Monday, June 6, 2016

उपत्यकामा साढे २४ हजार धारा जडान

राजधानी समाचारदाताकाठमाडाै, २३ जेठ
मेलम्ची खानेपानी आयोजनामार्फत उपत्यकामा वितरण हुने ८३ हजार ५ सय धारा हुनुपर्नेमा साढे २४ हजार मात्र जडान भएका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका नवनियुक्त सचिव डा. सञ्जय शर्मालाई काठमाडौं उपत्यकाका खानेपानी र सरसफाइ आयोजनाबारे बिफ्रिङ गर्ने क्रममा तीनवटा विभिन्न प्याकेजमा यति मात्र धारा जडान भएको जानकारी दिइएको हो ।
सुन्दरीजलबाट मुख्य वितरण प्रणालीका लागि बिच्छ्ययउनुपर्ने ९ दशमलव ६ किमि लामो पाइपमध्ये ९ दशमलव ५ किमि बिच्छ्याइसकेको जानकारी दिँदै कार्यक्रममा मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना कार्यान्वयन निर्देशनालयका परियोजना निर्देशक तिरेशप्रसाद खत्रीले वितरण सञ्जाल सुधार कार्यक्रमअन्तर्गत विभिन्न चार प्याकेजमा काम भइरहेको बताएका थिए ।
कार्यक्रममा वितरण सञ्जाल विस्तारका लागि ६ सय ७० किमि पाइप विच्छ्याउने कार्यक्रम रहेकामा हालसम्म ३ सय ५२ दशमलव ४३ किमि क्षेत्रको काम सम्पन्न भएको तथा आयोजनाअन्तर्गत उपत्यकाका विभिन्न भागमा प्रस्तावित पानी पोखरीहरूको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिइएको थियो । कुल नौमध्ये ६ वटा पोखरीको निर्माण कार्य अघि बढिरहेको जानकारी दिइएको थियो ।
आयोजनाअन्तर्गत निर्माण हुने पोखरीमा आरुबारी (८,५०० घनमि), महांकालचौर (८,००० घनमि), बाँसबारी (९,५०० घनमि), पानीपोखरी (७,५०० घनमि), खुमलटार (९,५०० घनमि) र बालाजु (७,००० घनमि) रहेका छन् । कुल ५० हजार घनमि क्षमताका यी ६ पानीपोखरीमध्ये पानीपोखरी र खुमलटारका पोखरीको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । सबै पोखरीका लागि ठेक्का सम्झौता सम्पन्न भइसकेको र कार्यप्रगति ३८ प्रतिशतमा पुगेको जानकारी आयोजना कार्यान्वयन निर्देशनालयले गराएको छ ।
त्यसैगरी, आयोजना कार्यान्वयन निर्देशनालयले अघि बढाएको अर्को काम फोहोर पानी प्रशोधन केन्द्रको निर्माण हो । यस क्रममा गुह्येश्वरी, सल्लाघारी, कोड्कु र धोबीघाटमा प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । वातावरणमैत्री हुने गरी निर्माण गरिएका यी प्रशोधन केन्द्रमा फोहर पानीलाई गन्ध नआओस् भनी ढाक्ने गरी डिजाइन गरिएको छ । गुह्येश्वरीमा हाल विद्यमान प्रशोधन केन्द्रमा अर्को पनि प्रशोधन केन्द्र थप्ने तथा अहिले सञ्चालनमा आएकोलाई आधुनिक बनाउने योजना अघि सारिएको छ । यस क्रममा गुह्येश्वरी र धोवीघाटका प्रशोधन केन्द्रबाट बिजुली निकाल्ने गरी डिजाइनिङ गरिएको आयोजनाले जनाएको छ ।
कार्यक्रममा निर्देशनालयका तर्फबाट समयमै सडक खन्ने स्वीकृति प्राप्त नभएको, भूकम्प र पेट्रोलियम पदार्थको अभाव भएको, नदीको बहाव क्षेत्र किटान नभएको, प्रशोधन केन्द्रमा चौबीसै घन्टा बिजुली उपलब्ध नभएको जस्ता चुनौतीबारेमा छलफल भएको थियो । मन्त्रालयका सचिव डा. सञ्जय शर्माले उपत्यकामा खानेपानी र सरसफाइ सेवा विस्तारका लागि विभिन्न सरकारी निकायका बीचमा गहिरो समन्वयको आवश्यकतामाथि जोड दिएका थिए ।
http://rajdhani.com.np/article/0366168001465181456

No comments: