July 20, 2016 Categories ताजा समाचार, देश
भीम गौतम
काठमाडौं, ४ साउन
काठमाडौं, ४ साउन
पुनर्निर्माणप्रति असन्तुष्टि जनाउँदै भूकम्प प्रभावित ११ जिल्लाका बासिन्दाले एक लाखभन्दा बढी गुनासो दर्ता गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणबारे गुनासो पोख्न संयन्त्र स्थापना गरेपछि भूकम्प प्रभावितले १ लाख १ सय ५१ गुनासो दर्ता गराएका हुन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकी सहायक प्रवक्ता सीता परियारले काठमाडौं उपत्यकाबाहेकका ११ जिल्लाका भूकम्प प्रभावितले अझै गुनासो दर्ता गराइरहेको जानकारी दिइन् ।पुनर्निर्माण प्राधिकरणले असार तेस्रो साता मात्र भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि बनाएकाले गुनासो सम्बोधनकै क्रममा छ । “भूकम्प प्रभावितका गुनासा सुन्नका लागि चार तहको संयन्त्र बनाएका छौं, गाविस, जिल्ला, क्षेत्रीय र केन्द्रीयस्तरमा गुनासो व्यवस्थापनका लागि समिति हुन्छ, त्यसले सम्बोधन गर्छ ” पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने, “तहगत रूपमा गुनासो सम्बोधन हुँदै आउँछ, नीतिगत रूपमा समाधान गर्नुपर्ने भए केन्द्रसम्म आइपुग्छ ।” उनका अनुसार, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला तहको संयन्त्रका लागि आवश्यक बजेट व्यवस्थापनबारे छलफल भइरहेको छ ।
स्थानीय विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी गुनासो दर्ता दोलखामा १६ हजार ६ सय ८ छ भने सबैभन्दा कम रसुवामा ४ सय ४६ छ । यसैगरी गोरखामा १५ हजार ३ सय ५५, सिन्धुलीमा १३ हजार, रामेछापमा १२ हजार ७ सय ७५, सिन्धुपाल्चोकमा ९ हजार ६ सय ८४, नुवाकोटमा ९ हजार ९, धादिङमा ८ हजार ४ सय १८, ओखलढुंगामा ५ हजार ६ सय ५१, काभ्रेमा ५ हजार २ सय ९८ र मकवानपुरमा ३ हजार ९ सय ६ गुनासा दर्ता भएका छन् ।
पुनर्निर्माण प्राधिकरणका अनुसार, भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार ४ सय ५४ जना भूकम्प प्रभावित अनुदान पाउन योग्य रहेकामा २ लाख ५१ हजार ५ सय ३७ परिवारसँग अनुदान सम्झौता भएको छ । हालसम्म पहिलो किस्ताको रकम पाउनेमा ३५ हजार २ सय ९२ जना छन् । भूकम्प प्रभावितको नाम छुटेको, अंशबन्डा भए पनि कानुनी रूपमा नछुट्टिएको, एउटै घरमा बसेकाले पनि दोहोरो अनुदान लिएको पाइएको छ । त्यसैगरी नक्कली भूकम्प प्रभावित रहेको, अनुदान नपाएको, एउटै घरमा पनि दाजु वा भाइले मात्र पहिलो किस्ताको रकम लिएको, समयमै अनुदान नपाएको जस्ता गुनासा दर्ता भएको प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment