Sunday, December 21, 2014

माथिल्लो कर्णालीमा आईएफसीको १० प्रतिशत सेयर

राजधानी समाचारदाता

काठमाडौं, ५ पुस
माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) ले लगानी गर्ने १० प्रतिशत सेयर जुटाउनेसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर हुन लागेको छ ।
कर्णाली जलविद्युत् प्रवद्र्धक कम्पनी जीएमआर र आईएफसीबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । अर्थमन्त्री डा. रामशरण महतसँगको भेटमा आईएफसीका कन्ट्री मेनेजर काइल केलहोफरले १० प्रतिशत सेयर दिनेबारे सोमबार हस्ताक्षर हुन लागेको जानकारी दिएका थिए । माथिल्लो कर्णाली करिब १ खर्ब ११ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको छ ।
भेटमा कन्ट्री मेनेजर केलहोफरले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा स्रोतको अभाव नहुने नदिन बताउँदै उनले अरुण, काबेली र माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा पनि आईएफसीले लगानी गर्ने जानकारी दिएका थिए । सो अवसरमा अर्थमन्त्री डा. महतले अन्य आयोजनामा लगानी गर्नका लागि पनि आईएफसीलाई अनुरोध गरेका थिए । केलहोफलरले भने, ‘सुरुमा लगानी गर्न लागेका आयोजना सफल भए अन्य जलविद्युत् आयोजनामा समेत लगानी गर्नेछौं ।’
गत असोजमा मात्र लगानी बोर्ड र जीएमआरबीच आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको थियो । सन् २००८ मा खुला प्रतिस्पर्धाद्वारा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सर्वेक्षण अनुमतिपत्र लिएकामा सन् २०१० मा पीडीएका लागि जीएमआरले निवेदन दिएको थियो भने सन् २०१२ देखि निरन्तर रूपमा बोर्ड र जीएमआरबीच पीडीए वार्ता हुँदै आएको थियो ।
दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरी त्यसको पाँच वर्षभित्र माथिल्लो कर्णाली आयोजना बनाइसक्ने लक्ष्य जीएमआरको छ । आयोजनामा नेपालले १२ प्रतिशत निःशुल्क ऊर्जा र २७ प्रतिशत इक्वेटी पाउनेछ । 

No comments: