने अर्को बनाउनका लागि पैसा जोहो गर्नै गाह्रो छ, जोगाउन सकियो भने त बाँचियो नि ।’ नयाँ घट्ट बनाउनका लागि कम्तीमा १५ हजार लाग्ने र बाढी आउनुअघि नै घट्टलाई पाखामा सार्न पाए धेरै जोगिने अनुभव उनीहरूसँग छ । बाढीका कारण पटकपटक घट्ट बगाएको उनीहरू बारम्बार सम्झन्छन् ।
‘विगतमा धेरैपटक बगाएकोले सधंै फेरि बगाउँला भन्ने चिन्ता छ,’ ४२ वर्षदेखि घट्टमा बस्दै आएकी रानाले भनिन् । वर्षाभरि घट्टका छाना, डाँडा, थामा, बला, थुन्से, डोरा, फुनेलगायतका सामग्री पाखामा राख्ने १९ घट्ट धनीहरूले बाढी घटेपछि दसैंतिहार लगत्तैदेखि फेरि घट्ट बनाएर मंसिरदेखि जेठसम्म सञ्चालन गर्दै आएका छन् ।

लहरै राखिने घट्टहरू कसको पहिला राख्ने भन्ने उनीहरूको आफ्नै विधि छ । चिट्ठा हाल्दा जसको पहिला पर्छ, उसले पहिलो राख्न पाउँछ भने अन्तिम पर्नेले अन्तिममा राख्न पाउने व्यवस्था गरिएको छ ।
एक पाथीको एक माना ज्याला लिने उनीहरूले बाढी आएका बेलामा पाखामा घट्ट लैजान सहयोग गर्ने तथा हिउँद लागेपछि पुनः घट्ट बनाउनका सहयोग गर्नेहरूलाई भने निःशुल्क घट्टमा पिस्ने व्यवस्था गरेका छन् । ‘घट्ट बगरमा ल्याउन र लैजान सहयोग गर्नेहरूसँग हिउँदभर ज्याला लिँदैनौं,’ घटेरा रानाले भने, ‘दसैंतिहार सकेपछि पुनः घट्ट बनाउन सुरु गर्छौं ।’
जाजरकोटको रिम्ना र आसपासका साथै रुकुमको पूर्तिमारा, बराइली, घेम्दालगायतका गाविसबाट पिठो पिस्नका लागि सामूहिक घट्टमा आउने गरेका छन् । वर्षाभरि घट्ट नहुने हुनाले यहाँका अधिकांशले हिउँद अघिलाई पुग्ने गरी पिठो पिस्ने गरेका छन् ।

http://rajdhani.com.np/article/0199056001465087190


पुनर्निर्माणमा ६७ एनजीओमार्फत १४ अर्ब

राजधानी समाचारदाता
काठमाडौं, २२ जेठ
सरकारले ६७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (गैसस) मार्फत भूकम्पपछिको पुनर्निर्माण गर्न १४ अर्ब ४० करोड १८ लाख ९५ हजार रुपैयाँबराबरको सहयोग परिचालन गर्न स्वीकृति दिएको छ । गत २९ चैतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यान्वयनमा ल्याएको पुनर्निर्माण र पुनःस्थापनका लागि गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधिअनुसार यस्तो स्वीकृति दिइएको हो । गत ८ जेठपछि शुक्रबार एकैपटक झन्डै सवा १२ अर्बबराबरको खर्च परिचालनका लागि प्राधिकरणले विभिन्न गैससलाई स्वीकृति दिएको छ । हालसम्म स्वीकृत रकममध्ये ५० प्रतिशत रकम नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालन गर्ने पुनर्निर्माणका लागि मात्र कार्यक्रम छ । रेडक्रसले ६ हजार निजी घरसहित स्वास्थ्यलगायत पुनर्निर्माण गर्न ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ खर्च गर्न प्राधिकरणबाट स्वीकृति पाएको हो ।
विज्ञ सदस्यको समन्वयमा प्रस्ताव छनोटका लागि प्राधिकरण सिफारिस समितिले हालसम्म निजी घर, विद्यालय तथा स्वास्थ्य चौकी र भवन निर्माणका लागि ७ हजार १ सय ५५ वटा संरचना बनाउने गरी गैससलाई स्वीकृति दिएको छ । प्राधिकरणका स्वीकृति र सम्झौताविना भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका काम अघि बढाउन सरकारले रोक लगाएकामा सम्झौता गरेर कार्यक्रम अघि बढाउने क्रमसमेत बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भूकम्पबाट प्रभावित जिल्लाका लागि हालसम्म ६ हजार ७ सय ५९ निजी घर, ३ सय ६७ विद्यालय र २९ स्वास्थ्य चौकी निर्माणका लागि गैससले स्वीकृत लिइसकेका छन् ।
शुक्रबार मात्र प्राधिकरणले ६ हजार ७ सय ५९ निजी घर, १ सय ३३ विद्यालय र २ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि स्वीकृति दिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । ‘१२ अर्ब २८ करोड १८ लाख ७७ हजारबराबरका २७ गैससलाई निजी घर, स्वास्थ्य र विद्यालय भवन निर्माणका लागि स्वीकृति दिएका छांै,’ प्रवक्ता थपलियाले भने ।
यसअघि गत ८ जेठमा प्राधिकरणले २ सय ३४ विद्यालय बनाउन १ अर्ब ७२ करोड ६७ लाख ३६ हजारबराबरको सहयोगमा त्रिपक्षीय सम्झौता गरेको थियो भने २७ स्वास्थ्य चौकी तथा भवन निर्माणका लागि ३९ करोड ३२ लाख ८१ हजार रुपैयाँबराबर सहयोग परिचालन गर्ने गरी स्वीकृति दिएको हो ।
भूकम्प अति प्रभावित जिल्ला दोलखा, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरमा खानेपानी तथा सरसफाइ, विद्यालय पुनर्निर्माणका लागि प्लान इन्टरनेसनल नेपाललाई २ खर्ब ८० करोड ९९ लाख रुपैयाँ तथा रामेछापको बिजुलीघाट, सँघुटार र हिमगंगा गाविसमा २ सय ५० वटा निजी घर निर्माणका लागि ४ करोड ७३ लाख रुपैयाँबराबर सहयोग परिचालनका लागि प्राधिकरणले स्वीकृति दिएको छ ।
प्राधिकरणका अनुसार ३ सय ५० घरसहित नुवाकोटको सल्मे र काभ्रेको पाँचखालमा एकीकृत नमुना बस्ती विकास गर्न हयाविट्याट फर ह्युम्यानिटी नामक संस्थालाई ३ करोड १० लाख खर्च गर्न स्वीकृति दिइएको छ । यस्तै फिन चर्च एड फाउन्डेसन फिनल्यान्डले गोरखा, मकवानपुर, सिन्धुली र ललितपुरमा विद्यालय पुनर्निर्माण र जीविकोपार्जनका लागि ४१ करोड ६४ लाख तथा सिन्धुपाल्चोक, दोलखा, रसुवा, काभ्रेलगायतका जिल्लाका विद्यालय पुनर्निर्माणका लागि एक्सन एडलाई ४३ करोड ४७ लाख रुपैयाँ पुनर्निर्माण खर्च गर्न स्वीकृति दिइएको छ । विभिन्न गैससले भूकम्प प्रभावित क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालनका लागि प्रस्ताव बुझाउने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ ।
http://rajdhani.com.np/article/0938756001465087037

Saturday, June 4, 2016

हिमाल–पहाड–तराई मिलेको प्रदेश

लालबाबुप्रसाद यादव

नेपालमा संघीयताको विषय सबैभन्दा जटिल छ । विश्वका २ सय मुलुकमध्ये २८ देशमा संघीयता छ । संघीयता रहेका देशमा विज्ञहरूले यसको मोडेल बनाएका हुन्, तर नेपालमा सातवटा संघीयताको मोडेल आएको छ । यो पनि काठमाडौंमा बसेर राजनीतिक तहबाट बनाइएको छ । मोडलमा देखिएको विवाद समाधान विज्ञहरूबाटै गर्नु राम्रो हुन्छ ।
स्वायत्त र स्वतन्त्र तरिकाले विज्ञहरूले मोडेल बनाउँछन् । उनीहरूले सिफारिस मात्र गर्ने हो, लागू त राजनीतिक नेतृत्वले गर्ने हो । त्यो पनि लागू हुन गाह्रो छ । तर, लागू गर्नैपर्ने अवस्था पनि छ । अब संघीयताबाट पछाडि फर्कनुहुन्न । तर, संघीयताको निर्माण गर्दा हामीले यसको मोडल निश्चित गर्नुपर्छ । राजनीतिक, आर्थिक मोडल कस्तो हुने लगायतबारे स्पष्ट हुनुपर्छ ।

अर्को कुरा राजनीतिक दलहरू आफै अन्योलमा छन् । कस्तो प्रवृत्ति छ भने हामीले अहिलेको देखिएको तराईको समस्या समाधान गर्छु पनि भन्छन् अनि अखण्ड सुदूरपश्चिमलगायतका कुरा पनि गर्छन् । जसले नयाँ संविधान आएपछि देखिएको आन्दोलन समाधान गर्छु भन्नुभएको छ, उहाँहरूलाई पनि समस्या छ । समस्या समाधान भनेर सरकारले उच्चस्तरीय राजनीतिक संयन्त्र पनि बनाइएको छ । आन्दोलनरत दलहरू वार्तामा नआए प्रधानमन्त्रीको अध्यक्षतामा सबै दल भएको अर्को उच्चस्तरीय समिति गठन गरिदिए भैगो नि !
पछिल्लो समयमा संविधान पुनर्लेखनको कुरा आएको छ । त्यो बडा गाह्रो छ । ९० प्रतिशतको सहभागिता र जनताले सम्प्रभुता लिइसकेको संविधान हुनाले पुनर्लेखन गर्न गाह्रो छ । यसले जनताको सार्वभौम सत्ताको हनन हुन्छ । संशोधन गर्ने कुरा पनि आएको छ । जायज छ भने संशोधन गर्ने कुरा गर्नु राम्रै हुन्छ । जहाँसम्म तराईको आन्दोलन छ, त्यो मागप्रधानभन्दा भावनात्मक छ । म आफैंलाई मधेसमा गाह्रो भएको थियो ।
मैले पनि पटकपटक तपाईंहरू पहिला नेपाली बन्नुस् अनि मधेसी बन्नुस् भने । तर, कम्तीमा नेताहरूले त्यहाँ जनताको भावनामा चोट पु¥याउनुहुँदैन । अभिभावकत्वको नाताले सरकारमा बस्नेहरूले उनीहरूको भावनामा आक्रमण गर्नुहुँदैन । जसले आन्दोलन गर्नुभएको छ, उहाँहरूले नेपालको दूरगामी प्रभाव र असरलाई दृष्टिगत गरी आवाज उठाउनुपर्छ ।
विवाद नहुने त कुनै कुरा हुँदैन प्रजातन्त्रमा तर कम विवादका लागि नेतागणहरूले ध्यान दिनुपर्छ । नेतागणहरू अहिले राजनीतिज्ञ बन्नुभएको छ, भूमिका राज्य नेतृत्वकर्ता हुनुपर्ने हो । राजनीतिज्ञहरूले जहिले पनि अर्को निर्वाचनलाई स्वार्थमा राख्छन्, नेतृत्वगणले त्यसलाई ध्यान दिँदैन । राजनीतिज्ञहरूले अर्को फेरि कसरी निर्वाचन गर्ने र सरकार बनाउनेमा ध्यान हुन्छ, तर नेतृत्व गणले अर्को पुस्तालाई हुने गरी कसरी अघि बढ्ने भन्ने सोच्छ । त्यसकारण पनि व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थभन्दा देशको र जनताको स्वार्थका लागि हिँड्नुभयो भने १५÷२० दिनमै संघीयताको कुरा मिल्छन् । संघीयताबारे नेताहरूमै समस्या छ, जनतामा छैन । जनता पहाड, हिमाल र मधेसमा बसेका छन् । उनीहरूले धेरै बुझिसके पनि । जनता साम्प्रदायिक भएको भए स्व. सुशील कोइराला बाँके, केपी ओली झापा, माधव नेपाल रौतहट र पुष्पकमल दाहाल सिरहाबाट कसरी जित्नुहुन्थ्यो । जनताको भावनामा चोट पु¥याइदिनुभयो भने उहाँहरू जाग्ने हो, नत्र आफ्ना काममा व्यस्त हुनुहुन्छ ।
संघीयतालाई सफल पार्न राजनीतिक दलहरूले केही न केही त्याग गर्नुपर्छ । जस्तो कि कांग्रेसका नेताले मोरङ, झापा, सुनसरी टुक्र्याउनुहुन्न भन्न छोड्नुपर्छ । उहाँहरूले त्यो भन्ने होइन, विज्ञहरूले भन्ने हो । उहाँहरूले आफू कुनै जिल्लाको नेता बन्ने कि देशका नेता बन्ने भन्ने बुझ्नुपर्छ । एमालेका नेताहरूले बोलीमा नियन्त्रण गर्नुप¥यो, संयमित भएर बोल्नुप¥यो । संयमित भएर बोलेको भए तराईमा सबैभन्दा बढी लोकप्रिय एमाले हुन्थ्यो । नेकपा माओवादी केन्द्रले मान्छे हेरेर बोल्ने होइन । जुन समुदायको मान्छे देख्यो, त्यसको पक्षमा बोल्ने होइन । मधेसी देख्यो भने मधेसी, जनजाति देख्यो भने जनजातिको पक्षमा बोल्ने होइन । त्यो भएन । उहाँहरूको काम त मधेसी, जनजाति, दलितलाई पहिला नेपाली बनाउने हो ।
मैले भोट लिँदा कुनै जात भनेर होइन, नेपालीबाट लिन्छु, लिनुपर्छ भनेर सोच्नुप¥यो । आन्दोलनरत दल मधेसीहरूको मागमा एकरूपता हुनुप¥यो । पहिला हामी नेपाली हौं, त्यसपछि मधेसी हौं भनेर सोच्नुप¥यो । नेपाल रहे मधेस रहन्छ र मधेस रह्यो भने नेपाल रहन्छ भन्ने बुझ्नुप¥यो । मधेसको पहिचानका लागि लडौं, तर नेपालभित्र रहेर नेपालकै लागि लडौं । यस्तो होस् कि हिमाल, पहाड, तराई छुट्ट्याएर होइन, मधेसलाई नेपाली भनेर सम्मान दिने अवस्था होस्, हेप्ने गाली गर्ने नगरोस् । यस्ता कुरा उठाऊ, तर छुट्ट्याउने कुरा नगरौं ।
विचारमा संघीयतामा जाँदा हिमाल, पहाड, तराईलाई मिलाएर जानुपर्छ । अहिलेको सात प्रदेशको सीमांकनले चल्दैन । यो संघीयता काठमाडौंमा बसेर मिलाइएको, बनाइएको हो । यसले चल्दैन । मैले संविधानको उल्लंघन गरेको होइन । जति सजिलो रूपमा संघीयतालाई लिएका छौं, त्यति सजिलो छैन । भोलि सीमांकन, राजधानी, नाममा विवाद हुन्छन् । यी धेरै कुरा गर्न बाँकी छ । कार्यान्वयनमा जान बोलेको जस्तो सजिलो छैन । काम गरेर देखाउनुपर्छ । जब कार्यान्वयनमा गइन्छ, धेरै गाह्रो हुन्छ ।
सबै नेताले यसरी संघीयता बनाउँदा हाम्रो लोकप्रियता बढ्छ भनेर सोच्नुभयो । मुलुकको परिस्थिति र जनताको आवाज आएपछि उहाँहरूले बुझ्नुभएको छ । जनता अहिले धेरै जागरुक भइसकेका छन् । जनताको इच्छा र आकांक्षाअनुसार अघि बढ्नुपर्छ । सरकारले अहिले त्यही आधारमा वार्तामा बोलाएको छ । सरकारले पनि विज्ञ टोली गठन गरौं भनेको छ । मधेस दलहरूलाई पनि विज्ञ गठन गरे के आपत्ति हुन्छ र † विज्ञ गठन गर्नेबित्तिकै उसले जे भन्छ, त्यही गर्ने त होइन नि । यसमा फेरि छलफल गर्न वा नमान्न पाइन्छ । धेरै वर्षअघि संघीयतामा गएको भारतमा धेरै प्रदेशमा अहिले पनि समस्या छँदै छन् । यसका कम्तीमा एकअर्कामा बुझाइ त हुन्छ नि † आफ्नो जिद्दी छोडेर छलफलमा त अघि बढ्नुपर्छ । कहिले पनि छलफल र विवाद, तर्क र वितर्कमा डराउनुहुँदैन । जोसँग पनि कुरा गर्नुपर्छ । मुलुकको फाइदाका लागि जहाँ पनि जान तयार हुनुपर्छ ।
संघीयता र विकेन्द्रीकरणको कुरा फरक हो । विकेन्द्रीकरणको स्थानीय क्षेत्रसँग सम्बन्धित छ । स्थानीय स्वायत्त शासनले समेटेको छ । नेपालमा दुई राष्ट्रिय निर्वाचन भयो, तर स्थानीय स्तरमा निर्वाचन भएन । प्रजातन्त्र तलदेखि माथि हुन्छ तर नेपालमा उल्टो छ । खुट्टा नभए तपाईंको टाउको मात्र अडिन सक्दैन । यदि स्थानीय निकायको निर्वाचन भएको भए, यस्तो नाटक पनि हुँदैनथ्यो ।
२००७ सालमा प्रजातन्त्र आयो, २००८ सालमा त स्थानीय निकायको निर्वाचन गरेको हो नि † किन गराइयो त ? जबकि, राष्ट्रिय चुनाव गरिएन, स्थानीय गरियो । तर, नेपालमा संसद् पुनःस्थापना गरियो । स्थानीय निकायको चुनाव नगर्दा युवा सशक्तीकरणको कुरा आउँछ, १५÷१८ वर्षसम्म चुनाव हुँदैन । यही कारण स्थानीय चुनावमा भाग नलिई एउटा पुस्ता त गइसक्यो । अब पनि नगराउने हो भने अर्को पुस्ता पनि जाँदै छ ।
(भीम गौतमसँगको कुराकानीमा आधारित)
http://rajdhani.com.np/article/0475861001465009541