Sunday, June 12, 2016

भारतबाट फेरि ८० मेगावाट विद्युत् खरिद गर्न प्रस्ताव

भीम गौतम/राजधानीकाठमाडौं, २९ जेठ
नेपाल विद्युत् प्राधिकरणले आगामी साउनदेखि भारतबाट ८० मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव गरेको छ । गत फागुनदेखि पाँच महिनाका लागि ८० मेगावाट थप विद्युत् आयात गर्दै आएको नेपालले आगामी साउन अर्थात् जुलाईदेखि फेरि ल्याउन प्रस्ताव गरेको हो । गत ८ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा रिमोर्टमार्फत स्विच थिचेर ८० मेगावाट विद्युत् आयातको शुभारम्भ गरेका थिए ।
विद्युत् प्राधिकरणले साउनदेखि एक वर्षका लागि अहिले खरिद गरिँदै आएको भारतको नेसनल थर्मल पावर कम्पनी (एनटीपीसी) को प्लान्टबाट व्यापारी कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत नै खरिद गर्न प्रस्ताव गरिएको विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक राजीव शर्माले जानकारी दिए ।
‘अहिले भारतबाट अन्तरदेशीय प्रसारण लाइनमार्फत ल्याएको विद्युत् जुनसम्मका लागि हो, ‘उनले भने, ‘आगामी जुलाईदेखि एक वर्षका लागि विद्युत् खरिद गर्न एनभीभीएनमा प्रस्ताव गरेका छौं ।’ विद्युत् प्राधिकरणले एनभीभीएनसँग ७४ मेगावाट विद्युत् खरिदको सम्झौता गरेको छ । प्राधिकरणका अनुसार सम्झौतामा १२ प्रतिशतसम्म तलमाथि गर्न पाइने भएकाले ८० मेगावाटसम्म विद्युत् आयात हुने गरेको छ ।
विद्युत् प्राधिकरणले आगामी जुलाई, अगस्ट र सेप्टेम्बरमा एनभीभएनमार्फत ५०÷५० मेगावाट तथा नोभेम्बरदेखि जुनसम्म ७४ मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव गरेको छ । अक्टोबरमा नेपाली चाड दसैंको कारण उद्योग व्यवसाय बन्द हुने कारण सो महिनामा पनि आयात नगर्ने गरी प्रस्ताव गरेको छ ।
ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाटसम्म विद्युत् आयात गरिरहेको नेपालले भारतसँग आगामी सन् २०१६ को अक्टोबरसम्म २ सय मेगावाट र २०१७ को डिसेम्बरबाट ६ सय मेगावाट पु¥याइने सम्झौता गरिसकेको छ । हाल ८० मेगावाटसहित ३ सय मेगावाट विद्युत् आयात हुँदै आएको छ ।
हाल भारतबाट आयातीत विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँमा आयात गर्न लागेको हो । एनभीभीएनले प्राधिकरणलाई प्रतियुनिट ३ दशमलव ५ अर्थात् ५ दशमलव ५० भारतीय रुपैयाँ दिएकामा प्रसारण लाइनबापत्को ह्विलिङ चार्जसहित ७ रुपैयाँ पर्छ ।

पीटीए कार्यान्वयन बैठक असारमा

आगामी १३ र १४ असारमा नेपाल र भारतबीच बहुचर्चित ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनको भारतमा द्विपक्षीय बैठक बस्ने भएको छ । पीटीए कार्यान्वयनका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समिति (पीटीए) र सह–सचिवस्तरीय संयुक्त कार्य समूह (जीडब्लूजी) को बैठक बस्ने भएको हो । ‘पीटीए कार्यान्वयनका लागि गठित सचिवस्तरीय र सह–सचिवस्तरीय द्विपक्षीय बैठक आगामी २७ र २८ जुनमा नयाँ दिल्लीमा हुँदै छ ।
नेपालबाट सचिवस्तरीय बैठकको नेतृत्व ऊर्जा सचिव सुमनप्रसाद शर्मा र सह–सचिवस्तरीय बैठकको नेतृत्व घिमिरेले गर्न लागेका छन् । बैठकमा पीटीए कार्यान्वयन, दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण, भारतबाट थप विद्युत् आयातलगायतबारे छलफल गर्ने कार्यक्रम छ । नेपाल र भारतबीच ४ कात्तिक २०७१ मा पीटीए भएको थियो । पीटीए भएपछि पहिलो मंसिर २०७१ तथा गत माघमा दोस्रो बैठक नेपालमा बसेको थियो ।
http://rajdhani.com.np/article/0106803001465696894

No comments: