भीम गौतम
घट्टको
घ्वार्र–घ्वार्र आवाज अनि पीठोको धूलो । धेरै पीठो पिस्न गएर यससँग जुध्नु
नपरोस् भनेर सकेसम्म घट्ट जानै खोज्दैनन् । तर, विकट जाजरकोटको भेरीमालिका
नगरपालिका–१ रिम्नाकी ६३ वर्षीया भोजी रानाको यो ३४ वर्षदेखिको दैनिकी हो ।
घट्टेर्नी बज्यैको नामले परिचित भोजीका लागि घ्वार्र घ्वार्र र पीठोको
धूलोसँग जुध्नु सामान्य बनिसकेको छ । ‘हरेक दिन बिहानै घट्टमा आइपुग्छु ।’
घट्टेर्नी बज्यैले भनिन्, ‘३४ वर्षदेखि यही काम गर्दै आएकी छु, घट्टको
घ्वार्र सुन्ने र पीठोको धूलोसँग जुध्नु त सामान्य भइसकेको छ ।’ उनी बर्खा
लागेपछि आकाशमा हेर्दै ठूलो बाढी आएर घट्ट बगाउला भन्ने चिन्ता पनि हरेक
बर्खाको समयमा निरन्तरताजस्तै भइसकेको छ ।
भोजीका
श्रीमान्, चार छोरा, नातिनातिना गरी ११ जनाको परिवार छ । एक पाथी घट्टमा
पिस्दा आउने एक माना ज्याला परिवार पाल्न उनको प्रमुख स्रोतमध्ये एक बनेको छ
। उमेरले वृद्धा उनी काम गर्न सक्दिनन् । अरू ज्यालादारी र खेतीपातीमा
सक्रिय हुने हुनाले उनी बिहानै घट्ट आइपुग्छिन्, तर दिनभर घट्टमै
बिताउँछिन् । ‘बिहानै घट्ट आउँछु, बिहानको खाना पनि घट्टमै ल्याइदिन्छन्,
दिनभर घट्टमै बित्छ ।’ उनले भनिन्, ‘आउने ग्राहकसँग गफ गर्दै पिठो पिस्तै
रमाउनुको विकल्पै छैन ।’ घट्टमा पुग्नेहरू उनको मुस्कानसँग प्रफुल्लित
हुन्छन् । हिउँदमा मात्र चल्ने १९ अस्थायी सामूहिक घट्टमध्ये एककी धनी उनी
हरेक ग्राहकसँग मीठो बोल्छिन् । ‘घट्टेर्नी बज्यैमा पीठो पिस्न आउँदा
रमाइलो लाग्छ, मीठो कुरा गर्नुहुन्छ ।’ रुकुम जंगल गाउँबाट पीठो पिँध्न
आएकी कमला परियारले भनिन् ।
भौगोलिक
रूपमा विकट र खेतीपातीसमेत कम भएकी रिम्नाकी यी बज्यैलाई यही घट्टले
बचाएको र यसको औधि माया लाग्ने उनी बताउँछिन् । ‘बर्खा लागेपछि बगाउला
भन्ने चिन्ता ठूलो छ, पहिला पनि तीन÷चार पटक बगाइसक्यो, तर घट्टमा
बस्दाबस्दै हामीलाई पाल्ने नै यही हो जस्तो लाग्छ ।’ उनले भनिन्, ‘११
जनालाई पुरै खान नपुगे पनि यही घट्टले बाँच्न धेरै भरथेग गरेको छ ।’
उनीजस्तै
अन्यको भनाइ पनि यस्तै रहेको छ । नयाँ घट्ट बनाउन कम्तीमा १५ हजार लाग्ने र
बाढी आउनुअघि नै घट्टलाई पाखामा सार्न पाए धेरै जोगिने अनुभव उनीहरूसँग छ ।
बाढीका कारण पटकपटक घट्ट बगाएको उनीहरू बारम्बार सम्झन्छन् ।
बर्खाभरि
घट्टका छाना, डाँडा, थामा, बला, थुन्से, डोरा, फुनेलगायतका सामग्री पाखामा
राख्ने १९ घट्टधनीहरूले बाढी घटेपछि दसैं र तिहार लगत्तैदेखि फेरि घट्ट
बनाएर मंसिरदेखि जेठसम्म घट्ट सञ्चालन गर्छन् । जाजरकोटको रिम्ना र आसपासका
साथै रुकुमको पुर्तीमारा, बराइली, घेम्दालगायतका गाविसबाट पीठो पिस्न
सामूहिक घट्टमा आउने गरेका छन् । बर्खाभरि घट्ट नहुने हुनाले यहाँका
अधिकांशले हिउँद अघिलाई पुग्ने गरी पीठो पिस्छन् । हिउँदभरि घट्टभित्र जीवन
बिताउने बज्यै वृद्धा उमेरमा पनि कुनै बेखुसी छैनन् ।
http://rajdhani.com.np/article/0267091001466829962
No comments:
Post a Comment