Wednesday, December 2, 2015

ओभरलोडले जले एक महिनामै १० करोडका ट्रान्सफर्मर

भीम गौतम /राजधानी
काठमाडौं, १५ मंसिर
क्षमताभन्दा बढी विद्युत्को चाप (ओभरलोड) को कारण एक महिनामै मुलुकभर १ सय ८० ट्रान्सफर्मर जलेका छन् । भारतीय नाकाबन्दीको कारण ग्याँसको अभाव भएपछि सर्वसाधारणले विद्युतीय चुलोको प्रयोग बढेपछि र यसको कारण ओभरलोड भएपछि एक महिनामै यति धेरै संख्यामा ट्रान्सफर्मर जलेका हुन् । ट्रान्सफर्मर ओभरलोडको कारण जल्न थालेपछि उपभोक्तालाई समेत नेपाल विद्युत् प्राधिकरणले सहज र नियमित रूपमा बिजुली सेवा दिन सकेको छैन ।
‘पछिल्लो समयमा बढेको विद्युत् चापको कारण झन्डै १० करोड बराबरका १ सय ८० ट्रान्सफर्मर तथा अन्य तार जलेको प्रारम्भिक तथ्यांक आएको छ’, विद्युत प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘सामान्यभन्दा ३५ प्रतिशत बढी लोड पुगेको छ, २० प्रतिशतसम्म थेग्न सक्ने भएपनि त्योभन्दा धेरै बढेको छ ।’
उनका अनुसार, हिटिङ लोड बढेपछि यसले वितरणमा समेत प्राविधिक समस्या देखाउन थालेको छ । प्राधिकरणका अनुसार १ सय ८० ट्रान्सफर्मरसँगै करिब १ हजार ८ सय केबल÷कन्डक्टर, ४ हजार ट्रान्सफर्मर फ्युज, ३ सय ५० एमसीबीलगायत समेत जलेका छन् । काठमाडौंमा मात्र एक महिनामै २३ ट्रान्सफर्मर जलेका छन् । विशेष गरेर बेलुका ६ देखि ८ बजेसम्म खाना पकाउने समयमा ओभरलोड भई ट्रान्सफर्मर र तार जल्ने गरेको छ ।
भारतले गरेको अघोषित नाकाबन्दीको कारणले ग्याँस नपाएपछि खाना पकाउनका लागि पछिल्लो समयमा सर्वसाधारणले हिटर, इन्डक्सनका माटोका विद्युतीय चुलो प्रयोग गर्न थालेका छन् । यसकारण ओभरलोड भएर ट्रान्सफर्मर जलेपछि सम्बन्धित क्षेत्रका उपभाक्ता अन्धकारमा बस्नुपर्ने बाध्यता छ ।
http://rajdhani.com.np/article/0309914001449020370

No comments: