Wednesday, October 30, 2013

काबेलीलाई जलविद्युत् कम्पनीमार्फत ४ करोड डलर ऋण

भीम गौतम\राजधानी
काठमाडौं, १३ कात्तिक
काबेली जलविद्युत् आयोजनालाई विश्व बैंकमार्फत आउने ऋण नेपाल जलविद्युत् लगानी तथा विकास कम्पनीमार्फत लगानी गरिने भएको छ । ऊर्जा सचिव एवं कम्पनीका अध्यक्ष विश्वप्रकाश पण्डितको अध्यक्षतामा बुधबार बसेको बैठकले काबेलीलाई कम्पनीमार्फत ऋण दिने निर्णय गरेको हो ।
विश्व बैंकबाट प्राप्त हुन अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय हुँदै कम्पनीमा आउने ४ करोड डलर कम्पनीमार्फत ३७.६ मेगावाटको काबेली जलविद्युत्मा लगानी गर्न लागिएको हो । ‘जलविद्युत् कम्पनीमार्फत काबेलीमा विश्व बैंकको ऋण लगानी गर्न लागेका हौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले भने । विश्व बैंकबाट प्राप्त ऋण सीधै निजी कम्पनीलाई दिन नमिल्ने भएपछि सरकारले जलविद्युत् कम्पनीमार्फत काबेलीलाई ऋण दिन लागेको हो ।
विश्व बैंकमार्फत लिने ऋण कति प्रतिशत ब्याजदरमा काबेली आयोजनाको प्रवद्र्धक काबेली इनर्जी लिमिटेडलाई दिने भन्ने विषयमा अध्ययन गर्न ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीको संयोजकत्वमा अर्थ मन्त्रालय एक समिति गठन गर्न लागेको छ । मन्त्रालय स्रोतका अनुसार आज बिहीबार हुने मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयले सो प्रस्ताव लैजान लागेको छ । काबेली र सरकारबीच विश्व बैंकले दिने ऋणको ब्याजबारे लामो समयदेखि विवाद रहँदै आएको छ ।
लामो समयसम्म विवाद नटुंगिँदा महँगी बढेकाले आयोजनाको लागतसमेत ४० प्रतिशत बढेको भन्दै विद्युत् खरिद सम्झौता (पीपीए) रेट बढाउन माग गर्दै आएको छ । सरकारले निर्धारण गरेको ११ प्रतिशतबाट घटाएर ब्याजदर बढीमा ६.५ प्रतिशत कायम गर्नुपर्ने माग काबेलीको छ । अझै विवादको टुंगो लागिसकेको छैन । तर, अर्थ मन्त्रालयको ११ प्रतिशत दिनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।
‘काबेलीसँग केही कुरा मिलिसकेको छ, औपचारिक रूपमा वार्ता गरेर टुंग्याउन ऊर्जा मन्त्रालय अघि बढेको छ,’ मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीले भने । प्रतिस्पर्धाबाट बुटवल पावर कम्पनी लिमिटेडले सन् २००९ मा अनुमतिपत्र पाएको थियो । सन् २०१० मा सरकार र काबेली इनर्जीबीच आयोजना विकास सम्झौता (पीडीए) भए पनि अझै आयोजना अघि बढ्न सकेको छैन ।
सन् २०१५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत ८ अर्ब रुपैयाँ छ । विश्व बैंकको ४० प्रतिशत र अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) ले ३२ प्रतिशत काबेलीमा लगानी गर्न लागेको छ ।

No comments: