न्यूनतम उपयोग गर्नेको महसुल घट्यो
भीम गौतम/राजधानीकाठमाडौं, १६ असार
विद्युत्
महसुल निर्धारण आयोगले बिजुलीको महसुलमा २० प्रतिशत मूल्यवृद्धि गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले अति न्यूनतम विद्युत् उपयोग गर्ने घरायसी
ग्राहकलाई घटाउँदै सरदरमा भने सबै ग्राहकका लागि बिजुलीको मूल्य २० प्रतिशत
वृद्धि गरेको हो । २०६९ सालमा पनि आयोगले २० प्रतिशत बिजुलीको मूल्य
बढाएको थियो । गत वर्ष आयोगले १३ दशमलव ७० प्रतिशत महसुल वृद्धि निर्णय गरे
पनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर रोकिएकामा पछि अदालतले वृद्धि
गर्न बाटो खोलिदिएको थियो ।
आगामी
१ साउनबाट लागू हुने गरी बिजुलीको मूल्य वृद्धि गर्ने निर्णय गरिएको
आयोगका अध्यक्ष जगत भुसालले जानकारी दिए । आर्थिक वर्ष २०६७ सालमा सरकारले
२७ अर्ब घाटा अपलेखन गरेपछि विद्युत् प्राधिकरणको घाटा झन्डै २७ अर्ब
नाघिसकेको छ ।
घाटाले थलिएको
प्राधिकरणले बिजुलीको मूल्यवृद्धि गर्दा बर्सेनि ५ अर्ब राजस्व थपिने
जनाएको छ । ‘बिजुलीको मूल्य वृद्धि गर्दा प्राधिकरणलाई वर्षको ५ अर्ब
आम्दानी बढ्छ, यसले प्राधिकरणको वित्तीय अवस्था सुधार गर्न ठूलो सहयोग
पुग्छ,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) मुकेशराज
काफ्लेले भने, ‘चार वर्षदेखि नबढेकाले हामीले बिजुलीको मूल्य ४० प्रतिशत
बढाउन माग गरेका थियौं, मागअनुसार नबढे पनि यो सकारात्मक छ ।’ विद्युत्
प्राधिकरणका २९ लाख ग्राहक छन् । त्यसमध्ये २६ लाख घरायसी तथा अन्य
व्यापारिक, गैरव्यापारिकलगायतका ग्राहक छन् ।
हाल
२० युनिटसम्म उपयोग गर्ने सर्वसाधारण ग्राहकले न्यूनतम ८० रुपैयाँ नै
तिर्नुपर्ने अवस्थालाई अन्त्य गरी यस्ता ग्राहकलाई निश्चित शुल्क (फिक्स
चार्ज) ३० रुपैयाँ तथा प्रतियुनिट ३ रुपैयाँ ऊर्जाशुल्क (इनर्जी चार्ज)
कायम गरिएको छ । यो व्यवस्थाअनुसार २० युनिट नै विद्युत् उपयोग गर्ने
ग्राहकले अब ९० रुपैयाँ तिर्नुपर्छ भने १६ युनिटभन्दा कम खपत गर्ने
ग्राहकले ८० रुपैयाँभन्दा कम तिरे पुग्छ ।
‘न्यूनतम
बिजुलीको उपयोग गर्ने सर्वसाधारण ग्राहकको बिजुलीको मूल्य घटेको छ भने
अधिकतम उपयोग गर्ने ग्राहकको बढेको छ,’ आयोग अध्यक्ष भुसालले राजधानीसँग
भने, ‘पहिला साना ग्राहकका लागि टेक अर पे थियो, अब टेक एन्ड पे कायम
गरिएको छ ।’ आयोगका अनुसार बिजुलीको मूल्यमा सरदर १८ दशमलव ३५ प्रतिशत
वृद्धि गरिएको छ । साथै, टीओटी मिटर लिएका ग्राहकलाई हिउँदे यामको चार
महिना अफ पिक आवरको महसुल स्थगन गरी नर्मल आवर (सामान्य) सरह गणना गर्दा
करिब १ दशमलव ५० प्रतिशत वृद्धि हुने अनुमान छ । यसका आधारमा बिजुलीको
मूल्य १९ दशमलव ८५ प्रतिशत वृद्धि गरिएको आयोगले जनाएको छ ।
सुक्खायाम
र वर्षात्मा गरी मौसमी महसुल दर कामय गरेको आयोगले ग्राहकलाई सात वर्गमा
विभाजन गरेको छ । सिंगल फेजको ५ एम्पेयर राख्ने ग्राहकलाई २१ देखि ३० युनिट
उपयोग गर्नेलाई प्रतियुनिट ७ र निश्चित शुल्क ५०, ३१ देखि ५० युनिटलाई
प्रतियुनिट साढे ८ रुपैयाँ र निश्चित शुल्क ७५ रुपैयाँ र ५१ देखि ५०
युनिटसम्मलाई ११ रुपैयाँ महसुल र निश्चित शुल्क १ सय रुपैयाँ कायम गरिएको छ
। त्यसैगरी, १ सय ५१ देखि २ सय युनिटसम्मलाई प्रतियुनिट १२ रुपैयाँ र
निश्चित शुल्क १ सय २५ रुपैयाँ, २ सय १ देखि ४ सय युनिटसम्मलाई १३ रुपैयाँ र
शुल्क १ सय ५० रुपैयाँ तथा ४ सय १ युनिटदेखि ६ सय युनिटसम्मलाई प्रतियुनिट
१४ रुपैयाँ र निश्चित शुल्क १ सय ७५ रुपैयाँ महसुल निर्धारण गरिएको आयोगले
जनाएको छ ।
सिंगल फेजको १५ एम्पेयर,
३० एम्पेयर र ६० एम्पेयरबराबरको बिजुली उपयोग गर्ने तथा थ्री फेजको लो
भोल्टेज, मिडियम भोल्टेज, नन टीओटीका लो भोल्टेज (२३०÷४०० भोल्ट) लिने
ग्राहकको मूल्य आयोगले वृद्धि गरेको छ । त्यसैगरी, ११ केभी, ३३ केभी र ६६
केभीका साथै टीओटी मिटर लिएका औद्योगिक, व्यापरिक, गैरव्यापारिक, सिँचाइ,
खानेपानी, यातायात, सडक बत्ती र मन्दिरलगायतको बिजुलीको मूल्यसमेत वृद्धि
गरिएको छ । हाल प्राविधिक र चोरी चुहावट गरी सरदर २५ प्रतिशत चुहावट रहेको
प्राधिकरणमा यसलाई सबैभन्दा ठूलो चुनौतीका रूपमा लिइएको छ । आयोग अध्यक्ष
भुसाल चुहावट नियन्त्रणमा प्राधिकरणले खासै प्रगति गर्न नसकेको बताउँछन् ।
उनका
अनुसार, चुहावट घटाउन सक्ने अवस्थामा पनि घटाउन प्राधिकरणले पहल नगरेको हो
। तर, विगत चार वर्षदेखि नबढेका कारण प्राधिकरणको वित्तीय अवस्थालाई ध्यान
दिएर वृद्धि गरिएको आयोगको भनाइ छ । ‘भारतबाट विद्युत् आयात गर्दाको
मूल्यान्तर, डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) जस्ता कारण प्राधिकरणले
घाटा बेहोर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘महँगोमा बिजुली किनेर सस्तोमा
बेच्नुपर्ने कारण प्राधिकरणले ठूलो घाटा बेहोरेको देखेपछि बिजुलीको मूल्य
बढाएका हौं ।’ प्रत्येक वर्È प्राधिकरणले विद्युत् खरिद गर्ने निजी Ôेत्रका
जलविद्युत् प्रवद्र्धकलाई तीन प्रतिशत मूल्यवृद्धि दर दिए पनि आङ्खनो
विद्युत् महसुल नबढेको कारण नै प्राधिकरण घाटामा गएको प्राधिकरणका
अधिकारीको तर्क छ । आयोगले चुहावट नियन्त्रण र खर्च न्यूनीकरणलगायतका
विषयमा विभिन्न सर्तसहित महसुल वृद्धि गरेको जनाएको छ ।
http://rajdhani.com.np/article/0220962001467338834#.V3ZEcft4ZmQ.facebook
No comments:
Post a Comment