Tuesday, February 3, 2015

महसुल नतिर्ने सात हजारको विद्युत् लाइन काटियो

काठमाडौं÷रास– नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने ७ हजार २५ ग्राहकको लाइन काटेको छ । प्राधिकरणमा रहेको बढ्दो बक्यौता घटाउन सुरु गरेको विद्युत् लाइन काट्ने सप्ताहअन्तर्गत १८ करोड ३१ लाख ९२ हजारबराबरको ७ हजारभन्दा बढीको विद्युत् लाइन काटिएको प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार काटिएको उठाउनुपर्ने रकममध्ये ५ करोड ६९ लाख ६८ हजार रुपैयाँ अभियानअन्तर्गत असुल गरिएको छ ।
तीन महिनासम्म बिजुलीको महसुल नतिर्ने तथा पाँच हजारभन्दा बढी महसुल नाघेका तथा लामो समयदेखि बिजुलीको महसुल नतिरेका उद्योगधन्धाका लाइनहरू काट्ने अभियानअन्तर्गत सप्ताह सुरु गरिएको हो । प्राधिकरणका अनुसार घरेलुसहित २७ लाख १८ हजार ग्राहक रहेको प्राधिकरणमा बक्यौता उठाउन मात्र ८ अर्ब रुपैयाँ बाँकी छ । प्राधिकरणले सोमबार मात्र ८ सय ३९ ग्राहकको लाइन काटेको छ । उक्त ग्राहकबाट २ करोड ३५ लाख ७३ हजारबराबरको लाइन काटिएकोमा ७८ लाख ६८ हजार रुपैयाँ वक्यौता उठेको छ । प्राधिकरणले काठमाडौं, विराटनगर, नेपालगन्ज, पोखरा, हेटौंडा, अत्तरिया, बुटबल र जनकपुर क्षेत्रीय कार्यालयमा बक्यौता उठाउन नतिर्ने ग्राहकको लाइन काट्ने अभियान सुरु
गरिएको हो । 
http://rajdhani.com.np/article/0550265001422939669

No comments: