July 26, 2016 Categories अर्थ, प्रमुख समाचार
कारोबार संवाददाता
काठमाडौं, ११ साउन । अमेरिकाले नेपालको ऊर्जा र यातायात क्षेत्रमा लगानी सुरु गरेको छ । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत ऊर्जा र यातायात क्षेत्रमा लगानी सुरु गरेको हो ।
काठमाडौं, ११ साउन । अमेरिकाले नेपालको ऊर्जा र यातायात क्षेत्रमा लगानी सुरु गरेको छ । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत ऊर्जा र यातायात क्षेत्रमा लगानी सुरु गरेको हो ।
राष्ट्रिय योजना आयोगको मातहतमा रहने गरी नेपाल सरकार र एमसीसीको संयुक्त पहलमा गठन गरिएको अफिस अफ द मिलेनियम च्यालेन्ज नेपाल (ओएमसीएन) मार्फत योजनाहरूको सम्भाव्यता अध्ययन अघि बढाइएको छ ।
अमेरिकाले दुवै क्षेत्रका योजना छनोटका लागि १ अर्ब रुपैयाँ लगानी गर्नेबारे अर्थ मन्त्रालय र एमसीसीबीच सम्झौता भइसकेको छ । “अमेरिकाले नेपालको ऊर्जा र यातायात क्षेत्रमा लगानी सुरु गरेको छ, पहिलो चरणको लगानी सुरु भएको छ,” ओएमसीएनका निमित्त संयोजक तुलसी सिटौलाले भने, “हामीले यी दुवै क्षेत्रका विभिन्न आयोजनाहरूको सम्भाव्यता अध्ययन गरिरहेका छौं, आगामी फ्रेबु्रअरीभित्र अध्ययन सम्पन्न गर्नेछौं ।”
अध्ययनमा आकर्षक देखिएका योजनाहरूमा अमेरिकी सरकारले अनुदानको रूपमा लगानी गर्नेछ । हाल ऊर्जातर्फ ४ सय केभीको नाङ्लेभारे–काठमाडौं–नौबिसे हुँदै हेटौंडा तथा सोही क्षमताको दमौली–बुटवल प्रसारण लाइनको सम्भाव्यता अध्ययन ओएमसीएनले अघि बढाएको छ ।
यस्तै, यातायाततर्फ झण्डै २ हजार किलोमिटर बराबरका विभिन्न सडकहरूको मर्मत तथा पुनःस्थापनाका लागि समेत संभाव्यता अध्ययन अघि बढाएको छ । निमित्त संयोजक सिटौला २ सय किलोमिटरसम्मको सडक निर्माण गर्न सक्ने अवस्था रहेको सोहीअनुसार आयोजनाको छनोट भइरहेको बताउँछन् ।
आकर्षक आयोजनाहरू पहिचान गरी सोही आधारमा अमेरिका सरकारले न्यूनतम ३० अर्बभन्दा बढी लगानी गर्नेछ । आकर्षक योजनाहरू छनोट भने अर्थमन्त्रीको अध्यक्षतामा सरोकारवाला निकायका प्रतिनिधि र विज्ञ सम्मिलित समितिले गर्नेछ ।
आयोजना पहिचान भएपछि अनिवार्य रूपमा ५ वर्षभित्र निर्माण पूरा गर्नुपर्नेछ । आयोजनाको समयावधि बढेमा बाँकी फिर्ता लाने अनिवार्य सर्त एमसीसीको छ । यसले नेपालमा धेरै विकासे आयोजनाहरूमा देखिएको लागत र समय दुवै बढ्ने सम्भावना कम देखिएको छ ।
आर्थिक विकासमार्फत गरिबी निवारण गर्ने उद्देश्यसहित विस्तृत अध्ययन सम्पन्न गरेपछिको आयोजनाहरूमा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमार्फत लगानी गरिने ओएमसीएनले जनाएको छ । पाँच वर्षभित्र पूरा हुने, २५–३० प्रतिशत आर्थिक लाभ दिने, वातावरण र सामाजिक रूपमा कम जोखिमपूर्ण, सञ्चालन वा मर्मत सम्भारमा निजी क्षेत्र संलग्नताको सम्भावना र लैंगिक विकास लगायतलाई मापदण्डको रूपमा लिइएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको पकलीदेखि झापाको काँकडभिट्टासम्मको १ सय १० किलोमिटर बाटोलाई कम्तीमा प्रतिघन्टा ६० किलोमिटर गुड्न सक्ने चार ल्यान्ड मोटरबाटो तथा सिद्धार्थ राजमार्गअन्तर्गतको बुटबलदेखि पोखरासम्मको सडकलाई पर्यटकीय विकासलाई लक्ष्य गरी स्तरोन्नति, कमजोर गुणस्तर भएका ९२ किलोमिटर अमिलिया–तुलसीपुर–सल्यान, ६० किलोमिटरको सिलगुढी–साँफेबगर लगायतका सडकबारे अध्ययन अघि बढाएको छ ।
No comments:
Post a Comment