Thursday, July 14, 2016

पञ्चेश्वर प्राधिकरण अफिस महेन्द्रनगरमा


राजधानी समाचारदाता
काठमाडौं, २९ असार । आगामी साउनदेखि बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि गठित पञ्चेश्वर विकास प्राधिकरणको  कार्यालय महेन्द्रनगर सारिने भएको छ ।
ढिलो गरी आगामी जुलाईको अन्तिम अर्थात साउन दोस्रो सातादेखि विकास प्राधिकरणको बैठक महेन्द्रनगरमा सारिने भएको हो । हाल काठमाडौमा रहेको प्राधिकरणको कार्यालय आयोजना क्षेत्र नजिकको महेन्द्रनगरमा सारिन लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले जानकारी दिए । ‘प्राधिकरण गर्भेनेन्स काउन्सिल बैठकको कारण कार्यालय सार्नलाई केही ढिला भएको हो, जुलाईको अन्तिमसम्म कार्यालय महेन्द्रनगर सरिसक्छ ।’–उनले भने–‘आयोजना स्थलमा कार्यालय सारेपछि काम अघि बढाउन अझ सहज हुनेछ ।’
साउन २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को नेपाल भ्रमणको क्रममा १९ बर्षपछि पञ्चेश्वर विकास प्राधिकरणको कार्यादेश (टीओआर) पारित भएपछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना द्रुतगतिमा अघि बढ्ने अपेक्षा गरिएको थियो। तर अपेक्षाकृत रुपमा पञ्चेश्वर प्राधिकरणको काम अघि बढेको छैन । टीओआर पारित भएपछि ६ महिनाभित्र पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न गर्ने लक्ष्य राखिएकोमा आगामी अक्टुबरभित्र सम्पन्न गर्ने लक्ष्य छ । हालै पोखरामा भएको प्राधिकरणको गर्भनेन्स काउन्सिल बैठकले डीपीआर बनाईरहेको परामर्शदाता कम्पनीको म्याद आगामी अक्टुबरसम्म थपिएको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।
२०५२ साल माघमा नेपाल र भारतबीच महाकाली सन्धीको क्रममा ६ महिनाभित्रै डीपीआर टुंगो लगाउने उल्लेख भएपनि १९ बर्षपछि साउन २०७१ मा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा टीओआर पारित भएसँगै नेपाल र भारत दुवैलाई फाइदा हुने गरी आयोजना अघि बढ्न सकारात्मक वातावरण बनेको छ । ६४ सय ८० मेगावाट विद्युत उत्पादन गरिने लक्ष्य राखिएकोमा नेपालले आधा अर्थात ३२ सय ४० मेगावाट विद्युत पाउनेछ ।
भारतीय परामर्शदाता कम्पनी वाकपोसले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका(डीपीआर को अध्यावधिक गर्ने कार्य गरिरहेको छ । परियोजनाको कुल लागत २९ हजार ७ सय ४ करोड रुपैयाँ अनुमान गरिएको छ ।


No comments: