Sunday, June 5, 2016

आकाश हेर्दै सामूहिक बगरे पानीघट्ट

भीम गौतम / राजधानी
रिम्ना (जाजरकोट), २२ जेठ
जाजरकोट जिल्ला भेरीमालिका नगरपालिका–१ रिम्नाका ६७ वर्षीय दूतबहादुर राना आजभोलि घट्टबाट बाहिर निस्कने बित्तिक्कै आकाश हेरिहाल्छन् । अधिकांश समय घट्टभित्रै बिताउने रानाका लागि आकाशको गड्ङगुडुङको सम्बन्ध बाढीसँग मात्र छैन, जीविकोपार्जनस“ग पनि सम्बन्धित छ ।
भेरी नदीको बगरमा घट्ट सञ्चालन गर्दै आएका रानासहित १९ जना घटेरा, घटेर्नीहरूका लागि वर्षा लाग्न सुरु हुँदै गर्दा आकाशलाई बारम्बार हेरिरहनु बाध्यता नै बनेको छ । ‘वर्षा लाग्न लाग्यो, अब पानी पर्ला र घट्ट बगाउँला भनेर दिनदिनै आकाश हेरिरहेका छौं,’ दूतबहादुरले राजधानीसँग भने, ‘बाढी आउन लागेको थाहा पाएपछि छानोसहित घट्टै बोकेर पाखोमा पुगिहाल्नुपर्छ ।’ उनीहरू सबैका लागि सबैभन्दा ठूलो चिन्ताको विषय नै घट्ट बगाउँला भन्ने छ । वर्षाको बाढी सुकेपछि भेरी नदीकै बगरमा दूतबहादुरलगायत खिमबहादुर राना, बिर्खसिंह परियार, गगन राना, छोपे राना, चूडामणि राना, हृयद राना, देवबहादुर परियार, सुमन पुन, भद्रबहादुर राना, उदे राना, वीरबहादुर राना, टीकाराम राना, कालीबहादुर रानालगायतले १९ सामूहिक अस्थायी घट्ट चलाएका छन् ।
बगरको बीचमा धेरैले नपत्याउने गरी सञ्चालन गरिएका घट्टहरूको पीडा पनि कम्ती दर्दनाक छैन । भौगोलिक रूपमा विकट र खेतीपातीसमेत कम भएका रिम्नाका अधिकांशलाई यिनै घट्टले बचाएका छन् । ‘घट्टमा नबसे बाँच्न गाह्रो छ, वर्षा लाग्यो कि बगाउँला भन्ने चिन्ता मात्र छ,’ घटेर्नी भोजी रानाले भनिन्, ‘घट्ट बगाइहाल्यो भने अर्को बनाउनका लागि पैसा जोहो गर्नै गाह्रो छ, जोगाउन सकियो भने त बाँचियो नि ।’ नयाँ घट्ट बनाउनका लागि कम्तीमा १५ हजार लाग्ने र बाढी आउनुअघि नै घट्टलाई पाखामा सार्न पाए धेरै जोगिने अनुभव उनीहरूसँग छ । बाढीका कारण पटकपटक घट्ट बगाएको उनीहरू बारम्बार सम्झन्छन् ।
‘विगतमा धेरैपटक बगाएकोले सधंै फेरि बगाउँला भन्ने चिन्ता छ,’ ४२ वर्षदेखि घट्टमा बस्दै आएकी रानाले भनिन् । वर्षाभरि घट्टका छाना, डाँडा, थामा, बला, थुन्से, डोरा, फुनेलगायतका सामग्री पाखामा राख्ने १९ घट्ट धनीहरूले बाढी घटेपछि दसैंतिहार लगत्तैदेखि फेरि घट्ट बनाएर मंसिरदेखि जेठसम्म सञ्चालन गर्दै आएका छन् ।

लहरै राखिने घट्टहरू कसको पहिला राख्ने भन्ने उनीहरूको आफ्नै विधि छ । चिट्ठा हाल्दा जसको पहिला पर्छ, उसले पहिलो राख्न पाउँछ भने अन्तिम पर्नेले अन्तिममा राख्न पाउने व्यवस्था गरिएको छ ।
एक पाथीको एक माना ज्याला लिने उनीहरूले बाढी आएका बेलामा पाखामा घट्ट लैजान सहयोग गर्ने तथा हिउँद लागेपछि पुनः घट्ट बनाउनका सहयोग गर्नेहरूलाई भने निःशुल्क घट्टमा पिस्ने व्यवस्था गरेका छन् । ‘घट्ट बगरमा ल्याउन र लैजान सहयोग गर्नेहरूसँग हिउँदभर ज्याला लिँदैनौं,’ घटेरा रानाले भने, ‘दसैंतिहार सकेपछि पुनः घट्ट बनाउन सुरु गर्छौं ।’
जाजरकोटको रिम्ना र आसपासका साथै रुकुमको पूर्तिमारा, बराइली, घेम्दालगायतका गाविसबाट पिठो पिस्नका लागि सामूहिक घट्टमा आउने गरेका छन् । वर्षाभरि घट्ट नहुने हुनाले यहाँका अधिकांशले हिउँद अघिलाई पुग्ने गरी पिठो पिस्ने गरेका छन् ।

http://rajdhani.com.np/article/0199056001465087190


No comments: