Sunday, November 24, 2013

बिजुली बिल तिर्न ‘रिचार्ज कार्ड’

भीम गौतम\राजधानी
काठमाडौं, ९ मंसिर
अब नेपाल विद्युत् प्राधिकरणका ग्राहकले बिजुलीको बिल रिचार्ज कार्डबाट तिर्न पाउने भएका छन् । बिजुलीको बिल तिर्न प्राधिकरणकै काउन्टरमा पुग्नुपर्ने बाध्यता रहेकोमा ग्राहकले नयाँ वर्ष २०७१ देखि घरमै बसी–बसी रिचार्ज कार्डमार्फत बिल तिर्न सक्नेछन् ।
मोबाइलमा जस्तो पिन कोड हालेर घरमै बसी–बसी जुनसुकै बेला पनि बिजुलीको बिल तिर्ने गरी रिचार्ज कार्ड सेवाको नयाँ प्रविधि ल्याउने तयारी अघि बढाएको र नयाँ वर्ष २०७१ सालदेखि लागू गर्ने तयारी अघि बढाएको ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।
प्राधिकरणका अनुसार मोबाइलमा स्टार ४१०० वा ४१०१ स्टार जिल्ला र वितरण केन्द्रको कोर्ड, ग्राहकको नम्बर हाली ह्यास गरेर रिचार्ज गरेपछि त्यो रकम बिजुलीको बिल तिर्ने प्रणालीमा गई बिल भुक्तानी हुनेछ भने रिचार्ज बढी भएमा अर्को महिनाको बिल तिर्नका लागि रकम सञ्चित हुन जान्छ । बिजुलीको बिल तिर्ने उक्त रिचार्ज कार्ड मोबाइलको कार्डजस्तै पसल–पसलमा किन्न पाउने व्यवस्था गरी उक्त नयाँ सेवा प्राधिकरणले ल्याउन लागेको हो । प्राधिकरणले नमुना परियोजनाको रूपमा अघि बढाउन लागेको मोबाइल कम्प्युटर पेमेन्ट कार्यक्रमको अहिले परीक्षण भइरहेको र आगामी मंसिर २५ गते अन्तिम परीक्षण गर्न लागेको प्राधिकरण सूचना प्रविधि विभागका सहायक प्रबन्धक मनोजकुमार शाहले जानकारी दिए ।
‘रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्न सक्ने परीक्षणको क्रममा देखिसकेको छ, २५ मंसिरमा अन्तिम प्रस्तुति गरेपछि नयाँ प्रविधि कार्यान्वयनको तयारी अघि बढ्छ,’ उनले भने । रिचार्ज कार्डमार्फत बिल तिरेपछि कति बिल तिरिएको भन्ने जानकारी आउने तथा तिर्न कति बाँकी छ भन्नेसमेत थाहा हुने गरी प्राधिकरणले यो प्रविधि ग्राहकमाझ ल्याउन लागेको छ । प्राधिकरणका अनुसार रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्नका लागि अघि बढाइएको आयोजनाका लागि ५९ लाख रुपैयाँ मात्र लाग्नेछ ।
यो नयाँ प्रविधिमार्फत बिल तिर्नका लागि आवश्यक हार्डवेयरतर्फ भास सर्भर, वेभ सर्भर र डाटाबेस सर्भरका लागि २३ लाख २५ हजार, सङ्खटवेयरतर्फ एसएमएस पेमेन्ट भास मोडुल र रिचार्ज कार्ड मोडुलका लागि १८ लाख, नेटवर्किङतर्फ ब्यान्डविथ र म्यानाजड स्विचका लागि २ लाख ७० हजार तथा क्षमता अभिवृद्धिका लागि १५ लाख खर्च हुनेछ भने एनटीसी र एनसेलको भीपीएन विथ सर्भिस प्रोभाइडर भने नेगोसेसनका आधारमा टुंग्याउनुपर्ने उल्लेख छ ।
पहिलो चरणमा घरेलु ग्राहकलाई लक्षित गरी अघि बढाउन लागिएको उक्त परियोजनाबाट सर्वसाधारणले ठूलो फाइदा पाउन सक्ने प्राधिकरणले जनाएको छ । ‘करिब २६ लाख बिजुलीका ग्राहकमध्ये घरेलु २४ लाख ७२ हजार २ सय ६० छन्, उनीहरूले मोबाइलको जस्तो बजारमा रिचार्ज कार्ड किनेर जुनसुकै बेला पनि प्राधिकरणको बिल तिर्न सक्नेछन्,’ प्राधिकरणका कम्प्युटर इन्जिनियर लक्ष्मण मण्डलले भने, ‘कुल घरेलु ग्राहकमध्ये १५ प्रतिशतले मात्र रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिरेमा मात्र मासिक रूपमा ३ करोडभन्दा बढी प्रत्यक्ष फाइदा पुग्नेछ ।
’ ८० रुपैयाँको बिल तिर्नका लागि सहरी क्षेत्रमा न्यूनतम ४० रुपैयाँदेखि ग्रामीण क्षेत्रमा ३ सय रुपैयाँसम्म थप खर्च गर्नुपर्ने अवस्था भए पनि प्राधिकरणले भने एक ग्राहकले सरदर एक महिनाको बिल तिर्नका लागि एक रुपैयाँ खर्च गर्ने उल्लेख गरेको छ । प्राधिकरणको यो आधारमा ५० प्रतिशतले मात्र रिचार्ज कार्ड उपयोग गरेमा मासिक रूपमा सर्वसाधारणको १२ करोडभन्दा बढी जोगिनेछ । रिचार्ज कार्डबाट बिजुलीको बिल तिर्दा ग्राहक तथा प्राधिकरणलाई फाइदा पुग्ने भएकाले प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
नेपाल टेलिकम र एनसेलमार्फत बिजुलीको बिल तिर्न सक्ने गरी अघि बढाउन लागिएको यो नयाँ प्रविधिमा पनि प्राधिकरणको बिलिङ शाखामा जस्तै सात दिनभित्र तिरे ४ प्रतिशत छुट, २० दिनभित्र तिरेमा छुट हुँदैन भने ढिलो गरी तिरेमा २५ प्रतिशत जरिवाना हुनेछ । अहिले प्राधिकरणले बिल तिर्नका लागि छुट्ट्याएको समयबाहेक ढिलो गरी रिचार्जमार्फत बिल तिरेमा त्यो त्यही दिनको मान्य हुने÷नहुने भन्नेबारे भने प्राधिकरणमा अन्योल छ । ‘ढिलो रिचार्ज गरी बिल तिरेमा के गर्ने, छुट र जरिवाना कसरी तिर्ने भन्ने अन्योल छ, यसबारे व्यवस्थापनले निर्णय गर्नुपर्ने अवस्था छ,’ प्राधिकरणका ती अधिकारीले भने ।

No comments: