Saturday, October 5, 2013

चेपाङको दुःख भगाउन नया घर

भीम गौतम:
 २०६७ साल जेठमा चितवन जिल्लाको कान्दामा जंगली विषालु च्याउका कारण एकै परिवारका आठजना चेपाङको मृत्यु भएको खबर सार्वजनिक भयो । खान नपाएर जंगलमा पुगी ल्याएको च्याउ खाएर मृत्यु भएको त्यो दर्दनाक कथाले काठमाडौंको गौशालामा बस्ने विष्णु गौतमलाई छोयो । खुसी र सुखी परिवारका गौतमको जिन्दगीको मोड आफ्ना दुई छोरा दुर्घटनामा गुमाएपछि मोडियो ।
पर्यटन व्यवसायी जेठो छोरो कुमारको ०६५ साल मंसिरमा काठमाडौंमा मोटरसाइकल दुर्घटनामा तथा माहिलो छोरा बलरामको ०६६ असोजमा अमेरिकामा कार दुर्घटनामा ज्यान गुमाएपछिको पीडालाई मलम लगाउन गौतमले समाजसेवाको बाटो रोजे र तिनै दुई छोराको स्मृतिमा समाजसेवा गर्नका लागि तीन वर्षअघि लक्ष्मी प्रतिष्ठान बनाए । काठमाडौंका खाल्डो वरिपरि तथा सुविधासम्पन्न ठाउँमा सन्तुष्टिपूर्ण जीवन गुजाइरहेका उनको मोडिएको जिन्दगीले कहिल्यै कल्पना नगरिएको कान्दासम्म पु¥याइदियो ।
कान्दाका पीडालाई कम गराउने उपायको खोजीमा लागे, गौतम । खानसमेत नपाउने कान्दाका चेपाङका लागि ५ सय १५ बोट स्याउ र सिमीको बीउ तत्कालीन राहत बाँड्ने निष्कर्षमा प्रतिष्ठान पुग्यो । चितवनकै मितेरी फाउन्डेसनको सहयोगमा राहत बाँड्नका लागि टोली पुग्यो, कान्दा । चितवनकै भरतपुरबाट तीन घन्टा बसबाट र त्यहाँबाट ७ घन्टा हिँडेर कान्दा पुगेपछि चेपाङहरूको पीडादायी अवस्था देखे उनीहरूले । चेपाङहरूको अवस्था यस्तो थियो कि न उनीहरू राम्रो बास छ न त राम्रो गाँस नै पाएका छन् । न राम्रा लुगा लाउन पाएका छन् न सुत्ने ओढ्ने÷ओछ्याउने नै न त बालबालिकाले राम्ररी पढ्न पाएका छन् । अनि नांगा खुट्टा र आङ ढाक्ने लुगाको अभावले चरचरी फुटेका हात, खुट्टा । त्यो झुपडी घर र झुत्रा लुगाभित्रको उनीहरूको कारुणिक अवस्थाले गौतमको मन पग्लियो ।
‘मैले सोचेको भन्दा धेरै कारुणिक र दुःखदायी अवस्थामा कान्दा रहेछ,’ प्रतिष्ठानका अध्यक्षसमेत रहेका गौतमले भने, ‘चेपाङहरूको त्यो पीडादायी अवस्थाले आफ्ना दुई छोराको निधनको चोटको बेलाभन्दा बढी रोएँ, छोराहरू बित्दा मैले मेरो श्रीमती लक्ष्मीलाई सान्त्वना दिन बरु रोएको थिइन ।’ उनका अनुसार पहिलो पटक जाँदा स्थानीय स्कुलमा १२ वर्षीया बालिका खान नपाएर भोकले चौरमै ढलेको दृश्यले सबैभन्दा उनलाई भावुक बनायो । बालबालिकाका अधिकारका नाममा पाँचतारे होटलमा सेमिनार गर्दै प्राडो र पजेरो चडेर हिँडेको र आफू कति पटक सहभागी भएका गौतम भन्छन्, ‘त्यो बालिका ढलेको दृश्यले मेरो हृदय यति निमोठियो कि दुई छोरा गुमाउँदा नझरेको आँसु चेपाङ बस्तीको पीडा देखेपछि झ¥यो ।’ भोकै हुने बालबालिका चेपाङ बस्तीको कान्देश्वरी निमाविमा बाँडिने सातु खानका लागि मात्र विद्यालय आउने रहेछन् । ढल्ने बालिका तिनैमध्येकी एक थिइन् । जो आउँदाआउँदै भोकले ढलेकी थिइन् ।
आधा घन्टाको फरकमा हुने चेपाङहरूको घर–घरमा पुगेर उनीहरूका अनगिन्ती पीडाका तस्बिरहरू कैद गरेपछि प्रतिष्ठानको तर्फबाट गौतमले प्रण गरे, ‘कान्दाका चेपाङको दुःख भगाउन केही गर्नै पर्छ ।’ काठमाडौं फर्केलगत्तै चेपाङहरूको आङ ढाक्नका लागि लुगाको प्रबन्ध गरे अनि रोटरी क्लब चितवन र मितेर फाउन्डेसनसँग कान्दा पुगेर फेरि प्रतिष्ठानले कपडा वितरण ग¥यो । त्यसपछि प्रतिष्ठान आफैं पुगेर चेपाङ बालबालिकालाई विद्यालयका ड्रेसदेखि गाउँलेलाई कम्बलसम्म दियो । स्वास्थ्य शिविर पनि ग¥यो । राहत बाँडेर मात्र कान्दाको चेपाङको जीवनस्तर उकासिँदैन । राहत सिद्धिएपछि फेरि उही खानका लागि जंगल धाउनुपर्ने अवस्था आइहाल्ने अवस्था देखिएपछि प्रतिष्ठानले उनीहरूको दुःख दूर गराउन नयाँ महŒवाकांक्षी योजना ल्यायो, चेपाङका लागि पहिला बस्ने बाँस बनाइदिने अनि उनीहरूका लागि दिगो रूपमा आय–आर्जनका लागि सहयोग गर्ने । 
तीन महिनासम्म मकै तथा बाँकी समयमा जंगलबाट गिट्ठा भ्याकुर ल्याएर खान विवश उनीहरूका लागि महŒवपूर्ण गाँस त हुने नै भयो । कतै छाना चुहिएर त कतै गाह्रो भत्किएर जीर्ण घरमा जोखिम मोलेर बसिरहेका उनीहरूको बाँसको समस्या पनि कम्ती कारुणिक छैन । अहिले पनि कान्दाका चेपाङ गाँस र बास दुवैले भोका छन् । १ हजार महिलाका लागि ड्राइभिङ तालिम, स्वास्थ्य उपचारका लागि सहयोग, सिलाइ–बुनाइ, वाइरिङलगायतका आय–आर्जनमूलक तालिम, विद्यालय र बालबालिकालाई सहयोग, ट्राफिक जनचेतनालगायतका कार्यमा सहयोग गर्दै आएको प्रतिष्ठानका लागि चेपाङहरूलाई नयाँ घर बनाउने योजना तारिफयोग्य भए पनि पूरा गर्नु कम्ती चुनौतीपूर्ण छैन ।
आफूले गरेको सहयोगबाट सहयोग पाएकाहरूको अनुहारमा देखिने खुसीहरूमा आफ्ना दुई छोराको खुसी साट्ने अठोटका साथ अघि बढेका गौतमले हिम्मत भने हारेनन् । फेसबुकमार्फत सहयोग उठाएर र आफ्नो ५० लाखबराबरको व्यक्तिगत सम्पत्ति गरी १ करोडभन्दा बढी रकम समाजसेवामा खर्च गरिसकेका उनले नयाँ घरका लागिसमेत फेसबुक र ट्विटरमा अभियान सुरु गरे । कान्दाका चेपाङका पीडाका दृश्यहरूलाई उनले फेसबुक र ट्विटरमा उतारे । जसले प्रतिष्ठानलाई चेपाङलाई नयाँ घर बनाउनका लागि हौसल्ला दियो । ४३ ओटा नयाँ घर बनाउनका लागि सहयोगको आश्वासन त प्रतिष्ठानले पाइ नै सकेको छ । पहिलाजस्तासहितको घरका लागि ३५ र ३५ हजार र खरको छाना भएका घरका लागि १५ र १५ हजार रुपैयाँ खर्च गरेर दुई थरी घर कान्दामा बनाउने योजना बनाए ।
जीर्ण घरमा कठिनाइका साथ बस्दै आएका चितवनको लोथर–९ र ओराक–९ का ६४ घरधुरीका चेपाङ समुदायमा आगामी दुई वर्षभित्र नयाँ घर बनाउने लक्ष्य उनीहरूले राखे । प्रतिष्ठानलाई लाग्यो, कच्ची घर बनाएर के गर्नु फेरि अर्को पटक बनाइदिनुपर्छ । त्यसपछि ३६ हजार १ सय खर्च गरेर ६९ घर बनाउने लक्ष्य छ । कान्दा जाँदा बाटोमा पर्ने ५ झुपडी घर नबनाइदिँदा उनीहरूमाथि पनि न्याय हुने भन्दै लोथरका थप पाँच चेपाङका घर बनाइदिने उनीहरूको योजना थपियो । ‘आगामी दसैं सकिएलगत्तै कान्दाको कोजरवाङ गाउँमा २० ओटा घर निर्माण सुरु गर्छौ, दुई वर्षभित्र सबै घर बनाउने आयोजना छ,’ गौतमले सुनाए, ‘फेसबुकमार्फत चेपाङको घर बनाउनका लागि ४३ स्वदेशी तथा विदेशी दाताले एउटा÷एउटा घर बनाउनका लागि प्रतिबद्धता जनाएकोमा २० जनाले त पैसा नै दिइसकेका छन् ।
होल्यान्डमा बस्ने इटाली मूलका नागरिक लियो जियानोटी त हालै प्रतिष्ठानले गरेको ९८ जोर स्कुल ड्रेस र जुत्ता तथा १ सय ४० थान कम्बल वितरणको अवसर पारेर कान्दा पुगेर फर्की सहयोग गर्ने आश्वासनसमेत दिएका छन् । आगामी फागुन महिनाभित्रै ती २० नयाँ घर भने पूरा गर्ने लक्ष्य प्रतिष्ठानको छ । प्रतिष्ठानले १० जना चेपाङलाई सिकर्मी र १० जनालाई डकर्मीको तालिम दिन लागेको छ । घर बनाउन सुरु गरेसँगै तालिम पनि उनीहरूलाई सँगसँगै दिने योजना प्रतिष्ठानको छ । पछि तिनै चेपाङले आफ्ना नयाँ घरहरू बनाउँदै जानेछन् । नयाँ घरमा शौचालयसहित दुई कोठा चेपाङका लागि र एक कोठा कान्दा आउने पर्यटक तथा अतिथिका लागि हुनेछ । विदेशी तथा स्वदेशी पर्यटकहरूलाई कान्दा पु¥याएर इको टुरिज्म क्षेत्रको रूपमा विकास गर्ने सपना पनि प्रतिष्ठानले बोकेको छ ।
सुन्दर तर त्यो विकट क्षेत्रको रमणीयताबाट पर्यटकहरूको आकर्षक हुने अपेक्षा गरिएको छ । एउटा कोठा भने पर्यटकहरू राखेर थप आम्दानी गर्ने योजना प्रतिष्ठानले बनाएको छ । प्रतिष्ठानले प्रत्येक चेपाङलाई चार बाख्रा, दुई पोथी कुखुरा, दुई घार मौरी, चामल, आलुको बीउलगायतका साथै विद्यार्थीका लागि छात्राबास बनाइदिने योजना पनि बनाएको छ । यहाँबाट उत्पादन हुने मह युरोप पठाउने सपना पनि प्रतिष्ठानले बुनेको छ । कान्देश्वरी निमाविमा बाल शिक्षा सुरु गरिसकेको प्रतिष्ठानले नयाँ घर, सीप र आय–आर्जन कार्यक्रम, शिक्षाका लागि गरेर कान्दामा ८८ लाख रुपैयाँको योजना बनाइएको अध्यक्ष गौतम बताउँछन् ।
गरिबी निवारणका लागि करोडौं खर्चने सरकार कान्दाका गरिबसम्म नपुगिरहेको बेला जम्मा ८८ लाखमा गाँस, बासदेखि शिक्षा दिएर कान्दाको मुहार फेरिदिने प्रतिष्ठानको योजना महŒवाकांक्षी छ तर निरन्तर लाग्दा सम्भव हुने रहेछ भनेर देखाउनका लागि प्रतिष्ठानले आफ्नो अभियानलाई निरन्तरता दिइरहेको छ । लक्ष्मी प्रतिष्ठान वा विष्णु गौतमको फेसबुकका वालहरू यही अभियानलाई सफल बनाउनका लागि रंगिएका छन् । उनले धेरैको मन पनि जितेका छन् र सहयोग पाउने क्रम पनि जारी छ ।

No comments: