Wednesday, December 3, 2014

विद्युत् प्राधिकरणको अस्तव्यस्त भवन संरचना मिलाइँदै

एउटै निर्देशनालयका निकाय पाँच ठाउँसम्म

राजधानी समाचारदाता
काठमाडौं, १६ मंसिर
नेपाल विद्युत् प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयका सबै निकाय पुग्न पाँच ठाउँसम्म धाउनुपर्छ । आफ्नो काम लिएर निर्देशनालय पुग्नेहरूका लागि कोठा खोज्दाखोज्दै हैरानी नै हुन्छ ।
सामान्य कुरासमेत मिलाउन नसक्ने अस्तव्यस्त प्राधिकरणको यो छरिएको संरचनालाई अब बल्ल व्यवस्थित र एकीकृत गरिने भएको छ । केन्द्रीय कार्यालय परिसरभित्र रहेका भवनहरूमा तलालाई आवश्यकको आधारमा पहिचान गरेर एउटै भवनभित्र र तला मिलाएर व्यवस्थित गर्न लागिएको हो ।
प्राधिकरणका अनुसार, इन्जिनियरिङ, योजना अनुगमन तथा सूचना प्रविधि, अर्थ, उत्पादन र प्रसारण लाइन निर्देशनालय र यसअन्तर्गतका निकायहरूलाई व्यवस्थित गर्न लागिएको हो । प्राधिकरणको काम कारबाहीमा सहज बनाउन तथा सेवाग्राहीलाई सजिलो पार्नका लागि व्यवस्थित गर्न लागिएको प्राधिकरणले जनाएको छ । ‘हेर्दा सामान्य हो तर अहिले प्राधिकरण निर्देशनालयका भवन संरचना अस्तव्यस्त जस्तै छ, यसलाई व्यवस्थित गर्न लागिएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने ।
हाल इन्जिनियरिङ निर्देशनालय र यसअन्तर्गतका निकायहरू प्राधिकरण प्रधान कार्यालयको भवन १, २ र ३ को क्रमशः एकदेखि पाँचौ तलासम्म छरिएर रहेकोमा अब भवन नम्बर १, २ र ३ को चौथो तला सबै र हाल नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना रहेको कार्यालयसमेत समेटेर एकीकृत बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।
यसैगरी, भवन नम्बर १ र २ को तेस्रो तलाका अतिरिक्त साविकको एलडीसी भवन एवं अन्यत्र पनि प्रसारण लाइन निर्देशनालयअन्र्तगतका कार्यालय रहेकाले भवन नम्बर १ र २ को तेस्रो तलामा प्रसारण निर्देशनको कार्यालय एकीकृत गर्न
लागिएको छ । यसैगरी भवन नम्बर १ र २ का प्रथम, दोस्रो र तेस्रो तलाका केही कोठाका साथै अर्थ भवनको पाँचौं तला र चारखालमा समेत योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालय रहेकोमा सूचना प्रविधि र विद्युत् व्यापार विभागलाई साविककै एलसीडी भवनको पहिलो र दोस्रो तला तथा अन्यलाई भवन नम्बर ३ को पहिलो, दोस्रो र भुइँ तलामा रहने गरी व्यवस्थित गरिएको प्राधिकरणले जनाएको छ ।
यसैगरी, प्रशासन निर्देशनालय र यसअन्तर्गतको कार्यकारी निर्देशकको कार्यकक्षलाई भवन नम्बर १ को भुइँतला, चारखालको माथिल्लो भवनमा व्यवस्थित गरिएको छ भने अर्थ निर्देशनालयलाई अर्थ भवनको भुइँ तला, पहिलो, दोस्रो, तेस्रो र चौथो तलामा राख्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणले नयाँ संरचना कार्यान्वयनका लागि केन्द्रीय कार्यालयभित्र रहेका आयोजनाहरूको कार्यालयलाई हाताबाहिर सार्ने निर्णय प्राधिकरण व्यवस्थापनले गरेको छ ।

बजेट निकायमा पनि एकद्वार प्रणाली

नेपाल विद्युत् प्राधिकरणको विभिन्न योजना तथा कार्यक्रमका लागि आउने बजेट प्राधिकरण सम्बन्धित निकायले सीधै निकासा लिने गरेकोमा व्यवस्थापनले एकद्वार प्रणाली अपनाएको छ । मन्त्रालयबाट आएको बजेट सम्बन्धित क्षेत्रमै खर्च नहुने र रकमान्तर हुने समस्या देखिएपछि प्राधिकरण व्यवस्थापनले संस्थागत योजना तथा अनुगमन विभागको सिफारिसमा मात्र दिने निर्णय गरेको हो । अब विभागले आयोजनाका लागि भएको खर्चका आधारमा थप किस्ता उपलब्ध हुनेछ ।
http://www.rajdhani.com.np/article/0318513001417577666

No comments: