भीम गौतम / राजधानी
काठमाडौं, १३ असार
काठमाडौं, १३ असार
प्रमुख
प्रतिपक्षी दल कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट २ लाख अनुदान दिनुपर्ने
भन्दै निरन्तर संसद् अवरुद्ध गरिरहेको छ । विगतमा कांग्रेस सरकार भएकै
बेलामा बनेको कार्यविधि र दातृ निकायसँग गरेको सर्तनामाका आधारमा एकमुष्ट
रकम दिन नमिल्ने सत्तापक्षीय दलका नेता र प्रधानमन्त्रीले बताइरहेका छन् ।
पुनर्निर्माण प्राधिकरणका अधिकारी पनि एकमुष्ट अनुदान दिन नमिल्ने बताउँछन्
। तर, भूकम्पपीडितको अवस्था दयनीय छ ।
बर्खा
कसरी काट्ने भन्ने चिन्ताले पिरोलिइरहेका छन् । लाजमर्दो कुरा भूकम्प गएको
१४ महिनापछि पहिलो किस्ताको रकम पाउने भूकम्पपीडितको संख्या ६ हजार मात्र
पुगेको छ । विस्तृत घरधुरी सर्वेक्षण सकिएका ५ लाख ३३ हजार घरधुरीमध्ये
अनुदान सम्झौता गर्ने त २ लाख पुग्न लागे होलान् तर घर बनाउनका लागि जम्मा ६
हजारको हाराहारीमा रहनु सबैभन्दा लाजमर्दो कुरा हो । भूकम्प गएको १४
महिनासम्ममा सरकारी अनुदानबाट एउटा पनि घर बन्न सकेको छैन ।
२
लाख अनुदानको आस देखाएर भूकम्पपीडितलाई कठ्यांग्रिँदो जाडो र बर्खाको
सामना गर्नुपर्ने अवस्थामा पु¥याउनुमा एउटा पार्टी र व्यक्तिलाई दोष
देखाउनु गलत हुनेछ । मुलुकका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेको
अतिवाद र गलत हर्कतको सिकार भूकम्पपछिको पुनर्निर्माण बन्दै आएको छ ।
भूकम्प गएलगत्तै तत्कालीन कांग्रेस नेतृत्वको सरकारले अध्यादेशमार्फत
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन ग¥यो । अहिलेको सरकारको नेतृत्व
गर्ने पार्टी पनि त्यो सरकारमा थियो । दुवै पार्टी संलग्न सरकारले छोटो
समयमै विपत्पछिको क्षति आँकलन (पीडीएन) प्रतिवेदन बनाउनु र राहत तथा
उद्धारका कार्य गर्नु सकारात्मक थियो । अध्यादेशअनुसार तत्कालीन सरकारले
कांग्रेसनिकट डा. गोविन्द पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत
बनाएपछि त्यो अध्यादेश असफल बनाउन एमाले पनि कस्सिएरै लाग्यो । त्यसले नयाँ
संविधान कार्यान्वयनका लागि एकसाथ हिँड्नुपर्ने कांग्रेस–एमाले सम्बन्ध
तिक्ततापूर्ण बनायो । दुवै दलले इगोको राजनीति गरे । त्यसपछि पुनर्निर्माण
विधेयक असफल बनाउन कांग्रेसले पनि लामै कसरत ग¥यो । ढिलो गरी बल्ल विधेयक
पारित भएर पुनर्निर्माण प्राधिकरण त बन्यो, त्यो प्राधिकरणले पहिलाको
अध्यादेशअनुसार बनेको प्राधिकरणका धेरै कामलाई बेवास्ता गरिदियो ।
पुनर्निर्माण तथा पुनःस्थापना नीतिको मस्यौदा बनिसकेको थियो तर त्यसलाई
बेवास्ता गरेर लामो समय लगाइदियो । अहिले पुनर्निर्माण अघि बढाउन आवश्यक
अधिकांश नीति, नियम, कानुन बनिसकेका छन् तर कार्यान्वयन अझै सुस्त गतिमा छ ।
थोरैले मात्र अनुदानको पहिलो किस्ता पाएका छन् ।
भूकम्पपछिको
उद्धार र राहतसँगै अघि बढेको पुनर्निर्माण अभियानमा अध्यादेश असफलपछि
ब्रेक लाग्यो । फेरि पुनर्निर्माण गठन भएर तीव्र गतिमा अघि बढ्न लागेका
बेला कांग्रेसले एकमुष्ट २ लाख दिनुपर्ने अडान लिएर संसद् अवरुद्ध गरिरहेको
छ । तीन किस्तामा दिने भनेर पहिला कार्यविधि बनाएको कांग्रेस नेतृत्व
अहिले एकमुष्ट दिनुपर्ने अडानमा छ । तत्काल किस्ता किस्तामा दिने भनिए पनि
लामो समय भएकाले उनीहरूलाई एकैपटक दिनुपर्ने कांग्रेसको तर्क छ ।
पहिले
राहतको नाममा दिएको १०÷१५ हजार रकम तथा पहिलो किस्ताको रकम लगेर छोरीको
विवाहदेखि भोज र रामरमाइलोमा खर्च गरिरहेको तथ्य सार्वजनिक भइरहेका बेला
एकमुष्ट रकम दिँदा पैसा पनि सकिने घर पनि नहुने अवस्था आउन सक्छ । बर्खामा
घर नबन्ने अनि दिएको अनुदानले भूकम्पपीडितले कतै दसंै तिहार मनाएर सक्ने पो
हुन् कि भन्ने आशंका पनि देखिएको छ ।
नगद
अनुदानको सट्टा सरकारले भूकम्पपीडितले बनाउन चाहेको घर डिजाइनलाई अन्तिम
रूप दिएर त्यसमा लाग्ने लागतका आधारमा अनुदानबाट नपुग्ने रकम सामूहिक जमानी
र व्यक्तिगत रूपमा जम्मा गर्ने वातावरण बनाउनु उपयुक्त देखिन्छ । अनुदानको
रकमबाट आवश्यक सामग्री सरकारले व्यवस्थापन गर्न सक्ने अवस्था सिर्जना गरिए
अनुदान रकम घर निर्माणमै उपयोग हुने सम्भावना धेरै रहन्छ ।
सरकार
कुनै पनि हालतमा कांग्रेसको मागलाई सम्बोधन गर्ने पक्षमा छैन । बरु अहिले
भएको २ लाखलाई केही रकम बढाउने अनि मात्र एकमुष्ट रकम दिनुपरे पनि दिने
पक्षमा छ । अर्थात् जुँगाको लडाइँ चलिरहेको छ । विगतमा पनि कांग्रेसले
सरकारको नेतृत्व गर्दा संसद्का विभिन्न समितिमा एमाले सांसद्हरूले अनुदान
रकम ५ लाख पु¥याउनुपर्ने माग गरेका थिए तर कांग्रेसले दिन मानेन । आफ्नो
सरकार आएपछि उनीहरू चुप लागे । अहिले कांग्रेस प्रतिपक्षमा छ र ऊ आफ्नै
विगतमा आफूले बनाएको कार्यविधिविपरीत २ लाख एकमुष्ट दिनुपर्ने मुडे बल
गरिरहेको छ ।
अध्यादेश असफल बनाउन
एमालेले लगाएको मुडे बलदेखि २ लाख दिलाउन लगाएको मुडे बललाई विश्लेषण गर्ने
हो भने एक वा तीन किस्ताका नाममा विभक्त भएर कांग्रेस–एमालेले
भूकम्पपीडितका नाममा अतिवाद देखाइरहेका छन् । दुवै वास्तविक
भूकम्पपीडितबारे गम्भीर छैनन् । न सरकारले छिटो भूकम्पपीडितलाई अनुदान दिएर
उनीहरूलाई खुसी तुल्याउन सकेको छ, न कांग्रेसले संसद् अवरुद्ध गरेर
भूकम्पपीडितको सहानुभूति लिन सकेको छ । कम्तीमा पनि कांग्रेसले संसद्मा
प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिएर उनले भनेकामा चित्त नबुझेमा त्यसपछिको
कदम अघि बढाउँदा यसले कांग्रेसलाई नै फाइदा पु¥याउँथ्यो । कांग्रेस कुनै
हालतमा संसद् चल्न नदिने, सत्ता पक्ष कांग्रेसको मागलाई कुनै पनि हालतमा
सम्बोधन नगर्ने । अहिले एकअर्कामा जुहारी चलिरहेको छ, दुवै जुहारीमा
पार्टीगत स्वार्थ लुकेका छन्, भूकम्पपीडितको माग, न्याय र आवाज लुकेको छैन
।भूकम्पपीडितको पीडा देखाउने मात्रै हो यसभित्र विभिन्न राजनीतिक दाउपेच
छन् ।
राष्ट्रिय योजना आयोगका
पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीको भनाइमा अहिलेको विवाद जुँगाको
लडाइँ हो । उनका विचारमा समस्या एकातिर छ तर कांग्रेस अर्कोतिर गइरहेको छ,
सस्तो लोकप्रियतालाई दलहरूले मुख्य कुरा ठानेका छन् न कि भूकम्पपीडितको
न्यायलाई । अध्यादेश पास गर्ने बेला लखेट्ने एमालेसँग कांग्रेसले बदला लिन
खोजेको देखिन्छ ।
महँगी र ढिलाइलाई
आधार बनाएर २ लाख अनुदानमा थप गरेर दुवैको चित्त बुझ्ने गरी अघि बढ्नुलाई
क्षत्री विकल्प देख्छन् । प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत एवं
योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल भने २ लाख एकैचोटि दिएर
छिटो घर बनाउनेलाई थप ५० हजार तथा ढिलो बनाउनेलाई थप २५ हजार दिने
व्यवस्था गरे उपयुक्त हुने तर्क गर्छन् । अनुदान लगेर घर नबनाउनेलाई
वृद्धभत्ता रोक्का, घरजग्गा पास गर्दा त्यहाँबाट असुलीका साथै अन्य सबै
सरकारी सेवामा रोक लगाएर उपर गर्न सक्ने व्यवस्था गर्नुपर्ने तर्क उनको छ ।
नगदको सट्टा आवश्यक सामग्रीका लागि कुपनको छुट्टै व्यवस्था गर्ने अर्को
विकल्प हुन सक्ने उनको सुझाव छ ।
जसले
जे तर्क र वादविवाद गरे पनि एक किस्ता कि तीन किस्ताको विवाद छोडेर
कांग्रेस–एमाले तुरुन्तै भूकम्पपीडितको घर बनाउने गरी समस्या समाधानमा
केन्द्रित हुनुको विकल्प छैन । सरकारले सत्ता र प्रतिपक्षीले मुडेबलको
घमण्डले भूकम्पपीडितलाई अन्यायमा पर्न दिनुहुन्न ।
http://rajdhani.com.np/article/0476580001467076581
No comments:
Post a Comment