Wednesday, December 11, 2013

सबैभन्दा विद्युत् चोरी कलैयामा, कम काठमाडौंमा

भीम गौतम\राजधानी
काठमाडांै, २६ मंसिर
नेपाल विद्युत् प्राधिकरणमा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको चुहावट हुने गर्छ । १५ प्रतिशत प्राविधिक चुहावट रहेको प्राधिकरणमा चोरी चुहावट १० प्रतिशत छ । प्राधिकरणको तथ्यांकअनुसार चोरी चुहावटमध्ये सबैभन्दा बढी जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत हुन्छ भने सबैभन्दा कम काठमाडांै क्षेत्रीय कार्यालयअन्तर्गत हुने गरेको छ ।
आठ क्षेत्रीय कार्यालय रहेको प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी अर्थात् ३९ दशमलव ५५ प्रतिशत चुहावट हुने गरेको छ भने काठमाडांैमा सबैभन्दा कम १३ दशमलव ९ प्रतिशत चुहावट हुने गरेको छ । त्यसैगरी बुटबल क्षेत्रअन्तर्गत १९ दशमलव १६ प्रतिशत, विराटनगर क्षेत्रमा १८ दशमलव ७, नेपालगन्जमा १७ दशमलव ९१ प्रतिशत, हेटौंडामा १७ दशमलव ५, अत्तरियामा १५ दशमलव ५७ प्रतिशत र पोखरा क्षेत्रअन्तर्गत १४ दशमलव १९ प्रतिशत चुहावट छ ।
प्राधिकरणका अनुसार जनकपुर क्षेत्रअन्तर्गत पनि राजविराज वितरण केन्द्रमा सबैभन्दा बढी ५३ दशमलव ३५ प्रतिशत चुहावट छ भने सोही क्षेत्रअन्तर्गतको जलेश्वरमा ४८ र सिरहामा ४६ प्रतिशत चुहावट छ । त्यसैगरी, विराटनगरको रंगेली वितरण केन्द्रअन्तर्गतको ३९ दशमलव ९९ प्रतिशत, बेलबारीमा ३३ प्रतिशत र अनारमणिमा ३३ प्रतिशत, कलैयामा ५८ दशमलव ५५ र गौरमा ४७ दशमलव ८४ प्रतिशत चुहावट छ ।
त्यसैगरी, काठमाडौंअन्तर्गतको भक्तपुर वितरण केन्द्रमा ३९ प्रतिशत, सिन्धुपाल्चोकमा ३५ प्रतिशत र दोलखामा २६ प्रतिशत, बुटवल क्षेत्रअन्तर्गतको तौलिहवामा ३२ प्रतिशत, कावासोतीमा २३ दशमलव ४ र पाल्पामा २२ प्रतिशत, नेपालगन्जअन्तर्गतको गुलरियामा ३६ दशमलव ८२, प्युठानमा २२ दशमलव ६२ र नेपालगन्जमा २० दशमलव ५, अत्तरिया क्षेत्रीय कार्यालयअन्तर्गत डोटीमा ३० प्रतिशत, डडेल्धुरामा २१ दशमलव ३९ प्रतिशत र दार्चुलामा २० प्रतिशत तथा पोखराअन्तर्गतको स्याङ्जामा २१ दशमलव ८१, गोर्खामा १९ दशमलव ४ र गगनगाँडामा १५ प्रतिशत चुहावट हुने गरेको प्राधिकरणले जनाएको छ ।
चालू आर्थिक वर्षभित्र १ दशमलव ५ प्रतिशत चुहावट घटाउने लक्ष्य प्राधिकरणको छ । प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीले सबै क्षेत्रीय कार्यालयलाई चुहावट घटाउने कार्ययोजना बनाउन मागेपछि ती क्षेत्रीय कार्यालयले प्राधिकरणमा आफ्नो घटाउने लक्ष्यसहितको कार्ययोजनासमेत पेस गरेका छन् ।
‘पाँच विकास क्षेत्रबाटै चुहावट नियन्त्रण गर्ने आयोजना मागेका छौं,’ प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘आठ विकास क्षेत्रमा लक्ष्य निर्धारण गरेर चुहावट घटाउने कार्यक्रम अघि बढाउन लागेका छौं ।’प्राधिकरणमा क्षेत्रीय कार्यालयले पेस गरेको चुहावट घटाउने कार्ययोजनामा जनकपुरअन्तर्गत ६ प्रतिशत, काठमाडांै र पोखराअन्तर्गत शून्य दशमलव ५ तथा विराटनगर, हेटौंडा, बुटबल, नेपालगन्ज र अत्तरिया क्षेत्रीय कार्यालयअन्तर्गत १ प्रतिशत चुहावट घटाउने उल्लेख छ ।
पुरानै र थोरै क्षमताका प्रसारण लाइन, ट्रान्सफर्मर र सबस्टेसनको मर्मत अभाव, गुणस्तरीय सामान उपयोग नगर्नुलगायतका कारणले प्राविधिक चुहावट हुने गरेको छ भने हुक गरेर चुहावट हुने क्रम पनि बढेको छ । वितरणअन्तर्गत ७ प्रतिशत, प्रसारण लाइनअन्तर्गत ५ प्रतिशत र उत्पादनअन्तर्गत ३ प्रतिशत गरी १५ प्रतिशत प्राविधिक चुहावट हुने अनुमान गरिएको छ ।
बढी विद्युत् चुहावट हुने वितरण केन्द्र
केन्द्र    प्रतिशत
कलैया    ५८.५५
राजविराज    ५३.३५
रंगेली    ३९.९९
भक्तपुर    ३९
गुलरिया    ३६
तौलिहवा    ३२
स्याङ्जा    २१.८१
नेपालगन्ज    २०.५

No comments: