Wednesday, July 27, 2016

भुकम्प प्रभावितलाई पहिलो किस्ताको अनुदान वितरणका लागि अख्तियारी

July 27, 2016 Categories ताजा समाचारविकास

भुकम्प प्रभावितलाई पहिलो किस्ताको अनुदान वितरणका लागि अख्तियारी
कारोबार संवाददाता
काठमाडौं, १२ साउन
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई २० अर्बको अख्तियारी दिएको छ । अख्तियारी नहुँदा विगत केही दिनदेखि पहिलो किस्ताको रकम वितरण रोकिएकोमा मंगलबार मात्र प्राधिकरणले स्थानीय विकास मन्त्रालयलाई अख्तियारी दिएको हो ।
प्राधिकरणका अनुसार भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा ५ लाख ३३ हजारलाई अनुदान दिनुपर्नेमा अझै ४ लाख ७४ हजार ४ सय ४४ घरधनीलाई पहिलो किस्ता रकम पाउन सकेका छैनन् । स्थानीय विकास मन्त्रालयका अनुसार ३९ हजार ७ सय २ जनाले पहिलो किस्ताको ५० हजार रुपैयाँ पाइसकेका छन् ।
पहिलो किस्ता पाउन बाँकीलाई २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्नेमा हाल दातृ निकाय र नेपाल सरकार गरी १९ अर्ब ३३ करोड ९ हजार १ सय ५० रुपैयाँ व्यवस्थापन गरिएको र बाँकी ४ अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थाहरूमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
चालू आर्थिक वर्षमा पुनर्निर्माणका कार्यहरू अघि बढाउनका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई केही दिनअघि ८४ अर्ब रुपैयाँको बजेट अख्तियारी प्रदान गरिसकेको छ । कुल अनुदान पाउन अनुदान सूचीमा परेकामध्ये १९ हजार २२ घर पुनर्निर्माणका लागि विभिन्न गैरकारी संस्थाहरूसँग सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ । उनीहरूले प्राधिकरणबाट तोकिएका बैंकमार्फत नेपाल सरकारले उपलब्ध गराए सरह पहिलो किस्तावापत ५० हजार, दोस्रो किस्तावापत ८० हजार र तेस्रो किस्तावापत ७० हजार उपलब्ध गराउन सक्ने व्यवस्था गरेको प्रवक्ता थपलियाले जानकारी दिए ।
प्राधिकरणले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा सर्भेक्षण सुरु गरेको छ भने भूकम्प प्रभावित १७ जिल्लामा सर्भेक्षण गर्ने तयारी गरिरहेको छ ।
- See more at: http://np.karobardaily.com/2016/07/95262/#sthash.hfHMiCIg.dpuf

No comments: