Tuesday, July 5, 2016

नेपाल–भारत प्रबुद्ध समूह बैठक


सन्धि–सम्झौताको खाका तयार पारिँदै

भीम गौतम / राजधानी
काठमाडौं, २० असार
नेपाल र भारतबीचका सन्धि–सम्झौतालगायतलाई पुनरावलोकनका लागि सुझाव दिन गठित दुई देशीय प्रबुद्ध समूहको बैठक सोमबारदेखि सुरु भएको छ । सन्धि–सम्झौता पुनरावलोकनका साथै नेपाल–भारत सम्बन्धबारे सुझाव दिन गठित प्रबुद्ध समूहको पहिलो बैठक काठमाडौंमा सुरु भएको हो ।
दुई वर्षका लागि गठित विज्ञ समूहमा नेपाल र भारतका तर्फबाट आठ सदस्य रहेका छन् । दुईदिने बैठकमा आगामी दुईवर्षे कार्यकालमा गरिने कामको खाका निर्माणका साथै दुई देशबीचको सम्बन्ध सुधारका विविध पक्षबारे छलफल हुने प्रबुद्ध समूहका संयोजक भेषबहादुर थापाले जानकारी दिए । ‘नेपाल र भारतबीचको सम्बन्धबारे दुई वर्षभित्र गरिने खाका तयारमा बैठक केन्द्रित हुनेछ,’ थापाले राजधानीसँग भने । पहिलो बैठक भएकाले आगामी दिनमा द्विपक्षीय सम्बन्धका साथै विगतमा भएका सन्धि–सम्झौतालाई कसरी पुनरावलोकन गर्ने भन्नेबारे केन्द्रित हुने भएकाले ठोस निर्णय नगर्ने प्रबुद्ध समूहका एक सदस्यले जानकारी दिए ।
बैठकमा विभिन्न समयमा भएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सुरक्षा, सीमासँग सम्बन्धित सन्धि–सम्झौता लगायतका विषयमा छलफल हुन लागेको छ । विज्ञहरूले भने सन् १९५० को सन्धि, व्यापार तथा पारवाहन सम्झौता, जलस्रोतलगायतमा आवाज उठाउनुपर्ने सुझाव दिँदै
आएका छन् । भारतीय पक्षले समेत सन् १९५० को सन्धिबारे ठोस प्रस्ताव ल्याउन आग्रह गरिसकेको छ । सोही आधारमा सन्धि–सम्झौताको खाका तयार पार्ने काममा बैठक केन्द्रित रहेको हो । बैठकको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रबुद्ध समूहको बैठकले नेपाल र भारतबीचको सम्बन्ध सुधारका लागि महŒवपूर्ण सुझाव र भूमिका खेल्ने बताए ।
‘नेपाल र भारतबीच सन्धि–सम्झौताभन्दा पनि सदियौंदेखि सांस्कृतिक र सामाजिक सम्बन्ध छ,’ उपप्रधानमन्त्री थापाले भने ‘कूटनीति, संसद्, नागरिक समाज र विशेषज्ञ क्षेत्रको प्रतिनिधित्व रहेको समूहले दुवै देशहरूलाई सम्बन्ध अघि बढाउन मार्ग निर्देशन गर्नेछ ।’ उनले पछिल्लो समयमा सूचना–प्रविधिमा आएको परिवर्तन र विश्व परिस्थितिका आधारमा द्विपक्षीय समानता र विकासका आधारमा सम्बन्ध अघि बढ्नुपर्ने बताए ।
समूहमा नेपाली पक्षका संयोजक पूर्वपराराष्ट्रमन्त्री थापा छन् भने भारतीय पक्षबाट सत्तारूढ भारतीय जनता पार्टीका उपाध्यक्ष तथा निकटवर्ती पश्चिमी छिमेकी राज्य उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारी छन् ।
प्रबुद्ध समूहमा नेपालका तर्फबाट नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई तथा भारतका तर्फबाट जयन्त प्रसाद, प्रा. महेन्द्र पी लामा र प्रा. बीसी उप्रेती सदस्य छन् । उद्घाटन कार्यक्रममा कोसियारीले नेपाल–भारतबीचको सामाजिक र सांस्कृतिकबीचको सम्बन्ध नदीजस्तै निरन्तर बगिरहेको र अझ प्रगाढ बनेर बगिरहने बताए । औपचारिक सन्धि–सम्झौताभन्दा पनि धेरै माथिको सम्बन्ध दुई देशबीच रहेको बताउँदै रक्त समूह एउटै भएजस्तै प्रगाढ रहेको उनको भनाइ थियो ।

संविधान जारी भएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा विज्ञ समूह गठन गर्ने सहमति भएको थियो । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा विज्ञ समूह गठनको प्रस्ताव भए पनि वर्तमान सरकारका प्रधानमन्त्री ओलीको भ्रमणका बेला सहमति भई दुवै देशले विज्ञ समूह गठन गरेका हुन् ।
http://rajdhani.com.np/article/0337648001467679617

No comments: