Tuesday, December 17, 2013

एक बर्षभित्र प्रशारण लाइनको गुरुयोजना


भीम गौतम\राजधानी
काठमाण्डौं, १ पुस
प्रशारण लाइन व्यवस्थित व्यवस्थित नभएर जलविद्युत प्रवद्र्धकहरु अन्योलमा परिरहेको बेला नेपाल विद्युत प्राधिकरणले एक बर्षभित्र प्रशारण लाइनको गुरुयोजना (माष्टर प्लान) बनाउन सुरु गरेको छ ।
नर कसल्ट्यान्टको सहयोगमा सन् १९९४ र सन् २००४ मा बनाएको गुरुयोजना पुरानो भैसकेकोले प्राधिकरणले आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुलाई लक्षित गरेर नयाँ गुरुयोजना बनाउन सुरु गरेको हो । गुरुयोजना निर्माणका लागि परामर्शदाता छनोट गरी प्रकृया अघि बढीसकेको प्राधिकरण ग्रीड विकासका प्रबन्धक गगन मानन्धरले जानकारी दिए । ‘एक बर्षभित्र गुरुयोजना निर्माण सम्पन्न गर्ने गरी सुरु गरिसकेका छौ ।’–उनले भने–‘परामर्शदाता कम्पनीमार्फत एक बर्षभित्र गुरुयोजना तयार गर्ने लक्ष्य छ ।’
प्रशारण लाइनको गुरुयोजना निर्माणका लागि फ्रान्सको इडीएफ इलेक्ट्रिक डे फ्रान्ससँग हालै सम्झौता भई गुरुयोजना निर्माण अघि बढेको प्राधिकरणले जनाएको छ । ‘अहिले कुन कुन जलविद्युत आयोजनाहरु निर्माणको चरणमा छन्, ती आयोजनाहरु निर्माणका लागि कुन कुन ठाउँमा कसरी प्रशारण लाइन बनाउनुपर्छ भन्ने स्पष्ट गुरुयोजना बन्नेछ, जसले आगामी दिनमा प्रशारण लाइन बनाउन सहयोग गर्नेछ ।’–उनले भने ।
 विश्व बैकको करिब एक मिलियनको सहयोगमा बनाउन लागिएको गुरुयोजनामा आगामी २५ बर्षसम्म बन्ने आयोजनालाई लक्षित गरेर बनाउन लागिएको छ । गुरुयोजनामा नीजि तथा सरकारी क्षेत्रबाट सर्भे भईरहेको, अध्ययन सकिएका, निर्माणका लागि अध्ययन हुन लागेका आयोजनाहरुको क्षेत्रहरुलाई समेट्ने गरी बन्ने गुरुयोजनाबाट नेपालको जलविद्युत क्षेत्रको विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । सन् १९९४ र सन् २००४ मा बनेको गुरुयोजना काम लाग्ने अवस्थामा नरहेको तथा अब बन्ने गुरुयोजनाबाट जलविद्युत आयोजनाहरुका लागि स्पष्ट खाका तयार हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, हाल १३२ केभीएका २१ सय ३० किलोमिटर, ६६ केभीको ५ सय १२ किलोमिटर, १३२ केभीएको १३७६ एमबीए र ६६ केभीएको ४६४ एमबीएको प्रशारण लाइन निर्माण सम्पन्न भैसकेको छ भने ४०० केभीएको ५ सय ७० किलोमिटर, २२० केभीएका ४ सय ४६ किलोमिटर र १३२ केभीएको ७ सय ९३ किलोमिटर प्रशारण लाइन निर्माणाधीन अवस्थामा छन् ।
प्रशारण लाइन क्षेत्रमा विभिन्न माग राखी स्थानीयबासीहरुले अवरोध गरेपछि अधिकांश प्रशारण लाइन निर्माणमा अवरोध देखिएको छ भने प्रशारण लाइनबारे स्थानीय सर्वसाधारणसँग सहकार्य गरेर प्राधिकरण अघि बढ्न सकेको छैन । हालै प्राधिकरण सञ्चालक समितिको बैठकले नीजि क्षेत्रलाई समेत प्रतिष्पर्धाको आधारमा प्रशारण लाइन बनाउनका लागि दिने निर्णय गरिसकेको छ । स्पष्ट गुरुयोजना नभएको कारण अहिले आयोजनाको आवश्यकताको आधारमा प्रशारण लाइन बनाईरहेको भएपनि गुरुयोजनापछि व्यवस्थित र आवश्यकता अनुसारका क्षेत्रमा प्रशारण लाइन बनाउनका लागि सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।




No comments: