राजधानी समाचारदाता
काठमाडौं, १९ माघ
काठमाडौं, १९ माघ
प्रधानमन्त्री
सुशील कोइरालाले संविधान प्रक्रियालाई निरन्तरता दिए पनि सहमतिका लागि
प्रयास जारी राख्ने बताएका छन् ।युरोपियन युनियनका हेड अफ डेलिगेसन राजदूत
रेन्सी तिरिन्कको नेतृत्वमा प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार
पुगेका नेपालका लागि बेलायत, डेनमार्क, जर्मनी, फ्रान्स, फिनल्यान्ड, नर्वे
र स्विट्जरल्यान्डका राजदूतहरूले संयुक्त भेटमा प्रधानमन्त्रीले सहमतिको
प्रयास जारी राखेको बताएका हुन् ।
नेपालको
राजनीतिक स्थिति, संविधान निर्माणको अवस्था, नेपाल र युरोपेली युनियनका
बीचको राजनीतिक सहयोगजस्ता विषयमा केन्द्रित भेटमा प्रधानमन्त्री कोइरालाले
प्रक्रियाको कुरा गरे पनि सहमति, सहकार्य, एकता मेलमिलाप र वार्ताको
प्रयास नछाडिएको जनाउँदै दिगो लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि अघि
बढेको बताएका थिए ।
भेटमा
प्रधानमन्त्री कोइरालाले संविधानसभामा रहेका केही राजनीतिक दलहरूले देश र
जनताको बृहत्तर हितमा लचक हुन नसक्दा सहमतिका लागि गरिएका प्रयासहरू सार्थक
परिणाममा पुग्न नसकेको समेत बताएका थिए ।
‘विगत
सात वर्षदेखिको निरन्तर प्रयासका बाबजुद पनि सहमतिमा कायम गर्न नसकेकाले
प्रक्रियामा जानुपरेको हो,’ उनले राजदूतहरूलाई भने, ‘प्रक्रिया आफैं पनि
प्रजातान्त्रिक विधि हो ।’
प्रधानमन्त्री
कोइरालाले प्रक्रियाको विषय २०६२÷६३ सालको राजनीतिक परिवर्तनकारी शक्तिको
सहभागितामा सर्वसम्मतिले बनेको नेपालको अन्तरिम संविधान–२०६३, वर्तमान
संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूले सहमतिमा बनाएको संविधानसभा
नियमावली र अघिल्लो वर्ष उच्चस्तरीय राजनीतिक समितिले गरेको राजनीतिक
सहमतिभित्रकै विषय भएको पनि राजदूतहरूलाई स्पष्ट पारेका थिए ।
राजदूतहरूलाई
प्रधानमन्त्री कोइरालाले हुन लागेको सहमति केही दलहरूको अनावश्यक अडानले
अन्तिम क्षणमा बिग्रेकोसमेत बताएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश
अघिकारीले जानकारी दिए । ‘म आफंै गेट क्रस गरेर एमाओवादी अध्यक्ष पुष्पकमल
दाहाललाई भेटन गएँ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अधिकारीले भने,
‘नेपालीहरूले चार पुस्ता अघिदेखि लोकतन्त्रका लागि लडेको बताउँदै नेपाली थप
दुःख निम्त्याउन नचाहने भएकाले आउने पुस्ताले पनि लोकतन्त्रकै लागि
लड्नुपर्ने स्थिति नआओस् भन्नेमा हामी स्पष्ट भएको बताएका थिए ।’
पछिल्लो समयमा संविधानसभामा भएको तोडफोडको विषयमा समेत प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्रीका
परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराईले प्रधानमन्त्रीले पछिल्लो समयमा
माओवादीले संविधानसभामा गरेको तोडफोडले उसको शान्ति प्रक्रियाप्रतिको
प्रतिबद्धतामा प्रश्नचिह्न उठेको समेत बताएका थिए ।
डा.
भट्टराईका अनुसार युरोपियन राजदूतहरूले प्रधानमन्त्रीले नयाँ संविधान
निर्माणका लागि चालेको कदमप्रति आफूहरू सकारात्मक भएको बताउँदै नेपालको
विकास निर्माणमा दिँदै आएको सहयोगलाई निरन्तरता दिने बताएका थिए ।
प्रधानमन्त्री र एडीबी अध्यक्षबीच भेट
प्रधानमन्त्री
सुशील कोइराला र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का
अध्यक्ष ताकेहिको नाकायोबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट
भएको छ ।
भेटमा प्रधानमन्त्री
कोइरालाले विकासका लागि पनि प्रजातन्त्र अपरिहार्य भएको उल्लेख गर्दै हालै
भारतसँग भएको ऊर्जा व्यापार सम्झौता र माथिल्लो कर्णाली र अरुण तेस्रो
जलविद्युत् आयोजनाको विकास गर्ने कम्पनीहरूसँग भएको परियोजना विकास
सम्झौताले नेपालको जलस्रोतको विकासमा नयाँ ढोका खुलेको बताएका थिए ।
नेपालमा लगानीमैत्री वातावरण बनेको उल्लेख गर्दै नेपालका विकासे
आयोजनाहरूमा सघाउन पनि प्रमले एडीबी अध्यक्षलाई आग्रह गरेका थिए ।
एडीबीको
नेपालमा आवासीय नियोग स्थापना भएको रजत वर्षको उपलक्ष्यमा आयोजित
कार्यक्रममा सहभागी हुन र नेपालमा सञ्चालित विकास आयोजनाहरूको अवलोकन भ्रमण
गर्न अध्यक्ष नाकायो नेपाल भ्रमणमा आएका छन् ।
प्रधानमन्त्री
कोइरालाले एडीबीले नेपालको हवार्ई मैदान निर्माण, सडक निर्माण, सहरी
विकास, खानेपानी, आधारभूत, प्राथमिक र प्राविधिक तथा व्यावसायिक शिक्षा,
कृषि, ऊर्जाजस्ता क्षेत्रमा गरेको सहयोगको प्रशंसा
गरेका थिए ।
भेटमा
एडीबीका अध्यक्ष नाकायोले बैंकले अब परियोजनाको संख्या बढाउन भन्दा
सहयोगको क्षेत्र फराकिलो पार्ने र बढी जनतालाई लाभ हुने योजनाहरू सञ्चालन
गर्ने सोचाइ भएको बताएका थिए । भेटमा अध्यक्ष नाकायोले निकासाको दर बढाउने,
समयमा निर्धारित बजेटभित्रै सकिने परियोजना तर्जुमा गर्ने र काम छिट्टै
सम्पन्न गर्ने तारतम्य मिलाउन आवश्यक भएको उल्लेख गरेका थिए ।
आफू
बुद्धधर्मावलम्बी भएकाले लुम्बिनीको भ्रमणमा जाने कार्यक्रमसमेत तय गरेको
बताउँदै अध्यक्ष नाकायोले बुद्धिस्ट सर्किटले नेपाल, भारत, श्रीलंका, भुटान
र वर्मालाई पनि जोड्न मद्दत पु¥याउने धारणा राखेका थिए ।
http://rajdhani.com.np/article/0650238001422932568
No comments:
Post a Comment