Wednesday, June 29, 2016

भारत ३ सय मेगावाट दिन तयार

मूल्य तय गर्न बाँकी

भीम गौतम/राजधानीकाठमाडौं, १४ असार
भारत नेपाललाई ८० मेगावाटसहित ३ सय मेगावाट विद्युत् दिन तयार भएको छ । नेपाल र भारतबीच भएको बहुचर्चित ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयन लागि मंगलबारको सचिवस्तरीय बैठकमा ३ सय मेगावाट विद्युत् दिन तयार भएको हो ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार विगत पाँच महिनाअघि देखि आयात भइरहेको ८० मेगावाट थप एक वर्षका लागि र बाँकी १ सय २० मेगावाट आगामि डिसेम्बरदेखि दिन तयार भएको हो । उनका अनुसार पहिलाभन्दा प्रति युनिट मूल्यवृद्धि गर्नुपर्ने प्रस्ताव भारतीय पक्षले राखेकामा यसबारे भने टुंगो लागिसकेको छैन । यसको तयपछि प्राधिकरण र भारतीय पक्षबीच वार्ता गरेर टुंग्याउने सहमति भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आगामी डिसेम्बरदेखि मुहजफपुर–ढल्केबर पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आयात भइरहेको ८० मेगावाटबाहेक थप १ सय २० मेगावाट तथा दुहबी–कटैया–कुसाहा र रक्सौल–परवानीपुरमार्फत ५०÷५० मेगावाट विद्युत् थप गर्न नेपालले प्रस्ताव गरेको थियो । दुवै लाइनमार्फत हाल विद्युत् आयात भइरहेको थप सर्किट बनाएर १ सय मेगावाट विद्युत् आयात गरिने र यसबाट आगामी हिउँदमा हुने लोडसेडिङमा कमी आउने लक्ष्य प्राधिकरणको छ ।
पीटीए कार्यान्वयनका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक मंगलबार र सह–सचिवस्तरीय संयुक्त कार्य समूहको बैठक सोमबार बस्न लागेको छ । नेपालबाट सचिवस्तरीय बैठकको नेतृत्व ऊर्जा सचिव सुमनप्रसाद शर्मा र सह–सचिवस्तरीय बैठकको नेतृत्व दिनेश घिमिरेले गरेका थिए । नेपाल र भारतबीच ४ कात्तिक २०७१ मा पीटीए भएपछि पहिलो बैठक मंसिर २०७१ तथा दोस्रो बैठक गत माघमा नेपालमा बसेको थियो ।
यो तेस्रो बैठक हो । बैठकमा नेपाल–भारत प्रसारण लाइन गुरुयोजनालाई अघि बढाउने बताउँदै यसको जिम्मा दुवै देशको प्राविधिक समूहलाई दिइएको छ । बैठकमा दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रूपमा न्यु बुटबल–गोरखपुर बनाउनेबारे पनि छलफल भएको थियो ।
हाल विद्युत् प्राधिकरणले पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात गरिरहेको छ । गत ८ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा रिमोर्टमार्फत स्विच थिचेर ८० मेगावाट विद्युत् आयातको शुभारम्भ गरेका थिए ।
पाँच महिनाका लागि मात्र सम्झौता भएकामा यो द्विपक्षीय बैठकमा थप एक वर्षका लागि विद्युत् आयातको प्रस्ताव गरेकामा भारतीय पक्षले सहमति जनाएको थियो । ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाटसम्म विद्युत् आयात गरिरहेको नेपालले भारतसँग आगामी सन् २०१६ को अक्टोबरसम्म २ सय मेगावाट र २०१७ को डिसेम्बरबाट ६ सय मेगावाट पु¥याइने सम्झौता गरिसकेको छ । हाल भारतबाट ८० मेगावाटसहित ३ सय मेगावाट विद्युत् आयात हुँदै आएको छ ।
http://rajdhani.com.np/article/0183926001467171048

No comments: