Saturday, December 26, 2015

बिजुली वितरण प्रणाली ध्वस्त हुने खतरा

भीम गौतम /काठमाडौंं
क्षमताभन्दा बढी विद्युत्को चाप (ओभरलोड) का कारण नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली नै ध्वस्त हुने अवस्थामा पुगेको छ । खाना पकाउन, मट्टीतेल अभावका कारण बिजुलीको माग अत्यधिक बढेपछि ओभरलोड हुँदा विद्युत् प्राधिकरणको वितरण प्रणाली नै ध्वस्त हुने अवस्थामा पुगेको हो ।

प्राधिकरणले ३ सय ५० मेगावाटको हाराहारीमा थेग्ने गरी मात्र फिडरको व्यवस्था गरे पनि अहिले ४ सय १५ मेगावाट नाघेको छ । प्रणालीभन्दा बढी विद्युत्को लोड पुगेपछि र सरकारले लोड कम गर्न वैकल्पिक व्यवस्था गर्न नसकेपछि यस्तो अवस्था आएको हो । ‘केही फिडर पुरै ट्रिप हुन थालेका छन्, यसले वितरण प्रणालीनै ध्वस्त हुने हो कि भन्ने खतरा बढेको छ, विकल्प नदिने र लोड यसैगरी बढ्दै जाने हो भने गम्भीर समस्या आउँछ,’ विद्युत् प्राधिकरणका ग्राहक तथा वितरण निर्देशनालयका एक अधिकारीले राजधानीसँग भने, ‘साँखु, सामाखुसी, स्वयम्भूलगायतका केही फिडर पुरै ट्रिप भएका छन्, फिडर नै ट्रिप हुनु भनेको ठुलो र खतरनाक संकेत हो ।’
ओभरलोड भएर क्षमता बढाइराखेका ट्रान्सफर्मरहरूसमेत क्षमता धान्न नसकेर जल्न थालेपछि प्राधिकरणको ग्राहक तथा वितरण निर्देशनालयका अधिकारीहरू थप तनावमा पर्न थालेका छन् । उनीहरू बिजुली नै नपाएर इन्डक्सन चुलोलगायतका बढी लोड लिने उपकरणहरू उपभोक्तााहरूले कम प्रयोग गर्न थाले मात्र वितरण प्रणाली ध्वस्त हुनबाट जोगिने भन्दै तत्कालीन समस्या समाधानमा केन्द्रित बनेका छन् । गत १२ वैशाखमा गएको भूकम्पका कारण काठमाडांै उपत्यकाको वितरण प्रणाली ध्वस्त भएकोमा आठ घन्टाभित्र त्यसलाई सिंहदरबार, एयरपोर्टलगायतका मुख्य ठाउँमा पुनःस्थापना गर्न सफल भएको थियो । तर, अहिले विद्युत् प्राधिकरण व्यवस्थापन के गर्ने÷नगर्ने भन्ने
अन्योलमा छ ।
अहिलेको अवस्था अन्त्यका लागि ट्रान्सफर्मर र फिडरहरूको क्षमता दोब्बर बनाउनुपर्छ । तर, ऊर्जा मन्त्रालय र प्राधिकरण व्यवस्थापनले यसतर्फ ठोस कार्ययोजना बनाएर अघि बढाउनेतर्फ ध्यान दिएकै छैन । ‘ऊर्जा मन्त्रालय–नेपाल विद्युत् प्राधिकरण द्वन्द्वले न प्राधिकरण व्यवस्थापन न ऊर्जा मन्त्रालयले वितरण प्रणाली सुधार्न कुनै योजना अघि बढाएको छ, खालि चिन्ता मात्र प्रकट गरिरहेको देखिन्छ,’ प्राधिकरण ती अधिकारीले भने । प्राधिकरणको काठमाडौंं उपत्यकाभित्र रत्नपार्क, बानेश्वर, कुलेश्वर, महाराजगन्ज, कीर्तिपुर, जोरपाटी, लगनखेल, पुल्चोक, भक्तपुर र ठिमीमा वितरण केन्द्रहरू छन् । अधिकांश क्षेत्रमा विद्युत्को लोड वृद्धि भएको छ ।
वितरण तथा ग्राहक निर्देशनालयका अनुसार ओभरलोडले मंसिरदेखि यता काठमाडौंं उपत्यकाभित्र मात्र १ सय ५८ ओटा ट्रान्सफर्मर जलेका छन् भने ८ सय ५० भन्दा बढी क्षेत्रमा तार केबल जलेका छन् । ओभरलोडका कारण २ सय ८० भन्दा बढी एमसीबी जलेको पनि प्राधिकरणले जनाएको छ । ओभरलोडकै क्रममा ४ हजार फ्युज जल्नुका साथै ६ हजार २ सय ४० पटक एमसीबी अन अफ भएको प्राधिकरणले जनाएको छ । ओभरलोड हुनेबित्तिकै एमसीबी जल्दा त्यसबाट ट्रान्सफर्मर जोगिने भए पनि अत्यधिक भएकाले ट्रान्सफर्मरसमेत जलेको प्राधिकरण काठमाडांै क्षेत्रीय कार्यालय प्रमुख प्रकाशचन्द्र श्रेष्ठ बताउँछन् ।
‘सामान्य अवस्थामा काठमाडौं उपत्यकाको माग ३ सय १५ मेगावाटको हाराहारीमा छ । तर, अहिले खाना पकाउन इन्डक्सन चुल्होलगायतको प्रयोग अत्यधिक बढेकाले ४ सय १५ मेगावाट पुगेको छ,’ उनले भने, ‘सरदर विद्युत्को माग सामान्य अवस्थाभन्दा ३३ प्रतिशतले बढेको छ, यो चापले ट्रान्सफर्मर, एमसीबी, फिडरलगायत जल्नेक्रम अत्यधिक बढेको छ ।’ उनी बत्ती आउनेबित्तिकै एकै पटक सबैले खाना पकाउने, पानी तान्ने, इन्र्भटर चार्ज गर्नेलगायतका अधिकांश काम गर्न विद्युत् प्रयोग गर्न थालेका कारण अत्यधिक विद्युत् लोड बढेको बताउँछन् ।
यसरी एक्कासि विद्युत् खपत बढी ओभरलोड हुने कम अनुमान तथा ट्रान्सफर्मरहरूलाई तन्दुरुस्त राख्न नसक्दाका कारण धेरै ट्रान्सफर्मर जलेको प्राधिकरणका अधिकारी बताउँछन् । ओभरलोडका कारण बत्ती नआएपछि प्राधिकरणप्रति आक्रोश ह्वात्तै बढेको छ ।
एक महिनामा सबै वितरण केन्द्रबाट मात्र १५ हजारभन्दा बढी गुनासो आइसकेको र त्यसको सम्बोधनको प्रयास गरिएको श्रेष्ठले जानकारी दिए । ‘दैनिक ५ सयभन्दा बढी गुनासा आउँछन्, वितरण केन्द्रहरूले गुनासो टिप्न नभ्याउने अवस्था सिर्जना भइसक्यो,’ उनले भने । काठमाडौं उपत्यकाभित्र दैनिक सरदर चार ट्रान्सफर्मर जले पनि प्राधिकरणको लैनचौरस्थित वर्कसपले सरदर तिन ओटा मात्र मर्मत गर्न सकेको छ । बिहीबार उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले लैनचौर पुगेर वर्कशपको निरीक्षण गरेका थिए । उनले सो अवसरमा वितरण प्रणाली सुव्यवस्थित बनाउन निर्देशनसमेत दिए । तर, काठमाडौं उपत्यकाबाहिरबाट समेत जलेर आउने भएका कारण एकैपटक धेरै मर्मत गर्न नसक्दा काठमाडौं उपत्यकावासी धेरै दिनदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता छ ।
पछिल्लो समयमा काठमाडौंको विद्युत् वितरण प्रणाली यस्तो कमजोर बन्दै गएको छ कि २४ घन्टामा एक पटक बिजुली आयोभन्दा भाग्यमानी सम्झनुपर्ने भएको छ । प्राधिकरण स्रोतका अनुसार एक हप्तादेखि निरन्तर बिजुली नपाउने ग्राहकहरू बढ्दै छन् । ट्रान्सफर्मरहरू मात्र जल्दा तुरुन्तै पत्ता लाग्ने भए पनि फिडर नै जल्न थालेपछि पत्ता लगाउन गाह्रो हुने गरेकाले यी क्षेत्रमा विद्युत् पुनःस्थापना गर्न झन् कठिन छ । दुई÷तीन दिनसम्म बिजुली नआएपछि प्राधिकरणको वितरण केन्द्रहरूमै डेलिगेसन आउने क्रम बढेको छ । ‘डेलिगेसनसँगै आउनेले किन बिजुली नदिएको भनेर कुटपिट गर्नसमेत खोज्ने अवस्था आएपछि वितरण केन्द्रका प्रमुखहरू कार्यालय कम बस्न थालेका छन्, सबैको भागभाग हुन थालेको छ,’ एक वितरण केन्द्रका प्रमुखले भने । बिजुली दिन नसकेर गुनासो थेग्न नसकिरहेका बेला बत्ती गएको क्षेत्रमा तुरुन्तै बनाउन राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूदेखि सांसद, राजनीतिक दलका नेताको समेत सोर्सफोर्स आउन थालेको छ ।
‘सोर्सफोर्स त जताततैबाट आउँछ, थेगिनसक्नु छ तर सोर्सफोर्सले वितरण प्रणाली सुध्रने अवस्था छैन,’ प्राधिकरणका अर्का अधिकारी भन्छन् । प्राधिकरण काठमाडौंका प्रमुख श्रेष्ठ हाल भइरहेको लोडसेडिङ तालिका सात समूहलाई छुट्टाछुट्टै समयदेखि सुरु गर्ने व्यवस्था, उपभोक्तालाई व्यवस्थित रूपमा बिजुली प्रयोगका लागि जनचेतना तथा सरकारले ग्याँस दिन नसके पनि विकल्पका रूपमा मट्टीतेललगायत दिएर लोडमा कमी ल्याउन सके वितरण प्रणालीमा देखिएको समस्या समाधान हुन सक्ने बताउँछन् । विद्युत् प्राधिकरणले हाल दैनिक १० घन्टा लोडसेडिङ गरिरहेको छ भने ग्याँस अभावले लोडसेडिङ तालिकाअनुसार खाना पकाएर उपत्यकावासीको दैनिक गाँस चलेको छ ।
कोण सभा गर्दै प्राधिकरण
ग्याँसको अभावमा खाना पकाउन बिजुलीको प्रयोग गर्दा ओभरलोड भई वितरणमा गम्भीर समस्या आएपछि उपभोक्तालाई सचेत पार्न विद्युत् प्राधिकरणले कोण सभा गर्ने भएको छ । बिजुली आउनेबित्तिकै एकै पटक सबैले खाना पकाउने, पानी तान्ने, इन्भर्टर चार्ज गर्नेलगायतका अधिकांश काम गर्न विद्युत् प्रयोग गर्दा अत्यधिक लोड बढेर समस्या आएपछि बिजुलीको उपयोग गर्ने तरिकाबारे जानकारी दिन प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालय अन्तर्गतको काठमाडौं क्षेत्रीय कार्यालयले कोण सभा गर्न लागेको हो । अत्यधिक गुनासो आएपछि बानेश्वर वितरण केन्द्रले भने ट्रान्सफर्मरनजिक यतिभन्दा बढी लोड भएमा धान्दैन भनेर सार्वजनिक रूपमा जानकारी दिन थालिसकेको छ ।
प्राधिकरणले लाइन आउनु केही मिनेट अघि इन्भर्टर बन्द गरेर एक घन्टापछि मात्र सञ्चालन गर्न आग्रह गर्दै बन्द नगरेमा एक किलोवाट खेर जाने जनाएको छ । त्यसैगरी, लाइन आउनुअघि नै हिटर, वाटर पम्प, राइस कुकरजस्ता उपकरणहरू स्विच अन गर्न, साँझ परेपछि चिसो मौसमयमा फ्रिज बन्द गर्न, बढी बिजुली खपत गर्ने सामान पालैपालो चलाउन, हटकेसको प्रयोग गरेर आवश्यक समयमा तातो खानाको व्यवस्थापन गर्नसमेत उपभोक्ताहरूलाई आग्रह गरेको छ ।
http://rajdhani.com.np/article/0245059001451089281

No comments: