Tuesday, January 31, 2017

पुनर्निर्माण गर्न सेनादेखि विद्यार्थीसम्म

   भीम गौतम/गोपाल संग्रौला    0 + -

फाइल फोटो
काठमाडौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी फागुनदेखि भूकम्पपछिको निजी आवास निर्माणका लागि नेपाली सेनादेखि विद्यार्थीसम्म परिचालन गर्ने भएको छ । 
भूकम्प अतिप्रभावित जिल्लामा निजी आवास निर्माणका लागि दक्ष जनशक्ति अभाव भएपछि नेपाली सेना, सशस्त्र प्रहरीसहित प्राविधिक र इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थी परिचालन गर्न लागेको हो ।
“धेरै प्रभावितले पहिलो किस्ताको रकम पाइसकेकाले अहिले निजी आवास निर्माणका लागि जागरण र उत्साह बढाउन सेनालगायतलाई गाउँमा डकर्मी, सिकर्मी उत्पादन गर्ने गरी परिचालन गर्न लागेका छौं ।”
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भने, “आगामी फागुनदेखि पुनर्निर्माणलाई गति दिन दक्ष जनशक्ति उत्पादन गर्ने गरी परिचालन गर्न लागेका हांै ।” 
पुनर्निर्माणका लागि ६० हजार दक्ष जनशक्ति आवश्यक पर्ने भए पनि हालसम्म २० हजारलाई मात्र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले तालिम दिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, १४ जिल्लामा ६ लाख २६ हजार ३६ जना सरकारको अनुदान पाउने सूचीमा छन् । प्राधिकरणका अनुसार, निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका ५ लाख ५० हजार २ सय ४१ घरधनीमध्ये मंगलबारसम्म ५ लाख १० हजार १ सय ३० ले पहिलो किस्ताको रकम प्राप्त गरेका छन् ।
त्यसैगरी हालसम्म ७ सय २० जना प्रभावितले मात्र दोस्रो किस्ताको रकम लिएका छन् । पहिलो किस्ताको रकम लिएका प्रभावितलाई थप जागरुक बनाउन दक्ष जनशक्ति अभाव भएकाले सेनादेखि विद्यार्थीसम्म परिचालन गर्न लागेको प्राधिकरणले जनाएको छ । 
प्राधिकरणका अनुसार, ओखलढुंगा, सिन्धुली र रामेछापमा डकर्मी, सिकर्मी तालिमका लागि तालिम प्राप्त सेना परिचालन गर्न लागिएको छ । यसका लागि सेनाले मंगलबारदेखि आन्तरिक तालिम सुरु गरेको छ भने २१ माघदेखि एक हप्ते तालिम सुरु गर्न लागेको छ ।
सैनिक प्रवक्ता ताराबहादुर कार्कीले पुनर्निर्माणको क्रममा निजी आवास निर्माणका लागि सेनाहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएर उनीहरूमार्फत गाउँ गाउँमा डकर्मी, सिकर्मीहरू तालिम दिन लागिएको जानकारी दिए । 
प्राधिकरणले पोखरा विश्वविद्यालयअन्तर्गत स्नात्तक तहको सिभिल इन्जिनियरिङ अध्ययन सकेका विद्यार्थीलाई पुनर्निर्माणका लागि परिचालन गर्न लागेको छ । प्राधिकरणले सोमबार विश्वविद्यालयलाई पत्र लेख्दै एक महिनाभित्र सहभागी गराउन अनुरोध गरेको छ ।
स्वयं सेवकको रूपमा खटिने इन्जिनियरिङका विद्यार्थीलाई एक हप्ते तालिम दिएर मासिक १५ देखि १८ हजार रुपैयाँसम्म दिने निर्णय गरिएको प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले जानकारी दिए । अन्य विश्वविद्यालयका इन्जिनियरिङ अध्ययन सकेका विद्यार्थीलाई समेत परिचालन गर्ने प्राधिकरणको योजना छ । 
त्यसैगरी प्राधिकरणले रसुवामा सशस्त्र प्रहरीलाई तालिम दिएर डकर्मी सिकर्मी उत्पादनका लागि परिचालन गर्ने योजना बनाएको छ । यसबारे सशस्त्र प्रहरीसँग छलफल अघि बढेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) इलेक्ट्रिसियन र स्नात्तक तह सकेका विद्यार्थीलाई समेत परिचालन गर्न लागेको छ ।
हाल सर्भेक्षणअघि बढेका जिल्लामा सीटीईभीटीका विद्यार्थी परिचालनबारे प्राधिकरणसँग छलफल अघि बढेको निमित्त सदस्य–सचिव रमेश बखतीले जानकारी दिए ।
उनका अनुसार, सीटीईभीटीले भूकम्प प्रभावित क्षेत्रका ५ सय विद्यार्थीलाई पुनर्निर्माणका लागि दक्ष तालिम दिन छात्रवृत्तिको व्यवस्था गरेको छ भने मागको आधारमा जनशक्ति तयारसमेत गरिरहेको छ । 

४० हजार भूकम्प प्रभावित पहिलो किस्ता पाउन बाँकी

     कारोबार संवाददाता    0 + -

फाइल फोटो
  • ९३ प्रतिशतले पाए पहिलो किस्ता 
  • दोस्रो किस्ता पाउने ७ सयमात्र
काठमाडौं: भूकम्प अतिप्रभावित १४ जिल्लाका ४० हजार १ सय ११ जना भूकम्प प्रभावितले पहिलो किस्ता रकम पाउन अझै बाँकी छ । ११ महिनाअघि सरकारले भूकम्प प्रभावितलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ नगद अनुदान वितरण सुरु गरेकोमा अनुदान सम्झौता गरेमध्ये यति संख्याले रकम पाउन नसकेका हुन् ।
१४ जिल्लामा ६ लाख २६ हजार ३६ जना सरकारको अनुदान पाउने सूचीमा छन् । प्राधिकरणका अनुसार, निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका ५ लाख ५० हजार २ सय ४१ घरधनीमध्ये मंगलबारसम्म ५ लाख १० हजार १ सय ३० ले पहिलो किस्ताको रकम प्राप्त गरेका छन् ।  
सिन्धुपाल्चोकमा अनुदान सम्झौता गरेका ७४ हजार ९ सय २४ घरधनीमध्ये ७४ हजार ९  सय १२, ओखलढुंगामा १८ हजार ३ सय १, नुवाकोटमा ६० हजार ४ सय ७४, रामेछापमा ३९ हजार ७ सय ५९, दोलखामा ४७ हजार ७९ ले अनुदान प्राप्त गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । 
यस्तै गोरखामा ५२ हजार ६ सय ७५, काभ्रेमा ५९ हजार ७ सय ५१, रसुवामा ८ हजार ८ सय ४८, सिन्धुलीमा २६ हजार १ सय ६२, धादिङमा ५२ हजार ९ सय १७ र मकवानपुरमा १९ हजार ९ घरधनीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका छन् ।  
काठमाडौं, ललितपुर र भक्तपुरमा अनुदान सम्झौता सम्पन्न गरेका ७१ हजार ६ सय ८३ घरधनीमध्ये ५० हजार २ सय ४३ ले पहिलो किस्ताको अनुदान प्राप्त गरिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
पहिलो किस्ताको अनुदान पाएर मापदण्डअनुसार घरको जग निर्माण गरेका ७ सय २० घरधनीले दोस्रो किस्तावापतको एक लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् ।
सचिवद्वारा थप सुविधा माग
भूकम्प प्रभावित क्षेत्रमा काम गर्ने गाविस सचिवहरूले थप सेवा सुविधाको माग गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ज्ञापनपत्र बुझाएका छन् । 
गाविस सचिवहरूको हकहित संरक्षण केन्द्रले सेवा सुविधा वृद्धिको माग गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा केन्द्रले माग पूरा नगरे आज (बुधबार)देखि काम ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै डा. पोखरेलले दोस्रो किस्ताका लागि १२ अर्ब रुपैयाँ निकासा गरिरहेको भन्दै काम ठप्प पार्दा भूकम्पपीडितलाई असर पर्ने भएकाले तत्काल आन्दोलन नगर्न आग्रह गरेका थिए । 
http://www.karobardaily.com/news/72561

माथिल्लो सोलुखोलालाई लगानी जुट्यो

    कारोबार संवाददाता   0 + -

तस्विर : कारोबार

काठमाडौंः बेनीखोला पावर प्रोजेक्ट प्रालिले निर्माण गर्न लागेको १८ मेगावाटको सोलुखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । एनएमबी बैंकको नेतृत्वमा २ अर्ब २८ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएसँगै आयोजनाका लागि लगानी जुटेको हो ।
आयोजनामा नेपाल बंगलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, भिबोर विकास बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एआईडीसीएल)ले लगानी गरेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रवद्र्धक बेनीखोलाको तर्फबाट निर्देशक गणेश कार्की र बैंकको तर्फबाट नवीन मानन्धरले हस्ताक्षर गरे । 
कुल लागत ३ अर्ब २६ करोड रुपैयाँ रहेको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वँपुजी रहेको आयोजनाबाट आउँदो ०७६ माघ १ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको निर्देशक कार्कीले जानकारी दिए । आयोजनाले नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।   
निर्माणाधीन रहेकै अवस्थामा आयोजनाले लगानी जुटाउन नसकेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा ऊर्जा मन्त्रालयले उत्पादन अनुमतिपत्र (लाइसेन्स) खारेज गरेपछि झण्डै २ वर्षपछि मन्त्रालयले लाइसेन्स ब्यँुत्याएको थियो । १ सय ४० मिटर सुरुङ खन्ने काम गरिसकेपछि सो लाइसेन्स खारेज भएको थियो । 
ऋण सम्झौता कार्यक्रममा पूर्वमन्त्री एवं सांसद बलबहादुर केसी, एमाले सचिव योगेश भट्टराई, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ईप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईं, प्रवद्र्धक कम्पनीका अध्यक्ष पीजी शेर्पालगायतले आयोजनाबारे चर्चा गरेका थिए । 
http://www.karobardaily.com/news/72508

Monday, January 30, 2017

निजी क्षेत्रलाई पहिलो सोलार उत्पादन अनुमति

    कारोबार संवाददाता    0 + -

फाइल फोटो
काठमाडौंः विद्युत् विकास विभागले निजी क्षेत्रको कम्पनीलाई पहिलोपटक सौर्य ऊर्जा (सोलार) उत्पादन अनुमतिपत्र दिएको छ । निजी क्षेत्रको सूर्य पावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित विष्णुप्रिया सोलार फार्म परियोजनालाई विभागले एक मेगावाट विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको हो ।
विभागका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी बाबुराजा अधिकारीका अनुसार उत्पादन अनुमतिपत्र पाउने यो पहिलो निजी कम्पनी हो ।“निजी क्षेत्रलाई सौर्य ऊर्जा उत्पादनका लागि खुला गरिएकोा डेढ वर्षपछि पहिलोपटक निजी कम्पनीले उत्पादन अनुमतिपत्र पाएको छ,” उनले भने, “सर्भे अनुमतिपत्र पाउने धेरै सोलार आयोजना छन् तर निर्माणकै चरणमा भने कुनै गएका छैनन् ।”
नवलपरासीमा रहेको एकम पेपर मिल्समा  उपयोग गरेर बाँकी रहेको बिजुली नेपाल विद्युत्् प्राधिकरणलाई बेच्ने गरी कम्पनीले आयोजना अघि बढाउन लागेको छ । यसका लागि उसले विद्युत्् प्राधिकरणसँग ‘कनेक्सन एग्रिमेन्ट’ समेत गरिसकेको छ । २२ करोड रुपैयाँ लागत रहेको सोलार आयोजना आगामी तीन महिनाभित्रै पूरा गर्ने लक्ष्य राखिएको अधिकारीले जानकारी दिए । 
एक हेक्टरभन्दा बढी जमिन उपयोग गरेर निर्माण गर्न लागेको आयोजना पूरा भएसँगै नेपालकै सोलारमा सबैभन्दा ठूलो ग्रीड कनेक्सन भएको आयोजना हुनेछ । यसअघि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी पम्पका लागि निर्माण गरेको ६ सय ८० किलोवाटको सोलार पनि ग्रीडमा जोडिसकेको छ । उसले पानी पम्प गरेर बाँकी रहेको बिजुली विद्युत् प्राधिकरणलाई बेच्दै आएको छ ।
ऊर्जा संकट चुलिएसँगै पछिल्लो १० वर्षयता पटक–पटक सोलार निर्माणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ तर सर्भेक्षण लाइसेन्स लिने बढे पनि उत्पादन भने हालसम्म नगण्य छ । तत्कालीन ऊर्जा संकटका लागि विद्युत्् प्राधिकरणले प्रतिस्पर्धात्मक रूपमा सोलार निर्माणका लागि आह्वान गरेपछि पछिल्लो समयमा यसका लागि सर्भेक्षण अनुमतिपत्र माग्नेको संख्या भने बढेको छ ।
विभागका अनुसार साउनपछि मात्र २६ सोलार आयोजनाले सर्भेक्षण अनुमतिपत्रका लागि आवेदन दिइसकेका छन् । हालसम्म १ सय ६१ मेगावाट उत्पादन गर्ने गरी विभागमा २९ आयोजनाले सर्भेक्षण अनुमतिपत्र लिए पनि त्यसमध्ये चालू वर्ष सुरु भएपछि हालसम्म सर्भेक्षण अनुमतिपत्र लिने आयोजना २६ छन् । ती आयोजनाहरूले ९६ मेगावाट बराबर विद्युत्् उत्पादन गर्ने गरी विभागमा निवेदन दिएका छन् ।
विद्युत् प्राधिकरणले प्रतिस्पर्धा गरेपछि मंसिरपछि मात्र ८५ मेगावाट बराबरका आयोजनाले सर्भेक्षण अनुमतिपत्र लिइसकेका छन् । अनुमतिपत्र लिएका आयोजनाहरू अधिकांश तराई क्षेत्रका सिरहा, धनुषा, पर्सा, सुनसरी, रौतहटलगायतका जिल्लामा निर्माणका लागि प्रस्ताव गरिएको छ । विद्युत् प्राधिकरणले सोलारको विद्युत् खरिद सम्झौता (पीपीए) दर ९ रुपैयाँ ६० पैसा तोकेको छ । 
http://www.karobardaily.com/news/72421

Sunday, January 29, 2017

भुम्लुटार र फलाँटेका भूकम्पपीडित अनुदानविहीन

     भमि गौतम    0 + -

काभ्रेको भम्लुटारका भूकम्पपीडित । तस्बिर: भीम गौतम
काभ्रे: विनासकारी भूकम्पको २२ महिनापछि प्रभावित जिल्लाका पीडितले दोस्रो किस्ताको अनुदान लिने तयारी गरिरहँदा काभ्रेका दुई गाविसमा भने पहिलो किस्ता समेत पुग्न सकेको छैन ।
भौगोलिक रूपमा राजधानी काठमाडौं जिल्ला सदरमुकाम धुलिखेलबाट नजिकै रहे पनि भुम्लुटार र फलाँटे गाविसका पीडित पहिलो किस्ताकै अनुदान पर्खिरहेका छन् ।
निजी आवास निर्माणका लागि सरकारले अनुदान वितरण सुरु गरेको ११ महिना भइसक्दा पनि यी गाविसमा अनुदान पुग्न नसक्नुले राज्यको कमजोरी स्पष्ट देखिएको छ ।
चार दशकअघि भुम्लुटार र फलाँटे गाविसको सीमा विवादले नापीको टोली आएर पनि नापी गर्न नसकेपछि स्थानीयले हालसम्म लालपुर्जा पाउन सकेका छैनन् ।
लालपुर्जा नै नभएपछि स्थानीयले अनुदान पाउन नसकेका हुन् । लालपुर्जा नहुँदा फलाँटे र भुम्लुटार गाविसका सबै प्रभावितहरूलाई पहिलो वितरण गर्न नसकिएको काभ्रेका स्थानीय विकास अधिकारी टेकराज निरौला बताउँछन् । फलाँटेमा ३ सय ६७ र भुम्लुटार गाविसमा ५ सय ९३ भूकम्पप्रभावित छन् । 
“भूकम्पपछि सरकारले दिने भनेको राहत अहिलेसम्म पाउन सकेका छैनौं,” भुम्लुटारका स्थानीय सन्तोष लामा भन्छन्, “टहरामा बिजोगसँग बस्नुपरेको छ, कहिले घर बनाउने ठेगान छैन ।” सरकारले समयमै सार्थक पहल नगर्दा लालपुर्जा र पहिलो किस्ताको अनुदान  पाउन नसकेको गुनासो फलाँटेका नवीन खरेलको छ । “न भूकम्पपछिको अनुदान पाइयो, न लालपुर्जा नै, ठूलो पीडा खेपेर बस्नुपरेको छ,” उनले भने । 
रसिदको भरमा जग्गाको कारोबार गरेका दुई गाविसका बासिन्दाले लालपुर्जा नहुँदा अनुदान मात्र होइन, सरकारी निकायबाट पाउने अन्य सेवासुविधा र बैकबाट ऋणसमेत पाउन सकेका छैनन् । लालपुर्जा दिनका लागि सरकारले दुई वर्ष अघिदेखि प्रक्रिया अघि बढाए पनि हालसम्म कसैले पाउन सकेका छैनन् ।
यी गाविस काठमाडौंबाट ६१ र धुलिखेलबाट ३१ किलोमिटर नजिक छन् । भूकम्पबाट घर भत्किएपछि टहरामा बस्दै आएका अधिकांश अधिकांश वृद्धवृद्धा अहिले विरामी परेका छन् । भुम्लुटार गाविस–७ का ६५ वर्षीय गुञ्जमान तामाङ चिसोले विरामी भएर थला परे र अस्पताल गएर उपचारै गर्नुप¥यो ।
“चिसोले निमोनिया भएर झन्डै मरेको, बल्ल बाँचेर आइयो, फेरि त्यही चिसो टहरामा बस्नुको विकल्प छैन,” उनले गुनासो पोखे, “सरकारबाट हालसम्म पहिलो किस्ता त पाएको छैन, घर कहिले बन्ला र पीडा हट्ला ?” यस्तै पीडा छ स्थानीय ६९ बर्षीय मीठु उप्रेतीको ।
हरेक रात र बिहानको जस्ताको टहराबाट आएको चिसोले उनी बिरामी परेकी छिन् । “जस्ताबाट आउने चिसोले कठ्यांग्रिएर बस्नुपरेको छ, रात बिताउन मुस्किल छ, उनले भनिन्, “खोई घर कहिले बन्ला र मरिएला जस्तो पो भएको छ ।” 
http://www.karobardaily.com/news/72351

भूकम्प प्रभावितलाई नयाँ घर

    कारोबार   0 + -

काभ्रेको धुसेनी शिवालयमा निर्माण गरिएको एकीकृत बस्ती तस्विर/कास
धुसेनी शिवालयः भूकम्पले भत्काएपछि विचल्लीमा परेका काभ्रे धुसेनी शिवालयका भूकम्प प्रभावितले नयाँ घर पाएका छन् । घर भत्केपछि छाप्रोमा बस्दै आएका प्रभावितले नयाँ घर पाएका हुन् । 
आफ्ना दुई छोरा दुर्घटनामा परी मृत्यु भएपछि उनीहरूको सम्झनामा सामाजिक काम गर्दै आएको लक्ष्मी प्रतिष्ठानको पहलमा धुसेनी शिवालय–७ स्थित गोमटीको खड्का गाउँका भूकम्प प्रभावितलाई नयाँ घर बनाइएको हो । ग्लाल्सो नेप्लिज एसोसियसन यूकेको सहयोगमा १४ सहित २७ घरधुरी निर्माण सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले जानकारी दिए । 
उनका अनुसार, ३२ घरमध्ये २७ सम्पन्न भइसकेका छन् भने ५ घर निर्माणको चरणमा छन् । ग्याल्सोबाहेक अमेरिकी–नेपाली नर्सिङ सोसाइटी, साउदीको मिलन ग्रुप, मीरा पुडासैनीलगायतले घर निर्माणका लागि सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।
७५ हजार स्थानीय जनश्रमदानसहित २ लाख ३८ हजार रुपैयाँमा नयाँ घर बनेका हुन् । भूकम्पअघि छरिएको रहेको बस्तीलाई एकीकृत गरी ग्याल्सो नमुना गाउँको रूपमा निर्माण गरिएको छ । “बस्तीलाई एकीकृत रूपमा निर्माण गरेका छांै, यो यूकेमा रहेका मनकारी नेपालीको सहयोगले ग्याल्सो नमुना गाउँ बनेको हो,” उनले भने ।
ग्याल्सोका अध्यक्ष दिलु गैह्रे र संस्थापक अध्यक्ष विष्णु महर्जनले धुसेनी शिवालय पुगेर भूकम्प प्रभावितलाई नयाँ घर वितरण गरेपछि उनीहरू खुसी छन् । भूकम्पपछि नयाँ घर पाएको खुसीयालीमा स्थानीय भूकम्प प्रभावितले नाँचगानसमेत गरेका थिए । 
“छाप्रोमा बस्नुपर्दा धेरै दुःख भएको थियो, अहिले त आफ्नै घर पायांै,” स्थानीय सरिता गौतमले भनिन् । भूकम्पले धेरै दुःख पाएकोमा अहिले नयाँ घरमा आएर बस्न पाएकोमा ७० वर्षीया पातली तामाङ पनि खुसी छिन् । 
http://www.karobardaily.com/news/72369

Saturday, January 28, 2017

प्रसारणलाइन निर्माणको प्रक्रिया नै १२ वर्ष

     भीम गौतम   0 + -

फाइल फोटो
काठमाडौ: ऊर्जा क्षेत्रमा सबैभन्दा समस्याका रूपमा देखिएको प्रसारणलाइन निर्माणका लागि सामान्य प्रक्रिया पूरा गर्न नै १२ वर्षभन्दा बढी अवधि लाग्ने देखिएको छ । अधिकांश प्रसारणलाइनमा विभिन्न सरकारी निकायबाट हुने स्वीकृतिमा ढिलाई र स्थानीय तहबाट हुने अवरोध बाहेकै सामान्य रूपमा अघि बढे पनि न्यूनतम १२ वर्ष लाग्ने देखिएको हो ।     
एउटा प्रसारणलाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले तय गरेको प्रक्रिया र विभिन्न निकायबाट लिनुपर्ने सामान्य स्वीकृतिका लागि यति लामो समय लाग्ने गरेको छ । “एउटा प्रसारणलाइन निर्माणका लागि लाग्ने प्रक्रिया र स्वीकृतिको समय हेर्दा १२ वर्षभन्दा बढी लाग्ने अध्ययनले देखाएको छ,” विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, “यदि प्राधिकरणले चाहेमा यसलाई आधा समयमा झार्न सकिन्छ ।”
उनका अनुसार सम्भाव्यता अध्ययनका एक वर्ष, प्रारम्भिक सर्भेका लागि दुई वर्ष, वातावरणीय प्रभाव अध्ययनका लागि १८ महिना, विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि ६ महिना र टेन्डर डकुमेन्ट तयार गरेर टेन्डर दिन पनि ६ महिना लाग्छ ।
त्यसपछि कम्तीमा डिटेल सर्भेका लागि एक वर्ष, डिटेल सर्भे प्राधिकरण सञ्चालन समितिमा पेस गरेर स्वीकृति गर्न तीन महिना, टावर डिजाइनका लागि ६ महिना र स्वीकृतिका लागि तीन महिना समय लाग्ने उनले जानकारी दिए । यसैगरी, ठेकेदारले नमुना टावर निर्माणका लागि ६ महिना, कर्मचारीद्वारा टावर टेस्टिङका लागि दुई महिना, टावर निर्माणका लागि एक वर्ष तथा निर्माणका लागि कम्तीमा तीन वर्ष समय लाग्ने गरेको छ ।
सरकारी निकायकै समन्वयको अभावमा जग्गा अधिग्रहण र मुआब्जा वितरण, रूख कटान, वातावरणीय अध्ययनमा हुने ढिलाइ त प्रसारणलाइनका लागि अर्को मुख्य समस्या बनेको छ । ऊर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता दिनेश घिमिरे प्रसारणलाइन निर्माणलाई सहज बनाउनका लागि अहिलेको प्रक्रियालाई छोट्याउनुपर्ने बताउँछन् ।
“अध्ययनको काम गरेर निश्चित समय तोकेर निर्माणमा जान सकिन्छ, अहिले प्रसारण लाइनको निर्माण दु्रतगतिमा गर्नुपर्ने अवस्था छ,” उनले भने । प्राधिकरण आफैंले डिजाइन, डिटेल सर्भेलगायतका कार्य गर्नगरी दिने तथा लामा प्रक्रिया छोट्याएमा १२ वर्षको समयलाई ६ वर्षमै झार्न सकिने अवस्था छ । तर, नीतिगत सुधार सरकारको प्राथमिकतामा परेको छैन ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेत अहिलेको प्रकृयामा छोट्याउनुपर्ने आवश्यकता औल्याउँछन् । “प्रक्रिया लामो छ, यसलाई छोट्याएर डिटेल अध्ययनका काम सकेर निर्माणको गतिलाई बढाउने गरी नयाँ प्रकृया निर्धारणबारे प्राधिकरणले सोचिरहेको छ,” उनी भन्छन् । 
सम्भाव्यता अध्ययन, जग्गा अधिग्रहण, विस्तृत सर्भेलगायतका काम सकेर मात्र प्रसारण लाइन निर्माणको ठेक्का दिनुपर्ने दायित्व भुलेर ठेकेदार कम्पनीलाई सबै कामको ठेक्का दिने प्रवृत्ति गलत रहेकोले यसलाई सुधार्नुपर्ने आवाज उठेपनि खास यसतर्फ पहल भएको छैन ।
प्रसारणलाइनपिच्छेका समस्या समाधानका लागि बढी पहल भएको र यसलाई अन्त्य गरेर प्रक्रियालाई छोट्याउनुपर्ने आवश्यकता देखिएको विज्ञहरू बताउँछन् । 
प्राधिकरणकै प्रक्रियाअनुसार लाग्ने समय
सम्भाव्यता अध्ययन         १२ महिना
प्रारम्भिक सर्भे             २४ महिना 
वातावरण प्रभाव अध्ययन         १८ महिना
डीपीआर                 ६ महिना 
टेन्डर डकुमेन्ट र टेन्डर         ६ महिना
डिटेल सर्भे र स्वीकृति         १५ महिना
टावर डिजाइन र स्वीकृति     ९ महिना
नमुना टावर निर्माण         ६ महिना
टावर टेस्टिङ                 २ महिना 
टावर निर्माण                 १२ महिना 
आयोजना निर्माण         ३६ महिना 
http://www.karobardaily.com/news/72265

Tuesday, January 24, 2017

आर्थिक वृद्धिदर उच्च र दिगो हुनुपर्छ

     0 + -

बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछिको २६ वर्षको आर्थिक वृद्धिदर हेर्ने हो भने शून्य दशमलव १२ प्रतिशतदेखि ७ दशमलव ६ प्रतिशतसम्म छ । औसतमा हेर्ने हो भने २ देखि ५ प्रतिशत छ । नेपालले आफूलाई अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्र बनाउन उच्च वृद्धिदर आवश्यक रहेको भन्दै यसबारे विभिन्न योजना र कार्यक्रमसमेत बनिरहेका छन् ।
विकसित राष्ट्र बन्नका लागि कम्तिमा ८ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय योजना आयोगले बनाउने नीतिहरूमा समेत आर्थिक वृद्धिदर उच्च बनाउने उल्लेख छ । तर, गत वर्ष अर्थात आर्थिक वर्ष २०७२÷७३ मा शून्य दशमलव ७७ प्रतिशत छ । यसले नेपालको आर्थिक वृद्धिदर नकारात्मकतिर गइरहेको देखाउँछ । स्रोत उपलब्ध हुँदाहुँदै पनि त्यसको सही उपयोग हुन सकेको छैन ।
जलविद्युत्, पर्यटन, कृषि जस्ता क्षेत्रमा नेपालले ठूलो प्रगति गर्न सक्ने अवस्था छ । स्रोत भएर पनि त्यसको उपयोग किन हुन सकेन ? ठूला–ठूला उद्योग किन स्थापना हुन सकेनन् ? धेरै योजना भएर पनि किन कार्यान्वयन पक्ष फित्तलो भयो ? विनियोजित बजेट किन खर्च हुन सकेन ? किन रोजगारीको अभावमा धेरै युवा विदेशिका छन् ? प्राकृतिक स्रोत साधनमा धनी देश नेपालमा यी प्रश्न बारम्बार उठिरहेका छन् ।
उत्पादकत्व बढाउन पूर्वाधार विकास र प्रविधिको अवलम्वन आवश्यक रहेको बारम्बार सुनिन्छ, तर स्वदेशी तथा विदेशी लगानी प्रशस्त मात्रामा हुन सकेको छैन । कारोबारकर्मी भीम गौतमले तयार पारेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा सोमबार राजधानीमा आयोजित ‘समावेशी आर्थिक वृद्धि’ विषयक अन्तरक्रियामा सहभागी विज्ञहरूले व्यक्त गरेका संक्षिप्त विचार :
अभ्यस्त अर्थतन्त्र चाहिएको छ
सुरेन्द्र पाण्डे
पूर्व अर्थमन्त्री

समावेशीको कुरा हेरेर नेपालको अवस्था विश्लेषण गर्दा अहिले ७ लाखले सरकारी रोजगारी गर्छन् । १÷१ लाख सेना र प्रहरी छन् । साढे ३ लाख शिक्षक छन् अनि ८० हजार निजामती कर्मचारी छन् । बाँकी विभिन्न सरकारी समिति, कर्पोरेसन छन् ।
शिक्षकबाहेक हेर्ने हो भने त्यसमध्ये ६० प्रतिशत काठमाडौंमा छन् । यस्तो अवस्थामा हेर्दा सबैभन्दा बढी रोजगारी र रोजगारीको सम्भावना राजधानीमै छ । व्यापार हेर्ने हो भने नेपालमा डेढ लाखजति मारवाडी समुदाय छ, तर नेपालको व्यापारमा झन्डै ८० प्रतिशत मारवाडी समुदायको छ । थकाली, नेवारलगायत पनि आर्थिक रूपमा बलियै छन् । 
राजनीतिमा अलि फरक होला । आर्थिक रूपमा विश्लेषण गर्दा फरक देखिन्छ । समावेशी आर्थिक वृद्धिलाई कसरी अघि बढाउने यो एउटा महŒवपूर्ण पक्ष छ । अर्को कुरा नेपालको समग्र आर्थिक अवस्थालाई कसरी माथि लाने भन्ने चुनौती छ ।
सबै नेपालीलाई क्रमशः धनी बनाउँदै लैजाने हो । अनि त्यो समावेशी भयो कि भएन, त्यसपछि आउन सकिन्छ । युरोपको विकासक्रम हेर्ने भने पहिला आर्थिक विकास आएकै छ । पछि मात्र प्रजातन्त्रको कुरा आएको हो । सामाजिक समावेशी, मानव अधिकारका कुरा पछि आएका हुन् । अमेरिकाको विकास इतिहास हेर्ने हो भने पनि यस्तै छ । यसकारण मैले भन्नुपर्दा पहिला आर्थिक विकास गरौं, त्यसपछि समावेशीको कुरा गरौंला ।
अहिले त हाम्रो अर्थतन्त्र नै सानो छ । म मन्त्री हुँदा के देखें भने निजी क्षेत्रले सबै काम हामीलाई दिनुप¥यो, सहकारीलाई दिनु हुँदैन भन्ने थियो । तर, अवस्था के थियो भने ५० मेगावाटको विद्युत् आयोजना बनाउनका लागि ४÷५ वटा बैंक मिलेर पैसा जुटाउनुपर्ने अवस्था छ । म सधैं के भन्छु भने पहिला व्यवसाय गर्न सुरु गरौं । कुरा गरेर नबसौं । जागिरले समस्याको समाधान गर्दैन । जागिर आम्दानी गर्ने क्षेत्र होइन ।
यसकारण युवाहरूलाई पहिले उद्योगतिर लिएर जाऔं । अभ्यस्त अर्थतन्त्र हामीलाई चाहिएको छ । हाम्रा प्रक्रियागत समस्या धेरै छन् । यसलाई हटाऊँ । अहिले घूस दिनेले मात्र सबै सुविधा पाउने गलत प्रवृत्तिको अन्त्य गरौं । अहिले अलि–अलि दुःख होला तर जति दुःख भए पनि काम सुरु गरौं । अहिलेको पुस्ताले दुःख ग¥यो भने अर्को पुस्ता अवश्य खुसी र सुखी हुनेछन् । 
आर्थिक वृद्धिदर हासिल गर्नका लागि कसलाई लक्षित गर्ने भन्नेबारे पनि सरकार स्पष्ट हुनुपर्छ । अहिले अमेरिका जाने लक्ष्य नराखौं । अमेरिका जानेले डेढ÷दुई लाख कमाउँछन् । अहिलेको लक्ष्य त्यो हुन सक्दैन । ५० हजार कमाउनका लागि खाडी, मलेसिया जाने युवालाई लक्षित गरेर कार्यक्रम गरौं । यति कमाउने गरी नेपालमै रोजगारी सिर्जना गर्न अघि बढौं । हामी नीति–निर्माण गर्नेहरूले यसलाई विशेष ध्यान दिनैपर्छ ।
अर्को के छ भने जापान, कोरिया जानेहरू फर्केर आउँछन् । त्यहाँको व्यवस्थाको कारणले फर्कनुपर्छ । उनीहरूलाई नेपालमै उपयोग गर्ने नीति बनाऔं । यसकारण अबको आर्थिक वृद्धिदरको नीति, रणनीति बढी सैद्धान्तिक होइन, कार्यान्वयनमा आउन सक्ने व्यावहारिक बनाउनु आवश्यक छ । त्यसका लागि उचित वातावरण र विश्वास जगाउनु आवश्यक छ । युवाहरू नेपालमै बसेर केही गर्न चाहन्छन् ।
उनीहरूलाई व्यवसाय गर्ने वातावरण दिऊँ । नेपालमा के छ भने बाबुआमाको नाममा जग्गा हुन्छ । २०÷२२ वर्षको युवालाई केही काम गर्नुप¥यो भने धिताको अभावमा कसैले ऋण दिँदैन, अनि आफूले कमाएर धितो राख्ने अवस्था हुँदा ऊ बूढो भइसक्छ । यस्तो अवस्था अन्त्य गरेर युवालाई कुनै व्यवसाय गर्ने उपयुक्त अवसर निर्माण गरौं । उनीहरूलाई उत्प्रेरणा जगाउने काम गरौं ।
जग्गा धितो राखेर ऋण लिने कुरा परम्परागत हो । पुँजीवादी देशहरूमा समेत यो हुँदैन । कम्युनिस्ट देशमा पनि यो हुँदैन । यसलाई बदलेर युवा व्यवसायमा लाग्ने प्रणालीको विकास गरौं । 
आर्थिक वृद्धिदर उच्च र दिगो हुनुपर्छ

डा. स्वर्णिम वाग्ले
सदस्य, राष्ट्रिय योजना आयोग
नेपालको अर्थतन्त्रका विभिन्न आयाम छन् । नेपालको आर्थिक वृद्धिदर उच्च र दिगो हुनुपर्छ भन्ने हो । पछि बढी जोखिम हुने र यसका कारणले गम्भीर असर पर्ने खालको आर्थिक वृद्धिदर हुनु सकारात्मक मानिँदैन । यो भनेको आर्थिक विकासको मात्रामै भर पर्छ ।
सन् १९६५ देखिकै तथ्यांक हेर्ने हो भने हाम्रो देशको आर्थिक वृद्धिदर २ देखि ५ प्रतिशत मात्र छ । यसलाई हेरेर भन्दा हामीले कृषि वा उत्पादनमूलक उद्योगको विकास गर्नु जरुरी छ । आर्थिक वृद्धिदर हासिल गर्न कस्तो किसिमका संरचना, कानुन र नीतिहरू छन्, त्यो पनि महŒवपूर्ण हुन्छ । दुई देशको आर्थिक वृद्धिदर एउटै भए पनि त्यो देशको ऐतिहासिक अवस्था र संरचनाले पनि प्रभाव गरिरहेको हुन्छ ।
अर्को कुरा त त्यहाँ रोजगारी सिर्जना भएको छ कि छैन, त्यो पनि विश्लेषण गर्नुपर्छ । योसँगै भविष्यका लागि आधारहरू तयार भएका छैनन् कि छैनन्, त्यो पनि हेर्नुपर्छ ।
विश्वकै परिवेश हेर्ने हो भने पहिला आर्थिक वृद्धिदर बढाऔं, अनि असमानता बढ्यो भने त्यसलाई समाधान गर्दै जानुपर्छ भन्ने सोचतिर केन्द्रित हुनुपर्छ । तर, नेपालमा असमानता र अधिकारका कुरासँगै आर्थिक वृद्धिदरको कुरा पनि जोडिएको छ ।
यसले गर्दा आर्थिक वृद्धिदर बामे सर्ने अवस्थामा मात्र छ । हाम्रो संविधान समाजवाद उन्मुख भनिएको छ । लगानीका कुरालाई त्यति जोड दिइएको छैन । यसले बाह्य लगानीकर्ता तर्सिएका छन् । कर्मचारीतन्त्रको अवरोधसमेत कायमै छ । विकास अगाडि नै अधिकार र असमानताको कुरालाई बढी जोड दिँदा आर्थिक वृद्धिदरका लागि उचित वातावरण निर्माणको काम हुन सकेको छैन । 
विगत २६ वर्षको आर्थिक वृद्धिदरको अवस्था हेर्ने हो भने सकारात्मक देखिँदैन । सन् १९९३ मा हासिल भएको आर्थिक वृद्धिदर सबैभन्दा बढी ७ प्रतिशतको हाराहारीमा छ, तर त्यसपछि त्यो टिक्न सकेन । एक पटकलाई बढ्ने भन्दा पनि दिगो हुने किसिमको आर्थिक वृद्धिदर आवश्यक देखिएको छ । दिगो राख्न सकियो भने ५ प्रतिशत आर्थिक वृद्धिदरले पनि गति लिन सक्छ । यसकारण सबैभन्दा पहिले त बढीभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नतिर लाग्नुपर्छ र त्यसपछि सामाजिक कुरालाई सम्बोधन गर्दा उपयुक्त हुन्छ । 
नेपालमा सामाजिक समावेशिताको कुरा अघि आएको छ । यसलाई पनि छोड्नुपर्छ भन्ने होइन, तर पँुजी निर्माणको पाटोलाई समेत बलियो रूपमा अघि बढाउनुपर्छ भन्ने कुरा बिर्सनु हुँदैन । अर्कातिर धनी र गरिबबीचको खाडल बढ्दै गएको पनि भनिन्छ, तर पछिल्लो समयमा देखिएको विवरणले खाडल बढ्दै गएको देखाउँदैन । ग्रामीण क्षेत्रमा खास परिवर्तन नभए पनि सहर र सहरोन्मुख क्षेत्रमा घट्दो छ ।
यसले राष्ट्रिय रूपमा भने गरिबी घट्दै गएको देखाउँछ । यो तथ्यांकलाई नकारात्मक नै भन्नुपर्छ । यसले के देखाउँछ भने आर्थिक वृद्धिदर हासिल गर्नका लागि संरचनागत सुधारका काम त्यति भएको देखिँदैन, तर आर्थिक वृद्धिदरसँगसँगै यसको अवस्थामा अवश्य सुधार आउँछ । समृद्धिको निश्चित थ्रेस होल्डमा पुगेपछि सुधारका काम अघि बढ्न सक्छन् ।
उत्पादनमूलक उद्योगमा जानैपर्छ । कृषिमा पनि बढी उत्पादन हुने क्षेत्रलाई रोज्नुपर्छ । उत्पादन क्षेत्रमा पनि विविधता आउनुपर्छ । अहिले कृषिबाट त बाहिर आए, तर उत्पादनमूलक उद्योगमा सफल हुन सकिरहेको अवस्था छैन । यस्तो अवस्थामा लगानीका ढोका खुल्नुपर्छ । पूर्वाधारहरूको विकास गर्नैैपर्छ । दीर्घकालीन रूपमा आर्थिक वृद्धिदर हुने गरी अघि बढ्नुपर्छ ।

आर्थिक वृद्धिदरमा केन्द्रित हुनुपर्छ

केनिची योकोयामा
देशीय निर्देशक, एसियाली विकास बैंक

एसियाली विकास बैंक (एडीबी) ले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । नेपालको आर्थिक वृद्धिदर बढाउन लक्षित गर्दै अघि बढाएका कार्यक्रममा एडीबीले लगानी गरिरहेको छ । लक्ष्य हासिल गर्न धेरै चुनौती पनि छन् ।
पहिलो त पूर्वाधार विकास गर्नकै लागि चुनौती छ । यसका लागि खर्च गर्नेदेखि संरचनाहरूमा समेत सुधार गर्नु जरुरी छ । क्षमता अभिवृद्धि पनि आवश्यक छ । अर्को विकास निर्माणका लागि आयोजना अघि बढाउन नेपालको खरिद प्रकृयामा पनि समस्या छ । यसलाई पनि सुधार गर्दै जानु आवश्यक छ । 
नेपालले पूर्वाधार र जनशक्ति विकासमा लगानी गर्न सके समावेशिताको लक्ष्य भेट्याउन सकिन्छ । कम उत्पादकत्व भएका क्षेत्रमा भन्दा धेरै उत्पादकत्व हुने क्षेत्रमा बढी जोड दिनुपर्छ । यसका लागि विकासको संरचनागत परिवर्तन गर्नुपर्ने आवश्यक देखिन्छ । कृषिलाई परम्परागत प्रणालीबाट उच्च मूल्यका वस्तु तथा सेवा उत्पादनतर्फ लैजान सके त्यसले गरिबी निवारण र समावेशी विकासमा ठूलो भूमिका खेल्ने छ ।
अहिले नेपाल राम्रा परियोजना बनाउन नसक्ने र बजेट पनि खर्च गर्न नसक्ने अवस्थामा छ । यसमा सुधार गरेर आर्थिक वृद्धिदरलाई अझ बढाउन पहलकदमी लिनु आवश्यक छ । आर्थिक वृद्धिदरलाई केन्द्रित गरी अघि बढ्नु आवश्यक छ ।
कार्यान्वयन पक्षको कमजोरीलाई हेरेर यसमा सुधार गरी बढ्न सक्नुपर्छ । कार्यान्वयन गर्दा समावेशितालाई समेत आधार मानेर अघि बढ्न सकिन्छ । गुणस्तरीय शिक्षाको विकास पनि आवश्यक छ । उद्यम विकासका कार्यक्रम पनि अघि बढाउनु आवश्यक छ । 
संरचनागत समस्या देखिएको छ

बैकुण्ठ अर्याल
सहसचिव, अर्थ मन्त्रालय

आर्थिक वृद्धिदर सन्तोषजनक रूपमा अघि बढेको छैन, तर गरिबी भने घटिरहेको छ । सहस्राब्दी विकास लक्ष्य (एमडीजी) मा हामीले राम्रै सफलता हासिल गरेको देखिएको छ, तर असमानता भने बढेको छ । क्षेत्रीयरूपमा अलि बढी देखिएको छ ।
आर्थिक वृद्धिदर कम हुनु अनि गरिबी घट्दै जानुलाई विश्लेषण गर्दा यहाँ केही संरचनागत समस्या देखिएको छ । सामाजिक क्षेत्रमा सुधार भए पनि विकासमा असमानता बढ्नु बिडम्बनापूर्ण मान्नुपर्छ ।
स्रोत व्यवस्थापन एकै ठाउँमा केन्द्रित हुनु र विकास आयोजनाबीच पनि समन्वय नहुँदा यस किसिमका समस्या देखापरेका छन् । सर्वसाधारणको पुँजीलाई समेत विकासमा समावेश गराउन अघि बढ्नुपर्छ । सर्वसाधारणदेखि निजी क्षेत्रलाई समेत सहभागिता गराएर योजना निर्माणलाई अघि बढाउनु आवश्यक छ ।
पहाडमा जलविद्युत् र सडक निर्माणका बढी परियोजनाहरू देखिन्छन् भने तराईमा सिंचाइँका योजना बढी देखिन्छन् । तर अहिले हाम्रा अधिकांश पूर्वाधारका परियोजना समयमै पूरा हुन सकेका छैनन् । हरेक आयोजनाको समय र लागत बढीरहेको छ । नियमित शिक्षाभन्दा पनि फरक किसिमका मानवीय क्षमता वृद्धि गर्न सके विकास कार्यक्रममा सहभागिता बढाउन सकिन्छ ।
मानवीय पुँजीको विकासका लागि क्षमता विकासमा विशेष ध्यान दिनु पर्छ । आर्थिक सुचकांकहरू राम्रै देखिए पनि क्षमता विकास गर्न सकिएन भने यसले समस्या ल्याउन सक्छ । क्षमता विकास गराएर त्यो जनशक्तिलाई उद्यम विकासमा लगाउनु आवश्यक छ । विकसित भएको शीपलाई अर्थतन्त्रसँग जोड्नुपर्छ ।
हाम्रो देशमा तालिम दिने निकाय धेरै छन् । युवालाई लक्षित गरेर युवा स्वरोजगार कोषलगायतका निकाय पनि स्थापना भएका छन् । यी युवा र निकायबीच समन्वय हुनैपर्छ । 

समावेशीताले सकारात्मक प्रभाव पार्छ

विना प्रधान
अर्थशास्त्री

अर्थतन्त्रमा सबै क्षेत्रको पहुँच स्थापित गराउन सकियो भने त्यसले आर्थिक वृद्धिदरमा सकारात्मक असर पार्छ । आर्थिक वृद्धिदर उच्च बनाउन सकिए आम्दानीमा वृद्धि गर्छ । समाजमा रहेका सबै पक्ष सक्रिय हुन सके अर्थतन्त्रलाई बढावा दिन सहयोग गर्छ ।
आर्थिक वृद्धिदरलाई प्रभाव पार्ने काम बजार अर्थतन्त्रले पनि गरिरहेको हुन्छ । सबै पक्ष सक्रिय हुने बित्तिक्कै यो त बढिहाल्छ । महिला, जनजातिलगायतलाई आर्थिक विकासमा समावेश गर्दा समावेशी विकासमा सहयोग गरिरहेको हुन्छ । महिलाले घर–घरमा गरेको कामलाई पुँजीकरण गर्नु आवश्यक छ । महिलाले उत्पादन क्षेत्रमा पनि धेरै काम गरिरहेका हुन्छन् । नेपालको कृषि क्षेत्रमा हेर्ने हो भने त्यो धेरै छ ।
अहिले पुरुष विदेशमा जाँदा नेपालमा महिलाले पुरुषको भूमिका खेलिरहेका छन् । पुनर्उत्पादनका क्षेत्रलाई पनि आर्थिक क्षेत्रका रूपमा वर्गिकरण गर्नुपर्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा महिलाको ५२ प्रतिशत योगदान रहे पनि त्यसलाई औपचारिकरूपमा आर्थिक विकासमा गणना गरिएको छैन । यसलाई गर्नुपर्छ ।
 संरचनागत रूपमै बहिस्कारमा परेका वर्गलाई केन्द्रित गरेर निश्चित मोडलमै योजना निर्माण गर्न सके समावेशीता सार्थक हुन्छ । यसमा सूचना प्रविधिलाई समेत जोड्नुपर्छ । यसकारण आर्थिक वृद्धिदर बनाउनका लागि महिलालाई समावेश गराएर उनीहरूको क्षमता अभिवृद्धि गर्न सक्नुपर्छ ।
यसमा महिला, दलित, जनजातीलाई जागरुक बनाउनु आवश्यक छ । उनीहरू सबैलाई उद्यममा सहभागी गराउनु सक्नुपर्छ । समावेशीताले आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्छ ।
http://www.karobardaily.com/news/72090

Sunday, January 22, 2017

फेरि विद्युत महशुल वृद्धिको प्रस्ताव


–औद्योगिक क्षेत्रमा २० प्रतिशत 
भीम गौतम
काठमाडौ, ७ माघ । 
घाटा बढ्दै गएको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल वृद्धिको प्रस्ताव गरेको छ । 
साउन २०६३ अर्थात ६ महिना अघिदेखि लागु हुने गरी विजुली महशुल वृद्धि भएकोमा फेरि विद्युत प्राधिकरणले विद्युत् महसुल निर्धारण आयोग समक्ष प्रस्ताव गरेको हो । गत असारमा आयोगले २० प्रतिशत महशुल वृद्धि गरेको थियो । विद्युत प्राधिकरणको आर्थिक विश्लेषण विभागले तयार गरेको महशुल वृद्धिको प्रस्तावलाई एक साता अघि प्राधिकरण सञ्चालक समितिले पारित गरेर दुई दिन अघि मात्र आयोगमा पठाइएको थियो । 
सर्वसाधारण ग्राहकबाहेक औद्योगिक ग्राहकलाई २० प्रतिशत र ठूला सामुदायिक विद्युतीकरणको महशुल वृद्धिका लागि प्रस्ताव गरिएको छ । विद्युत महशुल निर्धारण आयोगका अध्यक्ष जगत भुषालले विद्युत प्राधिकरणले महशुल वृद्धिको लागि प्रस्ताव गरेको जानकारी दिए । ‘विद्युत प्राधिकरणको कामनै महशुल वृद्धिको माग गर्नु हो, फेरि प्रस्ताव आएको छ ।’–उनले भने–‘विद्युत प्राधिकरणको प्रस्तावलाई आयोगका सबै सदस्यहरुलाई पठाएका छौ ।’
सबै उद्योग ग्राहकलाई २० प्रतिशतका साथै सामुदायिक विद्युतीकरणमा २० प्रतिशतभन्दा बढी उपयोग गर्ने ग्राहकको हकमा तल्लो भोल्जेलका ग्राहकलाई ६.२५ पैसाबाट ७.७० र माथिल्लो भोल्टेजका ग्राहकलाई ६ रुपैयाँबाट ७.२५ बनाउन प्रस्ताव गरिएको छ । २० युनिटभन्दा कम विजुली उपयोग गर्नेलाई भने वृद्धिको प्रस्ताव गरिएको छैन । त्यसैगरी ग्राहस्थ ग्राहक अर्थात घरेलु ग्राहकलाई समेत महशुल वृद्धिको प्रस्ताव गरिएको छैन । औद्योगिक क्षेत्रका विभिन्न ग्राहकहरुको फरक फरक महशुल रहेको छ । आयोगका अनुसार, औद्योगिक क्षेत्रमा डिमान्ड शुल्क ६० देखि ३ सय ५० र इनर्जी शुल्क प्रति युनिट ७.५० देखि १३.९० पैसासम्म छ ।  
आर्थिक वर्ष २०६७ सालमा सरकारले २७ अर्ब घाटा अपलेखन गरेपछि विद्युत् प्राधिकरणको घाटा आर्थिक बर्ष २०७२÷०७३ सम्ममा ३६ अर्ब पुगिसकेको छ । आर्थिक बर्ष २०७१÷०७२ मात्र ११ अर्ब बराबरको घाटा परेको थियो । साउनदेखि लागु हुने गरी वृद्धि गरिएको महशुलको कारणले मात्र ५ अर्ब राजस्व बताएको थियो तर चालु बर्षमा महशुल वृद्धि भएपनि प्राधिकरणले ७ खर्ब घाटा बढ्ने अनुमान गरेको छ । अहिले प्रस्तावित गरिएको विद्युत महशुल वृद्धि भएमा यसबाट ३ अर्ब बराबरको घाटा पुर्ति हुने अनुमान प्राधिकरणको छ । 
गत साउनदेखि लागु भएको महशुल वृद्धिमा हाल २० युनिटसम्म उपयोग गर्ने सर्वसाधारण ग्राहकले न्यूनतम ८० रुपैयाँ नै तिर्नुपर्ने अवस्थालाई अन्त्य गरी यस्ता ग्राहकलाई निश्चित शुल्क (फिक्स चार्ज) ३० रुपैयाँ तथा प्रतियुनिट ३ रुपैयाँ ऊर्जाशुल्क (इनर्जी चार्ज) कायम गरिएको थियो । यो व्यवस्थाअनुसार २० युनिट नै विद्युत् उपयोग गर्ने ग्राहकले अब ९० रुपैयाँ तिर्नुपर्छ भने १६ युनिटभन्दा कम खपत गर्ने ग्राहकले ८० रुपैयाँभन्दा कम तिरे पुग्छ । यो महशुललाई भने नयाँ प्रस्तावमा वृद्धि गर्न माग गरिएको छैन । 

Thursday, January 19, 2017

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी



सरकारले निर्णय फेर्दा ५० हजार वण्डल जस्ता गोदाममै थन्कियो


भीम गौतम
काठमाडौ, ५ माघ । सरकारले निर्णय फेर्दा भुकम्प पीडितका लागि खरिद गरिएको ५० हजार वण्डल जस्ता नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममै थन्किएको छ । 
१२ बैशाख २०७२ मा भुकम्प गए लगत्तै तत्कालीन सरकारले गरेको मन्त्री परिषदबाट निर्णयबाट खरिद गरिएको यति धेरै जस्ता गोदाममै थन्किएको हो । तत्कालीन स्वर्गीय शुशील कोइराला नेतृत्वको सरकारले तत्कालीन अवस्थामा अस्थायी आवासका लागि जस्ता दिने निर्णय गरेको थियो । 
भुकम्पबाट क्षतिग्रस्त घरहरु पुर्ननिर्माणका लागि समय लाग्ने भएकोले तत्काल अस्थायी आवासका लागि भन्दै प्रति भुकम्पपीडितहरुलाई दुई बण्डल जस्ताका साथै क्षतिग्रस्त विद्यालय र स्वास्थ्य चौकीको अस्थायी भवनका लागि जस्ता आवश्यक भन्दै मन्त्री परिषदले निर्णय गरेर निर्देशन दिएपछि कर्पोरेसनले ५० हजार बण्डल जस्ता खरिद गरेको थियो तर पछि भुकम्पपीडितलाई जस्ताको सट्टा १५ हजार नगद दिने निर्णय सरकारले गरेको थियो । झण्डै ३० करोड लगानीमा खरिद गरिएका जस्तापाता डेढ बर्षदेखि गोदाममै थन्किएको कर्पोरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले जानकारी दिइन् । ‘सरकारले निर्णय गरेर खरिद  गरेपनि त्यसको उपयोग गर्न नसक्दा गोदाममै थन्किएको छ, यसको उपयोगका लागि पटक पटक सरकारलाई भनेपनि हालसम्म उपयोग भएको छैन ।’
खरिद गरिएका अधिकांश जस्तापाता कर्पोरेसनको वीरगञ्जस्थित गोदाममै थन्किएको छ भने केही थोरी बण्डल जस्तापाता मात्र तत्कालीन अवस्थामा केही जिल्लाका स्थानीय विकास अधिकारीले माग गरेपछि दिइएको कर्पोरेसनका अधिकारीहरुले जनाएका छन् । ‘एक÷दुई बण्डल जस्ता मात्र तत्कालीन कुनै जिल्लाका स्थानीय विकास अधिकारीले मागेकोले दियौ, नत्र सबै गोदाममै थन्किएको छ ।’–कर्पोरेसनका एक अधिकारीले भने–‘कर्पोरेसनले ९÷१० प्रतिशत व्याजमा ऋण लिएर किनेको जस्तापाता थन्किएको थन्किएकै छ तर संस्थाले व्याजवापत मात्र ३÷४ करोड घाटा बेहोर्नुपरेको छ ।’
तत्कालीन अवस्थामा क्षतिग्रस्त सरकारी विद्यालय र स्वास्थय केन्द्रहरुको अस्थायी भवनका लागि कर्पोरेसनले खरिद गरेका जस्तापाता उपयोग गर्नुपर्ने भएपनि हालसम्म माग समेत गरेका छैनन् भने सरकारले पनि यी जस्तापाता उपयोग गर्न सकेको छैन । कर्पोरेसनले सरकारी निकायबाहेक बजारमा लगेर विक्री गर्न नसक्ने भएकोले पनि त्यसै थन्काएर राख्नुपरेको गुनासो महाप्रबन्धक श्रेष्ठको छ । जस्तापाता गोदाममै थन्किएर अलपत्र परेपछि कर्पोरेसनले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, आपुर्ति मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायतलाई पटक पटक जस्तापाताको उपयोग गर्न पत्र लेखिसकेको छ तर सरकारले यसलाई व्यवस्थापन गर्न सकेको छैन । केही महिना अघि सरकारले भुकम्पपछिको पुर्ननिर्माणका लागि आवश्यक सामग्रीहरुको बैक बनाउने बताएपछि कर्पोरेसनले काभ्रे, नुवाकोट र मकवानपुरमा यसका लागि गोदाम निर्माण गर्ने प्रकृया पनि अघि बढाएको थियो । नुुवाकोटमा नगरपालिकाको जग्गाका साथै काभ्रे र मकवानपुरमा कर्पोरेसनकै जग्गामा गोदाम बनाएर सामग्री वितरण गर्ने लक्ष्य राखेपनि त्यो अघि बढ्न सकेको छैन । 
पुर्ननिर्माण प्राधिकरणले पुर्ननिर्माणका लागि विभिनन सामग्रीहरुको अभाव रहेको बताईरहेका बेला सरकारी निकायको रुपमा रहेको कर्पोरेसनमै सामान डेढ बर्षदेखि स्टक हुँदा पनि त्यसको उपयोग गर्न सकेको छैन । यसको कारणले कर्पोेरेसनको आर्थिक अवस्थामा समेत असर देखिन थालेको छ । यसबारे कर्पोरेसनका अधिकारीहरुलेले पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई भेटेर स्टक सामानको उपयोगका लागि अनुरोध गरेपनि यसको समाधानका लागि ठोस कार्य भएको छैन । 

Wednesday, January 18, 2017

जलविद्युत्मा घोषणाको प्रतिस्पर्धा छ तर कार्यान्वयन छैन

      0 + -

शैलेन्द्र गुरागाईं
अध्यक्ष
इप्पान

भोजपुरको भोजपुर बजारमा जन्मिएका शैलेन्द्र गुरागाईं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्ष हुन् । रसियाको इभानोभो स्टेट युनिभर्सिटीबाट इन्जिनियरिङमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमबीए उत्तीर्ण ५० वर्षीय गुरागाईं नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सको ऊर्जा समितिको सदस्य पनि छन् ।
उनी अध्यक्ष रहेको वरुण हाइड्रो कम्पनीले ४.५ मेगावाटको वरुण, प्रमुख कार्यकारी अधिकृत रहेको ङादी पावर लिमिटेडले ५ मेगावाटको सिउरीखोला र महाप्रबन्धक रहेको शुभम् पावर लिमिटेडले १ मेगावाटको पिलुवा खोला सम्पन्न गरिसकेको छ ।
उनी संलग्न रिभर फल्स कम्पनीले ९.५ मेगावाटको पिलुवाखोला, सुपर न्यादी पावर लिमिटेडले ४० मेगावाटको न्यादी निर्माण गरिरहेको छ । गुरागाईंसँग नेपालको जलविद्युत् क्षेत्र, यसमा निजी क्षेत्रको सहभागिता, समस्या र समाधानका लागि भएका पहललगायतका विषयमा कारोबारकर्मी भीम गौतमले गरेको कुराकानी ः
नेपालको जलविद्युत्को अवस्थालाई निजी क्षेत्रको प्रतिनिधिका हैसियतले कसरी नियालिरहनुभएको छ ?
नेपालको जलविद्युत् क्षेत्रमा सकारात्मक प्रगति देखिन थालेको छ । दसौं वर्षसम्म लोडसेडिङ भोगिरहेको अवस्थामा पछिल्लो समयमा भोग्नुपरेको छैन । जनताले राहत पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको हालको व्यवस्थापनले राम्रो वितरण गरेको छ । जलविद्युत् क्षेत्रमा विगत २०६७ सालदेखि हरेक मन्त्री, प्रधानमन्त्रीले संकटकाल घोषण गर्दै आउनुभएको थियो ।
ती कति घोषणा घोषणाकै रूपमा सीमित रहे पनि हाल आएर वितरणको पक्ष समेटिएको र व्यवस्थापन गरिएको देख्दा घोषणा घोषणामै सीमित हुँदैन भन्ने आशा छ । तैपनि आपूर्ति, उत्पादन र यसलाई पूरा गरेर समृद्ध बनाउने कुरा भने पूरा गर्न बाँकी नै छ । 
अहिले काठमाडौंबाहिर लोडसेडिङ छ तर काठमाडौंलाई मात्र हेरेर लोडसेडिङबारे बढी विश्लेषण भएको भनिन्छ, तपाईंलाई के लाग्छ ?
लोडसेडिङमुक्त भनेको अहिले बत्ती बाल्न पाएको मात्र हो । त्यो पनि काठमाडौं र केही पहाडी जिल्लामा मात्र हो । सबैले बुझ्ने भाषामा भन्दा सुकुम्बासीले घर पाए भने उनीहरू सुकुम्बासीमुक्त भएको होइन । अर्काको घरमा सुत्न पाएको मात्र हो । लोडसेडिङमुक्त भनेको भारतबाट बिजुली ल्याएर अनि ग्यास, डिजेलबाट ऊर्जा उपयोग गरेर मात्र भएको हो ।
निजी क्षेत्र भनेको एउटा गाडी हो, सडक होइन । सडक जत्रो बनाइन्छ, गाडी त्यति नै ठूलो दौडिने हो ।

लोडसेडिङमुक्त भनेको बिजुली बाल्न पाएको मात्र हो, उद्योगधन्दादेखि सबैले पूर्णरूपमा बिजुली पाएका छैनन् । हामीले भारतबाट ४ सय मेगावाट बराबर बिजुली ल्याएर बत्ती बालिरहेका छौं । भारतबाट ग्यास आयात गरेर भात पकाइरहेका छौं । यी दुवै हटाइदिने हो भने अहिले पनि १८ घण्टा लोडसेडिङमा बस्नुपर्ने अवस्था छ । यसलाई लोडसेडिङमुक्त नै भइसकेको भन्न मिल्दैन ।
बिजुलीमा परनिर्भर हुनुका पछाडि सरकारसँगै निजी क्षेत्रले विद्युत् उत्पादन गर्न नसक्नुलाई पनि मानिन्छ, यसमा तपाईंहरूको पनि दोष छ नि होइन ?
यसका पछाडि निजी क्षेत्र कति दोषी र सरकार कति दोषी छ भन्ने बुझ्नुपर्छ । निजी क्षेत्र भनेको एउटा गाडी हो, सडक होइन । सडक जत्रो बनाइन्छ, गाडी त्यति नै ठूलो दौडिने हो । सडक नबनी गाडी दौडन सक्दैन ।
निजी क्षेत्रलाई बनाइदिएको ऐन, नियम, कानुन, कार्यविधि अनि राज्यको व्यवस्थाभित्र रहेर आयोजना बनाउने हो । ती नियम–कानुनले आयोजना बनाउनका लागि उचित वातावरण नदिए बन्न सक्दैन । बाटो न घाटो गाडी कुदाउन सकिँदैन । किन कुदाइनस् भनेर भन्नु तर्कसंगत हुँदैन ।
के सरकारले जलविद्युत् आयोजना निर्माण गर्न उचित वातावरण सिर्जना गर्नै नसकेको हो ? 
सरकारले उचित कानुन बनाइदिएन । बिजुली लिऊ र तिर (टेक एन्ड पे) र लिए पनि नलिए पनि तिर (टेक अर पे) विद्युत् खरिद सम्झौता (पीपीए) आजको मितिसम्म घोषणामै सीमित छ । अहिलेका ऊर्जामन्त्रीले पनि घोषणा गर्नुभएको छ तर कार्यान्वयन भएको छैन ।
उहाँ ऊर्जामन्त्री भएर आउनुअघि पनि घोषणा भएको थियो । आएको भोलिपल्टदेखि कार्यान्वयन गर्ने घोषणा गर्नुभएको थियो । राज्यले आयोजनाहरू चाँडोभन्दा चाँडो बनाउन प्रवद्र्धकहरूलाई प्रति मेगावाट ५० लाख दिने कुरा पनि घोषणामै सीमित भयो । वनको समस्या पनि उस्तै छ । ७५ रोपनीभन्दा बढी जग्गा प्राप्तिको कुरा पनि घोषणामै सीमित रह्यो । जलविद्युत् क्षेत्रमा सहुलियतहरू घोषणाको प्रतिस्पर्धा छ, कार्यान्वयन छैन ।
यी लगायतका समस्याको फेहरिस्त ऊर्जा संकटकाल कार्ययोजनाको ९९ बुँदेमा समेटिएको छ तर कार्यान्वयनमा आएनन् । यी आएका भए, पीपीए गरेर बसेका २ हजार मेगावाटभन्दा बढीका आयोजनाले वित्तीय व्यवस्थापन गर्न सक्थे । अनि आयोजनाहरू निर्माणको चरणमा जान सक्थे तर ती आयोजना निर्माणमा जान सकेनन् ।
व्यवधान नफुकाएसम्म कसरी निर्माण गर्ने ? यसका लागि पहल पनि भएको छैन । घोषणा र सस्तो लोकप्रियताकामा जाने प्रवृत्ति बढेको छ ।

हरेक मन्त्रीले निजी क्षेत्रमैत्री नीति ल्याउने भन्ने गरेका छन् । योजना पनि आएका छन् । निजी क्षेत्रले पनि सकारात्मक भन्छ । तर, कहाँनेर कार्यान्वयनमा कमजोरी भयो ? 
निजी वा सरकारी क्षेत्र जो भए पनि आयोजनाका प्रवद्र्धक हुन् । सरकारी निकायले पनि जलविद्युत्मा निजी क्षेत्रकै जस्तो समस्या भोगिरहेका छन् ।
हामीले भनेको के हो भने नीति नियम र योजना राम्ररी बनाइदेऊ हामी आयोजना बनाउँछौं । वित्तीय व्यवस्थापन हामी गर्छौं । बिजुली उत्पादन गर्छौं । तर यो गर्नका लागि व्यवधाननै व्यवधान छन् । व्यवधान नफुकाएसम्म कसरी निर्माण गर्ने ?
यसका लागि पहल पनि भएको छैन । घोषणा र सस्तो लोकप्रियताकामा जाने प्रवृत्ति बढेको छ । यसमा निजी क्षेत्रको कमजोरी छैन । यसको समाधानका लागि राजनीतिक दलले जस्तो सडकमा टायर बाल्ने काम हामी गर्दैनौं । हामी नीतिगत रुपमा दबाब दिन्छौं र दिइरहेका छौं ।
के–के व्यवधान छन् ? यसलाई फुकाइदियो भने तपाईंहरूले जलविद्युत् आयोजना बनाउन सक्नुहुन्छ ?
अहिले मुख्य समस्या त ‘टेक एन्ड पे’ पीपीए नै हो । अहिले ‘टेक एन्ड पे’मा गरिरहेको पीपीएलाई ‘टेक अर पे’ मा परिवर्तन गर्नुपर्छ । 
टेक एन्ड पे हटाएको घोषणा त ऊर्जामन्त्रीले गरिसक्नुभएको छ नि ?
घोषणा त यसअघिका मन्त्रीहरूले पनि गरेका हुन् तर कार्यान्वयन गर्नुप¥यो नि । कार्यान्वयन नहुञ्जेलसम्मका लागि अहिले पीपीए रोकिरहेको छ । ‘टेक एन्ड पे’ मा पीपीए गर्न प्राधिकरणले आजको मितिसम्म मानिरहेको छैन । हटेको घोषणा गरेको १०/१२ दिन भइसक्यो । कार्यान्वयनमा जबसम्म जाँदैन, तबसम्म घोषणाको कुनै अर्थ हुँदैन ।
यति हुँदाहुँदै पनि निजी क्षेत्रले ‘टेक एन्ड पे’ मा पीपीए गरिरहेको छ नि, किन ?
पीपीएलाई ‘टेक अर पे’ मा परिवर्तन गरिदिन्छु भनेर ‘टेक एन्ड पे’ मा निजी क्षेत्र पीपीए गर्न बाध्य भएको हो । 
निजी क्षेत्रमैत्री वातावरण छैन भन्दाभन्दै पनि लाइसेन्स लिने प्रवृत्ति त बढेको देखिन्छ नि ?
मलाई लाग्छ, लाइसेन्स लिने प्रवृत्ति बढेको छैन । त्यस्तो देखिएको मात्र हो । २ सयभन्दा बढी आयोजना बास्केटमा छन् र यसमा खुला गरिएको थियो । यसमा निवेदन दिनेहरू १५÷२० वटा आयोजना मात्र भए ।
यी आयोजना पनि अघि बढ्छन् कि बढ्दैनन्, मलाई शंका लाग्छ । यति धेरै आयोजना बास्केटबाट खोल्दा लगानीका लागि भीड लाग्नुपर्ने थियो । लागेको देखिएन । आयोजनाहरू असाध्यै महँगा छन् । जनशक्तिदेखि सामानसम्मको भाउ ह्वात्तै बढेको छ । डलर भाउ पनि अकासिएको छ । प्रतिमेगावाटको लागत ३० प्रतिशत बढिसकेको छ ।
जलविद्युत् क्षेत्रका ९५ प्रतिशत समस्या सिंहदरबारको चार पर्खालभित्र छ । यी निकायले घोषणा गरेका कुरा कार्यान्वयनमा आए अधिकांश समस्या समाधान हुन्छन् ।

१५ प्रतिशत आर्थिक प्रतिफल हुने गरी डिजाइन गरिएका आयोजना कसरी निर्माण हुन सक्छन् ? समय सापेक्ष ऊर्जाको मूल्य मूल्यांकन गरेर यसलाई सम्बोधन गर्नु आवश्यक छ । ‘टेक अर पे’ मै पीपीए भए पनि ती आयोजना आर्थिक रूपमा सबल नहुने सम्भावना देखिन्छ । यसकारण ऊर्जामा धेरै आकर्षण र लगाव छैन । 
निजी क्षेत्रले आयोजनाको लागत बढाएको आरोप पनि लाग्ने गर्छ, यसलाई घटाउन के गर्नुपर्ला ?
आरोपको पछि लाग्नु आवश्यक छैन । राज्यले बनाएका आयोजनामा प्रतिमेगावाट ३० करोडभन्दा बढी लगानी छ । विदेशी लगानीमा बनेका आयोजनाको अवस्था पनि यस्तै छ । निजी क्षेत्रबाट प्रतिमेगावाट २० करोड लागतको हाराहारीमा आयोजना बनेका छन् ।
अहिलेको महँगीलाई हिसाब गर्ने हो भने अब बन्ने आयोजना योभन्दा धेरै महँगो हुने अवस्था छ । आयोजनाको लागत घटाउन सरकारले ठूला आयोजनामा दिएको सुविधा सबैलाई दिनुपर्छ । स्वदेशी लगानी र उद्योगलाई पनि सुविधा दिनुपर्छ । यो भनेको भ्याट र ट्याक्समा दिने सहुलियतको कुरा हो । यस्तो सहुलियत ठूलालाई मात्र दिइएको छ । तर, हरेक स्वदेशी आयोजनालाई दिनु आवश्यक छ ।
अर्को कुरा भनेको समयमै र आवश्यक परेको कोरिडोरमा प्रशारण लाइन निर्माण गरिदिनुपर्छ । सडक निर्माणको काम पनि राज्यले गरिदिनुपर्छ । त्यस्तै वन, वातावरण र भूमिसम्बन्धी कामको स्वीकृति समयमै दिने व्यवस्था गर्नुपर्छ ।
ऊर्जा संकटकाल कार्ययोजनामा उल्लेख भए पनि कार्यान्वयनमा आएको छैन । राज्यले विद्युत् खरिद गरेर भुक्तानी गर्छु भनेको रकम समयमै पनि गरिदिनुपर्छ । सञ्चालनमा रहेका आयोजनाको भुक्तानी दुई वर्षदेखि हुन सकेको छैन । राज्यले दिन्छु भनेको प्रति मेगावाट ५० लाख दिएर उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ ।
सरकारले स्वदेशीभन्दा विदेशी लगानीका आयोजनालाई बढी प्राथमिकता दिएको बताइरहनुभएको छ, अहिले पनि यस्तो अवस्था छ र ?
सरकारले विदेशी लगानीका आयोजनालाई बढी प्राथमिकता दिएको यथार्थ हो । १६÷१७ वर्ष अघिनै हेर्ने हो भने सरकारले विदेशी लगानीका आयोजनासँग प्रति युनिट १४ रुपैयाँसम्म पीपीए भयो । तर, नेपाली लगानीकर्ताले चार रुपैयाँभन्दा कममा गरेका थिए । पछिल्ला वर्षहरूमा हेर्ने हो भने पनि अवस्था उस्तै छ । 
पछिल्लो समयमा सरकारले जलाशय र अर्ध जलाशयुक्त आयोजनाको पीपीए दर तोकेको छ, यसले निजी क्षेत्रलाई कत्तिको आकर्षित गर्न सक्छ ?
सरकारले जलाशय र अर्ध जलाशययुक्त आयोजनाको जुन पीपीए दर तोक्यो, त्यो पनि अर्को घोषणा मात्र हो । यसको कार्यान्वयनका लागि अहिलेको एक मात्र निकाय विद्युत् प्राधिकरण हो । विद्युत् प्राधिकरणको बोर्डबाट निर्णय नभएसम्म कार्यान्वयन हुँदैन ।
ऊर्जा मन्त्रालयले ल्याएको कुरा प्राधिकरणले कार्यान्वयन गर्दैन भन्नुभयो, तर मन्त्रालयकै सचिव प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ, किन समन्वय हुन नसकेको हो ?
हाम्रो देशको विडम्बना नै यही हो । एउटै मन्त्रालय वा प्राधिकरणभित्र रहेका विभिन्न निकायका व्यक्तिको मानसिकता फरक छ । उदाहरणका लागि विद्युत् प्राधिकरणको बोर्डमा ऊर्जा सचिव अध्यक्ष र अर्थ सचिव सदस्य हुन्छ । अर्थसचिवले निर्णय गरेको पोस्टपेड पीपीए दर र प्रतिमेगावाट ५० लाख दिने कुरा अर्थ मन्त्रालयको पनि दायित्व हो नि ।
यो अहिलेसम्म कार्यान्वयन नगर्नुको कारण के ? भन्ने र गर्ने कुरा अलग–अलग भएकाले पनि जलविद्युत् क्षेत्रमा समस्या आइरहेको छ । अर्को कुरा गत वर्ष ऊर्जा मन्त्रालयले १ खर्ब २० अर्ब रुपैयाँबराबरको बजेट बनायो, तर अर्थ मन्त्रालयले ६० अर्ब रुपैयाँ बराबरको मात्र दियो । यो भनेको मासिक रूपमा ५ अर्ब बजेट हो । तर, अर्थमन्त्रालयले ६ महिनामा जम्मा ५ अर्ब दिएको कुरा सार्वजनिक गरिरहेको छ । यो हेर्दा हास्यास्पद र अनौठो लाग्छ ।
हरेक वर्षको बजेटमा सरकारले जलविद्युत्लाई प्राथमिकता दिने घोषणा गरिरहेको छ । तर, व्यवहार किन उल्टो छ त ?
विगत ४ वर्षदेखि प्रसारणलाइनको मात्र हेर्ने हो भने १५ अर्बसम्म बजेट छुट्ट्याएको देखिन्छ । तर, खर्च भने २० प्रतिशत पनि भएको देखिँदैन । यसको मतलब राज्यले पनि घोषणाका लागि घोषणा गरिदिने, बजेटका लागि बजेट राखिदिने हो । कार्यान्वयन नगर्ने प्रवृत्ति देखिनुमा म ऊर्जा मन्त्रालयको मात्र दोष देख्दिन, अर्थमन्त्रालयले समयमै बजेट नदिनु प्रमुख कारण हो ।
यस्तै गतिमा जाने हो भने १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिएला त ? 
राज्यले वातावरण बनाइदिने हो भने धेरै आयोजना बन्न सक्छन् । अहिले पनि पीपीए गर्न बाटो खोलेका कारण २५ सय मेगावाट बराबरका आयोजनाको पीपीए भइसकेको छ । अब कार्यान्वयनमा आउन ‘टेक एन्ड पे’ त हटाइदिनुप¥यो ।
सरकारले त्यति काम गर्दैन भने आयोजना बन्दैनन् । अर्को कुरा अहिले जुन व्यवधान छन्, त्यसको अन्त्यका लागि सिंगल डेस्क नबनाए पनि आयोजना बन्दैनन् । यदि ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय र विद्युत प्राधिकरण एउटै सरकारको हो भन्ने सन्देश दिन सकियो भने धेरै काम अघि बढ्छन् । यो भएन भने फेरि अर्को १० वर्ष घोषणा मात्र रहन्छ ।
विद्युत् प्राधिकरणले कार्ययोजनामा उल्लेख सिलिङअनुसार आरओआर आयोजनाहरूको पीपीए भइसकेको जनाएको छ । के कार्ययोजनामै कमजोरी छ भन्न सकिन्छ ? 
कमजोरी थियो भन्न सकिँदैन । त्यो त्यतिबेला देखिएको कुरा दस्तावेज मात्र हो । जुन ३ हजार मेगावाट पीपीए भएको कुरा छ, त्यहाँ पनि ‘टेक एन्ड पे’ मा भएका छन् । यी किन रूपान्तरण भएनन्, यी तर्क गर्ने कुरा मात्र हुन् ।
अहिले पनि ३ हजार मेगावाट आरओआर पीपीए भएजस्तो लाग्दैन । विद्युत् प्राधिकरणका धेरै आयोजना पिकिङ आरओआर पनि छन् । यो जोडेर पुगेका हुन् । यसको आधारमा १ हजार÷१५ सय मेगावाट पीपीए गर्न सकिन्छ । 
अहिले मन्त्रालयले ‘नेपालको पानी र जनताको लगानी’ भन्ने नयाँ अभियान सुरु गरेको छ । यसलाई कसरी हेर्नुभएको छ ? 
नेपालमा जलविद्युत्मा लगानी भएन भनेर सुरु गरिएको भए त्यसको अर्थ छैन । तर, यस क्षेत्रमा धेरै जनतालाई सहभागी गराउनुपर्छ भन्ने कुरा सकारात्मक छ । लगानी त त्यसै जुटिरहेको छ । २५ सय मेगावाट त पीपीए नै भइसकेको छ । थप लगानी जुटाउनु भनेको अरू आयोजनाका लागि हो ।
जलविद्युत् आयोजनाको सेयरमा भीड लाग्न थालेको छ । यसले के संकेत दिन्छ ?
जलविद्युत्का क्षेत्रमा आकर्षण भएको होइन कि । आईपीओमा आफू धनी हुनका लागि आकर्षण भएको हो । अन्य उद्योगमा पनि खुलेको भए यस्तै हुन्थ्यो । सय रुपैयाँमा किनेर बढीमा बेच्न पाएकाले यस्तो भएको हो । अन्य उद्योगधन्दा प्रायः बन्द भएकाले लगानी गर्ने क्षेत्र जलविद्युत् मात्र रह्यो । यसकारण भीड भएको हो । 
सर्वसाधारणले शेयरमा लगानी गर्दा कस्तो असर पर्छ ? उनीहरूले मुनाफा पाउने अवस्था देख्नुहुन्छ ? 
यसले ठूलो असर पर्ने देखेको छु । कसरी आयोजनाको लागत घटाउने र छिटो आयोजना बनाउनेतिर ध्यान गएको छैन । राज्य लागेको छैन । अहिले पैसा मात्र जम्मा गर्ने र टेक एन्ड पेमा पीपीए गरिहरहने हो भने र भोलि प्राधिकरणले बिजुली नकिनिदिएमा सेयर हाल्नेहरूले प्रतिफल पाउने अवस्था छैन ।
जलविद्युत् क्षेत्रमा रहेका समस्या समाधानका लागि इप्पानले कस्तो पहल गरिरहेको छ ? 
नेपालमा भएका अन्य संघसंस्था र सरकारसँग सहकार्य गर्दै आएका छौं । पावर समिट पनि संयुक्त रूपमा ग¥यौं । प्रधानमन्त्री र ऊर्जामन्त्रीले गरेका घोषणा कार्यान्वयन गराउन दबाब दिनेतर्फ हामी लाग्छौं ।
जलविद्युत्को विकासमा राजनीति नै बढी बाधक देखिएको हो ?
राजनीति गर्नेहरूले पहल गरेको देखिन्छ । घोषणा पनि गर्नुभएको छ । कार्यान्वयन गर्न नसक्नु उहाँहरूको दोष हो । वन, ऊर्जा, अर्थ मन्त्रालय, प्राधिकरण र विभागले बेग्लाबेग्लै राज्य ठानेर एकआपसमा अविश्वास गरेकै कारण कार्यान्वयनमा आउन नसकेको हो ।
आयोजनाहरूमा स्थानीयको अवरोध र बढी मुआब्जा माग्ने समस्या देखिएको छ, यसलाई कसरी समाधान गर्नुपर्ला ?
स्थानीयको अवरोध भनेको सानो कुरा हो । जलविद्युत् क्षेत्रका ९५ प्रतिशत समस्या सिंहदरबारको चार पर्खालभित्र छ । यी निकायले घोषणा गरेका कुरा कार्यान्वयनमा आए अधिकांश समस्या समाधान हुन्छन् । मुआब्जाका लागि विडम्बनापूर्ण निर्णय भएका छन् । दीर्घकालीन रूपमा नेपालमा उत्पादन गर्ने आयोजनाका लागि ठूलो समस्या भएको छ । मूल्यांकनको विषय वैज्ञानिक भएन । यसलाई पुनर्विचार गर्नुपर्छ ।
तपाईंले कुन–कुन आयोजना अघि बढाइरहनुभएको छ ? 
सुपर न्यादी ४० मेगावाटको आयोजना पीपीएको चरणमा छ । ‘टेक एन्ड पे’ पीपीए विवादले अड्किएको छ । तीनवटा आयोजना निर्माण भइसकेका छन् भने केही आयोजना निर्माणाधीन छन् । 
धेरै समस्या देखाउँदा देखाउँदै पनि आयोजनाहरू त बनाइरहनुभएको रहेछ नि ? 
जलविद्युत्को विकासबिना अन्य विकास सम्भव छैन । उद्योग पनि चल्न सक्दैनन् । देशलाई समृद्ध बनाउन जलविद्युत् एक मात्र आधार भएकाले यसमा लागेको हो ।
जलविद्युत्मा वैदेशिक लगानी आउने सम्भावना कत्तिको देखिन्छ ?
नआउने सम्भावना देखेको छु । सिंगल डेस्क नबनाएसम्म सम्भव छैन । धेरै निकाय धाउने र डिल गर्नुपर्ने समस्याका कारण धेरै लगानीकर्ता बीचबाटै भागेका छन् । लगानी बोर्ड त छ, तर अवस्था उस्तै छ । दुईवटा बाहेकका आयोजनामा लगानी भिœयाउन सकेको छैन । सम्झौता गरे पनि लगानी आएको छैन ।
निजी क्षेत्रको भूमिका
विद्युत् ऐन, २०४९ आएसँगै नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुरु भएको हो । नेपालको जलविद्युत् इतिहास १ सय ५ वर्षको भए पनि निजी क्षेत्रले आयोजना बनाउन थालेको २५ वर्ष मात्र पुग्न लागेको छ ।
यस अवधिमा जलविद्युत् आयोजनाको अनुमतिपत्र लिने निजी क्षेत्रतर्फ हेर्ने हो भने १० हजार मेगावाटभन्दा बढी छ भने पीपीए र पीपीएको चरणमा रहेका हेर्ने हो भने ३ हजार मेगावाटको हाराहारीमा पुग्न लागिसकेको छ । हालसम्म निजी क्षेत्रले कुल जलविद्युत् उत्पादनको झन्डै ४५ प्रतिशत अर्थात् ३ सय मेगावाट बराबर पुगिसकेको छ । 
२५ वर्षभित्र यति धेरै जलविद्युत् उत्पादन गर्न सक्नुलाई सकारात्मक रूपमा लिनुपर्छ ।
तर जति उत्पादन गर्न सक्नुपथ्र्यो, त्यो भने गर्न नसकेको यथार्थता हो । निजी क्षेत्रले सयांै मेगावाट विद्युत् उत्पादन गर्न सक्ने अवस्था छ, त्यो सफल नहुनुमा निजी क्षेत्र मात्र दोषी छैनन् । यसमा सरकारी निकाय पनि दोषी छन् । निजी क्षेत्रलाई जलविद्युत्मा लगानी गर्नका लागि खुला गरे पनि सरकारी निकायका प्रक्रिया झन्झटिला छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले एउटा जलविद्युत् आयोजना अघि बढाउनका लागि ७ मन्त्रालय, २३ निकाय र ३६ वटा कानुनमा टेक्नुपर्ने र यी सबै प्रक्रिया पूरा गर्न वर्षौं लाग्ने अवस्था रहेको जनाएको छ । यो झन्झटिलो अवस्थाको अन्त्य नगरेसम्म जलविद्युत् विकास गर्न समस्या छ ।

अहिले पनि जलविद्युत् आयोजनाको लाइसेन्स लिने र त्यसलाई कसरी बेच्ने भन्ने ध्याउन्नमा जलविद्युत् क्षेत्रका कतिपय जलविद्युत् प्रवद्र्धक लागेका छन् । निजी क्षेत्रले बनाउने आयोजनाको लागत पनि बढ्दो छ । सर्वसाधारण जुन रूपमा सेयर जलविद्युत्मा हालेका छन्, त्यो लगानीलाई सही उपयोग गर्न सकेका छैनन् ।
निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूले आयोजना बनाएर होइन, बेचेर मुनाफा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । उनीहरू साँच्चिकै जलविद्युत् उत्पादनका लागि सक्रिय हुनुपर्छ । सरकारी निकायका केही झन्झटिला प्रक्रिया देखाएर जलविद्युत् उत्पादनमा निष्क्रिय हुने प्रवृत्ति अन्त्य हुनुपर्छ ।

स्वदेशी लगानी अभिवृद्धि
ऊर्जा मन्त्रालयमा गत भदौमा सरकारका विभिन्न वित्तीय निकायले मात्र तत्काल ८८ अर्ब ६० करोड तत्काल जलविद्युत् विकासका लागि खर्च गर्न सकिने तथ्यांक प्रस्तुत गरे । यो मात्र होइन, वर्षभरिमा ५४ अर्ब ६० करोड थप्न सकिने उनीहरूको प्रस्ताव थियो ।
नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, नेपाल टेलिकम, जलविद्युत् लगानी तथा विकास कम्पनी, नेपाली सेना कल्याणकारी कोष, नेपाल प्रहरी कल्याणकारी कोष, सशस्त्र प्रहरी कल्याण कोषका प्रतिनिधिले गरेको घोषणाले नेपालमा जलविद्युत् लगानीका लागि प्रशस्त रकम रहेको देखाउँछ, तर ठूला जलविद्युत् आयोजनामा अहिले पनि लगानीको समस्या देखिएको छ ।
यसलाई सरकारले आकर्षण गर्न सकेको छैन । अहिले पनि ठूला आयोजना बनाउनका विदेशीको मुख ताक्ने प्रवृत्तिको अन्त्य भइसकेको छैन । 
स्वदेशी लगानीमै जलविद्युत् उत्पादनको सम्भावना प्रशस्त भए पनि अझै जलविद्युत् क्षेत्रमा लगानीका लागि उचित वातावरण छैन । जलविद्युत्मैत्री नीति र प्रक्रिया तथा विश्वासको वातावरण बनाउन सरकार सक्रिय हुनुपर्छ ।
हालसम्म स्वदेशी लगानीमा थोरै क्षमताका आयोजना अघि बढाए पनि ठूला आयोजना बनाउन नसकेकाले सरकारले सेयरमा लगानी गर्नेलाई प्रतिफलको ग्यारेन्टी अनि जलविद्युत् प्रवद्र्धकहरूलाई विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने र झन्झटिला अवस्थाको अन्त्य गर्ने प्रणाली विकास गर्नुपर्छ । सरकारले विश्वासको वातावरण बनाएमा १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने लक्ष्य राखिएको छ ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पनि स्वदेशी लगानीमै निर्माणाधीन छ । चिलिमेलगायतका धेरै आयोजना स्वदेशी लगानीमै बनिसकेका छन् भने धेरै निर्माणको चरणमा छन् । अहिले पनि सरकारले विदेशी लगानीका ठूला आयोजनालाई आयोजना विकास सम्झौता (पीडीए) गरेर धेरै कुराको ग्यारेन्टी गरिरहेको छ
तर स्वदेशी लगानीका आयोजनामा प्राथमिकता नदिएको गुनासो लगानीकर्ताहरूले गरिरहेका छन् । सरकारले घोषणा, योजना र कार्यक्रममा होइन, व्यवहार र कार्यान्वयनमा स्वदेशी लगानीलाई प्राथमिकता दिनुपर्छ । 
http://www.karobardaily.com/news/71708