राजधानी समाचारदाता, काठमाडौं, १५ असोज जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि दिगो ऊर्जाको प्रवद्र्धन गर्ने उद्देश्यले मंगलबारदेखि चारदिने अन्तर्राष्ट्रिय अभियान सुरु गरिएको छ । जर्मनको फ्रेन्सबर्ग विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको संस्था ऊर्जा व्यवस्थापनका लागि फेन्सबर्ग विश्वविद्यालय आल्मुनियम एसोसिएसनको आयोजनामा चारदिने अभियान सुरु भएको हो ।
एसियाली विकास बैंक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र फेन्सबर्ग विश्वविद्यालयको सहयोगमा आयोजित अभियानमा नेपाललगायत १५ राष्ट्रका २२ जनाको सहभागिता रहेको एसोसिएसनका अध्यक्ष डा.नारायण चौलागाईंले जानकारी दिए । नेपालसहित भारत, बंगलादेश, फिलिपिन्स, चीन, इन्डोनेसिया, भियतनाम, मेक्सिको, अर्जेन्टिना, थाइल्यान्ड, युगान्डालगायतका देशका नवीकरणीय उर्जाका विशेषज्ञ तथा सरोकारवालाहरूको अभियानमा सहभागिता रहने उनले बताए ।
अभियानअन्तर्गत दिगो ऊर्जा, नवीकरणीय ऊर्जा प्रवद्र्धनात्मकबारे सेमिनार, नवीकरणीय ऊर्जाले ग्रामीण क्षेत्रमा पारेको प्रभावको अनुगमन तथा विभिन्न देशका अनुभवहरूको आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । अभियानको मंगलबार उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रवीन्द्रकुमार शाक्यले दिगो ऊर्जाको विकासबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुग्ने बताए ।
उनले ऊर्जा संकट समाधानका लागि सामूहिक पहल र प्रयास खाँचो रहेकोमा जोड दिए । जर्मन राजदूत फ्रान्क मेकेले जर्मनीले नेपालको जलविद्युत्, नवीकरणीय ऊर्जा, खानेपानीलगायतका क्षेत्रमा सहयोग पु¥याएको भन्दै नेपालको विकासमा सहयोग गर्न जर्मनी तयार रहेको बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.गोविन्दराज पोखरेल, फेन्सबर्ग विश्वविद्यालयका वुल्फ वोई, डा.ब्रन्ड मोलरलगायतले सन् २०३० भित्र सबैलाई ऊर्जा पु¥याउने विश्वव्यापी अभियानलाई सफल बनाउनका लागि सामूहिक योजना र कार्यक्रमको खाँचो रहेकोमा जोड दिए ।
अभियानअन्तर्गत मंगलबार विज्ञहरूले दिगो ऊर्जा प्रवद्र्धनका नीति, नियम, प्रवद्र्धनका लागि भएको प्रयास, नेपालको ऊर्जा नीतिलगायतबारे कार्यपत्र प्रस्तुत गरेका थिए । अभियानअन्तर्गत बुधबार काभ्रेको मंगलटार र काठमाडौं विश्वविद्यालयभित्र भएका ऊर्जा विकासका प्रयासको अवलोकन गरिने बताइएको छ ।
बिहीबार र शुक्रबार नगरकोटमा सहभागी मुलुकहरूको जलवायु परिवर्तन न्यूनीकरणका लागि र दिगो ऊर्जा विकासका लागि भएका नीति, योजना तथा कार्यक्रमका साथै अभ्यास र अनुभवहरू आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment