Saturday, June 18, 2016

१५ महिनाभित्र काठमाडौंका घरघरमा खानेपानी पाइप

राजधानी समाचारदाता
काठमाडौं, २ असार
आगामी १५ महिनाभित्र काठमाडौं उपत्यकावासीको घरघरमा खानेपानीको पाइप जडान हुने भएको छ । बहुदल आएपछिको सरकारका पहिलो प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले मेलम्ची खानेपानीले काठमाडौंका सडक पखाल्ने उद्घोष गरेपछि चर्चा परिचर्चामा रहेको मेलम्ची खानेपानी आयोजनामार्फत आउने पानीको पाइप जडान बल्ल अबको १५ महिनामा पूरा हुने भएको हो ।
‘अबको १५ महिनाभित्र काठमाडौं उपत्यकाको घरघरमा पानीको पाइप जडान भइसक्छ ।’ आयोजना कार्यान्वयन निर्देशानालयका निर्देशक तिरेशप्रसाद खत्रीले भने, ‘उपत्यकामा पाइपको सञ्जाल जोड्नका लागि भटाभट काम भइरहेको छ ।
१ सय १५ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री स्वर्गीय वीर शमशेरले जडान गरेको खानेपानीको पाइपलाई विस्थापन गरेर १ सय वर्षभन्दा बढी आयु हुने नयाँ प्रणाली जडान गर्न लागेको निर्देशानालयले जनाएको छ ।
‘दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण हुँदै छ ।’ खत्रीले भने, ‘१ सय १५ वर्षअघि राणा प्रधानमन्त्री वीर शमशेरले बनाएको प्रणालीबाट आधुनिक प्रविधिको उपयोग गरेर कम्तीमा १ सय वर्ष पुग्ने पाइप प्रणालीको निर्माण गर्दै छौं ।’
मेलम्चीबाट सुरुङमार्फत सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी आएपछि त्यहाँबाट महाकालचौरसम्म ९ दशमलव ६ किलोमिटर थोक वितरण प्रणाली रहेकामा ९ दशमलव ५ किलोमिटर पाइप बिछ्याइएको छ ।
१४ सय मिलिव्यासको पाइपमार्फत आउने पानी आयोजनाले ६ सय ७० किलोमिटर पाइप बिछ्याएर उपत्यकाको घरघरमा पु¥याउने लक्ष्य राखिएकामा हालसम्म ३ सय ५२ किलोमिटर निर्माण सम्पन्न भइसकेको र अन्य निर्माण भइरहेको निर्देशनालयका उपनिर्देशक अनिलभद्र खनालले जानकारी दिए । उनका अनुसार, घरघरमा पाइप पु¥याउनका लागि ५१ किलोमिटर थोक वितरण प्रणाली जडान गर्नुपर्ने लक्ष्य राखेकामा हालसम्म ३२ किलोमिटर सम्पन्न भइसकेको र बाँकी निर्माण भइरहेको छ ।
काठमाडौं उपत्यकाभित्र २७ लाख जनसंख्या रहेको र प्रत्येकलाई दैनिक १ सय लिटर खानेपानी पुग्ने गरी आयोजना वितरण प्रणाली अघि बढाइएको छ । ‘मेलम्ची खानेपानी आयोजनामार्फत १७ करोड लिटर र विद्यमान प्रणालीमार्फत १० करोड वितरण गर्ने गरी आयोजना अघि बढेको छ,’ निर्देशानालयका प्रवक्ता लीलाप्रसाद ढकालले भने ।
हाल सुन्दरीजल क्षेत्रमा ८ करोड ५० लाख लिटर पानी अट्ने प्रशोधन केन्द्र बनाइरहेको आयोजनाले सोही क्षमताको अर्को निर्माण सुरु गर्न लागेको छ भने ३४ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । यांग्री र लार्के नदीबाट थप १७÷१७ करोड लिटर पानी आएपछि सो पानीका लागि आयोजनाले छुट्टै प्रशोधन केन्द्र बनाउन लागेको हो ।
खानेपानी वितरणका लागि निर्देशानालयले आरुबारी, महांकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार र बालाजुमा ५० हजार घनमिटर पानी सञ्चय गर्न सक्ने गरी पोखरी निर्माण गरिरहेको छ । मुख्य लाइनमार्फत ती पानी पोखरीहरूमा पु¥याउने व्यवस्था गरिएको छ ।
निर्देशानालयले दोस्रो चरणमा वितरण सञ्जाल भक्तपुर र कीर्तिपुरमा समेत जोड्ने लक्ष्य राखेको छ । सो क्षेत्रका लागि कटुञ्जे, ठिमी र कीर्तिपुरमा थप ३ पानीपोखरी निर्माण गर्ने लक्ष्य राखेको छ । आयोजनाले खानेपानी वितरणलाई सहज बनाउन उपत्यकाभित्र २० ट्युबेलको निर्माण कार्यसमेत अघि बढाएको छ ।
१६ वर्षअघि निर्माण सुरु गरेर पहुँचमार्ग निर्माणका साथै अन्य प्रारम्भिक कार्य गर्नका लागि आठ वर्ष बिताएको मेलम्ची खानेपानी आयोजना २०६४ सालदेखि निर्माण सुरु भएको थियो । गत वैशाखमै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको मेलम्ची खानेपानी आयोजना भूकम्प र नाकाबन्दीका कारण झन्डै डेढ वर्ष ढिला हुने देखिएको छ ।
‘भूकम्प र नाकाबन्दीका कारण २०७४ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकामा ढिला भयो, अबको १५ महिनामा सक्ने लक्ष्य राखिएको छ,’ मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले भने, ‘मेलम्चीदेखि सुन्दरीजलसम्मको २७ किलोमिटर सुरुङमध्ये १७ किलोमिटर सम्पन्न भइसकेको छ, अहिले दैनिक ३० मिटरको दरमा सुरुङ निर्माण भइरहेको छ, अबको १५ महिनामा सकिन्छ ।’
पछिल्लो समयमा सुरुङ निर्माणका क्रममा कलिला ढुंगा (सफ्ट रक) भेटिएपछि निर्माण कार्यमा सुस्तता आएको स्रोतले बतायो ।
‘पछिल्लो समयमा धेरै कम मात्र सुरुङ खन्ने कार्य भएको छ, एक हप्तामा ५० मिटर पनि पुगेको छैन, त्यसकारण १५ महिनामा पूरा गर्न असम्भव छ,’ एक अधिकारीले भने । मेलम्ची विकास समितिले भने २०७४ असोजभित्र सम्पन्न गर्ने योजना सार्वजनिक गरिसकेको छ ।
http://rajdhani.com.np/article/0754643001466136078

No comments: