१५ वर्षसम्म युनाइटेड अरब इमिरेट्स, आबुधाबीमा स्पेसल पुलिस कमान्डो
फोर्समा काम गर्दा काभ्रे ¥यालेका लक्ष्मण सापकोटाले धेरै विदेशीको एउटै
प्रश्नको सामना गर्नुप¥योे, ‘तपाईं कति पटक सगरमाथा चढ्नुभयो ?’ नेपाल भनेर
परिचय दिएपछि सोधिने यो प्रश्नको उत्तर चढेको छैन भनेर दिँदा हीनताबोध
हुन्थ्यो, उनलाई । विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशको नागरिक हुनुको
गौरव उनलाई विदेशीले समेत नाम लिएपछि अझ बढी भयो तर सगरमाथा चढे÷नचढेको
प्रश्नले सधैं मन पोलिरह्यो ।
दुईओटा कृति प्रकाशन गरिसकेका र पाँचओटा कृति प्रकाशनको तयारीमा रहेका
साहित्यकार सापकोटाले २०५३ देखि २०६८ सालसम्म आबुधाबीमा बिताउँदा नेपाल
फर्केपछि एक पटक सगरमाथा टेकी छाड्छु भनेर अठोट गरे । २७ पुसमा ४७ वर्ष
टेक्न लागेका लक्ष्मणले सुनाए, ‘फेरि कुनै विदेशीले सोध्दा सगौरव सगरमाथा
चढें भन्नका लागि विशेष तयारीमा छु ।’ अहिले उनी अभ्याससँगै नेपालको प्रथम
साहित्यिक हिमाल आरोहण यात्राका लागि व्यवस्थापनमा सक्रिय छन् ।
प्रयास कविता संग्रह (२०६४) र वास्तविकता कथा संग्रह (२०६५) प्रकाशन
गरिसकेका उनी तीन सामाजिक उपन्यास प्रवासका पन्ध्र वर्षहरू, हेडसर र
लीलावतीको सेरोफेरो तथा प्रवासका कथाहरू संग्रह र जानी राखौं कविता संग्रह
प्रकाशन तयारीमा व्यस्त छन् ।
भावना र कल्पनामा कलमसँग खेल्ने उनी हिमालको चट्टानसँग संघर्ष गरेर
विश्वको सर्वोच्च शिखर पुगेरै छाड्ने अभियानमा छन् । २०६८ सालमा नेपाल
फर्केर सगरमाथा आरोहणका लागि सुरु भएको तयारी तीव्र गतिमा छ । यो तयारीसँगै
३० वर्षअघिदेखिको उनको साहित्यिक यात्रा पनि जारी नै छ । २०४५ देखि २०५०
सालसम्म नेपाली सेनामा कामसमेत गरिसकेका तथा यूएई स्पेसल पुलिस कमान्डो
फोर्सका साथै मार्सल आर्ट, किक बक्सिङ, कराँते र एथलेटिक्सको तालिम
लिइसकेका लक्ष्मणलाई हिमाल आरोहरणका लागि यी अनुभवले धेरै सहयोग गरेको छ ।
रक क्लाइमिङ तालिमका साथै काभ्रेकै सबैभन्दा अग्लो नारायणस्थानको साहित्यिक
यात्रा र हरेक बिहानको १२ किलोमिटरभन्दा लामो मर्निङ वाकले समेत उनलाई
आरोहरणको अभ्यासमा थप सहजता दिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नुअघि हरेक आरोहीले चढ्नै पर्ने ६ हजार २
सय मिटर अग्लो सोलुखुम्बुको इम्जात्से (आइल्यान्ड पिक) को २३ नोभेम्बेर
२०१४ मा सफल आरोहण गरिसकेका छन्, उनले । आगामी २०७२ को वैशाखमा विश्वको
सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर चार विश्व साहित्यिक कीर्तिमान
कायम गर्ने उनको लक्ष्य छ । लक्ष्मणका अनुसार हालसम्म सगरमाथाको साहित्यिक
आरोहण नभएकाले यो साहित्यिक आरोहणको रूपमा विश्व कीर्तिमान कायम गर्न पहिलो
हुनेछ । त्यसैगरी, विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर
सामाजिक प्रवासका प्रन्ध वर्षहरू विमोचनका साथै चुचुरोमा उभिएर कविता वाचन
गरी नयाँ कीर्तिमान कायम गर्न लागेका छन् । विश्वको सर्वोच्च शिखरमा भगवान्
पशुपतिनाथ र गौतम बुद्धको तस्बिर सगरमाथा पु¥याएर फेरि पशुपति र
लुम्बिनीमा राखी त्यसमा पनि विश्व कीर्तिमान कायम गर्ने उनको लक्ष्य छ ।
‘निजामती, समावेशी, खेलाडीलगायतले सगरमाथाको टुप्पोमा पुगेर कीर्तिमान
राखिसकेका छन्, साहित्यकारको रूपमा म राख्नका लागि सबै किमिसको अभ्यास
गरिरहेको छु,’ लक्ष्मणले भने, ‘सबै साहित्यिक लेखक, स्रष्टाको सम्मानमा अरू
साहित्यकार सगरमाथा चढ्ने नभएकाले एक्लै चढ्न लागेको हुँ ।’
२०७१ चैत्रमा सगरमाथाको बेस क्याम्पमा पुगेर तालिम लिई २०७२ वैशाखमा शिखर
चुम्ने उनको लक्ष्य छ । पनौतीबाट एकै पटक आइल्यान्ड पिक निर्धारित समयभन्दा
तीन दिनअघि पुगेपछि उनमा सगरमाथा चुम्न थप हौसला बढेको छ । सगरमाथा चढ्ने
क्रममा चार विश्व कीर्तिमानका साथै नेपालको भाषा एकीकरण गर्ने रामायण,
धेरैले रुचाएको लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, काभ्रेको नक्साको तस्बिर,
पनौतीको इन्द्रेश्वर मन्दिरको फोटो र जनमत साहित्यिक पत्रिका सर्वोच्च
शिखर पु¥याएर राष्ट्रिय कीर्तिमान बनाउने योजना पनि उनको छ ।
हिमाल आरोहण गर्दा मृत्युसँग जुध्नुपर्ने यथार्थताबाट उनी अनभिज्ञ छैनन् ।
६२ वर्षको सगरमाथा आरोहण यात्राको इतिहासमा ६ सयभन्दा बढीले ज्यान
गुमाएको, ४ हजारले सफल आरोहण र हजारौं शिखर चुम्न असफल भएको बताउँदै उनी
आफू सबै खतरासँग जुधेर सगरमाथा चुम्न अग्रसर भएको बताउँछन् । सगरमाथा चढ्न
सुरु गरेसँगै उनले आफ्नो साहित्य सिर्जनालाई पनि निरन्तरता दिनेछन् ।
‘हिमालका खुड्किला चढ्दा कविता, कथा सिर्जनामा पनि मेरो पाइला अघि बढ्छन्,’
उनले भने, ‘हिमाली सुन्दरताका तस्बिरहरू र अनुभव कविता, कथामा पनि
प्रस्फुटन गर्ने योजना छ ।’
उनले सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नेपाल पर्यटन बोर्डलगायतसँग
लिनुपर्ने स्वीकृतिलगायतका प्रक्रिया अघि बढाउन लागेका छन् । झन्डै ६० लाख
रुपैयाँ लाग्ने सगरमाथा आरोहणका लागि आर्थिक संकलन अभियानमा समेत उनी
सक्रिय छन् । चोयु ट्रेकिङमार्फत सात पटक हिमाल चढिसकेका पेम्बा दोर्जे
शेर्पा उनका प्रमुख गाइड छन् । उनीसँग उनले सगरमाथा चुचुरो पुग्नुअघि पनि
धेरै अभ्यास गर्नेछन् ।
सगरमाथा चढ्नुअघि उनले आगामी माघको दोस्रो सातादेखि मेची–महाकाली प्रथम
साहित्यिक दौडको समेत आयोजना गर्न लागेका छन् । १ हजार ५० किलोमिटर लामो
साहित्यिक यात्रा मेचीबाट सुरु भएर महाकालीमा अन्त्य हुनेछ । प्रत्येक दिन
सरदर ५० किलोमिटर दौड गर्ने लक्ष्य राखेका लक्ष्मणले प्रत्येक दिनको दौड
सकिएपछि सम्बन्धित क्षेत्रमा साहित्यिक कार्यक्रम आयोजना गर्ने लक्ष्य
राखेका छन् । ‘राष्ट्रिय कीर्तिमान राख्ने गरी माघको दोस्रो सातादेखि
साहित्यिक दौड गर्दै छु, प्रत्येक दिनको दौड सकेपछि साहित्यिक कार्यक्रम
गर्ने लक्ष्य छ,’ उनले भने ।
तीन वर्ष गाउँमै शिक्षक, पाँच वर्ष नेपाली सेना, १५ वर्ष यूएईको पुलिस
कमान्डोमा काम गरेका लक्ष्मणसँग सामाजिक संघ÷संस्थामा काम गर्दाको अनुभव
पनि छ । नेपाल समाज यूएईको उपाध्यक्षको रूपमा काम गरेका सापकोटा नेपाल
साहित्यिक तथा सांस्कृतिक समाज यूएई र सर्वदा वाङ्मय प्रतिष्ठानको संस्थापक
अध्यक्ष हुन् । प्रवासी नेपाली संघ यूएईको संस्थापक केन्द्रीय
उपाध्यक्षसमेत रहिसकेका उनी महानन्द सापकोटा वाङ्मय प्रतिष्ठान काभ्रे र
जनसाहित्यिक मञ्च काभ्रेको वर्तमान अध्यक्ष हुन् । यूएईमा रहँदा पीडित
नेपालीको पक्षमा सेवामा सक्रिय सापकोटा भविष्यमा साहित्यमार्फत सामाजिक
सेवा र सकारात्मक सोचलाई अभिवृद्धि गर्ने अभियानमा आफूलाई समर्पित गर्ने
योजनामा छन् । ‘१५ वर्षको अवधिमा लाखौं नेपालीका लागि मेरो व्यक्तिगत मात्र
१ करोडजति खर्च गरें हुँला,’ उनले सुनाए, ‘पीडामा परेका धेरै नेपालीको
उद्धारमा सक्रिय भए ।’
साहित्यिक आरोहण गरी विश्वको सर्वोच्च शिखर पुगेर साहित्कार, लेखकको समेत
इज्जत उच्च बनाउन लागेका लक्ष्मण नेपाल प्रज्ञा प्रतिष्ठानलगायतले समेत
सहयोग गर्ने प्रतिबद्धता जनाएपछि झन् खुसी छन् । सगरमाथा सफल आरोहण गरेर
विश्व कीर्तिमान राख्न सकिने हिम्मत बटुलेका उनको योजनालाई धेरै
साहित्यकारले गौरवको रूपमा लिएका छन् ।
http://rajdhani.com.np/article/0860842001419645852
No comments:
Post a Comment