Sunday, October 20, 2013

कुलेखानी भरियो, लोडसेडिङमा राहत

 हिउँदमा १४ घन्टासम्म मात्रै लोडसेडिङ, थप पानी जम्मा गर्न बालुवा भरिएका बोरा बिछ्याइयो
भीम गौतम\राजधानी
काठमाडौं, २ कात्तिक,नेपालकै एक मात्र जलाशययुक्त आयोजना कुलेखानी जलविद्युत्को जलाशय भरिने निश्चित भएपछि आगामी हिउँदमा हुने लोडसेडिङ घटाउन राहत मिलेको छ । आगामी हिउँदमा दैनिक १९ घन्टासम्म लोडसेडिङ हुने भयावह अवस्थाको प्रक्षेपण गरेको नेपाल विद्युत् प्राधिकरणलाई इन्द्रसरोवर भरिनाले लोडसेडिङ घटाउनका लागि राहत मिलेको हो । गत वर्षको हिउँदमा १ सय ८० मेगावाट विद्युत् भारतबाट आयात गरेको प्राधिकरणले यस वर्ष ७० मेगावाट थप्न नसके र कुलेखानी जलाशय नभरिए १९ घन्टा लोडसेडिङ हुने प्रक्षेपण गरेको थियो । १५ सय ३० मिटर क्षमता रहेको कुलेखानीको इन्द्रसरोवर भरिन अब ६० सेन्टिमिटर मात्र बाँकी छ ।
कुलेखानी भरिएपछि आगामी हिउँदमा सर्वसाधारणले दैनिक पाँच घन्टा मात्र बिजुली देख्न पाउने बाध्यतात्मक अवस्थाको अन्त्य भएको छ । वर्षामा परेको पानीले जलाशययुक्त आयोजना नभरिएपछि आगामी हिउँदमा बढी लोडसेडिङ गर्नुपर्ने तथा यही कारण सर्वसाधारणदेखि बुद्धिजीवीसम्मको आलोचना खेप्नुपर्ने अवस्थामा पुगेको प्राधिकरणका लागि बडा दसंैको नवमीदेखि एकादशीसम्म लगातार परेको वर्षाले राहत दिएको छ । वर्षा सिद्धिएपछि गत भदौ अन्तिमसम्म १५ सय ३० मिटर क्षमता रहेको कुलेखानी जलाशयमा करिब ६ मिटर पानी कम भएपछि प्राधिकरणभित्र चिन्ता बढेको थियो ।
‘बल्ल कुलेखानी जलाशय भरिने पक्का भो, अहिले १५२९ दशमलव ४० मिटर पानी पुगेको छ, १० दिनभित्र भरिन्छ,’ प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले राजधानीसँग भने, ‘भारतबाट थप ७० मेगावाट विद्युत् आउँछ र कुलेखानी पनि भरिने भएकोले अब हिउँदमा १२\१४ घन्टाभन्दा बढी लोडसेडिङ हुँदैन ।
’ अघिल्ला दुई वर्षमा समेत कुलेखानी जलाशय भरिएको थियो । अघिल्लो वर्षको हिउँदमा लोडसेडिङलाई १४ घन्टामा सीमित राख्न सक्नुमा जलाशय भरिनु नै कारण बनेको थियो । अहिले इन्द्रसरोजर जलाशय भरिँदा हिउँदमा दैनिक तीन घन्टा लोडसेडिङ घट्ने प्राधिकरणले जनाएको छ । पहिला जलाशय नभरिने चिन्तामा रहे पनि लगातार वर्षा भएपछि अहिले प्राधिकरणले क्षमताभन्दा बढी पानी जम्मा हुन सक्ने भन्दै कुलेखानी जलाशयमा बोराहरू समेत ओछ्याएको छ ।
गत वर्षसमेत प्राधिकरणले बोरा ओछ्याएर थप १५३० दशमलव ४६ सेन्टिरमिटर पानी जम्मा गर्न सकेको थियो । सोही थप ४६ सेन्टिमिटर पानीले मात्र हिउँदमा दैनिक आधा घन्टा लोडसेडिङ घटाउन सहयोग पु¥याएको थियो । ‘हामीले जलाशय भरिएर थप पानीसमेत जम्मा गर्न सकिने देखिएकोले बडादसैंको द्वादशीकै दिन ४६ सेन्टिमिटर पानी जम्मा गर्नका लागि बोरासमेत ओछ्याएका छौं,’ प्रमुख क्षत्रीले भने । हिउँदकै लागि दसैंपछि आकस्मिक परेको बेलाबाहेक कुलेखानी जलाशययुक्त आयोजनाबाट विद्युत् उत्पादन गरिएको छैन । कुलेखानीबाहेक सबै आयोजना रन अफ दि रिभर आयोजना भएका र हिउ“दमा एक तिहाइ मात्र विद्युत् उत्पादन हुने भएकाले कुलेखानी जलाशययुक्त आयोजनालाई हिउँदको लोडसेडिङ घटाउनका लागि प्राधिकरणको मेरुदण्ड र सबैभन्दा महŒवपूर्ण आयोजनाको रूपमा लिइन्छ ।
अहिले कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ भने १४ मेगावाटको कुलेखानी तेस्रो निर्माणाधीन अवस्थामा छ । अहिले नेपालमा ७ सय १३ मेगावाट जलविद्युत् उत्पादनको क्षमता भएकोमा कुलेखानी मात्र जलाशययुक्त आयोजना हो । पालुङ, चलेख, चित्लाङ, सिमखोला, काल्ची खोला, सेती खानीलगायत नौ खोला र खोल्साबाट आएको पानी भरिएपछि अहिले कुलेखानी भरिभराउ भएको छ । सात किलोमिटर लामो कुलेखानी जलाशय भरिएपछि यसको इन्द्रसरोवर हेर्ने आन्तरिक पर्यटकसमेत बढ्न थालेका छन् ।

No comments: