Saturday, July 23, 2016

१० वर्षमा ६० अर्बको विद्युत् आयात

July 24, 2016 Categories अर्थताजा समाचारप्रमुख समाचार

१० वर्षमा ६० अर्बको विद्युत् आयात
भीम गौतम
काठमाडौं, ९ साउन । करिब १५ वर्षअघि स्वदेशमा उत्पादित सबै विद्युत् खपत गर्न नसकी भारतलाई बिक्री गर्न प्रस्ताव गरेको नेपालले पछिल्लो एक दशकमा ६० अर्बको आयात गरेको छ । स्वदेशमा बढ्दो मागअनुसार उत्पादन वृद्धि गर्न नसकेपछि भारतसँग विद्युत्मा निर्भरता बर्सेनि बढ्दै गएको छ । नेपाल र भारतबीचको सहमति कार्यान्वयन भए चाँडै नै एक खर्ब बराबरको आयात हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
डेढ दशकअघि १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् खेर गएपछि नेपालले भारतमा बिजुली बिक्रीका लागि टोली पठाएको थियो । तर, नेपालको आन्तरिक कारणले आयोजना निर्माण हुन नसकेपछि भारतबाट सन् २०१८ सम्ममा एक हजार मेगावाट आयात गर्ने लक्ष्य राखिएको छ ।
यसका लागि भारतलाई नेपालले एक खर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था आउने प्राधिकरणका अधिकारीहरू बताउँछन् । नेपालले भारतलाई जलविद्युत् बिक्री गरी आउँदो ५ वर्षपछि ५ हजार ७ सय मेगावाट बिजुली बेच्ने योजना बनाएको छ । मुलुकमा जलविद्युत् आयोजना निर्माणको अवस्था र भारतलाई बिक्री गर्ने योजनाबीच कुनै तालमेल देखिँदैन ।
“झन्डै १५ वर्षअघि लोकमानसिंह कार्की जलस्रोत सचिव हुँदा कालीगण्डकीको बिजुली खेर गएकाले बेच्नका लागि भारतमा टोली नै पठाइएको थियो तर बिजुली दिने समयलगायतका कारणले बेच्न सकिएन,” पूर्वसचिव श्रीरञ्जन लाकौल भन्छन्, “अहिले नेपालबाट लोडसेडिङ अन्त्य गर्ने एकमात्र आधार भारतबाट बिजुली आयातलाई लिन थालिएको छ ।”
गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा सन् २०१६ को डिसेम्बरसम्म २ सय मेगावाट तथा २०१७ डिसेम्बरसम्म ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनमार्फत ६ सय मेगावाट बिजुली आयात गर्ने सम्झौता भएको छ ।
ऊर्जा मन्त्रालयका निमित्त सचिव दिनेश घिमिरे पहिलो अन्तरदेशीय प्रशारण लाइनमार्फत ६ सय मेगावाटसहित सन् २०१८ भित्र एक हजार मेगावाट विद्युत् आयात गरेर लोडसेडिङ अन्त्य गर्ने योजना रहेको बताउँछन् ।
विगत १० वर्षमा २ सय ५० मेगावाटको हाराहारीमा मात्र बिजुली उत्पादन गरेको नेपालले हाल ३ सय मेगावाट आयात गरिरहेको छ भने आगामी डिसेम्बरदेखि ५ सय मेगावाट नाघ्नेछ । गत वर्षमा १६ अर्ब बराबरको १ अर्ब ७५ करोड युनिट बिजुली आयात गरिरहेको नेपालले चालू वर्षमा झण्डै २१ अर्ब बराबरको २ अर्ब २५ करोड युनिट बिजुली आयात गर्ने लक्ष्य राखेको छ ।
हाल भारतबाट आयातीत विद्युत्को मूल्य प्रतियुनिट ८ रुपैयाँ रहेकोमा आगामी हिउँदमा चुहावटबाहेक कम्तीमा १० रुपैयाँ पर्ने अवस्था छ । गत वर्ष १६ अर्ब बराबरको १ अर्ब ७५ करोड युनिट बिजुली आयात गरेको नेपालले चालू वर्षमा २१ अर्ब बराबरको २ अर्ब २५ करोड बराबरको बिजुली आयात गर्ने लक्ष्य राखेको छ ।
- See more at: http://np.karobardaily.com/2016/07/94255/#sthash.SDiOb9Wt.dpuf

No comments: