लगानी
बोर्डले तिन वर्षभित्र हावाबाट ३ हजार मेगावाट उत्पादन गर्ने बिजुली
निकाल्ने प्रस्तावलाई अघि बढाउन लागेको छ । पहिलो चरणमा छिट्टै ३ सय
मेगावाट हावाबाट बिजुली निकाल्नेसहित एक निजी कम्पनीको प्रस्तावलाई बोर्डले
स्वीकृति गरेको छ । झट्ट सुन्दा १८ घन्टासम्मको लोडसेडिङको मारमा परेका
सबैलाई यो प्रस्ताव अति राम्रो लाग्छ । प्राविधिक रूपमा यो असम्भव पनि छैन
तर नेपालको भौगोलिक अवस्था, काम गर्ने तौरतरिका र कार्यान्वयनमा देखिएका
चुनौतीहरूको चाङका कारणले यो हावादारी गफसिबाय केही हुन सक्दैन । १ सय ४
वर्षको जलविद्युत् इतिहासमा जम्मा ७ सय ५० मेगावाटको हाराहारीमा मात्र
बिजुली उत्पादन भएको छ । के जलविद्युत्उत्पादनका लागि विगतका सरकारहरूले
प्रयास नै गरेनन् त ? यो प्रश्नको उत्तर खोज्दै जाने हो भने जलविद्युत्
उत्पादन योजनाहरूको चाङ नै भेटिन्छ । पाँच वर्षमा ५ हजार मेगावाट, १०
वर्षमा १० हजार मेगावाट, दस वर्षमा १५ हजार मेगावाट, २० वर्षमा २५ हजार
मेगावाटलगायतका योजनाहरूको चाङ नै छन् । ऊर्जा मन्त्रालय र जल तथा ऊर्जा
आयोगमा । तर, उपलब्धि नगण्य छ । विगत १० वर्षको जलविद्युत् उत्पादनको
अवस्था हेर्ने हो भने पनि २ सय ३ मेगावाटभन्दा कम छ ।
छेपारोको
कथाझंै जब जब हिउँद लाग्न थाल्छ, लोडसेडिङ बढ्छ अनि लोडसेडिङ हटाउनका लागि
सबै जागेको जस्तो गरिन्छ । फेरि वर्षा सुरु हुन्छ, लोडसेडिङ घट्दै जान्छ
अनि बिजुली उत्पादनका कुरा कमजोर बन्दै जान्छन् । एक दशकदेखि नेपालमा
दोहोरिइरहने नियति हो, यो । हालै सोलारमार्फत २ सय मेगावाट बिजुली उत्पादन
गर्ने सार्वजनिक भयो । २५ मेगावाटको सोलार तिन वर्ष बित्दा निर्माण सुरु
हुन नसकेको तीतो यथार्थ छ । फेरि हावाबाट बिजुली उत्पादनको कुरा आएको छ ।
विद्युत् प्राधिकरणकै प्रक्षेपण हेर्ने हो भने नेपालमा तीन वर्षभित्र २
हजार मेगावाट पनि विद्युत् माग पुग्दैन तर हावाबाट मात्र ३ हजार मेगावाट
उत्पादन गर्ने योजना छ । यदि, उत्पादन भइहाल्यो भने त तिन वर्षभित्र कुनै
जलविद्युत् उत्पादन नभए पनि हाम्रो क्षमता ३७ सय मेगावाटभन्दा बढी हुन्छ ।
अहिलेको अवस्थामा योभन्दा सुखद् समाचार के हुन सक्ला ?
सुन्दा
त राम्रो लाग्छ तर हावाबाट विद्युत् उत्पादन जहाँ पायो, त्यहीँ हुँदैन ।
डाँडाकाँडामा मात्र हावाबाट विद्युत् उत्पादन सम्भव छ र त्यसको सम्भाव्यता
अध्ययनदेखि विस्तृत अध्ययन आवश्यक छ । विस्तृत अध्ययनबाट सम्भाव्यता
देखिएमा त्यो क्षेत्रबाट ग्रिडसम्मको प्रसारण लाइन निर्माण गर्नुपर्ने
हुन्छ । ३ हजार मेगावाट बिजुली पु¥याउनका लागि ठुल्ठुला टर्बाइनविना असम्भव
छ । टर्बाइन ल्याउनका लागि हाम्रो सडकको क्षमताले देला ? असम्भव नभए पनि
कठिन छ । यस्तो अवस्थामा नेपालमा तत्काल तिन वर्षभित्र यति धेरै विद्युत्
उत्पादन गर्न असम्भवजस्तै छ । बरु लगानी बोर्ड र सरकार यतातिर रुमलिनुभन्दा
दैनिक १३ हजार लिटर इन्धन नपाएर २३ जलविद्युत् आयोजना भौंतारिरहेका छन् ।
निर्माणको लगभग अन्तिम चरणमा रहेका ती आयोजना पूरा भए २ सय मेगावाटबराबर
उत्पादन चालू वर्षभित्रै सम्भव छ । यतातिर सरकारले ध्यान दिने ? खाली
लोकप्रिय र कर्णप्रिय योजनाभन्दा कार्यान्वयनयोग्य आयोजना छनोटमा
सरोकारवाला सबैको ध्यान जानु आवश्यक छ ।
http://rajdhani.com.np/article/0343297001450752341
No comments:
Post a Comment