July 27, 2016 Categories अर्थ, प्रमुख समाचार
कारोबार संवाददाता
काठमाडौं, १२ साउन
काठमाडौं, १२ साउन
जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले मुलुकका विभिन्न १०विद्युत् आयोजनामा लगानी गर्ने भएको छ । यसअघि पनि १० जलविद्युत् आयोजनामा लगानी गरिसकेको कम्पनीले आगामी वर्ष सोहीबराबरका आयोजनामा लगानी गर्न लागेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले १० जलविद्युत् आयोजनामा लगानीका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए । “८ जलविद्युत् आयोजनाको सहवित्तीयकरणका लागि प्रस्ताव आएको छ, लगानीबारे छलफल अघि बढाएका छौं,” रौनियार भन्छन्, “दुई जलविद्युत् आयोजना सहायक कम्पनीमार्फत अघि बढाउन लागेका छौं ।” उनले आयोजनाको अवस्थाको आधारमा लगानीबारे निर्णय गरिने जानकारी दिए ।
कम्पनीका अनुसार कुल २९१ मेगावाटका ८जलविद्युत् आयोजनाको कुल लागत ४९ अर्ब रुपैयाँ छ । सहवित्तीयकरणका लागि कम्पनीमा प्रस्ताव गर्नेहरूमा सोलुखुम्बुमा निर्माण हुन लागेको ८६ मेगावाटको सोलु–दूधकोसी, रामेछापको ५१ मेगावाटको लिखु–१, बझाङको ३८ मेगावाटको कलानगाढ, नुवाकोटको ३७ मेगावाटको अपर त्रिशूली ३ बी, सिन्धुपाल्चोकको ३६ मेगावाटको अपर बलेफी ए, रामेछापको २४ मेगावाटको लिखु–१, सोलुखुम्बुको १८ मेगावाटको अपर सोलु र २८ मेगावाटको लोअर लिखु जलविद्युत् कम्पनी छन् । कम्पनीले रेमिट्यान्स हाइड्रो लिमिटेड नामक सहायक कम्पनी बनाएर ताप्लेजुङको ७१ दशमलव ५ मेगावाटको गुन्सा र ५३ दशमलव ७ मेगावाटको सिम्बुवा जलविद्युत् आयोजनामा स्वपूँजी (इक्वीटी) को ५१ प्रतिशत अर्थात् साढे १२ करोड लगानी गर्न लागेको छ ।
कम्पनीले यसअघि १० आयोजनामा ४ अर्ब ११ करोड लगानी गरिसकेको छ । कम्पनीका अनुसार, ८२ मेगावाटको लोअर सोलुमा ५० करोड, ४९ दशमलव ६ मेगावाटको सुपर दोर्दीमा ४० करोड, ४२ मेगावाटको मिस्त्रीमा ५० करोड, ३० मेगावाटको खानी खोलामा ४० करोड, ३० मेगावाटको न्यादीमा ५० करोड, २७ मेगावाटको दोर्दीखोलामा ५० करोड लगानी गरेको छ । यस्तै, २५ मेगावाटको काबेली बी १ मा २० करोड, २३ दशमलव ५ मेगावाटको सोलु खोलामा २० करोड, २१.६ मेगावाटको लोअर हेवामा १५ करोड र २० मेगावाटको बाग्मती जलविद्युत् आयोजनामा २० करोड लगानी गरिसकेको छ । विश्व बैंकको ऋण सहयोगमा लगानी कम्पनीमार्फत ३७ दशमलव ६ मेगावाटको काबेली ए कमा ४ अर्ब लगानी गरिसकेको छ । कम्पनीले पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) मा १४ प्रतिशत स्वपुँजी (इक्वीटी) लगानी गरेको छ भने पावर जेनेरेसन कम्पनीमा पनि १० प्रतिशत इक्विटी लगानी गर्न लागेको छ ।
जलविद्युत् कम्पनीमा अझै १० अर्ब ५० करोड रुपैयाँ लगानीयोग्य रकम रहेकाले आकर्षक जलविद्युत् आयोजनाहरूमा प्रस्ताव आएमा लगानी गर्न सकिने प्रमुख कार्यकारी अधिकृत रौनियारले जानकारी दिए ।
No comments:
Post a Comment