Sunday, December 22, 2013

मिल्चे मुलुककै पहिलो नवीकरणीय ऊर्जा गाउँ


राजधानी समाचारदाता- काठमाडौं, ६ पुस - सबै घरधुरीमा नवीकरणीय ऊर्जामार्फत बिजुली पुगेर काभ्रेको विकट मिल्चे गाविस मुलुकको पहिलो नवीकरणीय ऊर्जा गाउँ घोषित भएको छ । सहरमा लोडसेडिङको चरम समस्या भोगिरहेका बेला सदरमुकाम धुलिखेलबाट ५० किलोमिटर टाढा रहेको विकट गाउँ शनिबार नवीकरणीय ऊर्जाका लागि मुलुकको नमुना गाउँ घोषित भएको हो ।
समाजसेवी मधु आचार्य, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका जगदीशकुमार खोजू, रिमरेकमा अध्यक्ष डा. प्रेम शर्मा, जिल्ला ऊर्जा कार्यक्रम प्रमुख सञ्जीवकुमार लाल, गाविस सचिव भरत बस्नेतका साथै स्थानीयवासीहरूमाझ नवीकरणीय ऊर्जामा मिल्चेलाई नमुना गाविस घोषणा गरिएको थियो । प्रवद्र्धन केन्द्रको सहयोगमा रिमरेकमार्फत चारओटा लघु जलविद्युत् आयोजनामार्फत ३ सय ८६ घरधुरी तथा सोलारमार्फत ६२ घरधुरीमा बिजुली पु¥याएपछि मिल्चे गाविस लोडसेडिङमुक्तसमेत भएको छ ।
‘सबै घरधुरीमा नवीकरणीय ऊर्जामार्फत बिजुली पु¥याएपछि नमुना नवीकरणीय ऊर्जा गाविस घोषित भएको हो,’ प्रवद्र्धन केन्द्रको ग्रामीण विद्युतीकरण सहएकाइका राष्ट्रिय सल्लाहकार मधुसूदन अधिकारीले भने, ‘मिल्चे नेपालकै नवीकरणीय ऊर्जामार्फत सबै घरधुरीमा बिजुली बाल्ने पहिलो नवीकरणीय ऊर्जा गाविस हो । विश्वका अधिकांश देशमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् पुग्ने तथा नवीकरणीय ऊर्जामार्फत बिजुली सबै घरधुरीमा पुगेको थाहा छैन, सम्भवतः विश्वकै नवीकरणीय ऊर्जाका लागि पहिलो गाविससमेत यही हुन सक्छ ।
’ केन्द्रमार्फत मुलुकभरमा ७ लाख घरधुरीमा लघु जलविद्युत् र सोलारमार्फत ऊर्जा पुगेको छ । प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.गोविन्दराज पोखरेलका अनुसार सबै घरधुरीमा बिजुली पुगेर घोषित सन्देशले नवीकरणीय ऊर्जामार्फत ऊर्जा सुरक्षा हुन सक्छ भन्ने देखाएको छ । ‘नमुना गाविस घोषितले नवीकरणीय ऊर्जा पनि राम्रो विकल्प भन्ने देखाएको छ, ऊर्जा सुरक्षाका लागि नवीकरणीय ऊर्जामा यसले राम्रो माध्यम भने देखाएको छ,’ उनले भने ।
मिल्चे गाविसमा मात्र कुलकुले, दुर्लुङ खोला पहिलो, दोस्रो र तेस्रो लघु जलविद्युत् आयोजना तथा सोलारमार्फत सबै घरधुरीमा बिजुली पुगेको छ । यातायात सेवासमेत नपुगेको विकट गाउँ मिल्चेलाई नवीकरणीय ऊर्जायुक्त गाविस घोषणा गरेपछि स्थानीयवासीसमेत खुसी भएका छन् । कार्यक्रममा उनीहरूले गाउँमा बिजुली आएपछि आयआर्जन बढेको र जीवनमा खुसी बढ्दै गएको बताएका थिए ।
http://erajdhani.com/en/national/19903-------

No comments: