Tuesday, October 29, 2013

काठमाडौं–४ मा त्रिपक्षीय प्रतिस्पर्धा

अग्निपरीक्षामा गगन, निर्मल र पासाङ
भीम गौतम\राजधानी
काठमाडौं, १२ कात्तिक
 देशकै मुख्य आकर्षण बनेको काठमाडौं–४ मा तीन युवाबीचको त्रिपक्षीय प्रतिस्पर्धासँगै चुनावी रौनक बढेको छ । प्रमुख दलहरू एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले नै निकै चर्चित युवालाई उम्मेदवार बनाएको र उनीहरू आफू जित्नका लागि गरेको भरमग्दुर प्रयत्नसँगै यस क्षेत्रको चुनावी रौनक बढेको हो ।
पूर्वलडाकू प्रमुख एवं एमाओवादी केन्द्रीय सदस्य नन्दकिशोर पुन (पासाङ), कांग्रेस केन्द्रीय सदस्य गगन थापा र एमाले काठमाडौंका अध्यक्ष निर्मल कुइँकेल आगामी निर्वाचनमा उम्मेदवार बनेका छन् । युवामाझ र पार्टीभित्र चर्चित रहेका तीनैजनाका लागि आगामी निर्वाचन प्रतिष्ठाको विषय बनेको छ । चुनाव जित्नुपर्ने प्रतिष्ठासँगै उनीहरूले अघि बढाएको घरदैलो र चुनावी कार्यक्रमले काठमाडौं–४ मा चुनावी माहोल ह्वात्तै बढेको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर विजयी भएकी सुप्रभा घिमिरे स्वतन्त्र उम्मेदवारका रूपमा खडा भएपछि कांग्रेस केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत पाएका गगन थापाका लागि थप चुनौती थपिएको छ । माओवादी सशस्त्र युद्धमा लडाकूको भूमिका खेलेका र पार्टीभित्र कम विवादित पुन पनि देशकै आशालाग्दा युवाको रूपमा चिनिन्छन् ।
एमाओवादी र उनका लागि समेत यो चुनाव प्रतिष्ठाको विषय बनेको छ । काठमाडौं–४ को बासिन्दा नभएकाले पनि स्थानीय गगन र निर्मलसामु जित्नुपर्ने चुनौती उनीसँग छ । स्थानीय बासिन्दा र एमालेका काठमाडौं जिल्ला अध्यक्ष रहेका कुइँकेलका लागि पनि यो निर्वाचनमा जसरी पनि जित्नैपर्ने प्रतिष्ठासँग जोडिएको छ । युवा, स्थानीय समस्याबारे जानकार र मतदातालाई सहजै भेट दिने कुइँकेल पनि एमाले राजनीतिमा मात्र होइन, काठमाडौंभित्रका चर्चित व्यक्तिका रूपमा चिनिन्छन् । एमालेका तत्कालीन महासचिव स्व. मदन भण्डारीकै जस्तो भाषण शैली र अनुहारले क्षेत्रमा उनी छोटे मदनका रूपमा पनि परिचित छन् ।
उनीसामु काठमाडौं जिल्लाकै अध्यक्ष भएको नाताले जित्नैपर्ने चुनौती छ । ५६ हजार ८ सय ८७ मतदाता रहेको काठमाडौं–४ मा महानगरपालिका–१, ७, ८ र ३३ का साथै कपन, चुनिखेल, चपली भद्रकाली र महांकाल गाविस पर्दछन् । गत संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट सुप्रभा घिमिरेले १३ हजार ४ सय ५१ मत ल्याई विजयी भएकी थिइन् भने एमालेकी विद्या भण्डारीले ९ हजार ८ सय ४२ र एकीकृत माओवादीका पवनमान श्रेष्ठले ९ हजार २ सय २५ मत ल्याएका थिए । १५ हजार मतदाता रहेको कपन गाविसलाई निर्णायक क्षेत्रको रूपमा लिइन्छ । 
कांग्रेसका गगन, एमालेका निर्मल र एमाओवादीका पासाङसँगै राप्रपा नेपालका उद्धव पौडेलसमेत प्रतिस्पर्धामा छन् । स्थानीय बासिन्दा पौडेलको पनि यस क्षेत्रमा राम्रो प्रभाव छ । चलचित्र क्षेत्रका पौडेलको पक्षमा नायक–नायिका, गायक–गायिकालगायतका कलाकारसमेत चुनावी प्रचारमा लागेका छन् । जसले उनको पक्षमा समेत माहोल बढेको छ । घरदैलो अभियानलाई तीव्रता दिएका सबै उम्मेदवारहरू आफ्नो पार्टी र आफ्ना बिकासे योजनाहरूसहित मत माग्नमा व्यस्त छन् । आगामी निर्वाचनमा निर्मल, गगन र पासाङ तीनैजना आफू जित्नेमा ढुक्क भएको बताउँछन् । उनीहरूको जित्ने आधारका दाबीहरू समेत आ–आफ्नै छन् ।
‘व्यक्तिगत रूपमा म उम्मेदवार भएर आउँदा एक प्रकारको उत्साह पनि छ र धेरै मानिसले खुलेर आएर योभन्दा अगाडि तपाईंको पार्टीलाई भोट हालेको होइन, यसपालि हाल्छु भन्ने धेरै पाएको छु,’ कांग्रेस उम्मेदवार थापा भन्छन्, ‘धेरैजसोले तपाईंसँग हाम्रो ठूलो आशा छ, हाम्रो आशालाई नतोड्नुहोला, हामीलाई धेरैचोटि विश्वासघात भएको छ भन्नेहरू धेरै पाएको छु ।’ उनी एक वर्षभित्र नयाँ संविधानसभा निर्माण गर्नेलगायतका पार्टीका एजेन्डासहित जितेपछि यस क्षेत्रको विकास निर्माणका लागि सांसद कार्यालय खोली सांसदबापत आउने सबै रकम तथा सरकारबाट आउने रकम परिचालन गरी दिगो विकास गर्ने प्रतिबद्धतासहित भोट मागिरेहका छन् । एमाले उम्मेदवार कुइँकेल पनि काठमाडौं–४ मा धेरै काम गरेको र सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएकाले जित्नेमा ढुक्क छन् ।
‘हामीले धेरै काम गरेका छांै । हिजो जित्ने उम्मेदवारहरू फर्केर आएनन् तर २०६४ सालको निर्वाचनमा पराजित भएर पनि हामीले नै यस क्षेत्रका जनताको निम्ति धेरै काम गरेका छौं,’ कुइँकेलले जित्ने आधार प्रस्तुत गर्दै भने, ‘यस पटक क्षेत्रवासीले आफ्नै घरदैलाको दाजुभाइ, भतिजा, छोरा, नातिजस्तो उम्मेदवार पाएको छ । भोट माग्दा जनताको बीचमा आउने, भोट पाएर जितेपछि जनताको दैलोमा कहिल्यै नआउने त्यो परम्पराको अन्त्य गर्छौं भनेका छौं । यसले पनि मेरो जितको आधार सुनिश्चित गर्छ ।’ गणतन्त्र, संविधानसभा, समानुपातिक, समावेशी, पहिचान, एमाओवादीले उठाएको मुद्दा भएकाले जनताले आफूलाई भोट दिएर जिताउने आशामा छन्, पुन ।
‘२००७ सालदेखि बेवारिसे भएको मुद्दालाई जनयुद्धबाट १३ हजार मान्छेको बलिदान दिएर उठाएर ल्यायौं । पहिलो संविधानसभाबाट गणतन्त्र प्राप्त भयो । यसलाई संस्थागत गर्न बाँकी छ,’ पुनले भने, ‘यसको नेतृत्वकर्ता र संवाहककर्ता एकीकृत माओवादी नै हो । दोस्रो आधार विकास निर्माण हो, यी मुद्दाले मेरो जित सुनिश्चित छ ।’ काठमाडौं–४ मा पुनले जितेमा ‘जनयुद्ध’ जित्ने र अन्यले जितेमा हार्ने चर्चा पनि छ । उनी कांग्रेस र एमालेका उम्मेदवार जतिसुकै राम्रो भए पनि उनीहरूको पार्टी यथास्थितिवादी भएकाले जित्न नसक्ने दाबी गर्छन् । विगतको संविधानसभाको चुनावमा जितेर कांग्रेसले सिन्को नभाँचेको भन्दै एमाले उम्मेदवार निर्मल काठमाडौं–४ पर्यटकीय र धार्मिक क्षेत्र भएकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने एजेन्डाको जित हुने बताउँछन् ।
उनी आफ्नो प्रतिस्पर्धी कांग्रेसलाई देख्छन् तर गगन आफ्नो प्रतिपस्र्धी नभएको र बढी मतान्तरले जित्नका लागि ठूलो कसरत गरिरहेको दाबी गर्छन् । पुन भने काठमाडौं–४ मा उठेका सबै उम्मेदवार आफ्नो प्रतिस्पर्धी भएको बताउँदै उनीहरूले आफ्नो मत काट्न मात्र सक्ने तर कसैले हराउन नसक्ने दाबी गर्छन् । चुनावी प्रचार–प्रसारमा कुनै नेताविरुद्ध भाषण नगर्ने तथा विरोध नगर्ने आफ्नो योजना रहेको पुन सुनाउँछन् । निर्वाचन प्रचार–प्रसार शैली तीनै उमेदवारको व्यक्तित्व तथा एजेन्डाको आधारमा पुन, निर्मल र गगनका आ–आफ्नै दुर्बल र सबल पक्ष छन् ।
गगनका सबल पक्षमा अरू पार्टीका र विशेषगरी युवाको आकर्षण, स्पष्ट वक्ता, मतदाताको परिचित व्यक्तित्व, स्थानीय क्षेत्रमा सांसद कार्यालय खोल्ने योजनालगायत छन् भने व्यवस्थित रूपमा निर्वाचन परिचालन गर्न नसक्नु, मतदातालाई स्थानीय विकास एजेन्डा विस्तृत रूपमा बताउन नसक्नु उनका दुर्बल पक्ष हुन् । गगनको सबैभन्दा दुर्बल पक्ष भनेको यसअघि कांग्रेसबाटै निर्वाचित सभासद् सुप्रभा घिमिरे स्वतन्त्र उम्मेदवारका रूपमा बागी बन्नु हो । यस्तै, एमाले उम्मेदवार निर्मलका सबल पक्ष बलियो पार्टी संगठन, स्थानीयबीच घुलमिल गर्न सक्ने, मतदाताले चाहँदा सहजै भेट्न सकिने, विकास निर्माणबारे स्पष्ट एजेन्डा, स्थानीय अनुहार, स्पष्ट वक्ता, व्यवस्थित चुनावी शैली हुन् । कार्यकर्ताको फोन नउठाउने, आफ्नो वडालाई प्राथमिकता दिने उनका दुर्बल पक्ष हुन् ।
यस्तै, एमाओवादी उम्मेदवार पुनका सबल पक्षमा पार्टीको एजेन्डालाई बढी जोड दिनु, पार्टी एजेन्डाका स्पष्ट वक्ता, माओवादीभित्र कम विवादित व्यक्तित्व, प्रचार–प्रसारमा निरन्तर खटाइ हुन् । १७ हजारको ज्यान जाने गरी भएको सशस्त्र युद्धमा माओवादी सेनाको नेतृत्व गर्नु, शान्तिको वकालत नगर्नु, मतदाताबीच राम्रो घुलमिल नहुनु, पुरानो माओवादी कार्यकर्ताभन्दा नवप्रवेशीलाई चुनावी प्रचार–प्रसारमा लगाउनु, प्रचार–प्रसारमा स्थानीयभन्दा बाहिरका कार्यकर्ता बढी परिचालन गर्नु उनका दुर्बल पक्ष छन् । उम्मेदवारहरूका अनुसार चुनाव जित्नका लागि पुन दैनिक १८ घन्टा, गगन १४ घन्टा र निर्मल १५ घन्टा खट्ने गरेका छन् ।
काठमाडौं–४ मा पुन, गगन, निर्मल, उद्धव र सुप्रभासहित ४२ उम्मेदवार रहेका छन् । निर्वाचनमा नेकपा मालेका राममोहन रिसाल, तराई मधेस लोकतान्त्रिक पार्टीका हरिशरण आचार्य, सद्भावना पार्टीकी मञ्जु शर्मा, राप्रपाका ठाकुर पौडेल, फोरम लोकतान्त्रिकका किशोरकुमार गुरुङ, परिवार दलका गोकुल रोक्का, राष्ट्रिय जनमुक्ति पार्टीका चेतबहादुर आले र फोरम नेपालकी जानकी मानन्धर चुनावी मैदानमा छन् । यस्तै, राष्ट्रिय जनमोर्चाका गोविन्दबहादुर थापा क्षत्री, नेमकिपाका गणेशमाया डंगोल, चुरे भावर राष्ट्रिय एकता पार्टीका केदार निरौला, नेपाः राष्ट्रिय पार्टीका नरेशवीर शाक्य, जनप्रजातान्त्रिक पार्टीका विदुर खड्का, राष्ट्रिय मधेसी समाजवादी पार्टीकी पार्वती तामाङ, राष्ट्रिय स्वाभिमान पार्टीका कृष्णकुमार श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका रीताकुमार कार्की पनि चुनावी मैदानमा छन् ।
त्यसैगरी, लिबरल डेमोक्रेटिक पार्टीका नारायण श्रेष्ठ, संघीय समाजवादी पार्टीका हिरण्यमान मानन्धर, तराई मधेस पहाड हिमाल एकता पार्टीका विक्रम खड्का, जनमोर्चा नेपालकी आशा लामा, मातृभूमि नेपाल दलका खिमप्रसाद राई, लिग नेपाल शान्ति एकता पार्टीका रमेशकुमार शाही, शिव सेनाका खगेन्द्र सुवेदी, नेपाल शान्ति क्षेत्र पार्टीका गोविन्द अधिकारी, राष्ट्रिय एकता पार्टीका केशवबहादुर खड्कासहित स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् ।
काठमाडौं–४ बाटै यसअघि निर्वाचित भएकी सुप्रभा घिमिरे, प्रमिला दवाडी पोखरेल, गीतादेवी तिमल्सिना, लक्ष्मीप्रसाद धिताल, राजेन्द्र सुवेदी, होमनाथ आचार्य, कालीबहादुर घर्ती मगर, जयनन्द धिताल, केशव थपलिया, सन्तोष प्रधान, तुलसी पनेरू, शिव रिजाल र माधव केसी चुनावी मैदानमा छन् । यतिबेला सबै उम्मेदवार आ–आफ्नो पक्षमा काठमाडौं–४ का विभिन्न क्षेत्रमा पुगेर भोट मागिरहेका छन् ।

No comments: