July 20, 2016 Categories ताजा समाचार, विकास
कारोबार संवाददाता
काठमाडौं, ५ साउन
काठमाडौं, ५ साउन
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबै भूकम्प प्रभावितलाई दशैं अगावै पहिलो किस्तावापतको अनुदान वितरण गर्ने भएको छ ।
भूकम्प गएको १५ महिनापछि २ लाख ५२ हजार ८ सय ३२ भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरेको प्राधिकरणले ३५ हजार २ सय ९२ जनालाई मात्र पहिलो किस्ताको ५० हजार वितरण गरेको छ । भूकम्प प्रभावित १४ मध्ये ११ जिल्लामा ५ लाख ३२ हजार प्रभावितलाई अनुदान वितरण गर्ने नाम विस्तृत घरधुरी सर्भेक्षणले पहिचान गरेको छ । “दशैंअघि नै ११ जिल्लाका सबै भूकम्प प्रभावितलाई पहिलो किस्तासहित अनुदान वितरण गर्ने लक्ष्य छ ।” उनले भने, आर्थिक वर्ष अन्त्य भएकाले केही ढिलाइ भएको हो, अब दु्रतगतिमा कामअघि बढ्छ ।
प्राधिकरणले भूकम्प अतिप्रभावित दोलखा, रसुवा, गोरखा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, ओखलढुंगा, काभ्रे र मकवानपुर जिल्लामा अनुदान तथा किस्ता वितरण सुरु गरिसकेको छ । अनुदान सम्झौता भए पनि पहिलो किस्ता पाउने कम छन् । अबको तीन महिना अर्थात् दशैंअघि प्राधिकरणले अझै २ लाख ८० हजार प्रभावितसँग अनुदान तथा झन्डै ५ लाखसँग पहिलो किस्ताको रकम वितरण गर्नेछ । फागुन ३० देखि अनुदान वितरण सुरु गरेको प्राधिकरणले आवश्यक नीति, योजना, कार्यविधि पूरा गरेको जनाएको छ ।
पहिलो किस्ता पाएपछि दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोरखालगायतका प्रभावितले घर निर्माण सुरु गरिसकेको प्राधिकरणले जनाएको छ । ज्ञवालीका अनुसार घर निर्माणका लागि हालसम्म १० हजार निर्माणकर्मीलाई तालिम दिइसकेको र कार्तिकसम्म थप ३० हजारलाई तालिम दिने लक्ष्य रहेको बताउँछन् ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घर निर्माणका लागि १७ ढाँचामा घर स्वीकृत गरी प्रभावित क्षेत्रमा पठाएको र आंशिक क्षति भएकालाई सवलीकरण (रेट्रोफिट) गर्न ५० हजार दिने निर्णय गरेको जनाएको छ ।
सुरु भयो ‘भेरिफिकेसन’
तथ्यांक विभागले मंगलबारदेखि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा भूकम्प प्रभावित एकिन गर्न दोहोरी परीक्षण (भेरिफिकेसन ) सुरु गरेको छ । तथ्यांक विभागका उपमहानिर्देशक रुद्र सुवालले १ लाख १० हजार प्रभावितको घरघरमा पुगी भेरिफिकेसन गर्ने जानकारी दिए । उनका अनुसार, उपत्यकाभित्र ४ सय ५० प्राविधिक खटाइएको छ ।
No comments:
Post a Comment