भीम गौतम / राजधानी
काठमाडौं, १९ माघ
काठमाडौं, १९ माघ
२०
वर्षअघि मजदुरीका लागि काठमाडौं छिरेका सिन्धुपाल्चोक निवासी धावा तामाङले
सुरुमा पुरानो बसपार्कमा भरियाको काम गरे। केही समयपछि नै उनले साथीमार्फत
वेल्डिङको काम सिके। हाल उनी कुलेश्वरमा एउटा वर्कसपमा काम गर्छन्। तर,
आजभोलि उनलाई पेसाबाट जीविका चलाउनै मुस्किल परेको छ। विनाबिजुली उनको
ज्याला पाक्दैन तर बढ्दो लोडसेडिङ उनका लागि असह्य पीडा बनेको छ।
‘वेल्डिङको कामका लागि दिउँसो बिजुली देख्नै मुस्किल छ,’ उनले आफ्नो पीडा
सुनाए, ‘कामै नगरी साहुले पैसा दिँदैन, काठमाडौंको ठाउँमा कसरी बाँच्नु अनि
कसरी परिवार पाल्नु ?’
१५
वर्षअघि उनले भरिया छोडेर वेल्डिङ काम गर्दा राम्रो ज्याला पाउन थालेपछि
गाउँमा भएकी श्रीमतीलाई काठमाडौं ल्याए। अहिले उनका तीन छोरी र दुई छोरा
छन्। पछिल्लो समयमा बढ्दो लोडसेडिङले उनको आम्दानी घट्दै गएको छ।
‘वेल्डिङबाट खानै गाह्रो हुन थालिसक्यो, छोराछोरी कसरी पढाउनु, अब फेरि
भरिया कसरी बनूँ ?’ हाल धोबीधारा बस्ने उनले दुःखेसो पोखे,
‘कहिले बिजुली आउला र सुख पाइएला, यो लोडसेडिङले हामीजस्ता गरिखानेलाई झन् बर्बाद बनायो।’
धादिङकी
विद्या अधिकारी पनि लोडसेडिङबाट निकै मर्माहत बनेकी छन्। स्नातकोत्तर
द्वितीय वर्षको परीक्षाको तयारीमा रहेकी अधिकारी दिउँसो बानेश्वरको एउटा
परामर्शदाता कम्पनीमा काम गर्छिन्। जागिरका कारण उनका लागि पढ्ने समय
बिहान, बेलुकी र राति मात्र छ तर लोडसेडिङले पढ्नै दिएको छैन। ‘मैनबत्तीमा
पढ्दा पढेको जस्तो लाग्दैन, बिजुली देख्नै मुस्किल छ, खोइ कसरी पास गर्ने
?’ उनले आक्रोश पोखिन्, ‘नेपाल जलस्रोतको धनी देश भनेर पढेको कति वर्ष
भइसक्यो, किन यत्रो लोडसेडिङ, सबै नेताले भाषण मात्र गर्छन्, भाषण होइन,
बिजुली चाहिएको छ।’
अहिले धेरैका लागि
महँगो मोबाइल बोक्ने फेसन नै चलेको छ। भित्र खोक्रो भए पनि बाहिर राम्रो
मोबाइल बोक्नुपर्ने पुस्तालाई समेत यो लोडसेडिङले ठूलो समस्या पारेको छ।
धेरैका लागि इमेल, इन्टरनेट, फेसबुक र ट्विट नशा बनिसकेको छ तर बिजुली
नभएपछि र घोषणा गरेभन्दा धेरै नै बढी समय लोडसेडिङ भएपछि सबैभन्दा बढी
दिमाग उनीहरूको तात्छ। ‘बत्ती नै हुँदैन, के गर्नु ? हरेक दिन सूचना जारी
गरेभन्दा निकै बढी समय मनलाग्दी तरिकाले लोडसेडिङ गरिदिन्छ,’ शुक्रबार
भृकुटीमण्डपमा भेटिएका कोटेश्वरका हरि पराजुलीले भने, ‘कहिले हट्ला
लोडसेडिङ अनि ढुक्कसँग फेसबुक, भाइबर चलाउन पाइएला।’
धावा,
विद्या र हरिको मात्र होइन, यो पीडा अधिकांश सहरवासीको हो। अनि ठगिखानेको
चेपुवामा परेका गरिखाने आमनेपाली नागरिकको व्यथा पनि हो। युवादेखि
वृद्धसम्म नेपाल विद्युत्् प्राधिकरणले गर्ने लोडसेडिङका कारण अहिले निकै
ठूलो पीडामा छन्। अहिले प्राधिकरणले दैनिक ११ घन्टा लोडसेडिङ भइरहेको बताए
पनि १८ घन्टासम्म लोडसेडिङ गरिरहेको छ। विद्युत् प्राधिकरण र ऊर्जा
मन्त्रालयको नेतृत्व कमिसनको लोभमा यस्तो जनविरोधी काम गरिरहेको अनुमान
आमनागरिकको छ। तर, प्राधिकरण सधैं ‘उत्पादन कम भएर लोडसेडिङ बढ्यो’ भन्ने
एउटै जवाफ दिन्छ। ‘मध्यमस्र्याङ्दीको विद्युत् उत्पादन मर्मतका लागि बन्द
गर्दा र भारतबाट आयात हुने बिजुली केही घट्दा लोडसेडिङ बढेको हो,’ नेपाल
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भन्छन्,
‘नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन र पाइप लाइनमा रहेका माथिल्लो
तामाकोसी जलविद्युत्लगायतका आयोजनाहरू बनेपछि भारतबाट थप विद्युत् आयात
गरेर भए पनि दुई वर्षभित्र लोडसेडिङ अन्त्य हुन्छ।’
लोडसेडिङले
सहरी जीवनको अभिन्न अंग बनिसकेको इन्टरनेटसँगको कनेक्सनमा गडबड र अँध्यारो
हुँदाको सकस असह्य बनिसकेको छ। ‘आजको २१औं शताब्दीमा अत्यावश्यक मानिएको
ऊर्जा नै नभएपछि त्यसको असर सबै क्षेत्रमा गम्भीर रूपमा परिहाल्छ,’ नेपाल
उद्योग वाणिज्य महासंघ ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान भन्छन्,
‘ऊर्जा नहुँदा उद्योग व्यवसायदेखि सबै क्षेत्र र तप्काका व्यक्तिले पाएको
पीडा असह्य छ तर अहिले पनि सरकारी कर्मचारीको मानसिकता जलविद्युत् आयोजना
बनाउनुभन्दा त्यसमा अवरोध र नियन्त्रण गर्ने नै छ।’
लोडसेडिङको
पीडा राइस कुकरमा भात पकाएर बचेको समय उपयोगी काममा लगाउने महिलादेखि
उज्यालोमा पढेर उज्ज्वल भविष्यको सपना देख्ने विद्यार्थीसम्मलाई छ।
विद्युत्कै अभावमा जेनेरेटर चलाएर उद्योग, व्यवसाय गर्ने मध्यम वर्गदेखि
ठूल्ठूला उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका छन्। नेपाल उद्योग
वाणिज्य महासंघका अनुसार ऊर्जा अभावले उद्योग व्यवसायमा हुने घाटा १ खर्बको
हाराहारीमा पुगेको छ। यही कारण देखाउँदै उद्योगले जथाभावी सामानको भाउ
महँगो गर्दा जनता ठगिरहेका पनि छन्। समाजशास्त्रीहरूको दृष्टिकोणमा
लोडसेडिङले शिक्षा, स्वास्थ्य र आर्थिक अधिकार मात्र हनन भएको छैन,
सहरवासीको जीवनशैलीसमेत परिवर्तन भएको छ। उनीहरूका अनुसार हरेक मान्छे
आफ्नो रुटिनअनुसार चल्नुपर्ने हो तर नेपालको परिस्थिति यस्तो छ कि
लोडसेडिङको रुटिनअनुसार चल्नुपर्ने अवस्था छ। यसले इन्टरनेटबाट संसारभरि
दगुरिरहेको पुस्तामा मानसिक निराशा बढेको समाजशास्त्रीहरू बताउँछन्।
अमेरिकामा
एक पटक दिनको १० मिनेट लोडसेडिङ हुँदा जनसंख्या बढेको भनेर अध्ययनले
देखाएर त्यसले ठूलो हलचल ल्याएको थियो तर नेपालमा दैनिक ११÷१२ घन्टा
लोडसेडिङ हुँदा अनिश्चित गर्भाधानदेखि गर्भपतनसम्म बढेको बताए पनि यसबारे
आधिकारिक रूपमा अध्ययन भने भएको छैन ।
प्राधिकरणका
अनुसार प्रत्येक वर्ष जलविद्युत्को माग १ सय मेगावाटको हाराहारीमा बढ्छ तर
बहुदलीय प्रजातन्त्र स्थापनापछिको उत्पादन हेर्ने हो भने जम्मा ५ सय
मेगावाट पनि पुगेको छैन । जलस्रोतविज्ञहरू २०४९ सालमा निजी क्षेत्रलाई
जलविद्युत् जिम्मा दिएर सरकार पूरै निजी क्षेत्रमा भर पर्न थालेपछि
जलविद्युत्को अभाव चुलिँदै गएको बताउँछन् । २०६० सालपछि लोडसेडिङ बढ्न
थालेपछि मात्र सरकारले जलविद्युत् आयोजना निर्माणलाई अघि बढाएको बताउँछन् ।
त्यसपछि सुरु भएका प्राधिकरणले बनाइरहेका कुलेखानी तेस्रो, राहुघाट,
त्रिशूली–३‘ए’ र चमेलिया जलविद्युत् आयोजना अझै पूरा भएका छैनन् ।
लोडसेडिङ
अन्त्यका लागि राजनीतिक अस्थिरता अन्त्य हुनुपर्ने बताउँदै पूर्वसचिव एवं
नेपाल हाइड्रोपावर एसोसिएसनका उपाध्यक्ष श्रीरञ्जन लाकौल सरकारसँग योजना भए
पनि कार्यान्वयनमा समस्या देखिएको बताउँछन् ।
‘प्रसारण
लाइनको ठूलो समस्या छ, जलविद्युत् उत्पादन बढेको छैन, भारतबाट आयात गरेर
कम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘एउटा आयोजना बनाउन ८÷१० वर्ष लाग्छ
।’
लोडसेडिङ बढ्नुमा प्राधिकरणभित्र
रहेको चुहावट पनि प्रमुख कारकमध्येकै एक हो । हाल २३ प्रतिशत रहेको
चुहावटका कारणले पनि लोडसेडिङ बढ्दो छ । सरकारले लाइसेन्सिङमा अपनाएको गलत
प्रक्रिया, सरकारी कर्मचारीमा रहेको गलत मानसिकता, अस्थिर सरकार र सरकारका
प्रतिनिधिहरूको अनावश्यक हस्तक्षेप, जलविद्युत् आयोजनामा स्थानीय जनताले
गर्ने विरोध तथा इन्भर्टर, जेनेरेटर, पेट्रोलियम व्यवसायीहरू (घुमाउरो घुस)
को आर्थिक प्रलोभनमा परेर गर्ने विद्युत्को कृत्रिम अभाव र आयोजनाबारे
निर्णयमा हुने ढिलाइ पनि लोडसेडिङ बढ्नुका कारण बन्दै आएका छन् । तत्कालको
लोडसेडिङ बढ्नुमा भने सबैभन्दा बढी विद्युत् माग हुने कुसमयमा
मध्यमस्र्याङ्दीको उत्पादन बन्द गर्नु र विद्युत् चुहावट न्यूनीकरण गर्न
नसक्नुलाई लिने गरिएको छ । ‘प्राधिकरणले असारमा मर्मत कार्य गरेको भए अहिले
उपभोक्ताले धेरै लोडसेडिङ भोग्नुपर्दैनथ्यो,’ स्वतन्त्र ऊर्जा
उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष खड्गबहादुर विष्ट भन्छन्,
‘जलविद्युत् उत्पादनका लागि सरकारको सहजीकरण र प्रोत्साहनको आवश्यक पर्छ ।’
http://rajdhani.com.np/article/0506387001422928329
No comments:
Post a Comment