| 1 View(s) |
सन् १९८५ मा जलविद्युत् इन्जिनियरको रूपमा जलविद्युत् क्षेत्रमा प्रवेश गरेका ज्ञानेन्द्रलाल प्रधान यस क्षेत्रमा परिचित नाम हो । नेपाल विद्युत् प्राधिकरणमा छोटो समयको जागिरपछि जलविद्युत् आयोजनाको ठेक्का र निर्माणमा सक्रिय भएका प्रधान बुटवल पावर कम्पनीका साथै खुदी–४, अपर माई सी, चर्नावती खोला, आँखुखोलालगायतका थुप्रै आयोजनासँग आबद्ध छन् । चिलिमेका ठूलो सेयरलगानीकर्ता मानिने प्रधान स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) का सल्लाहकार, नेपाल उद्योग वाणिज्य महासंघ उर्जा विकास समितिका सभापति, सार्क पानी, ऊर्जा र वातावरण समितिका सभापति पनि हुन् । उनीसँग आगामी जलविद्युत् क्षेत्रको विकास, विस्तार र चुनौतीबारे राजधानीका लागि भीम गौतमले गरेको कुराकानी ः राजधानी विकास वार्ता * चाहेर वा नचाहेर पनि जलविद्युत्को विकासका लागि सक्रिय हुनुको विकल्प छैन * लोडसेडिङ त राजनीतिसँग जोडिन्छ, जोडिन्छ * जबसम्म बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना बन्दैन, तबसम्म अन्त्य हुँदैन * पानीको नाममा डलर लिएर स्वार्थ पूर्ति गर्ने केही समूहले जलविद्युत् निकासीको विरोध गरिरहेका छन् * बिजुली भनेको कमोडिटी हो * झोलामा खोला भन्ने शब्द एउटा आईएनजीओमा काम गर्ने डलरमा तलब खाने साथीले निकालेको शब्द हो * पेट्रोलका लागि डलर खाएर जलविद्युत्को विरोध गर्नेहरूको अवशान भइसकेको छ ० संविधानसभाको चुनावपछि अब जलविद्युत् क्षेत्रले कस्तो गति लेला भन्न सकिन्छ ? – संविधानसभाको चुनावअघिको अवस्था हेर्ने हो भने राजनीतिबाहेक सबैभन्दा ठूलो समस्या ऊर्जा संकट नै हो । लोडसेडिङको समस्या भयावह छ । पेट्रोलियम पदार्थ र ग्याँस अभाव पनि नेपालका लागि ठूलो समस्या बन्दै आएको छ । विद्युत् अभावको कारणले उद्योग धराशायी भएका छन् । नेपालीका लागि यो राजनीति जत्तिकै महŒवपूर्ण मुद्दा पनि हो । तीन वर्षमा लोडसेडिङ अन्त्य गर्ने गरी राजनीतिक दलहरूले जुन घोषणापत्रमा साझा रूपमा समावेश गरिसकेका छन् । त्यसले सरकार नबन्दै अब जलविद्युत् क्षेत्रका लागि आगामी सरकारले एउटा कदम चाल्छ भन्नेमा आशावादी हुने ठाउँ छ । ० जलविद्युत्बारे राजनीतिक दलहरूले त पहिलो संविधानसभाको चुनावअघि प्रतिबद्धता त जनाएका थिए तर उल्लेख उपलब्धि त हुन सकेन नि ? अब कसरी आशा गर्ने ? – ऊर्जा संकटका कारण अहिले जलविद्युत् क्षेत्रको विकासको मुद्दा जनताको मुद्दा बनेको छ । आउने जुनसुकै सरकार र राजनीतिक दलले पनि यो मुद्दालाई उपेक्षा गर्न सक्दैनन् । लोडसेडिङले वर्षको ३५ अर्ब रुपैयाँ व्यापार घाटा छ । विदेशबाट डलरमा ऊर्जा किन्नुपर्ने अवस्था छ भने बिजुलीकै अभावमा उद्योगधन्दा धराशायी भएका छन् । यस्तो अवस्थामा उनीहरू कसैले चाहेर वा नचाहेर पनि जलविद्युत्को विकासका लागि सक्रिय हुनुको विकल्प छैन । ० हाम्रो देशमा लोडसेडिङ हटाउने गफ मात्र भइरहेको आरोप लाग्छ नि ? – कसैको पेटमा चामल परेन भने राजनीतिक दललाई दोष दिने ठाउँ कमै हुन्छ । त्यसको दोष आफूलाई देख्छ । पानी र बिजुली आएन भने त्यसले पहिलो दोष राज्यले लिन्छ र यो दायित्व पनि हो । त्यसो नभए राज्यको नेतृत्व गर्ने राजनीतिक दलमा यसको दोष जान्छ । भारत र पाकिस्तानमा अहिले त्यो देखिसकिएको छ । पाकिस्तानमा यसपालि नवाज सरिफको जित भयो, यसको कारण यति वर्षमा लोडसेडिङ अन्त्य गर्छु भन्ने प्रतिबद्धतासमेत थियो । भारतमा आम आदमी पार्टीको जितको पछाडि पनि त्यो कारण छ । नेपालमा ठूला दल अगाडि आउनुको कारणमा पनि जलविद्युत्बारे उनीहरूले गरेको प्रतिबद्धता पनि एउटा कारण हुन सक्छ । लोडसेडिङ अन्त्य गर्ने कुरा उनीहरूले बोलेका छन् । ० उसो भए लोडसेडिङको मुद्दा प्रत्यक्ष राजनीतिसँग जोडिन लागेको हो ? – पक्कै हो । लोडसेडिङ त राजनीतिसँग जोडिन्छ, जोडिन्छ । लोडसेडिङ र बिजुली अभावको मुद्दा सबै दलको साझा मुद्दा बनिसकेको छ । यसलाई पूरा गर्न सकिएन भने राज्यमै विभिन्न समस्या आउने देखिसकिएको छ । दलहरूले चाहेमा यो समस्या चाँडै समाधान हुन सक्छ । ० धेरै जनताले सोधिरहेका छन्, लोडसेडिङ कहिले अन्त्य हुन्छ ? तपाईं लामो समयदेखि यस क्षेत्रमा लागेको नाताले के भन्नुहुन्छ ? – आफ्नै देशमा विद्युत् उत्पादन गरेर लोडसेडिङ अन्त्यको कुरा गर्ने हो भने अझै १० वर्ष लोडसेडिङ पूर्णरूपमा अन्त्य हुँदैन । जब बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना बन्दैन, तबसम्म अन्त्य हुँदैन । त्यो निर्माण पूरा गर्न अझै १० वर्ष लाग्छ । किनभने, अहिले हिउँदमा बढी उत्पादन दिन सक्ने ठूला आयोजनाहरूको निर्माण कार्य अघि बढाएका छैनौ । वर्षामा भने तीन वर्षभित्र तामाकोसी जलविद्युत् आयोजना आएपछि लोडसेडिङ अन्त्य हुन्छ । त्यतिबेला रातिको समयमा ७÷८ सय मेगावाट विद्युत् खेर जाने सम्भावना पनि रहने भएकाले त्यसको निकासी गर्नुपर्ने बाध्यता पनि आउन सक्छ । त्यसकारण पहिला विद्युत् हाम्रो देशका लागि हो र बढी भएमा भारततिर निकासीका लागि बजार खोज्नुपर्ने अवस्था पनि आउन सक्छ । ० मुलुकमै लोडसेडिङ भएको बेला बिजुली निकासी गर्ने भनेर विरोध पनि त भइरहेको छन् नि ? – हाम्रा अधिकांश खोला वर्षाको भेलमा बढी युनिट विद्युत् उत्पादन गर्ने गरी आउँछन् । उदाहरणका लागि हेर्ने हो भने कालीगण्डकी जलविद्युत् आयोजना १ सय ४४ मेगावाट हो तर हिउँदमा ५० मेगावाटभन्दा कम उत्पादन गर्छ । यस्तो अवस्थामा हिउँदमा बढी उत्पादन गर्ने गरी आयोजना अघि बढाउने विकल्प हुन सक्छ भने अर्को क्षमताअनुसार उत्पादन गरेर वर्षामा निकासी गर्ने अर्को विकल्प छ । हिउँदलाई मात्र लक्षित गरी उत्पादन गर्ने आयोजनाका कारण जलविद्युत् अत्यन्तै महँगो हुन्छ । हाम्रो बजारलाई मात्र लक्षित गरी बनाएको भए तामाकोसीलाई ३ सय मेगावाट मात्र बनाएको भए हुन्थ्यो, अहिले त ४ सय ५६ मेगावाट छ । खर्च उत्तिकै हुन्छ । अपर कर्णाली, अरुण–थ्री ३ सय मेगावाट मात्र बनाएको भए हुन्थ्यो तर अहिले ९ सय मेगावाट बनाउन लागिएको छ । यसकारण हामीले हाम्रो बिजुली सस्तो पार्नु छ भने ठूलो साइजमा बनाउनुको विकल्प छैन भने वर्षामा खेर जाने बिजुली निकासी नगरी सुख छैन । जलविद्युत् विकासको कुरा गर्दा निकासीको कुरा पनि अघि बढ्छ । बढी भएको बिजुली निकासी नगरी सुख छैन । आखिर जलविद्युत् उत्पादन नगरे पनि पानी बगेर खेर त गइरहेको छ नि † ० विद्युत् निकासीको विरोध त भइरहेको छ नि, किन राष्ट्रियतासँग जोडेर जलविद्युत् निकासीको विरोध हुन्छ ? – देशमा चेलीबेटी त निकासी गरियो, त्यो निन्दनीय कुरा हो । अर्को विडम्बना आज हामी हजारौं युवा निकासी गरिरहेका छांै । यसमा राष्ट्रियता किन आएन ? किन युवा देशमै बस्नुपर्छ भन्ने भावना आएन ? यो स्वाङ गरेर काम छैन । हामीमा राष्ट्रियता भन्ने कुरा धेरै कम छ । पानीको नाममा डलर लिएर स्वार्थ पूर्ति गर्ने केही समूहले जलविद्युत् निकासीको विरोध गरिरहेका छन् । यदि आज खाडी मुलुकले तेलको निकासी नगरेको भए, के हुन्थ्यो ? त्यहाँ सबैभन्दा सस्तो रूपमा तेलको प्रयोग गर्छन् । त्यो निकासी गरेर आएको पैसाले त्यहाँ सस्तो रूपमा बिजुली दिइरहेको छ । आज भुटानमा किन सबैभन्दा सस्तो बिजुली छ । किनकि, उसले निकासीबाट पैसा कमाएको छ र जनतालाई सस्तोमा जनतालाई दिएको छ । निकासी नगर्ने कुरा हो भने त गलैंचा, पस्मिना, हस्तकला अनि खाद्यान्न, केही पनि निकासी नगरौं । त्यसमा राष्ट्रियता किन आएन ? बिजुली भनेको कमोडिटी हो । पुग्दैन भने निकासी गर्नुहुँदैन, बढी हुन्छ भने निकासी गर्नुपर्छ, नत्र भने देशको व्यापार घाटा कम हुन सक्दैन । ० निकासी कसरी गर्न सकिन्छ त, उत्पादन त नेपालमा एकदम कम छ ? – १ सय दुई वर्षमा ७ सय मेगावाट बनाएको देशले आगामी दुई वर्षभित्र २१ सय मेगावाट पु¥याउँदै छ । विगत सय वर्षमा धेरै वैदेशिक सहयोग आएको थिएन । सन् २००५ पछिको अवधिमा ५ सय अर्ब रुपैयाँ बराबरको वैदेशिक सहयोग आउनेवाला छ । यसका लागि लाइसेन्स लिएर, कम्पनी खोलेर विदेशी लगानीकर्ताहरू बसेका छन् । जलविद्युत्को विकास नभएको त भन्न मिल्दै, मिल्दैन । सन् २००० अघिको नेपालको जलविद्युत् र त्यसपछिको जलविद्युत्को विकासक्रमलाई तुलना गर्न मिल्दैन । सन् २००० पछि मात्र जलविद्युत् विकासले गति लिन लागेको हो । यस अवधिमा विकास धेरै भएको छ तर गति अझै लिन सकेको छैन । जुन गतिमा हामी जान सक्छौ । जसको कारण लोडसेडिङ लामो समयसम्म बसिरहेको छ । ० निजी क्षेत्रले खोला ओगटेर राखेको आरोप तपाईंहरूमाथि लाग्ने गर्छ नि ? – झोलामा खोला भन्ने शब्द कहाँबाट आयो ? एउटा आईएनजीओमा काम गर्ने डलरमा तलब खाने साथीले निकालेको शब्द हो । उहाँले कहिल्यै जलविद्युत्को विकासका लागि कुनै मेहनत गर्नुभएको छैन । आउन लागेको जलविद्युत् अरुण फर्काउन ठूलो भूमिका खेल्नुभयो । अहिले अपर कर्णाली फर्काउन ठूलो भूमिका खेल्दै हुनुहुन्छ । निजी क्षेत्रलाई लगाएको आरोप बेतुक मात्र हो । २÷४ करोड कमाउनका लागि लगाएको आरोप हो । उहाँहरूले घाँस खाए हुन्छ । जलविद्युत्को विरोध गर्नेलाई अब जनताले घाँस खुवाउँछन् । विगतमा जनताले त्यस्ता आईएनजीओका प्रतिनिधिहरूलाई घाँस खुवाएका उदाहरण छन् । कालीगण्डकी जलविद्युत् निर्माणमा विरोधमा गएकाहरूलाई पनि घाँस खुवाइएको उदाहरण छ । पेट्रोलियम व्यवसाय प्रवद्र्धनका लागि २÷४ करोड लिएर जलविद्युत्को विकास गर्नुहुन्न, निकासी गर्नुहुन्न, विदेशी ल्याउन दिनुहुन्न भन्नेहरू आज आँट छ भने, म चुनौती दिन चाहन्छु, ती व्यक्ति जलविद्युत् भएको क्षेत्रमा जाऊन्, भाषण गरून्, जनताले घाँस खुवाएनन् भने म कान काटिदिन्छु । पहिलो जलविद्युत्को विरोध गर्नेहरूको आवाज धेरै तल गइसकेको छ । यदि उहाँहरूले विरोध नगरेको भए आज २ सय २५ मेगावाटको देवघाटमा आयोजना बनिसकेको हुन्थ्यो । विरोध नगरेको भए अरुण बनेर ५० पैसा प्रतियुनिटमा विद्युत् उत्पादन भइरहेको हुन्थ्यो । १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी बनिसकेर नेपालको आर्थिक क्षेत्रमा ठूलो विकास भइसकेको हुन्थ्यो । आज नेपाल विकसित राष्ट्रको दाँजोमा पुगिसकेको हुन्थ्यो । अब फेरि तिनैको कुरा सुन्न थाल्ने हो भने देश झन् अद्योगतिमा जाने निश्चित छ । ० निकासी विरोध गर्नेहरूका पछाडि त जनता छन् नि, उनीहरूलाई तपाईंले किन विश्वस्त बनाउन सक्नु भएन ? खोला त निजी क्षेत्रले ओगटिरहेका छन् भन्ने अवस्था त छ नि ? – माओवादी द्वन्द्वअगाडि निजी क्षेत्र बोल्न गाह्रो थियो तर त्यो द्वन्द्वले बोल्ने बनायो । केही बोल्यो कि सरकारी अधिकारीहरूले त्यसको प्रतिक्रिया जनाइहाल्ने । अहिले सही सत्य कुरा जनताले बोल्छन् र अहिले जनता बोल्न थालेका छन् । गाउँ–गाउँमा ८० प्रतिशत जनता सही बोल्ने भएका छन् । त्यो बेला एमालेलाई यो बिजुली बनेपछि भारतले फाइदा लेला भन्ने डर थियो । राजा वीरेन्द्रको पनि भारतसँग द्वन्द्व थियो । त्यो बेला अरुण फिर्ता पठाउन पेट्रोलको डलर खाने घुसियाहरूलाई सजिलो भयो । ४÷५ करोड गोजीमा आउने हुनाले उनीहरू सफल भए । अब यस्तो सफलता सम्भव छैन । अपर कर्णालीमा एक पटक आगो लगाउने काम भयो, पछि फेरि आगो लगाउँदा यिनीहरूलाई जनताले खेदेर पठाए । पेट्रोलका लागि डलर खाएर जलविद्युत्को विरोध गर्नेहरूको अवशान भइसकेको छ । केही अवशेष बाँकी छ, त्यो पनि समाप्त गर्न सकेमा यो देशको विकास हुन्छ । ० सरकारको नीति नियम जलविद्युत्का लागि लगानीमैत्री छैन भन्ने आरोप लाग्छ नि ? – हाम्रो देशमा सरकारमा जानेहरूले कहिल्यै सिकेनन् कसरी सरकार चलाउने भनेर । प्रजातान्त्रिक तरिकाले कर्मचारीतन्त्र चलाउने कुरा कहिल्यै सिकेन । कि राणाले, कि पञ्चायतले त कि मन्त्रीले भनेर चल्ने प्रशासक आए । २०४६ सालपछि गिरिजाबाबुले एउटा गलत काम गरिदिनुभयो, कर्मचारीतन्त्रलाई पूरै कमजोर बनाइदिनुभयो । पञ्चायतका कर्मचारीहरू फालेर कर्मचारीतन्त्रलाई राजनीतीकरण गर्नुभयो ।
अहिले अवस्था त्यस्तै छ । मन्त्रीले चाह्यो भने जुनबेला पनि सचिव परिवर्तन गरिदिन्छ । भारतमा यो सम्भव छैन । जुनसुकै पार्टीको सरकार भए पनि कर्मचारीतन्त्रबारे निश्चित नीति छ, त्यो नीति परिवर्तन हुँदैन । दिल्लीमा अहिले जितेको पार्टीले ५० प्रतिशत अनुदान दिने भनिएको छ, त्यो सम्भव छैन । यसमा कर्मचारीतन्त्रले साथ दिने अवस्था छैन । कर्मचारी जहिले पनि राजनीतिककै पछि लागेको हुनाले हामीले स्थायित्व पाउन सकेनौं । अस्थायी मन्त्रीको पछाडि कर्मचारीहरू लाग्नुपर्ने अवस्था छ ।
त्यसकारण हामी कर्मचारीको पछाडि भन्दा पनि राजनीतिक दलकै प्रतिनिधिहरू प्रतिबद्धता चाहिन्छ भनेर नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा जलविद्युत्बारे साझा प्रतिबद्धता जनाउन लगायौं ।
० जलविद्युत् विकासका लागि अवरोध के–के छन् र लगानीमैत्री वातावरण बनाउन के चाहिन्छ ? – मुख्य समस्या भनेको जलविद्युत्को प्रतिफल नै छैन । १२ प्रतिशत ब्याज तिरेर प्रतिफल जम्मा ८ प्रतिशत आउँछ भने लगानी कसरी गर्ने ? राज्यले निजी क्षेत्रलाई ठूलो धोका दिएको छ । बुटबल पावर कम्पनीलाई ३ प्रतिशत ब्याजमा, नेपाल विद्युत् प्राधिकरणको सेती आयोजनालाई १ प्रतिशत ब्याजमा ऋण दियो । साना जलविद्युत् आयोजना बनाउन प्राधिकरणलाई ८ प्रतिशत ब्याजमा ऋण दिने चलन छ ।
निजी क्षेत्रलाई १२ प्रतिशत किन ? मेरो राज्यलाई पहिलो प्रश्न ? राज्यले निजी क्षेत्र आओस् भन्ने चाहेकै छैन । मुखले चाहेको छ, केही राम्रा नीति पनि दिएको छ तर अहिलेको महँगो ब्याजमा जलविद्युत् आयोजना बन्न सक्दैन । दोस्रो कुरा राज्यले अनावश्यक भ्याट लगाएको छ । अरू आयातलगायतमा छुट दिने सरकारले निर्माणमा किन भ्याट लगाएको ? यसबाट ७ प्रतिशत मूल्य बढेको छ । यो सरकारले किन निकाल्न सक्दैन ? २६ ओटा निजी क्षेत्रबाट बनेका आयोजना कसैले फाइदा लिन सकेका छैनन् ।
सम्पत्ति शुद्धीकरणजस्तो कानुन रातारात पास गर्न सक्ने सरकारले ६ वर्षदेखि विद्युत् ऐन किन पारित गर्न सक्दैन ? खोई त राज्यको प्रतिबद्धता ? राज्यले निजी क्षेत्रको सहभागिता बढाउने गरी नीति ल्याउनुप¥यो । भारतबाट आयात गरेको विद्युत्मा प्रतियुनिट आठ रुपैयाँ दिन सक्ने सरकारले निजी क्षेत्रमा एक रुपैयाँ बढाउन किन नहुने ? चिलिमेको प्रतिमेगावाट ५ हजार डलर पुगिसक्यो, त्यत्रो लागतमा बनाउन हुने, निजी क्षेत्रलाई सुविधा दिन किन नहुने ? प्रतियुनिट २ हजार डलरमा बनाएको योजनालाई १६ प्रतिशत त नाफा देऊ ।
यसकारण अनावश्यक भरमा लगाएको कर सरकारले हटाउनुपर्छ, मूल्यवृद्धिअनुसार महसुल बढाइदिनुपर्छ । सरकारले ग्यारेन्टी बसेर ६ प्रतिशतमा ऋण ल्याउनका लागि सहयोग गर्नुपर्छ । यति त गर्न सक्छ । यसो भएमा हामी तत्काल ५ सय मेगावाटका आयोजना अघि बढाउन सक्छौं ।
० यसबारे दबाब दिनुभएको छैन र ? – दिएका छौं, केही सुधार पनि भएको छ । १२ प्रतिशत कर्जा ऊर्जा र कृषिमा बैंकहरूले लगानी गर्नै पर्ने व्यवस्था ल्याइदिएको छ, यो सकारात्मक छ तर चुरो कुरामा राज्य चुप लागेर बसेको छ । त्यो नभई निजी क्षेत्रले जलविद्युत् बनाउन सक्दैन । अर्को कुरा के छ भने सरकारले सानातिना १०÷२० मेगावाटका आयोजनाहरू बनाइरहेको छ । राज्यले साना आयोजना बनाउने होइन, निजी क्षेत्रलाई दिने हो । राज्यले त ठूला–ठूला आयोजना बनाउने हो । यसमा नीति परिवर्तन हुनुप¥यो । अर्को कुरा विदेशी लगानीकर्ताहरू आएका छन्, उनीहरूलाई भोलि के गर्छस् भन्ने होइन, आयोजना अघि बढाउन सहजीकरणको भूमिका पो खेल्नुप¥यो ।
सुपर सिक्स आयोजनाको निर्माण चाँडै गरिदिएको भए, धेरै आयोजनाहरू बनिसक्थे । राज्यले निर्णय गर्न ढिलाइ गरिदियो । अहिले जति पनि विदेशी लगानीकर्ताहरू आएका छ्न, उनीहरू चुस्नका लागि आएको भान राज्यका निकायलाई परेको छ । ती आयोजनाहरूले फ्री इनर्जी र इक्विटी दिएका छन्, ती आयोजना निर्माणका लागि राज्यका निकायले सहजीकरण पो गर्नुप¥यो । तर, राज्यका निकाय राणा शासक जस्तो भएको छ ।
यो गर्न दिन्न, ऊ गर्न दिन्न भनिरहेका छन् । पश्चिम सेती किन अघि बढ्न सकेन ? किनकि, राज्यले त्यसलाई नियन्त्रण गरेर बसेको छ । जुन देशमा लोडसेडिङ छ, त्यहाँ त राज्यले सहजीकरण पो गर्नुप¥यो । अर्को कुरा नेपाल र भारतबीचमा बन्नुपर्ने ठूला–ठूला आयोजनाहरू अघि बढाउनुप¥यो । सप्तकोसी, पञ्चेश्वर, महाकालीलगायतका ठूला आयोजनाहरू बनाउनुप¥यो तर यी ठूला आयोजनामा राज्यको प्रतिबद्धता त देखिएन ।
० तपाईं २८ वर्षदेखि जलविद्युत क्षेत्रमा लागेको तर तपाई आफै जलविद्युतबाट लगानी झिकेर अन्य क्षेत्रमा लगाउन थाल्नुभएको छ, किन नीजि लगानीकर्तामा यस्तो निराशा ? – आज म जलविद्युत आफ्नो बनाउनुभन्दा चिलिमेको शेयर किन्न मन पराउँछु । किनकि चिलिमेले मलाई ३० प्रतिशत लाभांश दिन्छ । मेरो योजनाले मलाई ८ प्रतिशतभन्दा बढी दिँदैन । अहिलेकै अवस्था हेर्ने हो भने त जलविद्युत आयोजना बनाएर बस्नु जस्तो मुख्याई केही छैन तर जलविद्युत क्षेत्र भविष्य हो र सुधार हुन्छ भन्ने आशा छ । चार सय मेगावाट बराबरका आयोजना नीजि क्षेत्रले बनाईरहेका छन् । १५६ अर्ब लगानीको प्रतिवद्धता नीजि क्षेत्रबाट आईसकेको छ । गाह्रो हुँदा हुँदै पनि नीजि क्षेत्रले जलविद्युतमा लगानी गरिरहेको छ । राज्यले सहजीकरण गर्यो भने साढे तीन बर्षभित्र नीजि क्षेत्रले लोडसेडिङको अन्त्य गरिदिन सक्छ । बनिरहेका र बन्ने आयोजनाबाट त्यो सम्भव छ । |
Wednesday, December 25, 2013
जलविद्युत्को विरोध गर्नेलाई अब जनताले घाँस खुवाउँछन्
Subscribe to:
Post Comments (Atom)
1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment