Tuesday, December 22, 2015

नक्कली कागजात बनाई मिर्गौला तस्करी

घरघरमै बन्छ नागरिकतादेखि नाता प्रमाणितसम्म

भीम गौतम /राजधानी
काठमाडौं, ६ पुस
काभ्रे होक्से गाविस–२ का ज्ञानबहादुर मिजारले आफ्नो एउटा मिर्गौला मकवानपुरको पालुङ निवासी सूर्यभक्त श्रेष्ठलाई बिक्री गरे । नेपालको कानुनमा नजिकका आफन्तलाई मात्र मिर्गौला बेच्न पाउने व्यवस्थाअनुसार उनले श्रेष्ठको नाममा नक्कली नागरिकतालगायतका सबै झूटा कागजात बनाएर भारत पुगी मिर्गौला बेचेका हुन् ।

होक्सेकै मोहन सापकोटामार्फत मिर्गौला तस्करी गर्ने भक्तपुर दुवाकोटका प्रेमबहादुर थापा मगरमार्फत पालुङका श्रेष्ठलाई मिर्गौला बेच्नका लागि उनले नक्कली कागजपत्र बनाउनुपरेको थियो । नेपालबाट सुनौलीसम्म जिप र गोरखपुरदेखि रेलमा भारतको चण्डीगढ पुगेर सिन्भर वक्र्स अस्पतालमा मिर्गौला बेचेबापत मिजारले ७० हजार रुपैयाँ पाएका थिए । आर्थिक प्रलोभनमा पारेर तस्करहरूले मिजारजस्ता धेरै सोझासीधा जनतालाई नक्कली कागजपत्र बनाएर मिर्गौला तस्करी गर्ने गरेको पाइएको छ । नेपालमा मिर्गौला तस्करीबारे गरिएको एक अनुसन्धानले यो तथ्यांक बाहिर ल्याएको हो ।
नागरिकता, नाता प्रमाणित, ट्राभल डकुमेन्टलगायत सबै कागजात नक्कली बनाई मिर्गौला बेचबिखन हुने गरेको तथ्य अनुसन्धान प्रतिवेदनले खुलाएको छ । ‘गैरकानुनी रूपमा नक्कली कागजपत्र तयार गरेर मिर्गौला बेचबिखन गर्ने गरेको पाइयो,’ अनुसन्धानमा संलग्न संस्था जनअधिकार संरक्षण मञ्च (पीपीआर) नेपालका अध्यक्ष राजेन्द्र घिमिरेले राजधानीसँग भने,
‘आफन्तबाहेक अन्यलाई मिर्गौला दान दिन नमिल्ने भए पनि ५ देखि ९ लाखसम्म कबुलेर सम्बन्धित पीडितलाई १० हजारदेखि ८ लाख ४० हजारसम्म दिएको पाइयो ।’दलाल, बिरामी र समुदायका केही मानिसले भारतको चेन्नई, चण्डीगढ, नयाँ दिल्लीलगायतका सहरमा पुगेर मिर्गौला बेचबिखन हुने गरेको अनुसन्धानमा  उल्लेख छ ।
‘बैंक अफ किड्नी’ को रूपमा परिचित काभ्रेको होक्सेसहित ६० घर भगवती, अनेकोट, देवभूमि बालुवा, काभ्रे, पाँचखाल, फूलबारी, ज्याम्दी र जैसीथोक गाविसमा गरिएको अनुसन्धानमा हालसम्म १ सय ७८ जनाले आर्थिक प्रलोभनमा परी मिर्गौला बेचबिखन गरिसकेका छन ।
‘२ सय ६ स्थानीयसहित ३६ मिर्गौला पीडितहरूसँग गरेको कुराकानीको आधारमा १ सय ७८ जनाले गैरकानुनी रूपमा मिर्गौला बेचबिखन गरेको पाइयो,’ पीपीआर नेपालका अध्यक्ष घिमिरेले भने, ‘धेरैले मिर्गौला बेचेको बारे लुकाउने रहेछन्, तैपनि नेपालमा मिर्गौला बेचबिखनबारेको यो पहिलो तथ्यसहितको अनुसन्धान हो ।’ गरिबी÷आर्थिक अभाव, शिक्षा तथा ज्ञानको अभाव, मद्यपान तथा लागूऔषध दुव्र्यसन, समुन्नत जीवनको चाहनाका साथै घरजग्गा दिने वचन, स्वस्थ जीवनका लागि एउटा मिर्गौला पर्याप्त हुने, मिर्गौला फेरि पलाउनेजस्ता प्रलोभनमा पारी ललाईफकाई मिर्गौला बेचबिखन हुने गरेको अनुसन्धानमा उल्लेख छ । अनुसन्धान प्रतिवेदनअनुसार मिर्गौला बेचबिखन जाति वा समुदायभन्दा गरिबीबाट बढी प्रभावित रहेको तथा पीडितहरूको शैक्षिक तथा आम्दानीको स्तर न्यूनताका कारण घरायसी खर्च चलाउन मिर्गौला बेचबिखन हुने देखिएको छ । मिर्गौला बेचबिखनपछि भने काम गर्न र हिँडडुल गर्न समस्या हुने, टाउको दुख्ने, रुघाखोकी लागिरहने, खान मन नलाग्ने, निद्रा नलाग्ने तथा पीडितहरू दैनिक रूपमा खेतबारीमा काम गर्न नसक्ने, भारी बोक्न तथा गह्रौं काम गर्न असमर्थ हुनाले आर्थिक स्तरमा कमी हुँदै जाने, पीडितहरू एक्लो र दुःखी तथा समाजबाट अपहेलित हुने, समाजले पीडित तथा पीडितको परिवारलाई मिर्गौला बेचुवा वा मिर्गौला बेचुवाको सन्तान भन्दै दुव्र्यवहार सहनुपर्ने अवस्था आएको अनुसन्धानमा उल्लेख छ ।
आर्थिक अवस्था सुधार हुने आशाले मिर्गौला बेच्नेहरूले फर्केपछि दुखाइका कारण मद्यपान अत्यधिक गर्ने गरेको पनि अनुसन्धानको क्रममा पाइएको छ । कानुनतः नेपालमा आफन्तलाई मिर्गौला दान दिन पाए पनि बेच्न पाइँदैन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ४(१) ग ले प्रचलित कानुनबमोजिमबाहेक मानव अंग झिक्ने कार्यलाई मानव बेचबिखनको अपराधको रूपमा व्यवस्था गरेको छ । नजिकको नातेदार भन्नाले सो व्यक्तिको छोरा, छोरी, आमा, बाबु, दाजु, भाइ, दिदी, बहिनी, काका, भतिजा, भतिजी, बाबुतर्पmको बाजे, बज्यै, छोरातर्पmको नाति, नातिनी, छोरीतर्पmको नाति, नातिनी र विगत दुई वर्षदेखि अटुट रूपमा नाता सम्बन्ध कायम रही आएको पति, पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी, आमा, सौतेनी बाबु र सासू, ससुरालाई मात्र मिर्गौला दान दिन पाइने उल्लेख छ । 
http://rajdhani.com.np/article/0271361001450741719

No comments: