Monday, December 15, 2014

उपल्लो खिम्ती जलविद्युत् आयोजनालाई लगानी जुट्यो

राजधानी समाचारदाता

काठमाडौं, २८ मंसिर
दोलखामा निमाणाधीन १२ मेगावाटको उपल्लो खिम्ती जलविद्युत् आयोजनाका लागि पुँजी जुटेको छ ।हिमालय ऊर्जा विकास कम्पनीलिमिटेड प्रवद्र्धक रहेको सो आयोजनाका लागि १ अर्ब ४३ करोड ५० लाख रुपैयाँबराबरको पुँजी जुटेको हो । नबिल बैंकको नेतृत्वमा चारओटा बैंकले १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ सहवित्तीयकरण गरेका हुन् । नबिल बैंकले ४५ करोड, नेपाल बैंकले ४० करोड, एभरेस्ट बैंकले ४० करोड र एस डेभलपमेन्ट बैंकले १८ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको छ ।
सोसम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष हरि पाण्डे र नबिल बैंकका प्रोजेक्ट फाइनान्सिङ म्यानेजर यज्ञप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।
आयोजनाको कुल लागत १ अर्ब ९१ करोड ४० लाख रुपैयाँ रहेकामा ७५ प्रतिशत बंैक ऋण लगनी र २५ इक्विटी लागानी रहने छ ।
४७ करोड ८५ लाख इक्विटी (स्वपुँजी) रहेकामा ३१ करोड १० लाख संस्थापक सेयर धनीबाट र बाँकी १६ करोड ७५ लाख रुपैयाँ सर्वसाधारणबाट उठाइने छ । जसको १० प्रतिशत अर्थात् ६ करोड ७ लाख ७५ हजार स्थानीय जनताबाट उठाइने लक्ष्य रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ३० किमी लामो रामेछाप–खिम्ती–गर्जाङ १ सय ३२ केभी विद्युत् प्रसारणनको गर्जाङ सबस्टेसनमा विद्युत् प्रवाह गर्नेगरी कनेक्सन एग्रिमेन्ट भएअनुसार यस आयोजनाबाट उत्पादित पावर हाउसबाट गर्जाङ सब स्टेसनसम्म करिब ३.५ किमी १३२ केभी प्रसारण लाइन निर्माण गरिनेछ ।
यो आयोजना २०७४ सालकात्तिक ३० गतेभित्र निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । २०६७ माघ ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको यस आयोजनाले विद्युत् विकास विभागबाट ३ पुस २०६९ मा उत्पादन अनुमतिपत्र पाएको थियो ।
त्यसैगरी, हिमालय ऊर्जा विकास कम्पनीले नै निर्माण गर्न लागेको अर्को ७ मेगावाटको आयोजना अपर खिम्तीको वित्तीय व्यवस्थापन पनि चाँडै हुन लागेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार, उपल्लो खिम्तीमा लगानी गर्ने बैंकहरूले नै अपर खिम्तीमा पनि लगानी गर्ने सैद्धान्तिक सहमति गरेका छन् । कुल लगानी करिब १ अर्ब १९ करोड लाग्ने यस आयोजनामा करिब ८९ करोड २५ लाख रुपैयाँ लगानी गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।
http://rajdhani.com.np/article/0073220001418612332

No comments: