Wednesday, October 9, 2013

‘चमेलिया जलविद्युत्’ अनिर्णयको बन्दी

काठमाडौं÷रास— नेपाल विद्युत प्राधिकरणले समयमै निर्णय नगर्दा ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना अनिर्णयको बन्दी बनेको छ । जसको कारण आयोजनाको लागत र समय दुवै बढेको छ । प्राधिकरण सञ्चालक समितिले पटक–पटक विभिन्न समिति बनाएर चमेलिया जलविद्युत्को समस्या समाधानको अध्ययन गरे पनि स्पष्ट निर्णय नगरी अनिर्णयको बन्दी बनाउँदा लागत र समय दुवै बढेको हो । प्राधिकरणका अनुसार, आयोजनाको लागत १५ अर्ब रुपैयाँ पुग्न लागेको छ भने २०६८ सालमै निर्माण सम्पन्न हुने आयोजनाको निर्धारित समय बढेर २०७१ पुसमा पुगेको छ ।
आयोजनामा इलेक्ट्रो मेकानिकल, हाइड्रो मेकानिकल र १३२ केभी प्रसारण लाइन निर्माणको ठेक्का लिएको कोरियन ठेकेदार कम्पनी केएचएनपी कन्सोटियमसँगको सम्झौता तोड्नेसम्मको विवाद, आयोजनाको सुरुङ खुम्चिएको (इस्क्विचिङ) साँघुरिने समस्या तथा सिभिल ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) को दाबीबारे विगत एक वर्षदेखि प्राधिकरणले स्पष्ट निर्णय निर्णय गर्न सकेको छैन । तर, ठेकेदार कम्पनी सीजीजीसी भने प्राधिकरणले लामो समयदेखि भुक्तानी नदिँदासमेत आयोजना अघि बढाइरहेको जनाएको छ । ‘ठेक्का सम्झौताभन्दा धेरै बढी काम गरिरहेका छौं तर भुक्तानी पाउन सकेका छैनौ,’ गेजुवाका एक प्रतिनिधिले भने, ‘आयोजनाको सिभिल कार्य समयमै सम्पन्न गर्नका लागि आवश्यक उपकरणहरू आफैं खरिद गरेरसमेत काम गरिरहेका छौं, प्राधिकरणले लामो समयदेखि भुक्तानी दिएको छैन ।
’ साढे तीन महिनाअघि नै सीजीजीसीलाई बैंक ग्यारेन्टी ल्याउन भनेर ल्याए पनि प्राधिकरणले दिने भनिएको ३० करोड अझै दिएको छैन भने क्लेम र भेरियसनबारे पनि स्पष्ट निर्णय गर्न सकेको छैन । आयोजनाको ९५ प्रतिशत सिभिल कार्य भने सम्पन्न भइसकेको छ भने आयोजनाको सय मिटर खुम्चिएको सुरुङमध्ये २ सय मिटर निर्माण सकिएको छ । बाँकी कामसमेत आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । २ अर्ब ८८ करोड सिभिलतर्फको ठेक्का सम्झौता गरिए पनि त्यो बढेर करिब ४ अर्ब पुगेको छ । २०६३ सालमा सुरु भएर २०६८ वैशाखमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको चमेलिया जलविद्युत् आयोजनाको समय बढेर २०७१ पुसमा पुगेको छ ।

No comments: