Sunday, June 5, 2016

पुनर्निर्माणमा ६७ एनजीओमार्फत १४ अर्ब

राजधानी समाचारदाता
काठमाडौं, २२ जेठ
सरकारले ६७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (गैसस) मार्फत भूकम्पपछिको पुनर्निर्माण गर्न १४ अर्ब ४० करोड १८ लाख ९५ हजार रुपैयाँबराबरको सहयोग परिचालन गर्न स्वीकृति दिएको छ । गत २९ चैतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यान्वयनमा ल्याएको पुनर्निर्माण र पुनःस्थापनका लागि गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधिअनुसार यस्तो स्वीकृति दिइएको हो । गत ८ जेठपछि शुक्रबार एकैपटक झन्डै सवा १२ अर्बबराबरको खर्च परिचालनका लागि प्राधिकरणले विभिन्न गैससलाई स्वीकृति दिएको छ । हालसम्म स्वीकृत रकममध्ये ५० प्रतिशत रकम नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालन गर्ने पुनर्निर्माणका लागि मात्र कार्यक्रम छ । रेडक्रसले ६ हजार निजी घरसहित स्वास्थ्यलगायत पुनर्निर्माण गर्न ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ खर्च गर्न प्राधिकरणबाट स्वीकृति पाएको हो ।
विज्ञ सदस्यको समन्वयमा प्रस्ताव छनोटका लागि प्राधिकरण सिफारिस समितिले हालसम्म निजी घर, विद्यालय तथा स्वास्थ्य चौकी र भवन निर्माणका लागि ७ हजार १ सय ५५ वटा संरचना बनाउने गरी गैससलाई स्वीकृति दिएको छ । प्राधिकरणका स्वीकृति र सम्झौताविना भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका काम अघि बढाउन सरकारले रोक लगाएकामा सम्झौता गरेर कार्यक्रम अघि बढाउने क्रमसमेत बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भूकम्पबाट प्रभावित जिल्लाका लागि हालसम्म ६ हजार ७ सय ५९ निजी घर, ३ सय ६७ विद्यालय र २९ स्वास्थ्य चौकी निर्माणका लागि गैससले स्वीकृत लिइसकेका छन् ।
शुक्रबार मात्र प्राधिकरणले ६ हजार ७ सय ५९ निजी घर, १ सय ३३ विद्यालय र २ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि स्वीकृति दिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । ‘१२ अर्ब २८ करोड १८ लाख ७७ हजारबराबरका २७ गैससलाई निजी घर, स्वास्थ्य र विद्यालय भवन निर्माणका लागि स्वीकृति दिएका छांै,’ प्रवक्ता थपलियाले भने ।
यसअघि गत ८ जेठमा प्राधिकरणले २ सय ३४ विद्यालय बनाउन १ अर्ब ७२ करोड ६७ लाख ३६ हजारबराबरको सहयोगमा त्रिपक्षीय सम्झौता गरेको थियो भने २७ स्वास्थ्य चौकी तथा भवन निर्माणका लागि ३९ करोड ३२ लाख ८१ हजार रुपैयाँबराबर सहयोग परिचालन गर्ने गरी स्वीकृति दिएको हो ।
भूकम्प अति प्रभावित जिल्ला दोलखा, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरमा खानेपानी तथा सरसफाइ, विद्यालय पुनर्निर्माणका लागि प्लान इन्टरनेसनल नेपाललाई २ खर्ब ८० करोड ९९ लाख रुपैयाँ तथा रामेछापको बिजुलीघाट, सँघुटार र हिमगंगा गाविसमा २ सय ५० वटा निजी घर निर्माणका लागि ४ करोड ७३ लाख रुपैयाँबराबर सहयोग परिचालनका लागि प्राधिकरणले स्वीकृति दिएको छ ।
प्राधिकरणका अनुसार ३ सय ५० घरसहित नुवाकोटको सल्मे र काभ्रेको पाँचखालमा एकीकृत नमुना बस्ती विकास गर्न हयाविट्याट फर ह्युम्यानिटी नामक संस्थालाई ३ करोड १० लाख खर्च गर्न स्वीकृति दिइएको छ । यस्तै फिन चर्च एड फाउन्डेसन फिनल्यान्डले गोरखा, मकवानपुर, सिन्धुली र ललितपुरमा विद्यालय पुनर्निर्माण र जीविकोपार्जनका लागि ४१ करोड ६४ लाख तथा सिन्धुपाल्चोक, दोलखा, रसुवा, काभ्रेलगायतका जिल्लाका विद्यालय पुनर्निर्माणका लागि एक्सन एडलाई ४३ करोड ४७ लाख रुपैयाँ पुनर्निर्माण खर्च गर्न स्वीकृति दिइएको छ । विभिन्न गैससले भूकम्प प्रभावित क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालनका लागि प्रस्ताव बुझाउने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ ।
http://rajdhani.com.np/article/0938756001465087037

No comments: