एनआरएन युथ सम्मेलन
भीम गौतम\राजधानी
काठमाडौं, १ कार्तिक
‘म प्रत्येक दिनजस्तो पशुपति मन्दिरमा जाँदा मागिरहेका महिलाहरु देख्थे, एक दिन उनीहरुसँग कुरा गरे, उनीहरुको पीडा सुने ।’– सीएनन हिरो एवं माइती नेपालका संस्थापक अनुराधा कोइरालाले भनिन्–‘सौतेनी, घरबाट सासु, ससुराले निकालेको र श्रीमान विदेशमा रहेको पीडाबाट माग्न बसेको यथार्थता थाहा पाएपछि ८ जनालाई नाङ्लो पसल थापिदिएँ, उनीहरुको १० बच्चा पढाउन सुरु गरे ।’
गैरआवासीय नेपालीहरुको संस्था (एनआरएन) को ग्लोबल सम्मेलन २०१३ को पुर्व सन्ध्यामा एनआरएन युवा समूहको आयोजनामा शुक्रबार ‘नेपाली युवा, नयाँ नेपालको गर्व’ विषयक सम्मेलनमा युवामाझ उनले २६ बर्षअघिको संघर्ष सुनाइन–‘पछि त पीडित महिलाका बालबच्चा ८० जना पुगे, सामान्य शिक्षक मसँग उनीहरुलाई पठाउन पैसा थिएन, आफन्तजनलाई गुहारे, कसैबाट सहयोग पाइन, धेरै संघर्ष गरेर पैसा जुटाउनुपरेको थियो ।’
२६ बर्षअघि पाएको दुःख र संघर्ष र हण्डर एनआरएनका युवामाझ सुनाउँदा भावुक बनेकी अनुराधाले सफलताको पोको पनि खोलिन–‘निरन्तर संघर्ष गरेपछि सफलता पाइने रहेछ, अहिलेसम्म ६ सय ८६ जना बेचविखन गर्ने दलालहरुलाई जेलमा हाल्यौ, हजारौ बेचिएका महिलाको उद्धार गर्यौ, ७ जना महिलाबाट सुरु भएको माइती नेपालमा मात्र काठमाडौ र २९ जिल्लामा गरेर ७ हजार भन्दा बढी महिला छन् ।’ उनका अनुसार, नेपालका २६ वटा नाकाहरु बेचिएका धेरै चेलीहरु बेचविखन रोक्नका लागि दिनरात खटिरहेका छन् । नेपालमा युवामाझ मानव वेचविखनको समस्या ठूलो चुनौतीको रुपमा रहेको उल्लेख गर्दै लैंगिक विभेद, शिक्षामा भेदभाव, रोजगारको खोजी, खुल्ला सीमा, सम्पत्ति लगायतको कारणले बेचविखन बढेको उनको तर्क छ । भारत, तान्जेनिया लगायतमा देशभित्र मात्र होइन, नेपालमै क्याबिन र डान्स रेष्टुरेन्ट, मसाजभित्र नेपाली युवाको बेचविखन भएको भन्दै उनले गाविससचिव, प्रमुख जिल्ला अधिकारीदेखि एयरपोर्ट र सीमाका भन्सारससम्म रहेको बेचविखनको जालोलाई अन्त्य गर्न युवावर्ग जुमाउर्नुपर्ने बताइन् ।
नेपालमै बसेर गरेको संघर्ष र सफलताको कथा सुन्दै गरेका युवामाझ अनुराधाको मात्र होइन, तेक्वान्दोका स्वर्ण पदक विजेता दीपक विष्टको जीवन कहानी पनि कम्ती मर्मस्पर्शी थिएन । ‘गाउँमा खेलकुदको नाममा मोझाको बल खेलेको मेरो लागि साफ गेममा स्वर्णपदक जित्नुसम्मको संघर्ष कम्ती संघर्षपूर्ण छैन ।’–उनले सुनाए–‘डडेल्धुराको गाउँमा कहिल्यै बिजुली र मोटर नदेखेको अनि गोरु चराउँदा आकाशमा हवाईजहाजलाई चरा ठान्ने मैले महेन्द्रनगर झरेसँगै काठमाडौ आएर खेलकुदमा सफलता पाउँदा धेरै संघर्ष गर्नुपर्यो ।’ नेपालमै प्रशस्त अवसर भएकोले नेपालमै बसेर सफलता पाउन सकिने सुझाव दिँदै उनले भने–‘आफ्नो क्षेत्रमा रहेको विकृति, विसंगति अन्त्य गरी सफलताका लागि संघर्ष गर्नु उपयुक्र्त छ, गोरु चराएदेखि साफको स्वर्णसम्म चुम्दाको अनुभवले मलाई त्यही भन्छ ।’
निरन्तर असफलतासँगै सफलता पाएको सुनाउने चलचित्र लुटका निर्देशक निश्चल बस्नेतदेखि विदेशबाट फर्केर नेपाल समाचारपत्रका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध सम्पादक बनेका दिरेकलाल श्रेष्ठ र माउण्टेन बाईकिङ लगायत पर्यटकीय क्षेत्रलाई प्रचारप्रसारमा सक्रिय फोटोग्राफर गौरवमान शेरचनसम्ममा संघर्ष र सफलताका अनुभवहरु कार्यक्रमका सहभागी युवाहरुले उत्सुकता साथ सुनेका थिए । ‘नेपालमै प्रशस्त अवसर र सम्भावनाहरु छन्, निरन्तर संघर्ष गरे सफलता पाईन्छ, नेपालको संस्कृति र सुन्दरतालाई विश्वमाझ चिनाउनका लागि विदेश र स्वदेशका बस्ने जोसुकै युवाको भुमिका पनि महत्वपूर्ण हुन्छ ।’–उनीहरुले उस्तै अनुभव सुनाए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले गैरआवासीय नेपालीमध्ये ७० प्रतिशत भन्दा युवा रहेको उल्लेख गर्दै नेपाल विश्वमै उत्पादनका लागि क्षमतावान मुलक भएकोले विदेशमा रहेका युवाका लागि नेपाल फर्केर नयाँ अवसरहरु सिर्जना गरी मुलुकमै रमाउनुको विकल्प नभएको बताए । ‘युवाभित्र रहेको फष्टेसनलाई अवरको रुपमा रुपान्तरण गरेर देशको विकासका लागि सक्रिय हुनुपर्छ ।’–उनले भने । एनआरएनका पुर्व अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत रुपमा धनी भन्दा पनि युवावर्ग देशलाई समृद्ध बनाउनका लागि कस्सिनुपर्ने बताए । एनआरएन युवा समूहका संयोजक धुव्र सुवेदीले विदेशमा रहेका युवाले नेपालको विकासका लागि विभिन्न परियोजनामार्फत सहयोग गर्ने प्रतिवद्धता जनाए । एनआरएनका उपसंयोजक आशिष शेरचनले नयाँ नेपालका लागि युवा सुपर पावर भएको उल्लेख गर्दै नयाँ अवसर सिर्जनाका लागि नेपालमै संघर्ष गर्दा सफलता पाउन सकिने बताए । ‘नेपालमा सफलता प्राप्त गर्न ठूलो संघर्ष गर्नुपर्छ तर सफलता पाइन्छ, युवाहरुले नेपालमा भएका अवसरहरुलाई सही सदुपयोग गर्न सक्नुपर्छ ।’–उनले भने ।
टिच फर नेपालकी कल्पना पौडेलले नेपालको सफलताका लागि सबै बालबालिकालाई शिक्षा प्रदान गर्नका लागि व्यक्तिगत र सामुहिक रुपमा सबै युवा सक्रिय हुनुपर्ने बताए । युवा संस्थाका संस्थापक दीपेन्द्र केसीले युवाको क्षमता र दक्षता अभिवृद्धिसँगै उनीहरुलाई देश विकासमा लगाउनुपर्ने बताए ।
No comments:
Post a Comment