Wednesday, June 8, 2016

८ हजार निजी घर बनाउन त्रिपक्षीय सम्झौता

राजधानी समाचारदाता
काठमाडौं, २५ जेठ
भूकम्पबाट क्षतिग्रस्त ८ हजार १ सय निजी घर पुनर्निर्माणका लागि सरकार र पाँचवटा गैरसरकारी संस्था (गैसस) बीच त्रिपक्षीय सम्झौता भएको छ । भूकम्पप्रभावित जिल्लामा पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र सम्बन्धित पाँच गैससबीच त्रिपक्षीय सम्झौता भएको हो ।
गोरखा, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, सिन्धुली, ओखलढुंगा, मकवानपुर, तनहुँ, लमजुङलगायतका जिल्लाका भूकम्पपीडितको निजी घर बनाउनका लागि त्रिवर्षीय सम्झौता भएको प्राधिकरणले जनाएको छ । त्रिपक्षीय सम्झौतामा प्राधिकरणका उपसचिव डा. भीष्मकुमार भुसाल, सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका उप–प्रमुख परीक्षित कडरिया र पाँचवटा गैरसरकारी संस्थाका प्रतिनिधिबीच सोमबार सम्झौता भएको हो । सम्झौताअनुुसार नेपाल रेडक्रस सोसाइटीले ६ हजार वटा, हेल्वेटास नेपालले १ हजार, समारिटन्स पर्सले ५ सय, ह्याविट्याट फर हुम्यानिटीले ३ सय ५० वटा र ईडब्लुडीई डीकेएचले २ सय ५० वटा निजी घर पुनर्निर्माण गर्ने गरी सम्झौता भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

सम्झौतापछि आवास निर्माणका लागि घरधनीहरूको नामावलीसहितको सूची र क्षेत्र तोकी प्राधिकरणले उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ । सम्झौताअनुसार प्रत्येक निजी घर निर्माणका लागि स्वयं घरधनीले घर बनाउने गरी विभिन्न संघसंस्थाले बैंक खातामार्फत प्राधिकरणद्वारा जारी गरिएको अनुदान वितरण कार्यविधि, २०७२ बमोजिम निर्माण कार्य अघि बढाउनेछन् । यसैबीच, विभिन्न गैरसरकारी संस्थाले विद्यालय पुनर्निर्मिाणका लागि त्रिपक्षीय सम्झौता गर्ने क्रम जारी रहेको प्राधिकरणले जनएको छ ।

नाम घर संख्या

नेपाल रेडक्रस सोसाइटी ६०००
हेल्वेटास नेपाल १०००
समारिटन्स पर्स ५००
ह्याविट्याट फर हुम्यानिटी ३५०
ईडब्लुडीई डीकेएच २५०
स्रोतः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
http://rajdhani.com.np/article/0127633001465358827

No comments: