| सुरुङ डिजाइनमा समस्या |
काठमाडौं, १७ असोज
४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य सुरुङमा देखिएको समस्या समाधान गर्नका लागि शुक्रबार स्वतन्त्र अन्तर्राष्ट्रिय विज्ञको टोली आउने भएको छ । आयोजनाकोे मुख्य सुरुङ डिजाइनमा आएको समस्याबारे सुझाव दिन अन्तर्राष्ट्रिय ख्यातिप्राप्त डा. रिमरको नेतृत्वमा दुईजना विज्ञको टोली आउन लागेको हो ।
कालीगण्डकी, मध्यमस्र्याङ्दीलगायतका जलविद्युत्को सुरुङमा समस्या आउँदासमेत स्वतन्त्र विज्ञ रिमरलाई नेपाल विद्युत् प्राधिकरणले बोलाएको थियो । सुरुङ खन्ने क्रममा कमजोर भू–गर्भ देखिएपछि आयोजनाको करिब साढे ३ किलोमिटर सुरुङ निर्माणको विकल्प खोज्नुपर्ने अवस्था आएको छ । प्रवद्र्धक माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडले बोलाएर आएका विज्ञले एक साता अध्ययन गरेर सुझावसहितको प्रतिवेदन दिएपछि सुझावका आधारमा सुरुङ निर्माण अघि बढ्ने निमित्त आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञको सुझावका आधारमा समस्या देखिएको मुख्य सुरुङको डिजाइनको काम अघि बढ्छ,’ उनले भने । अहिले निर्माण रोकिएको सो सुरुङ निर्माणको कार्य सुझावपछि छिट्टै सुरु हुने आयोजनाले जनाएको छ ।
आयोजनाको सिभिल निर्माण काम गरिरहेको सिनो होइड्रोले सुरुङ निर्माणको क्रममा समस्या देखिएपछि परामर्शदाताले नर्बेजियन र जर्मन कम्पनी नरकन्सल्ट एएस लाहमेर जेभीलाई यसबारे प्रस्ताव राखेको थियो । परामर्शदाताले समेत अहिले बनाइरहेको डिजाइनमा परिवर्तन गर्नुपर्ने प्रस्ताव माथिल्लो तामाकोसी व्यवस्थापनलाई दिएपछि व्यवस्थापनले विदेशी विज्ञ बोलाएको हो । विज्ञले दिएको सुझावसहितको प्रतिवेदनले तामाकोसी आयोजनाको सुरुङ निर्माणमा देखिएको समस्या समाधानका लागि सहयोग पुग्ने तामाकोसी जलविद्युत् कम्पनीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीले बताए । परिवर्तनका बारेमा परामर्शदाताले दुई विकल्प दिइसकेका छन् । यही डिजाइनमा निर्माण गर्दा पानीको चाप धान्न नसकेपछि दुर्घटना हुन सक्ने देखिएपछि डिजाइनको अर्को विकल्प अघि सारिएको हो । अहिलेकै डिजाइन र अर्को डिजाइन दुवैबाट सुरुङ निर्माण गर्न सकिने विकल्प परामर्शदाताले दिएको बताइएको छ ।
डिजाइन परिवर्तन हु“दा पेनस्टक साङखटदेखि भैंसे अडिटसम्मको पा“च किलोमिटर सुरुङमध्ये साढे तीन किलोमिटरको डिजाइन परिवर्तन हुन्छ । प्रतिवेदनअनुसार अहिलेकै डिजाइनमा काम गर्नुभन्दा डिजाइन परिवर्तन गर्दा सस्तो र समय पनि कम लाग्ने तथा यही डिजाइनमा निर्माण गर्दा सुरुङमा स्टिल राख्नुपर्ने परामर्शदाताको सुझाव छ । सुरुङ डिजाइन परिवर्तन गर्दा ०.३ प्रतिशतमा निर्माण गर्न सकिने परामर्शदाताको सुझाव छ । अन्तर्राष्ट्रिय विज्ञले दुवै विकल्पबारे अध्ययन गरेर एउटा सुझाव दिने र सो सुझावका आधारमा अघि बढ्ने आयोजनाले जनाएको छ ।
परामर्शदाताले सुरुङको डिजाइन परिवर्तन गर्दा निर्माणको निर्धारित काममा सात महिना ढिला हुने र १ अर्ब २० करोड लागत बढ्ने तथा अहिलेकै डिजाइनअनुसार सुरुङ निर्माण गर्दा करिब १ अर्ब ८० करोड लाग्ने र समय पनि १५ महिनासम्म लाग्न सक्ने उल्लेख गरेको छ । स्वदेशी लगानीमा निर्माण भएको नेपालको पहिलो ठूलो निर्माणाधीन माथिल्लो तामाकोसीको करिब ५२ प्रतिशत काम सकिएको छ । आयोजनाको ३५ अर्ब २९ करोड अनुमानित लागत रहेकामा हालसम्म करिब १४ अर्ब खर्च भएको छ । तामाकोसी आयोजनाले सुरुङ परिवर्तन गर्दासमेत पहिलाकै निर्धारित समय २०७२ को चैतभित्र निर्माण सक्ने गरी आयोजनाको काम द्रूतगतिमा अघि बढाउने जनाएको छ ।
|
Saturday, October 5, 2013
माथिल्लो तामाकोसीमा अन्तर्राष्ट्रिय विज्ञ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment