Thursday, December 31, 2015

२० बर्र्से प्रसारण लाइन गुरुयोजना तयार

भीम गौतम /राजधानी
काठमाडौं, १५ पुस
तत्कालीन आवश्यकताका आधारमा जथाभावी रूपमा प्रसारण लाइन बनाइरहेको नेपाल विद्युत् प्राधिकरणले बल्ल आगामी २० वर्षलाई लक्ष्य गरी प्रसारण लाइनको गुरुयोजना बनाएको छ ।

आन्तरिक खपत तथा विद्युत् बिक्रीलाई लक्ष्य गरी देशभरिलाई समेटेर विद्युत् प्राधिकरणले विश्व बैंकको सहयोगमा प्रसारण लाइनको गुरुयोजना बनाएको हो । प्रसारण लाइनको अभावमा उत्पादित बिजुली खेर गइरहेको र जलविद्युत् प्रवद्र्धकहरूसमेत अन्योलमा परिरहेको बेला गुरुयोजनामा स्पष्ट मार्गचित्रसहितको योजना उल्लेख छ ।
परामर्शदाता फ्रान्सको ईडीएफ इलेक्ट्रिक डेले बनाएको प्रसारण लाइनको गुरुयोजनामा पहिचान भएका सबै आयोजनालाई प्राथमिकतामा राखिएको छ । यसअघि नर कन्सल्ट्यान्टको सहयोगमा सन् १९९४ र २००४ मा गुरुयोजना बनाइएको भए पनि त्यो तत्कालीन अवस्थालाई केन्द्रित गरेर बनाइएको थियो ।
नेपालमा जलविद्युत् क्षेत्रको विकास हुन सुरु भएको १ सय ४ वर्र्षपछि बल्ल प्रसारण लाइनको गुरुयोजना बनेको हो । जलविद्युत् वितरण र उत्पादनको गुरुयोजना भने अझै छैन ।
‘आगामी २० वर्ष अर्थात् अंग्रेजी वर्षलाई आधार मानी आर्थिक वर्ष २०३५÷३६ लाई लक्ष्य गरी स्पष्ट मार्गचित्रसहितको प्रसारण लाइन गुरुयोजना बनाएका छौं,’ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘ऊर्जा मन्त्रालयबाट स्वीकृत गराएपछि अब यही गुरुयोजनाअनुसार प्रसारण लाइनको निर्माण कार्य अघि बढ्छ ।’ हालसम्म गुरुयोजना नभएकाले तत्कालीन आवश्यकताका आधारमा मात्र प्रसारण लाइन बन्दै आएका थिए ।
आगामी २० वर्षभित्र २२ हजार मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखी त्यसकै आधारमा आन्तरिक खपत तथा छिमेकी राष्ट्र भारतमा बिजुली बेच्ने गरी गुरुयोजना बनाइएको छ । २० वर्षपछि नेपालको विद्युत्को माग ५ हजार ५ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । ‘देशभर निर्माणाधीन र निर्माण हुन सक्ने सबै जलविद्युत् आयोजनालाई लक्ष्य गरी आगामी २० वर्र्षभित्र २२ हजार मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपणका आधारमा देशभर प्रसारण लाइनको राजमार्ग बनाउने उद्देश्यसहित गुरुयोजना तयार भएको छ,’ गुरुयोजनामा संलग्न विद्युत् प्राधिकरणका निर्देशक प्रमुख गोपालबाबु भट्टराईले भने, ‘यस अवधिमा थप ८ हजार किलोमिटर थप प्रसारण लाइन बन्ने गुरुयोजनामा उल्लेख छ ।’
८ हजार किलोमिटर प्रसारण लाइन निर्माणका लागि ५ अर्ब डलर अर्थात् झन्डै ५ खर्ब लाग्ने गुरुयोजनामा उल्लेख छ । हाल करिब २ हजार ६ सय किलोमिटर मात्र प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
गुरुयोजनामा वेसिनवाइज प्रसारण लाइन निर्माणलाई जोड दिइएको छ । जलविद्युत् आयोजनाहरू बढी निर्माण हुने पहाड र खपत बढी हुने तराई सँगसँगै गुरुयोजनाले निर्यात हुने सम्भावनालाई लक्ष्य गरी कुन कोरिडोरमा कति क्षमताको कस्ता प्रसारण लाइन बनाउने भन्ने स्पष्ट पारिएको छ ।
गुरुयोजनाले एउटा क्षेत्रमा एकभन्दा बढी प्रसारण लाइन बनाउन नसक्ने अवस्था रहेकाले देशभरि प्रसारण लाइनको राजमार्गको नेटवर्क पु¥याउन विशेष गरी ६ वेसिन पहिचान गरी २२० केभी र ४०० केभी र सोभन्दा बढी क्षमताका प्रसारण लाइन निर्माणमा जोड दिइएको छ । प्रस्तावित वेसिनहरूमा आन्तरिक खपतका लागि कर्णाली–महाकाली, राप्ती–भेरी (भेरीदेखि उत्तर गंगा), कालीगण्डकी– मस्र्याङ्दी, त्रिशुली–बुढीगण्डकी–बलेफी, तामाकोसी–सोलु तथा कोसी–मेची वेसिन छन् ।
यसैगरी, विद्युत् बेच्न निर्यात गर्ने गरी ६ अन्तरदेशीय प्रसारण (क्रसर बोर्डर) लाइन बनाउनुपर्ने पनि गुरुयोजनामा उल्लेख छ । गुरुयोजनाअनुसार बुटबल–गोरखपुर, ढल्केबर–मुजफपुर, इनरुवा–पुर्णिया, कोहलपुर–लखनउ, अत्तरिया–बरेली तथा अत्तरिया–लम्की प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन हुन् ।
प्राधिकरण अधिकारीहरूका अनुसार जलविद्युत् आयोजनाहरूको बढी सम्भावना भएको क्षेत्रमा ४ सय केभीका प्रसारण लाइन बनाए पनि त्यसका लागि आवश्यक बिजुली नभएसम्मका लागि १३२ केभी र २२० केभीमै चार्ज गर्ने गरी ठुला प्रसारण लाइन बनाउन लागिएको छ ।
विद्युत् विकास विभागद्वारा जारी जलविद्युत् अनुमति पत्र (लाइसेन्स) का आधारमा जलविद्युत् उत्पादन र प्रसारण लाइन निर्माणको प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ । गुरुयोजनाले कार्यान्वयन पक्षलाई जोड दिँदै समयमै प्रसारण लाइन निर्माण नभएकोबारे अध्ययन गरेर आवश्यक सुधार गर्न प्राधिकरणलाई निर्देशन दिनुका साथै प्रसारण लाइन निर्माणको स्पष्ट संरचनाबारे निर्णय गर्न पनि सुझाव दिएको छ । गुरुयोजनाले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिताबारे पनि स्पष्ट हुन सुझाव दिएको छ ।
प्राधिकरणका अनुसार हाल १३२ केभीएका २१ सय ३० किलोमिटर, ६६ केभीको ५ सय १२ किलोमिटर, १३२ केभीएको १३७६ एमबीए र ६६ केभीएको ४६४ एमबीएको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ भने ४०० केभीएको ५ सय ७० किलोमिटर, २२० केभीएका ४ सय ४६ किलोमिटर र १३२ केभीएको ७ सय ९३ किलोमिटर प्रसारण लाइन निर्माणाधीन अवस्थामा छन् ।
प्रसारण लाइन क्षेत्रमा विभिन्न माग राखी स्थानीयवासीहरूले अवरोध गरेपछि अधिकांश प्रसारण लाइन निर्माणमा अवरोध देखिएको छ भने समयमा बन्न सकेका छैनन् ।
http://rajdhani.com.np/article/0021496001451523476

No comments: