Tuesday, December 1, 2015

रगतभन्दा महँगो भो पानी

पानी थाप्नै दुई घन्टा पैदलयात्रा / पाँच गाविसका सय मुहान सुके  / पुनर्निर्माण प्राधिकरण नबन्दा गाउँमा असर / स्थानीय भन्छन्, अझै आएन राज्य

भीम गौतम /राजधानी
कोसीपारि (काभ्रे), १४ मंसिर
काभ्रेको विकट क्षेत्र कात्तिके देउराली–७ की आशिका सुन्दास हरेक बिहान ३ नबज्दै उठ्छिन् । छोराछोरी उठाउँछिन् । अन्धकारमै एक घन्टा टाढा दुरीमा रहेको छिमेकी गाविस माँदनकुँडारीस्थित सार्वजनिक धारोमा दुई छोराछोरीलाई समेत गाग्री बोकाएर पुग्छिन् ।

गाउँको पँधेरोमा भूकम्पपछि पानी आउन छाडेपछि ६ महिनायता आशिकाको मात्र होइन कात्तिके देउरालीका हरेक गृहिणीको बिहान यसरी नै बित्छ । ‘भूकम्पले सत्यनाश पा¥यो, घरनजिकैको मुहान सुक्यो, एक गाग्री पानी लिन चार÷पाँच घन्टाभन्दा बढी लाग्छ,’ भूकम्पका कारण पानीको मुहान सुकेपछि पाएको दुःख सुनाउँदै आशिका भन्छिन्, ‘पानी भर्न पनि घन्टौं लाग्छ, छोराछोरीलाई कहिले पकाएर खुवाएर स्कुल पठाउनु, खानेपानीको मूल्य हिसाब गर्ने हो भने रगतभन्दा महँगो भइसक्यो ।’
यस्तै पीडा छ, कोसीपारिकै गोठपानी गाविस–५ की ७० वर्षीया टसी लामाको । कोसीपारि यातायात आवातजावत गर्दा पानी खाने ठाउँको रूपमा चर्चित गाउँको ठुलो पँधेरोका मुहान भूकम्पपछि सुकेका कारण उनलाई झन्डै तिन घन्टा लगाएर जुकेपानी पुग्नुपर्ने बाध्यता छ । ‘७० वर्षको भएँ, यसरी खानेपानी सुकेको थाहा थिएन तर भूकम्पले त बिचल्ली बनायो,’ उनले भनिन्, ‘पाएको पानी पनि धमिलो छ, कहिल्यै नसुक्ने पानी सुक्यो, पुरै गाउँको बिचल्ली भयो ।’
वर्षौंदेखि उपयोग गर्दै आएका पानीका मुहान र पँधेरा सुकेपछि यहाँका बासिन्दा अचम्ममा परेका छन् । ‘यसरी पानी सुक्ला भनेर कल्पना पनि गरिएको थिएन तर सुक्यो,’ कात्तिके देउराली–२ का ७० वर्षीया वृद्धा कृष्णप्रसाद ढकालले भने, ‘अहिले नै दुई÷तिन घन्टा पानी लिन जानुपर्छ र पाइएको छ तर अब त खानेपानीका लागि सहरमा जस्तै ट्यांकर ल्याउनुपर्ने पो भयो, कहाँबाट ल्याउनु ।’
कात्तिके देउराली र गोठपानीसँगै कोसीपारिका पोखरीचौरी, धुसेनी शिवालय र माँदनकुँडारी गाविसका साना–ठुला गरी १ सय पँधेरा र मुहान सुकेपछि यी पाँच गाविसमा खानेपानीको हाहाकार भएको छ । ‘भूकम्पले पाँच गाविसका झन्डै १ सय मुहान र पँधेरा सुके, यसले गाउँभरि खानेपानीको हाहाकार छ,’ पोखरीचौरी लघु जलविद्युत् सहकारी संस्थाका सदस्य टुकप्रसाद गौतमले भने,
‘तल चौरीखोला र सुनकोसीको पानी हेरेर घन्टौं लगाएर एक गाग्री पानी ल्याउनुपर्ने पीडामा भूकम्पले पु¥याइदिएको छ ।’ उनका अनुसार पाँच गाविसका २ हजार घरधुरी खानेपानीको चरम संकट बेहोरिरहेका छन् ।
भूकम्पपछि मुहान सुक्दा खानेपानीसँगै यस क्षेत्रका बासिन्दाको आर्थिक र सामाजिक क्षेत्रमा समेत असर देखिन थालेको छ । खानेपानीका लागि जानुपर्ने कारण विद्यालयमा अनुपस्थित र ढिला आउने क्रम बढ्न थालेको छ भने आय–आर्जनको रूपमा रहेको गाई–भैंसी बेच्ने क्रम सुरु भएको छ । गाउँमा हुने तरकारी खेती पानीको अभावमा प्रभावित हुन थालेको छ ।
‘भूकम्पले यस क्षेत्रका अधिकांश मुहान सुकेपछि विद्यालयको अनुपस्थित दर बढ्दो छ, बालबालिका पानी लिन गएको भन्दै ११÷१२ बजेसम्म विद्यालय आउन थालेका छन्,’ कात्तिके देउरालीको प्रभा बहुमुखी क्याम्पसका प्रमुख राजीव लामाले भने, ‘यहाँका अधिकांश बासिन्दाले गाई–भैंसी बेच्न थालेका छन् भने बारीसमेत बाँझिने क्रम बढेको छ ।’ उनका अनुसार पानीकै अभावमा गाउँबाट विस्थापित हुने क्रम सुरु भएको छ भने आय–आर्जनको बाटो कमजोर बन्दै गएपछि बिदेसिन चाहने बढेका छन् । ‘खानेपानीको अभावले समाजमा चरम निराशा बढेको छ, सहरमा नाकाबन्दीले हाहाकार बनाइरहेका बेला गाउँमा भूकम्पपछि पानीको मुहान सुक्दा झन् चरम हाहाकार मच्चिएको छ,’ प्रमुख लामाले भने, ‘भूकम्पपछिको पुनर्निर्माणले खानेपानी आउने आशा देखाइएको छ, अझसम्म राज्य आएको छैन, चौरीखोलाबाट लिफ्ट गरेर पानी ल्याउने योजना छ तर कहिले पूरा हुने हो, टुंगो छैन ।’
सिंहदरबारमा पुनर्निर्माण प्राधिकरण गठन हुनकै लागि राजनीतिक खिचातानी भइरहेका बेला गाउँका बासिन्दा भने त्यो प्राधिकरण बनेर खानेपानीको हाहाकार अन्त्य हुने आशामा छन् तर वास्तविकतामा पुनर्निर्माण ऐनसमेत पारित हुन सकेको छैन । तर, काभ्रे क्षेत्र नम्बर–१ का सभासद् तीर्थ लामा पुनर्निर्माण प्राधिकरण ऐन छिट्टै पारित हुने र यसपछि कोसीपारि क्षेत्रमा लिफ्टमार्फत खानेपानी ल्याउन सहज हुने बताउँछन् । ‘चरम समस्या रहेका गाविसहरूमा चौरी वा सुनकोसी खोलामध्ये कुनबाट प्राविधिक रूपमा योग्य हुन्छ, त्यहाँबाट लिफ्ट गरेर एकीकृत खानेपानी योजना ल्याउने पक्षमा छौं,’ उनले भने । केही दिनअघि पुगेका सभासद् लामालाई स्थानीय महिलाहरूले खानेपानी अभावले सबैभन्दा चरम समस्या आफूहरूले भोगेको भन्दै छिटो खानेपानी ल्याउन दबाबसमेत दिएका थिए ।
http://rajdhani.com.np/article/0530465001448931169

No comments: