Saturday, December 26, 2015

फेरि बढ्यो लोडसेडिङ

राजधानी समाचारदाता /काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले फेरि लोडसेडिङको समय वृद्धि गरेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार सातामा ७० घण्टा विद्युत्भार कटौती हुँदै आएकोमा अब सातामा ७७ घण्टा कटौती हुनेछ । यसअघि दैनिक १० घण्टा रहेको लोडसेडिङको समय पुनः बढाएर अब दैनिक ११ घण्टा पु¥याइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिले नदीमा जलप्रवाह घटेकाले जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनसमेत घटेकाले लोडसेडिङको समय थप गरिएको हो ।

मुलुकभित्र चालु रहेका आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको समयमा नदीमा पानीको प्रवाह कम भएको छ । ७ सय ८० मेगावाट क्षमतामध्ये हाल प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ३ सय मेगावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको छ । यसैगरी, भारतबाट दैनिक २ सय ३५ मेगावाट विद्युत् आयात हुँदै आएको छ । भारतको अघोषित नाकाबन्दीपछि दैनिक विद्युत्को माग बढेर हाल १ हजार ३ सय मेगावाटभन्दा बढी पुगेको छ ।
खाना पकाउने साँझबिहानको समयमा विद्युत्को माग अझ बढी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले विद्युत् उत्पादन कम भएका कारण विद्युत्भार कटौतीको समय वृद्धि भएको बताए । प्राधिकरणले एक साताअघि मात्रै विद्युत् कटौतीको समय बढाएर दैनिक १० घण्टा पु¥याएको थियो । प्राधिकरणले सञ्चालनमा रहेका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने र चुहावट भएका क्षेत्रमा चुहावट नियन्त्रण गर्ने कामलाई अभियानात्मक रूपमा सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन । विद्युत् चुहावट बढी हुने क्षेत्रमा भने थप विद्युत् कटौती हुने भएकाले चुहावट नियन्त्रण गर्न सम्बद्ध पक्षसँग सहयोगको अपिलसमेत गरेको छ ।
निकट भविष्यमै ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट थप ९० मेगावाट विद्युत् आयात हुने भएकाले विद्युत्भार केही घट्न सक्ने प्राधिकरणले जनाएको छ । सरकारले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने जनाए पनि प्राधिकरणले दैनिक ११ घण्टा कटौती गर्न थालेपछि चिसो मौसममा उपभोक्ता थप मारमा परेका छन् ।
इन्धनको अभावमा खाना पकाउने समयमा झन् समस्या थपिने देखिन्छ । हालको तालिकामा पनि बिहान तथा बेलुकाको समयमा विद्युत् मिलाएर काट्ने व्यवस्था गरिएको भार पे्रषण केन्द्रले जनाएको छ । तर, राजधानीलगायत सहरी क्षेत्रमा भने विद्युत्को अत्यधिक माग हुँदा ट्रान्सफर्मर जल्ने, कन्डक्टरमा समस्या आउने गरेको छ । नाकाबन्दीपछि मात्रै ५ सय ३० ओटाभन्दा बढी ट्रान्सफर्मर जलेका छन् । जलेका ट्रान्सफर्मर मर्मत गर्न जनशक्तिको अभावमा दैनिक दुईओटा मात्रै मर्मत हुने गरेको प्राधिकरणले जानकारी दिएको छ ।
http://rajdhani.com.np/article/0014730001451104057

No comments: