Saturday, July 9, 2016

च्यातिँदै मिर्गौला तस्करीको जालो

भीम गौतम


२०७१ साल वैशाखमा सिन्धुपाल्चोकमा राम सुनार (नाम परिवर्तन) लाई विनोद मिजार, अमिर तामाङ, विक्रम परियारलगायतले घुम्न जाऊँ भनेर काठमाडौं ल्याएर काठमाडांैको सुन्धारास्थित एउटा गेस्ट हाउसमा राखे । मिर्गौला झिक्ने उद्देश्यले ल्याएका उनीहरूले तिम्रो शरीरको चेक गराउँछु भन्दै भक्तपुर अस्पताल, स्वयम्भू छाउनी अस्पताल हुँदै त्रिवि शिक्षा अस्पताल महाराजगन्जमा रगत जाँच गरे । जाँचका क्रममा तिम्रो शरीरमा सानो घाउ पर्छ, त्यसले केही असर गर्दैन र तीन÷चार दिनमा निको हुन्छ भन्दै पैसाको प्रलोभन देखाएर मिजारको समूहले उनको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट प्रेम बोहोराको नाममा नक्कली नागरिकता बनाइयो । मिर्गौला बेच्न लागिएकी मानवती बोहरा जागरीलाई दिदी भन्नु भन्दै सोही सालको ७ जेठमा मिर्गौला झिक्न शिक्षण अस्पताल लगेपछि चिकित्सकले तिम्रो मञ्जुरीले मिर्गौला दान दिन लागेको भनेर प्रश्न गर्दा मात्र सुनारले होइन भनेपछि चिकित्सकहरूले नै प्रहरीलाई खबर गरिदिए । प्रहरीले मिजार समूहलाई पक्राउ ग¥यो । भोलिपल्ट जेठ ८ गते नै सुनारले आफ्नो मिर्गौला बेच्ने गिरोहविरुद्ध प्रहरीमा उजुरी दर्ता गराए । काठमाडौं जिल्ला अदालतमा चलेको सो मुद्दामा मिजारलगायतका समूहलाई हालै जिल्ला न्यायाधीश हरिप्रताप सिंहको इजलासले पाँच वर्ष कैद र २ लाख जरिवाना गरेको छ ।
सुनारलाई मिर्गौला बेच्न प्रलोभन देखाउने र फकाउने समूहमध्येका काठमाडौं महानगरपालिका–२९ का रञ्जित महर्जनले भारतको बम्बै अस्पताल, काभ्रे फूलबारी गाविस–८ का प्रकाश तामाङले भारतको पन्जाब, काभ्रे पाँचखालका हरि परियारले भारतको चण्डीगढ अस्पताल र धादिङ सल्यानकोटका राजु खड्काले चण्डीगढ अस्पताल नै पुगेर मिर्गौला बेचिसकेका छन् । मिर्गौला बेचेका उनीहरू नै मिर्गौला तस्करीमा एजेन्ट बनेर सुनारलाई बेच्ने कार्यमा सहभागी बनेका थिए ।
यसैगरी, काभ्रे ज्याम्दी गाविस–९ घर भएका रामशरण दर्जी (नाम परिवर्तन)लाई होक्से गाविसमा इँटा पार्ने काम गरिरहेको अवस्थामा काठमाडौंमा डेरा गरी बस्ने पुना ठकुरी दर्जीले साथीको जस्तो व्यवहार गरी बेलाबेलामा फोन गरेर राम्रो जागिर खुवाउने प्रलोभन देखाइन् । राम्रो कमाइ हुने जागिर आएको छ, काठमाडौं आऊ भनेपछि उनी ५ पुस २०६९ मा काठमाडौं आए । उनलाई ललितपुरको लगनखेलस्थित एक स्वास्थ्य संस्थामा लगेर निज पुना तथा निजका पति कृष्ण दर्जीले मेरो रगत जाँच तथा अन्य स्वास्थ्य परीक्षण गराएपछि एउटा मिर्गौला बेच्दैमा केही हुँदैन भन्दै ३ लाख रुपैयाँ दिने आश्वासन दिए । कसैलाई नभन्नू, भने राम्रो ह“ुदैन भनी धम्कीसमेत दिएर उनलाई उनीहरूले आफ्नै कोठामा राखेर केही दिनपछि १६ पुसमा दुई अपरिचित व्यक्तिमार्फत प्लेनमा चढाएर भारतको दिल्ली लगे ।
दिल्लीमा एउटा कोठा खोजेर राखेका उनीहरूले एउटा अस्पताल लगेर ९ फागुनमा देब्रेपट्टिको मिर्गौला झिकियो । २७ फागुनमा एक्लै काठमाडौं आएका उनलाई पुना र दर्जीले जम्मा १ लाख ६० हजार मात्र दिए । जनअधिकार संरक्षण मञ्च (पीपीआर) नेपालको सम्पर्कमा आएर आवश्यक परामर्श र सहयोग पाएपछि उनले २८ चैत २०६९ मा दुवै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दिए । काभ्रेको होक्से र आपपासमा गैरकानुनी रूपमा मिर्गौला बेचबिखन भए पनि पीडित पक्षले प्रहरीमा उजुरी दिएको र यसकै आधारमा ९ जेठ २०७० मा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा ग¥यो । ८ असार २०७१ मा जिल्ला अदालतले उनीहरू दुवैलाई तीन÷तीन वर्ष कैदको फैसला सुनायो ।
यस्तै, काभ्रे होक्सेकै हरि (नाम परिवर्तन)लाई स्थानीय प्रेम बजगार्इंले असार २०६७ मा ललाईफकाई गरेर १ लाख ५० हजार नगद, चितवनमा २ बिघा जग्गा र बालबच्चा पढाइदिने र जागिर लगाइदिने आश्वासनमा काडमाडांैबाट भैरहवासम्म प्लेन तथा त्यहाँबाट गाडीमा चढाई भारतको गोरखपुर र त्यहाँबाट ट्रेनमा चढाई भारतको मद्रासको एमएमएम लेखिएको अस्पतालमा पु¥याएर मिर्गौला झिकियो । मिर्गौला बेचेर फर्केपछि काम गर्न नसक्ने अवस्थामा पुगेका उनले पनि पीपीआर नेपालको सहयोगमा चैत २०६९ मा प्रहरी कार्यालयमा जाहेरी दिए । २२ वैशाख २०७० मा काभ्रे पलाञ्चोक जिल्ला अदालतमा बजगार्इंविरुद्ध दायर मुद्दामा ८ असार २०७१ मा अदालतले तीन वर्ष कैदको फैसला ग¥यो । बजगार्इं कैद भुक्तान गरेर जेलमुक्त भइसकेका छन् ।
यसैगरी, काठमाडांैको हनुमानढोका–१ की माया भण्डारी (नाम परिवर्तन)का श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेको बेला एक कारखानामा खुट्टा परी अपांग भए । चरम गरिबीको चेपटामा रहेका उनले एउटा सानो तिनो होटल चलाउन भनी २ लाख रुपैयाँ ऋण लिए पनि होटेल घाटामा गएकाले ऋण तिर्न सकेनन् । अत्यन्त चिन्तामा रहेको बेला छिमेकका बस्दै आएका विनोद ढकाल तथा कृष्ण दर्जीले तपार्इंको ऋण तिर्ने एउटा उपाय भएको उल्लेख गर्दै मिर्गौला बेच्न फकाए । कसैलाई पनि नभन्नू भन्दै मिर्गौला बेचे २ लाख रुपैया“ आउछ, एउटा मिर्गौला बेच्दैमा केही ह“ुदैन, एउटा मिर्गौला झिके फेरि त्यो पलाउ“छ भन्दै उनीलाई फकाइयो । असोज २०६९ मा काठमाडौंको एक स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएपछि उनको मंसिरमा काठमाडौंबाट नेपालगन्ज हँुदै भारत नयाँदिल्लीस्थित सिंहानिया अस्पतालमा पुगेर माघमा मिर्गौला झिकियो । मिर्गौला बेचेर फर्केपछि काम गर्न नसकेर झन् चिन्तित भइरहेका बेला पीपीआर नेपालको सहयोगमा उनले उपचार गर्नुका साथै आवश्यक परामर्शमा १ जेठ २०७० मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौंमा जाहेरी दिइन् । सरकारी वकिल कार्यालयले २६ जेठ २०७० मा काठमाडौ जिल्ला अदालतमा दायर गरिएको मुद्दामा दुवैलाई १०÷१० वर्ष कैद, २ लाख जरिवाना र पीडितलाई २ लाख क्षतिपूर्ति हुने फैसला सुनायो ।
नेपालको कानुनअनुसार नजिकको नातेदार अर्थात् सो व्यक्तिको छोरा, छोरी, आमा, बुबा, दाजुभाइ, दिदीबहिनी, काकाकाकी, भतिजभतिजी, बाबुतर्फको बाजेबज्यै, छोरातर्फको नातिनातिना र विगत दुई वर्षदेखि अटुट रूपमा नाता कायम रहिआएका पति, पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी बुबा र सासूससुरालाई १८ वर्षपछि मञ्जुरीले मात्र मिर्गौला दान दिन पाइने व्यवस्था गरिएको छ, तर नेपालको काभ्रे, मकवानपुर, काठमाडौ, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकलगायतका अधिकांश जिल्लामा गैरकानुनी मिर्गौला बेचबिखन भइरहेको यस क्षेत्रमा सक्रिय पीपीआर नेपालका कार्यक्रम निर्देशक सतिश शर्मा बताउँछन् । ‘विभिन्न कार्यक्रम लिएर जाँदा काभ्रे मात्र होइन, धेरै जिल्लामा मिर्गौला गैरकानुनी रूपमा बेचबिखन भइरहेको थाहा पाएका छौ,’ उनले भने, ‘काभ्रेको होक्से र आसपासमा गरेको अध्ययनले १ सय ५० भन्दा बढीले बेचेको देखाएको छ ।’ ५० भन्दा बढीले मिर्गौला बेचेको काभ्रेको होक्सेलाई बैंक अफ किड्नीको रूपमा चिनिन्छ ।

मिर्गौला वेच्न फकाउने स्थानको रूपमा रहेको काभ्रेको होक्सेस्थित जोरपिप्ले । जहाँ पहिले खुलमखुल्ला रूपमा एजेन्टहरू सक्रिय हुने भएपनि अहिले भने सुनसान छ ।

मिर्गौला बेचबिखनविरुद्धकी अभियानकर्ता अधिवक्ता कृष्णप्यारी नकर्मीका अनुसार मिर्गौला तस्करीमा स्थानीय एजेन्ट हुँदै राष्ट्रिय र अन्र्तराष्ट्रिय तस्करहरू सहभागी हुने गरेका छन् । रोचक कुरा के छ भने तस्करहरूको यस्तो जालो हुन्छ कि स्थानीय एजेन्टले राष्ट्रिय र राष्ट्रियले अन्र्तराष्ट्रिय तस्करहरू चिन्दैनन् । उनीहरूका सहयोगीमार्फत तस्करहरूको मिर्गौला बेच्ने पीडितहरूलाई पु¥याउने गरिन्छ ।
‘मिर्गौला बेचबिखनमा विभिन्न प्रलोभन दिने स्थानीयदेखि राष्ट्रिय र अन्तर्™ाष्ट्रिय तस्करहरू सहभागी हुने पीडितहरूले बताउने गरेका छन्,’ उनले भनिन् ।
रोजगारी दिने, घरजग्गा किनिदिने, पैसा दिने, मासुको डल्लो पलाइहाल्छ भन्नेहरूको प्रलोभन तथा लालचामा अधिकांश विपन्न, अशिक्षित र गरिब परिवारले मिर्गौला बेचेको अध्ययनका क्रममा देखिएको छ । विगतमा होक्से र आसपासका क्षेत्रमा मिर्गौला बेच्नेहरू खुलमखुला हिँड्ने भए पनि अहिले पनि त्यो संख्या घटेको छ । पाँच वर्ष अघिसम्म प्रहरीमा पीडितले उजुरी नदिएको र मुद्दा पनि कुनै नचले पनि पछिल्लो समयमा उजुरी दिने, मुद्दा हाल्ने तथा तस्करीविरुद्ध बोल्नेहरू बढेका छन् । शर्माको भनाइमा पहिलाको तुलनामा मिर्गौला तस्करीको जालो च्यातिँदै गएको छ, तर बेचबिखन रोकिएको छैन ।
‘होक्से र आसपासका क्षेत्रमा मिर्गौला बेच्ने तस्करहरूको जालो च्यातिँदै जान थालेका छन्, पछिल्लो समयमा बेचबिखन हुने क्रममा धेरै कमी आएको छ,’ उनले भने, ‘मिर्गौला तस्करहरू बिस्तारै अन्य जिल्ला र विपन्न वर्गहरूमा सक्रिय हुन थालेका छन् ।’ उनका अनुसार मकवानपुरका विभिन्न गाविसमा अन्तरक्रिया गर्दा धेरैले मिर्गौला बेचे पैसा आउँछ भनेर गाउँमा आउने एजेन्टहरू बढेको बताएका थिए ।
पहिला मिर्गौला बेचेर फर्कनेदेखि गाउँमा तराई समुदायबाट कपडा बेच्न आउनेसम्म मिर्गौला बेच्न फकाउने एजेन्ट बनेको अनुभव अधिवक्ता नकर्मीसँग छ ।
‘काभ्रेको काभ्रे गाविसमा त कपडा बेच्न आउने तराई मुलका दुईजनाले लगेर जागिर लगाइदिन्छु भनेर फकाएर दुई जनालाई मिर्गौला बेच्न भारत लगेको पनि पाइयो,’ उनले भनिन्, ‘मिर्गौला बेच्नेहरूलाई फकाउने तरिका पनि धेरै छन्, के आश्वासन दिँदा फकाउन सकिन्छ भनेर सक्रिय हुनेहरू धेरै छन्, मोबाइल किनिदिएर फकाउने एजेन्टहरू पनि सक्रिय हुन थालेका छन् ।’ घरमा नभनी गएर बेच्नेहरू पनि धेरै छन् । घर फर्केर आएपछि मात्र भन्ने तथा अरूले थाहा पाउँछन् भनेर सार्वजनिक ठाउँमा ननुहाउनेहरू पनि धेरै छन् ।
मिर्गौला बेचेर फर्केकाहरूको अधिकांशको शारीरिक अवस्था भने दयनीय छ । उनीहरू काम गर्न सक्दैनन् । ज्यालादारी गरेर जीवन निर्वाह गर्नुपर्ने अधिकांश मिर्गौला बेचेको खत दुखेर काम गर्न नसकेपछि दुखाइ कम गर्न रक्सीको सहारा लिन्छन् । काम गर्न नसक्ने, गाउँमा मिर्गौला बेचुवा भन्ने, पैसा कमाउन पनि नसक्नेजस्ता कारणले मिर्गौला बेचेर फर्केकाहरू आफूलाई अपमानित सम्झन थालेका छन् । कतिपय मिर्गौला बेचेर फर्केपछि अरूलाई पनि फकाएर मिर्गौला बेचबिखनमा सक्रिय भए पनि केही भने आफूले बेचे पनि अरूलाई बेच्न दिनुहुँदैन भन्ने अभियानमा लागेका छन् । ज्याम्दीका नवराज दमाई आफूले बेचेर गल्ती गरे पनि अरूलाई कुनै पनि हालतमा बेच्न नदिने गरी अघि बढेको बताउँछन् । ‘मैले त तीन÷चारजनालाई बेच्न जान लागेको थाहा पाएपछि रोके, कुनै पनि हालतमा मिर्गौला बेच्नुहुँदैन भनेर गाउँमा भनिरहेको छु,’ उनले भने, ‘आफूले त बेचेर फसियोफसियो, अरूलाई पनि यसरी दुःखमा पार्न दिनुहुन्न ।’ आफूहरूले फकाइफुल्याइ र प्रलोभनमा परी मिर्गौला बेचेर पीडित भएपछि बाँच्नसमेत कठिन भएकाले गर्न सक्ने आयआर्जनमूलक कार्यक्रम ल्याउनुपर्ने माग उनीहरूको छ ।
राता मासु, बढी गेडागुडी, विषादीयुक्त खाना, मद्यपान, धूमपान, नुनको मात्रा बढीलगायतका कारण मिर्गौलाको समस्या हुने गर्छ । पछिल्लो समयमा मिर्गौलाको समस्या हुनेहरूको संख्या बढेको छ । यही कारण गैरकानुनी भए पनि नेपालमा मिर्गौला बेचबिखन बढेको छ । २० वर्षअघि काभ्रेको होक्सेबाट सुरु भएको गैरकानुनी मिर्गौला बेचबिखनविरुद्ध जनचेतनामूलक कार्यक्रमसँगै बिस्तारै तस्करहरू निष्क्रिय हुँदै गएपछि रोकिएको भने छैन । शर्माको भनाइमा मिर्गौला चाहिने व्यक्तिबाट बढी लिएर पीडितलाई थोरै दिने भएकाले बीचको कमिसनका लागि तस्करहरूको सञ्जाल ठूलो हुने गर्छ, तर गैरकानुनी यस कार्यविरुद्ध सरकारको तर्फबाट सशक्त जनचेतना जगाउने कार्य र यसलाई रोक्न विशेष अभियान सञ्चालन भएको छैन । ‘स्थानीय प्रशासनलाई समेत सहभागी गराएर मिर्गौलाविरुद्ध सञ्चालित होक्से अप्रेसनले तस्करहरूको जालो च्यातिन थालेको छ, यसलाई पूर्ण च्यात्न देशभरि अभियान चलाउनुपर्छ, यसमा सरकार गम्भीर हुनुपर्ने देखिएको छ,’ उनले भने ।
http://rajdhani.com.np/article/0082547001468032621

No comments: